अपमानको शताब्दीदेखि महाशक्ति राष्ट्रसम्मको यात्रा
सन्दर्भ: चिनियाँ कम्युनिष्ट पार्टीको १०५ औं वार्षिकोत्सव
१८ औं शताब्दीमा फ्रान्सेली सम्राट नेपोलियन बोनापार्टले चीनको अथाह सम्भावना र सांस्कृतिक गहिराइलाई बुझ्दै एउटा ऐतिहासिक भविष्यवाणी गरेका थिए। उनले चीनलाई एउटा "सुतिरहेको दैत्य" (Sleeping Giant) को संज्ञा दिँदै भनेका थिए— "चीनलाई निदाउन दिनु नै बेस हुनेछ, ऊ बिउझिँदा सारा विश्वलाई नै हल्लाइदिनेछ।" आज सन् २०२६ मा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले आफ्नो स्थापनाको १०५ औं वार्षिकोत्सव मनाउँदै गर्दा नेपोलियनको त्यो शताब्दीऔं पुरानो चेतावनी र भविष्यवाणी पूर्ण रूपमा चरितार्थ भएको देखिन्छ।
सन् १९२१ को जुलाईमा सांघाईको एक सानो र गोप्य कोठामा केवल ५३ जना क्रान्तिकारी सदस्यहरूको सानो समूहबाट सुरु भएको सीपीसीको यात्रा आज विश्वकै सबैभन्दा विशाल र शक्तिशाली राजनीतिक शक्तिका रूपमा स्थापित भइसकेको छ। १०५ वर्ष पुरानो यो पार्टीले विगत ७७ वर्षदेखि (सन् १९४९ देखि) चीनको सत्ता निरन्तर र अविच्छिन्न रूपमा सम्हालिरहेको छ। हाल यस पार्टीमा १० करोड १० लाखभन्दा बढी सक्रिय सदस्यहरू आबद्ध छन्, जुन धेरै देशहरूको कुल जनसंख्याभन्दा पनि बढी हो। त्यसैले, आजको आधुनिक चीन, यसको विश्वव्यापी प्रभाव, र यसको उदयलाई वास्तविक रूपमा बुझ्न र व्याख्या गर्नका लागि यस देशको भूगोल मात्र नभई चिनियाँ कम्युनिष्ट पार्टीको गौरवपूर्ण, जटिल र बलिदानी इतिहासलाई गहिरोसँग बुझ्न अनिवार्य हुन्छ।
अपमानको शताब्दी: औपनिवेशिक पीडा र आन्तरिक छटपटी
चीनको आधुनिक इतिहास वास्तवमा विश्वमञ्चमा आफ्नो गुमेको साख, प्रतिष्ठा र आत्मस्वाभिमान फिर्ता ल्याउने एउटा अत्यन्तै कठोर र बलिदानी यात्रा हो। चिनियाँ इतिहास र राजनीतिमा सन् १८३९ देखि १९४९ सम्मको अवधिलाई 'अपमानको शताब्दी' (Century of Humiliation) भनिन्छ।
चीनको ऐतिहासिक गौरवलाई सबैभन्दा पहिलो ठूलो धक्का बेलायती साम्राज्यवादले दिएको थियो। ब्रिटिस इष्ट इन्डिया कम्पनीले चीनमा अवैध अफिम तस्करी गरेर चिनियाँ समाज र अर्थतन्त्रलाई ध्वस्त बनाउन खोजेपछि सुरु भएको प्रथम अफिम युद्ध (१८३९–१८४२) मा चीनको पराजय भयो। सन् १८४२ को अपमानजनक 'नानकिङ सन्धि' मार्फत चीनले आफ्नो ऐतिहासिक भूभाग हङकङ बेलायतलाई सुम्पनु पर्यो र आफ्ना बन्दरगाहहरू विदेशीका लागि जबर्जस्ती खोल्नु पर्यो। यसपछि सन् १८५६ देखि १८६० सम्म भएको दोस्रो अफिम युद्धमा बेलायती र फ्रान्सेली सेनाले बेइजिङको ऐतिहासिक 'समर प्यालेस' (Yuanmingyuan) मा आगजनी र लुटपाट गरे । चिनियाँहरुले गौरव गर्ने त्यो ऐतिहासिक धरोहरमाथि भएको आक्रमण र क्षतिले चिनियाँ स्वाभिमानलाई क्षतविक्षत बनायो।
