बादशाहको पुनरावृत्ति
हान्स एन्डरसनको बादशाहको पुनर्जन्म भयो । अब उनको देशले धेरै चकचकी गरिसकेको थियो । यी पनि फेशनका बडो शौकिन, महिना दिनमा तीस भिन्न पहिरनमा सजिनु पर्ने । कपालमा जेल । नाडीमा रोलेक्स । सेट पनि मिल्नु पर्ने, कस्तो सुट, कुन कोटमा कुन सट, गुच्चीको चश्मा । कस्तो जुँगा, कस्तो दाह्री सब मिलेको हुनु पर्ने । बैरागी काइलाले किलामा झुन्ड्याएको गलबन्दी उठा'र चटक्क गलामा धर्नु पर्ने । सुटमा मिल्ने जुत्ता, क्यामराको अगाडि हुँदा क्याची कलरको कोट र सट । (दौरा सुरुवाल,कोटमा सजिनु परे )पशुपति शमशेरको बेल्ट । जन साधारणकहाँ जाँदा राजा महेन्द्र बीरेन्द्रका जस्ता छत्रे टोपीमा सैनिक ड्रेस । कुन मौसममा के कस्तो लगाउने त्यस बारे सुल्झ्याउने एक से एक फेसन डिजानर हरदम हाजिर । कौनै कुराको कमी छैन । चिटिच्याट्ट, झिल्के । उस्तै पर्दा धत्याङ धुतुङ नाच्न पनि अघि सरी हाल्ने । सुर न तालको लेघ्रो पनि तानी हाल्नु पर्ने । शासन गर्ने अभिजातको बान्की नै फरक ।
पुरानै जुलाहा यहाँ पनि । बादशाहले अघिल्लो जुनीको दुर्दशा बिर्सिसकेका । स्वभाविक पनि हो, शासकहरुको सनातनी धर्म हुन्छ, तिनले त इतिहास पो रच्ने हो त, इतिहासबाट सिको गर्ने पनि कहीं नायक हुन्छ ?!
जुलाहा पनि पुरानै । ट्रेड पनि पुरानै, विश्व भर चिनिएको । लार्ज स्केलको । विज्ञापन झन उस्तै, चौथो औद्योगिक क्रान्तिको ।
बादशाहले सोचे कि आफ्नो मुलुकले गरेको तरक्की प्रदर्शन गर्ने मौका यही हो, चीनले ओलम्पिकमा गरेको भन्दा पनि उम्दा ।
बादशाह महिन्द्र मल्लभन्दा पनि जनप्रेमी हुनु पर्ने । उनले अर्डर फर्माइस गरे, सब देशवासीलाई एक एक जोर पहिरन महिला पुरुष दुवैलाई । पक्ष प्रतिपक्ष, नयाँ पुराना सबैलाई । लोकतन्त्रमा विभेद बर्जित जो थियो ।
राजप्रसादको अघिल्तिरबाट बादशाहको रथ यात्रा सुरु भयो । नारा लाउनेले नारा लगाए, "हाम्रो बादसाह हाम्रो शान - देश/दुनियाँ भन्दा ठूलो छ !" बादशाहीका घोर बिरोधिसमेतले शहरको अर्को कुनाबाट उस्तै जुलुस निकाले । त्यहाँ पनि लाउनेले नारा लगाए, "हाम्रो नेता हाम्रो शान - देश/दुनियाँ भन्दा ठुलो छ !"
दुइटै जुलुस शहरको मुल चोकमा आमने समुन्ने हुने नै वाला थिए ।
पर भाँडाकुटी खेल्दै गरेका एक हुल केटाकेटीले कान ठाडो गरे र ती दुवैलाई एकसरो स्क्यानिङ गरे । ती पहिले त गलल्ल हासे र तिनले पनि जुलुस निकाले । नारा लगाए, " भन भन भाइ हो, कुरी कुरी - भन भन भाइ हो, कुरी कुरी ! "
गरिबीदेखि विश्व शक्तिको यात्रा: चीनको ७७ वर्षे रूपान्तरण र नेपालको परीक्षा
पत्रकारितामा निजी जीवन सार्वजनिक गर्ने अधिकारको सवाल
नेपाली राजनीतिमा वैदेशिक फन्डिङ र मौन सहकार्यको जालो
जनताको सेवामा खटिएका प्रहरीप्रति सम्मान
मनु र महात्मा
पुनर्जागरण बारे*
निम्स दाइ : कीर्तिमानको शिखरबाट अनन्त यात्रातर्फ
प्रतिक्रिया