राज्यको अमानवीय व्यवहारविरुद्ध ‘द डाइलेक्टिकल सोसाइटी’ को कडा प्रतिवाद

हालैका दिनमा राजधानी काठमाडौँलगायतका स्थानमा भएका शृङ्खलाबद्ध आत्मदाहका घटना र नागरिकप्रति राज्यले देखाएको अमानवीय व्यवहारप्रति ‘द डाइलेक्टिकल सोसाइटी’ ले गम्भीर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारी गरेको छ। सोसाइटीले यी घटनाहरूलाई केवल व्यक्तिगत समस्याका रूपमा नभई राज्यद्वारा सिर्जित ‘आत्महत्या दुरुत्साहन’ का रूपमा अर्थ्याएको छ।

असार २५ गते काठमाडौँको राहदानी विभाग अगाडि २५ वर्षीय ‘गिग वर्कर’ गणेश नेपालीले गरेको आत्मदाह र त्यसको ७२ घण्टाभित्र भएका अन्य दुई आत्मदाहका प्रयासले नेपाली समाजलाई स्तब्ध बनाएको सोसाइटीले जनाएको छ। यसअघि सुकुम्वासी बस्तीबाट बलपूर्वक विस्थापित गरिएका इन्द्रबहादुर राई र रविन तामाङको आत्महत्याको घटना स्मरण गर्दै सोसाइटीले नागरिकहरू किन यति धेरै निरीह र विकल्पविहीन बन्न पुगे भन्ने कुराको प्रमाण नै यी घटनाहरू भएको दाबी गरेको छ।

दुई तिहाइको सरकार, संवैधानिक आयोग र न्यायालयमा देखिएको वर्तमान अस्थिरताका बिच निमुखा नागरिकको अवस्था झन् भयावह बनेको सोसाइटीको ठहर छ। सरकारले ‘देश बनाउने’ नाममा गरेका अवैध कदमहरूका बिच सत्ताको ताबेदारी गर्दै सामाजिक सञ्जालमा ‘सबै ठिकठाक छ’ भन्ने भ्रम फैलाउनेहरूको सो संस्थाले कडा आलोचना गरेको छ। आत्महत्याका घटनालाई व्यक्तिको निजी मानसिक स्वास्थ्यको समस्याका रूपमा व्याख्या गर्ने प्रयासलाई ‘कुतर्क’ भन्दै सोसाइटीले यसको भर्त्सना गरेको छ।

कीर्तिपुरको ‘होल्डिङ सेन्टर’ मा बस्न बाध्य पारिएका नागरिकलाई सान्त्वना दिन पुगेका अभियानीमाथि प्रहरीले गरेको दमन र गिरफ्तारीलाई सोसाइटीले शासनको अमानवीय चरित्र देखाउने ‘आँखीझ्याल’ का रूपमा व्याख्या गरेको छ। उक्त घटनामा प्रहरीको कुटपिटबाट घाइते भएका माजिद अन्सारीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सोसाइटीले नियोजित उद्दण्डताको विरोध गरेको छ।

अन्तमा, नागरिकलाई आत्महत्याको बाटो रोज्न बाध्य पार्ने यो शासनको अपराध क्षम्य नहुने चेतावनी दिँदै सोसाइटीले ‘हामी बिर्सिँदैनौँ’ भनी उल्लेख गरेको छ। जनतालाई अराजक र तानाशाहोन्मुख शासन भोग्न बाध्य बनाउनेहरूसँगको हिसाब किताब उचित समयमा मिलान गरिने प्रतिबद्धता जनाउँदै, सोसाइटीले न्यायप्रेमी नागरिकहरूलाई आत्महत्या जस्तो अन्तिम बाटो नछान्न र अन्यायका विरुद्ध सङ्गठित रूपमा प्रतिवादमा उत्रन आह्वान गरेको छ।