ब्रिटिस इष्ट इन्डिया कम्पनीले चीनमा अवैध अफिम तस्करी गरेर चिनियाँ समाज र अर्थतन्त्रलाई ध्वस्त बनाउन खोजेपछि सुरु भएको प्रथम अफिम युद्ध (१८३९–१८४२) मा चीनको पराजय भयो।
यस अवधिमा चीन केवल बेलायतको मात्र होइन, फ्रान्स, रुस, जर्मनी र जापान जस्ता बहुराष्ट्रिय साम्राज्यवादी शक्तिहरूको आक्रमण र आधिपत्यको चपेटामा पर्यो। पराजित र अपमानित चीनमाथि एकपछि अर्को गर्दै असमान सन्धिहरू लादिए। छिमेकी देश जापानसँग भएको प्रथम चीन-जापान युद्ध (१८९४-१८९५) मा चीनको पराजय र 'शिमोनोसेकी सन्धि' ले चीनको स्वाभिमानलाई छियाछिया पारिदियो। सन् १९०० को बक्सर विद्रोहलाई दबाउन आठ राष्ट्रको संयुक्त सेना (Eight-Nation Alliance) ले बेइजिङमा गरेको ताण्डव नृत्य चिनियाँ इतिहासको सबैभन्दा पीडादायी अध्याय हो।
विदेशी हस्तक्षेप, आन्तरिक रुपमा क्विङ राजवंशको कमजोरी, भ्रष्टाचार र सामन्ती शोषणका कारण चीन आर्थिक र सामाजिक रूपमा कंगाल बन्यो। एक समय विश्वको कुल गार्हस्थ्य उत्पादन (GDP) को झण्डै ३० प्रतिशत हिस्सा ओगट्ने चीन 'एशियाको बिरामी' (Sick Man of Asia) का रूपमा कहलिन थाल्यो। यही चरम निराशा, राष्ट्रिय अपमान र अस्तित्वको संकटलाई चिनियाँहरुले चुपचाप सहेर बसेनन् । उनीहरुले त्यो अपमान र पीडाबोधलाई मेट्ने र त्यसबाट माथि उठेर विश्वलाई जवाफ फर्काउने अठोट गरे । ‘एशियाको बिरामी’ कहिलिनुको अपमान र पीडाबोधले चिनियाँ जनतामा देशभक्ति र क्रान्तिको ज्वाला बल्यो । त्यसैको प्रतिफलमध्येको सबैभन्दा प्रमुख घटना थियो– सन् १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना।
एक समय विश्वको कुल गार्हस्थ्य उत्पादन (GDP) को झण्डै ३० प्रतिशत हिस्सा ओगट्ने चीन 'एशियाको बिरामी' (Sick Man of Asia) का रूपमा कहलिन थाल्यो। यही चरम निराशा, राष्ट्रिय अपमान र अस्तित्वको संकटलाई चिनियाँहरुले चुपचाप सहेर बसेनन् ।
सीपीसीको उदय, महाप्रस्थान र जनवादी क्रान्ति
चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना केवल एउटा राजनीतिक दलको गठन मात्र थिएन, यो अपमानको साङ्लोबाट देशलाई मुक्त गर्ने एउटा क्रान्तिकारी आन्दोलन थियो। स्थापनाकालदेखि नै सीपीसीले एकातिर देशभित्रको क्रुर सामन्तवाद र अर्कोतिर बाह्य साम्राज्यवादविरुद्ध दोहोरो लडाइँ लड्नुपर्यो।
चिनियाँ कम्युनिष्ट पार्टीको इतिहासमा 'लङ मार्च' एउटा यस्तो मोड हो, जसले पार्टीलाई जनताको मनमस्तिष्कमा स्थापित गर्यो। कोमिन्ताङ (राष्ट्रवादी पार्टी) को घेराबन्दी र आक्रमणबाट बच्न माओ त्से तुङ्गको नेतृत्वमा सुरु भएको यो यात्रा झण्डै १०,००० किलोमिटर लामो थियो। दलदल, हिउँदका हिमाच्छेदित हिमाल, र नदीहरू पार गर्दै, भोक, प्यास र शत्रुको गोलाबारीको सामना गर्दै गरिएको यो यात्राले धेरै चिनियाँहरुको बलिदान लियो तर साथसाथै सीपीसीका नेता र कार्यकर्तालाई इस्पात जस्तै बलियो बनायो। यही यात्राले माओ त्से तुङ्गलाई पार्टीको सर्वमान्य नेताका रूपमा स्थापित गर्यो।
दलदल, हिउँदका हिमाच्छेदित हिमाल, र नदीहरू पार गर्दै, भोक, प्यास र शत्रुको गोलाबारीको सामना गर्दै गरिएको ‘लङमार्च’ले धेरै चिनियाँहरुको बलिदान लियो तर साथसाथै सीपीसीका नेता र कार्यकर्तालाई इस्पात जस्तै बलियो बनायो।
सन् १९३७ मा जापानले चीनमाथि पूर्ण रूपमा क्रुर आक्रमण गरेपछि सीपीसीले देश रक्षाका लागि आफ्नो आन्तरिक संघर्षलाई थाती राख्दै कोमिन्ताङसँग संयुक्त मोर्चा बनायो। जापानी कब्जाविरुद्धको 'प्रतिरोध युद्ध' मा सीपीसीले अपनाएको छापामार रणनीति र जनतासँगको प्रगाढ सम्बन्धले गर्दा पार्टीको लोकप्रियता गाउँगाउँमा फैलियो। सन् १९४५ मा दोस्रो विश्वयुद्धको अन्त्यसँगै जापानी सेना परास्त भयो र त्यसपछिको गृहयुद्धमा सीपीसीले अमेरिकी समर्थन प्राप्त कोमिन्ताङ सरकारलाई परास्त गर्दै चीनमा जनवादी शासन स्थापना गर्यो। कोमिन्ताङ मूलभूमि चीनबाट भागेर ताइवानतिर पुग्यो ।
नेतृत्वको निरन्तरता: एउटै राष्ट्रवादी धागो
चीनको यो ऐतिहासिक यात्रामा देशको नेतृत्व गर्ने माओ त्से तुङ्गदेखि लिएर देङ्ग सियाओपिङ र सी जिन्पिङसम्मका सबै नेताहरूलाई एउटै बलियो राष्ट्रवादी धागोले जोड्छ। उनीहरू वैचारिक रूपमा समय र परिस्थिति अनुसार परिमार्जित हुँदै गए पनि उनीहरूको मूल लक्ष्य एउटै थियो— चीनको राष्ट्रिय स्वाभिमानको पुनर्बहाली, सार्वभौमसत्ताको रक्षा र आर्थिक समृद्धि।
चीनको यो ऐतिहासिक यात्रामा देशको नेतृत्व गर्ने माओ त्से तुङ्गदेखि लिएर देङ्ग सियाओपिङ र सी जिन्पिङसम्मका सबै नेताहरूलाई एउटै बलियो राष्ट्रवादी धागोले जोड्छ।
सन् १९४९ देखि १९७६ सम्मको ऐतिहासिक कालखण्डमा चीनको राजनीतिक मुक्ति, सामन्तवादको अन्त्य र नयाँ चीनको जग निर्माण गर्ने कार्यमा नेतृत्व गरेका नेता माओ त्से तुङ्गको प्रमुख वैचारिक योगदान माओ विचारधारा हो। उनीपश्चात् सन् १९७८ देखि १९९७ सम्मको अवधिमा सर्वोच्च नेता देङ्ग सियाओपिङले चीनमा आर्थिक खुलापन र सुधार तथा बजार समाजवादको ऐतिहासिक सुरुवात गरेका थिए । देङको आर्थिक खुलापन र सुधारका कामबाट चीनले समाजवादी बाटो परित्याग गरेको भन्ने भनाइको सन्दर्भमा देङले दिएको जवाफ निक्कै चर्चित छ । देङले भनेका थिए: ‘बिरालो कालो होस् या सेतो, मुख्य कुरा त्यसले मुसा मार्नुपर्छ।’ त्यसैगरी, उनको अर्को भनाइ ‘लामखुट्टे पस्छ भनेर झ्याल ढोका थुन्ने होइन, त्यसमा जाली लगाउनुपर्छ’ पनि निक्कै चर्चित छ।
माओ र देङबाहेक चीनको आधुनिकीकरणमा जियाङ जेमिन, हु जिन्ताओ र सी जिन्पिङको पनि ठूलो योगदान छ । 'तीन प्रतिनिधित्व' को विचार अघि सारेका नेता जियाङ जेमिनले चीनको अर्थतन्त्रको आधुनिकीकरण गर्न र देशलाई विश्व व्यापार संगठन (WTO) मा प्रवेश गराउन मुख्य भूमिका खेलेका थिए । अर्का नेता हु जिन्ताओले 'वैज्ञानिक विकासको अवधारणा' लाई आफ्नो प्रमुख वैचारिक योगदानका रूपमा प्रस्तुत गर्दै सामाजिक सद्भाव र सन्तुलित क्षेत्रीय विकासमा विशेष जोड दिएका थिए। सन् २०१२ देखि वर्तमानसम्म नेतृत्व सम्हाल्दै आएका राष्ट्रपति सी जिन्पिङले 'नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवाद' को सिद्धान्त अघि सारेका छन् । उनको यही सिद्धान्तअन्तर्गत चिनियाँ सपना (Chinese Dream), प्रविधिमा आत्मनिर्भरता र वैश्विक नेतृत्व हासिल गर्ने मुख्य कार्यहरूमा चीन जोडतोडका साथ लागिपरेको छ ।
"चिनियाँ जनता, जो विश्वको कुल जनसंख्याको एक चौथाई छन्, अब खडा भइसकेका छन्। चिनियाँहरू अब उप्रान्त अपमानित राष्ट्र रहने छैनन्।" – माओ त्से तुङ
रक्षात्मकताबाट आत्मविश्वासतर्फ
चिनियाँ नेतृत्वको यही दृढता र राष्ट्रिय गौरव चीनका दुई ऐतिहासिक घोषणामा स्पष्ट रूपमा झल्किन्छ, जसले चीनको रूपान्तरणको चित्र प्रस्तुत गर्दछ।
माओ त्से तुङ्गको घोषणा (१ अक्टोबर १९४९)
सन् १९४९ को अक्टोबर १ मा माओ त्से तुङ्गले जनवादी गणतन्त्र चीन (PRC) को स्थापना गर्दा तियानमेन स्क्वायरको ऐतिहासिक ढोकामा उभिएर गर्वका साथ घोषणा गरेका थिए:
"चिनियाँ जनता, जो विश्वको कुल जनसंख्याको एक चौथाई छन्, अब खडा भइसकेका छन्। चिनियाँहरू अब उप्रान्त अपमानित राष्ट्र रहने छैनन्।"
यो घोषणा अपमानको शताब्दीको औपचारिक अन्त्य र एउटा नयाँ, सार्वभौम चीनको उदयको प्रतीक थियो।
सी जिन्पिङको घोषणा (१ जुलाई २०२१)
ठिक त्यसैगरी, सन् २०२१ जुलाई १ मा चिनियाँ कम्युनिष्ट पार्टीको शतवार्षिकी (१०० औं वर्षगाँठ) को अवसरमा राष्ट्रपति सी जिन्पिङले त्यही ऐतिहासिक तियानमेन स्क्वायरमा उभिएर आधुनिक चीनको नयाँ आत्मविश्वास विश्वसामु राखे। उनले दृढ शब्दमा भने:
"चिनियाँ जनता कसैलाई आफूमाथि धम्की दिन, उत्पीडन गर्न वा पराधीन बनाउन अनुमति दिने छैनन्। यदि कसैले त्यसो गर्ने दुस्साहस गरेमा, उनीहरूको टाउको १.४ अर्ब चिनियाँ जनताले निर्माण गरेको स्टीलको महान पर्खालमा ठोक्किएर क्षतविक्षत हुनेछ।"
यी दुई परिघटनाले चीन कसरी सन् १९४९ को रक्षात्मक, गरिब र भर्खरै बिउँझिएको अवस्थाबाट उठेर आजको २१ औं शताब्दीमा एक शक्तिशाली, आत्मविश्वासी र वैश्विक शक्तिका रूपमा रूपान्तरण भयो भन्ने अकाट्य प्रमाण दिन्छन्।
आर्थिक चमत्कार र चरम गरिबीको उन्मूलन
चीनको यो नयाँ आत्मविश्वास केवल राजनीतिक भाषणमा मात्र सीमित छैन; यसको पछाडि ठोस आर्थिक र सामाजिक उपलब्धिहरूको ठोस जग छ। सन् १९७८ मा देङ्ग सियाओपिङको नेतृत्वमा सुरु भएको 'आर्थिक सुधार र खुलापन' (Reform and Opening-up) को नीतिले चीनको अर्थतन्त्रलाई संसारकै सबैभन्दा तीव्र गतिमा अघि बढ्ने इन्जिन बनाइदियो।
आज चीन कूल ग्राहस्थ उत्पादन (GDP) को आधारमा विश्वको दोस्रो ठूलो अर्थतन्त्र र क्रय शक्ति समता (PPP) को आधारमा विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र बनिसकेको छ। यतिखेर चीन विश्वकै सबैभन्दा ठूलो उत्पादक र व्यापारिक राष्ट्र हो।
गत चार दशकमा चीनको आर्थिक वृद्धिदर औसतमा झण्डै ९ देखि १० प्रतिशत रह्यो। आज चीन कूल ग्राहस्थ उत्पादन (GDP) को आधारमा विश्वको दोस्रो ठूलो अर्थतन्त्र र क्रय शक्ति समता (PPP) को आधारमा विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र बनिसकेको छ। यतिखेर चीन विश्वकै सबैभन्दा ठूलो उत्पादक र व्यापारिक राष्ट्र हो।
ऐतिहासिक गरिबी उन्मूलनको कीर्तिमान
चिनियाँ कम्युनिष्ट पार्टीको इतिहासमा सबैभन्दा ठूलो र मानवीय उपलब्धि भनेको चरम गरिबीको समूल नष्ट हो। सी जिन्पिङको नेतृत्वमा सञ्चालित 'लक्षित गरिबी निवारण' (Targeted Poverty Alleviation) अभियान अन्तर्गत चीनले विगत ४ दशकमा ८० करोडभन्दा बढी नागरिकलाई चरम गरिबीको रेखाबाट माथि उठाएको छ।
सन् २०२१ मा सीपीसीले चीनबाट चरम गरिबी पूर्ण रूपमा उन्मूलन भएको र देश 'मध्यम रूपमा समृद्ध समाज' (Xiaokang) मा प्रवेश गरेको आधिकारिक घोषणा गर्यो। मानव इतिहासमा यति छोटो समयमा यति ठूलो संख्यामा मानिसहरूलाई गरिबीबाट मुक्त गरिएको यो पहिलो र एक मात्र ऐतिहासिक कीर्तिमान हो।
उच्च प्रविधि, नवप्रवर्तन र चौथो औद्योगिक क्रान्ति
आजको चीन सस्तो सामान उत्पादन गर्ने देश मात्र रहेन। चिनियाँ कम्युनिष्ट पार्टीको रणनीतिक मार्गदर्शनका कारण चीन आज उच्च प्रविधि, नवप्रवर्तन र चौथो औद्योगिक क्रान्तिको अग्रपंक्तिमा उभिएको छ।
आर्टिफिसियल इन्टेलिजेन्स (AI) र क्वान्टम कम्प्युटिङ: चीनले AI र मेसिन लर्निङको क्षेत्रमा अमेरिकालाई तीव्र चुनौती दिइरहेको छ। पेटेन्ट दर्ता र वैज्ञानिक अनुसन्धान पत्रहरूको प्रकाशनमा चीन विश्वमा पहिलो स्थानमा आउने गर्दछ।
५जी र ६जी दूरसञ्चार: ५जी प्रविधिको विकास र विस्तारमा चीन (हुवावेई जस्ता कम्पनीमार्फत) विश्वकै अग्रणी राष्ट्र बन्यो र हाल ६जी प्रविधिको अनुसन्धानमा अगाडि छ।
हरित ऊर्जा र विद्युतीय सवारी (EV): जलवायु परिवर्तनको सामना गर्न चीनले सौर्य ऊर्जा, वायु ऊर्जा र विद्युतीय सवारी साधन (EV) उत्पादनमा विश्व बजारको ५० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ। BYD र CATL जस्ता चिनियाँ कम्पनीहरूले विश्वव्यापी सवारी साधन उद्योगको भविष्य तय गरिरहेका छन्।
अन्तरिक्ष अन्वेषण: चीनले आफ्नै छुट्टै स्थायी अन्तरिक्ष स्टेशन ('तियाङ्गोङ') को निर्माण गरेको छ भने चन्द्रमाको पछिल्लो भाग (Far Side of the Moon) मा यान ओराल्ने र मंगल ग्रहमा रोभर पठाउने ऐतिहासिक सफलता प्राप्त गरिसकेको छ।
भू-राजनीतिक स्थिरता र बहुध्रुवीय विश्वको नेतृत्व
वर्तमान परिप्रेक्ष्यमा विश्वका धेरै क्षेत्रहरू भू-राजनीतिक अस्थिरता, युद्ध, आर्थिक मन्दी र अराजकतामा रुमल्लिरहेको छ । यस्तो संवेदनशील अवस्थामा विश्वव्यापी स्थिरताको खोजीमा चीन सबैभन्दा भरपर्दो, परिपक्व र जिम्मेवार राष्ट्रका रूपमा अग्रसर भइरहेको प्रतीत उसका समन्वयकारी एवं सन्तुलित गतिविधिहरुले देखाउँछ ।
यतिखेर बिस्तारै बेइजिङ विश्वको नयाँ राजनीतिक तथा आर्थिक राजधानीका रूपमा रूपान्तरण हुँदै गइरहेको छ। पश्चिमी देशहरूको एकपक्षीय दबाबका विरुद्ध चीनले बहुध्रुवीय विश्वको वकालत गर्दै आएको छ।
यही कारण यतिखेर बिस्तारै बेइजिङ विश्वको नयाँ राजनीतिक तथा आर्थिक राजधानीका रूपमा रूपान्तरण हुँदै गइरहेको छ। पश्चिमी देशहरूको एकपक्षीय दबाबका विरुद्ध चीनले बहुध्रुवीय विश्वको वकालत गर्दै आएको छ। यसको सबैभन्दा ठूलो कूटनीतिक सफलता तब देखियो, जब चीनको मध्यस्थतामा लामो समयदेखि कट्टर दुश्मन रहेका साउदी अरब र इरानबीच ऐतिहासिक शान्ति सम्झौता भयो। यस परिपरिघटनाले चीन विश्वमा केवल आर्थिक शक्ति मात्र नभई एक शान्ति निर्माताका रूपमा पनि अग्रसर हुन थालेको देखाउँछ ।
विश्वव्यापी पहलकदमीहरू
चीनले विश्वव्यापी विकास र सुरक्षाका लागि आफ्ना महत्त्वाकांक्षी अवधारणाहरू अघि सारेको छ:
बेल्ट एण्ड रोड इनिसिएटिभ (BRI): सन् २०१३ मा सुरु गरिएको यो पूर्वाधार परियोजनाले एशिया, अफ्रिका र युरोपलाई सडक, रेल र बन्दरगाहमार्फत जोड्दैछ, जसलाई आधुनिक युगको 'सिल्क रोड' भनिन्छ।
ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (GDI) र ग्लोबल सेक्युरिटी इनिसिएटिभ (GSI): यी पहलहरू मार्फत चीनले विकासोन्मुख देशहरूको आवाजलाई संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय मञ्चहरूमा बुलन्द गर्दै आएको छ।
ब्रिक्स (BRICS) र एससीओ (SCO): चीनले ब्रिक्स र सांघाई सहयोग संगठनको विस्तार गर्दै विश्व अर्थतन्त्र र कूटनीतिमा 'ग्लोबल साउथ' को नेतृत्वदायी भूमिकालाई सुदृढ बनाएको छ।
दोस्रो शताब्दीको लक्ष्य र सन् २०४९ को संकल्प
आफ्नो स्थापनाको पहिलो शताब्दी (सन् २०२१ सम्म) सफलतापूर्वक पार गरेपछि सीपीसीले आफ्नो ध्यान 'दोस्रो शताब्दीको लक्ष्य' (Second Centenary Goal) को महत्त्वाकांक्षी र दीर्घकालीन लक्ष्यतर्फ पूर्ण रूपमा केन्द्रित भएको छ। यो लक्ष्य सन् २०४९ मा जनवादी गणतन्त्र चीन स्थापनाको १०० औं वार्षिकोत्सवसँग प्रत्यक्ष रूपमा जोडिएको छ।
चीनको कम्युनिष्ट पार्टीको २० औं राष्ट्रिय महाधिवेशनले सी जिन्पिङको नेतृत्वमा सन् २०४९ सम्मका लागि स्पष्ट खाका (Blueprint) तयार पारेको छ ।
उक्त खाकाको पहिलो चरण (२०२०–२०३५) मा चीनले समाजवादी आधुनिकीकरणलाई मूलतः पूर्ण गर्ने लक्ष्य राखेको छ। आर्थिक र प्राविधिक रूपमा ठूलो फड्को मार्दै चीनले नवप्रवर्तनमा विश्वकै शीर्ष स्थान हासिल गर्ने, प्रतिव्यक्ति आयलाई मध्यम स्तरको विकसित देशको तहमा पुर्याउने र सहर तथा ग्रामीण क्षेत्रबीचको असमानतालाई उल्लेख्य रूपमा कम गर्ने योजना बनाएको छ।
त्यसै गरी दोस्रो चरण (२०३५–२०४९) अन्तर्गत सन् २०४९ सम्ममा चीनले आफूलाई राजनीतिक, आर्थिक, सामाजिक, सैन्य र सांस्कृतिक रूपमा एउटा समृद्ध, बलियो, लोकतान्त्रिक, सभ्य र सामंजस्यपूर्ण आधुनिक समाजवादी महाशक्तिका रूपमा स्थापित गर्ने संकल्प लिएको छ। यस रणनीतिक योजना अन्तर्गत चीनले प्रविधि, विज्ञान र नवीनताको हरेक क्षेत्रमा विश्वको निर्विवाद नेतृत्व गर्ने, सम्भावित जुनसुकै युद्ध पनि लड्न र जित्न सक्षम 'विश्वस्तरीय अत्याधुनिक सेना' जनमुक्ति सेनाको कमान्ड सम्हाल्ने, तथा विश्वकै सबैभन्दा ठूलो, उन्नत र पर्यावरणीय रूपमा दिगो अर्थतन्त्रको रूपमा आफूलाई स्थापित गर्ने स्पष्ट रोडम्याप बनाएको छ।
१०५ वर्षको लामो, उतारचढावपूर्ण र गौरवशाली इतिहास बोकेको चिनियाँ कम्युनिष्ट पार्टीको यो महायात्रा साम्राज्यवादको क्रुर दमन, आन्तरिक विखण्डन र 'अपमानको चक्र' बाट निस्किएर विश्व महाशक्तिको शिखरमा पुग्ने एउटा सिङ्गो राष्ट्र र पाँच हजार वर्ष पुरानो सभ्यताको गौरवपूर्ण संकल्प, पुनर्जन्म र यात्रा हो।
एक राष्ट्रको गौरवपूर्ण पुनर्जन्म
१०५ वर्षको लामो, उतारचढावपूर्ण र गौरवशाली इतिहास बोकेको चिनियाँ कम्युनिष्ट पार्टीको यो महायात्रा केवल एउटा राजनीतिक दलको सत्ता टिकाउने शासन व्यवस्था मात्र होइन। यो त साम्राज्यवादको क्रुर दमन, आन्तरिक विखण्डन र 'अपमानको चक्र' बाट निस्किएर विश्व महाशक्तिको शिखरमा पुग्ने एउटा सिङ्गो राष्ट्र र पाँच हजार वर्ष पुरानो सभ्यताको गौरवपूर्ण संकल्प, पुनर्जन्म र यात्रा हो।
चीनले हासिल गरेको सफलता र उन्नतिले स्पष्ट विचार, दृढ राजनीतिक इच्छाशक्ति, जनताप्रतिको उत्तरदायित्व तथा विचार र सिद्धान्तको जडतामा नबाँधिइकन समयानुकूल विचार र सिद्धान्तलाई परिमार्जन गर्दै देश सुहाउँदो मौलिक व्यवस्था अपनाउन सकेमा जुनसुकै राष्ट्रले पनि आफ्नो इतिहासको सबैभन्दा अँध्यारो सुरुङलाई पार गरेर समृद्धिको उज्ज्यालो प्रकाश चुम्न सक्छ भन्ने कुरा प्रमाणित गर्छ। आज सीपीसीको नेतृत्वमा चीन ‘एशियाको बिरामी’बाट विश्वकै सबैभन्दा शक्तिशाली राष्ट्रमा बदिलएको महारुपान्तरणको जिउँदोजाग्दो दशी प्रमाण मात्र बनेको छैन, बरु २१ औं शताब्दीको नयाँ विश्व व्यवस्थाको स्वरूप र दिशा निर्धारण गर्ने मुख्य संवाहक समेत बनेको छ।
किन र कसरी मारिए किसान योद्धा भीमदत्त पन्त ?
मृत्युको खेल: नझुकेका लाल जर्सीहरू
एरिक हब्सबाम : एक जनपक्षधर इतिहासकार
पहिचानको लडाइँ र प्रतिरोधी चेतनाका संवाहक: माल्कम एक्स
सर्वहारा क्रान्ति र क्रान्तिकारी नैतिकता: आत्म-रूपान्तरणको मार्क्सवादी सिद्धान्त
विषादि सुँघाएर बेहोश पारी दासढुंगामा नियोजित तवरले गाडी खसालेको हुन सक्ने…
मार्क्स र एंगेल्सको प्रख्यात पुस्तक जर्मन आइडियोलोजीको सार
प्रतिक्रिया