सरकार कि विनिर्माणको प्रयोगशाला ?
डेरिडाको 'डिकन्स्ट्रक्सन' बाट हेर्दा बालेन सरकारको राजनीति
नेपालको वर्तमान सरकारबारे आज सबैभन्दा धेरै सोधिने प्रश्न हो- यो सरकार वास्तवमा के गरिरहेको छ ? यसको निर्णय प्रक्रिया के हो ? यसले कुन दर्शन, कुन विचार वा कुन राजनीतिक मार्गदर्शनलाई पछ्याइरहेको छ ?
यी प्रश्नहरूको उत्तर खोज्ने प्रयासमा धेरै विश्लेषणहरू सतहमै अल्झिएका देखिन्छन्। कसैले अनुभवको अभाव देख्छन्, कसैले प्रशासनिक अपरिपक्वता। कसैले राजनीतिक अनभिज्ञता त कसैले नेतृत्वको गोप्य कार्यशैली। यी सबै विश्लेषण आ-आफ्नो ठाउँमा सही हुन सक्छन्। तर, एउटा फरक सम्भावना पनि छ- हामीले सरकारलाई हेर्ने दृष्टि नै कतै गलत फ्रेमभित्र बन्द भएको त छैन ?
डेरिडाको विनिर्माण कुनै भवन भत्काउने क्रिया होइन। यो अर्थ निर्माण गर्ने संरचनाको आलोचनात्मक उद्घाटन हो। यसले संरचनालाई प्रत्यक्ष युद्ध गरेर पराजित गर्दैन। बरु त्यसको अन्तर्विरोधलाई उजागर गरेर त्यसकै आफ्नै तर्कभित्रबाट त्यसको स्थायित्वमाथि हाँस्छ।
हामी सरकारलाई अझै पनि आधुनिक राज्यको परम्परागत चस्माबाट हेर्दै छौं। जहाँ विचार हुन्छ, त्यसबाट दर्शन बन्छ; दर्शनबाट नीति बन्छ; नीतिबाट संगठन बन्छ; संगठनबाट निर्णय निस्कन्छ; र निर्णय अन्ततः विधि र संस्थागत प्रक्रिया अन्तरगत रहेर त्यो सबै कार्यान्वयन हुन्छ। आधुनिक राजनीतिको यही संरचनालाई संरचनावाद (Structuralism) ले सामान्य र स्वाभाविक ठानेको थियो।
तर, बीसौं शताब्दीको उत्तरार्धमा फ्रान्सेली दार्शनिक ज्याक्स डेरिडाले यही स्वाभाविक मानिएको संरचनामाथि प्रश्न उठाए। उनले कुनै नयाँ संरचना प्रस्ताव गरेनन्। बरु उनले देखाए कि हामीले स्थिर, अन्तिम र स्वाभाविक ठानेका अर्थहरू वास्तवमा भाषा, शक्ति, इतिहास र सन्दर्भले बनाएका अस्थायी निर्माण मात्र हुन्। त्यसैले उनले कुनै संरचनालाई सिधै ध्वस्त पार्नुभन्दा पहिले त्यसको केन्द्र (centre) नै अस्थिर छ भन्ने देखाउन खोजे। यही प्रक्रियालाई नै उनले 'डिकन्स्ट्रक्सन' अर्थात् विनिर्माण भने।
डेरिडाको विनिर्माण कुनै भवन भत्काउने क्रिया होइन। यो अर्थ निर्माण गर्ने संरचनाको आलोचनात्मक उद्घाटन हो। यसले संरचनालाई प्रत्यक्ष युद्ध गरेर पराजित गर्दैन। बरु त्यसको अन्तर्विरोधलाई उजागर गरेर त्यसकै आफ्नै तर्कभित्रबाट त्यसको स्थायित्वमाथि हाँस्छ। यस अर्थमा विनिर्माणवाद कुनै वैकल्पिक महल निर्माण गर्ने दर्शन होइन। यो कुनै महललाई 'अन्तिम सत्य' ठान्ने मानसिकतामाथिको निरन्तर प्रश्न हो।
यदि यही दृष्टिबाट नेपालको वर्तमान सरकारलाई पढ्ने प्रयास गरियो भने केही रोचक समानान्तरहरू देखिन्छन्।
विगतका राजनीतिक दलहरूका लागि विचार, संगठन, घोषणापत्र, कार्यदिशा, केन्द्रीय समिति, विभागीय संरचना, संस्थागत प्रक्रिया, वरिष्ठताको अनुक्रम, परामर्श संयन्त्र र निर्णय प्रणाली राजनीतिक वैधताका आधार थिए। सरकार पनि त्यही संरचनाभित्र चल्ने अपेक्षा गरिन्थ्यो।
तर, अहिलेको शासनशैलीलाई लिएर उठिरहेका अधिकांश प्रश्नहरू आफैंले एउटा संकेत गर्छन्। निर्णय कहाँ हुन्छ ? कसले गर्छ ? सल्लाहकार को हुन् ? कुन प्रक्रिया अपनाइन्छ ? किन स्थापित अभ्यासभन्दा फरक ढंगले निर्णय हुन्छ ? यी प्रश्नहरूको स्पष्ट उत्तर स्वयं सरकारभित्रका धेरै व्यक्तिसँग पनि छैन भन्ने सार्वजनिक टिप्पणीहरू आएका छन्।
अहिलेको शासनशैलीलाई लिएर उठिरहेका अधिकांश प्रश्नहरू आफैंले एउटा संकेत गर्छन्। निर्णय कहाँ हुन्छ ? कसले गर्छ ? सल्लाहकार को हुन् ? कुन प्रक्रिया अपनाइन्छ ? किन स्थापित अभ्यासभन्दा फरक ढंगले निर्णय हुन्छ ?
यही बिन्दु दार्शनिक रूपमा चासोको विषय बन्न सक्छ। यदि कुनै शासनले निरन्तर स्थापित प्रक्रियालाई नै राजनीतिक वैधताको अन्तिम स्रोत मान्न अस्वीकार गर्छ भने त्यो आधुनिक राज्यको संरचनात्मक भाषाभन्दा फरक भाषामा बोलिरहेको हुन सक्छ। यसको अर्थ त्यो सफल छ भन्ने होइन। यसको अर्थ यति मात्र हो कि त्यसलाई बुझ्ने पुरानो व्याख्यात्मक उपकरण अपुग हुन थालेको हुन सक्छ।
डेरिडाले भाषा र अर्थका स्थिर केन्द्रहरू भत्काउन खोजेका थिए। वर्तमान सरकारका धेरै गतिविधिले पनि राज्य सञ्चालनका स्थापित केन्द्रहरूलाई निरन्तर अस्थिर बनाइरहेका छन् भन्ने अनुभूति धेरैलाई भएको छ। पार्टी संगठनभन्दा व्यक्तिको निर्णय बढी प्रभावशाली देखिनु, औपचारिक संरचनाभन्दा अनौपचारिक सञ्जाल निर्णायक देखिनु, दीर्घकालीन वैचारिक घोषणाभन्दा तत्कालीन हस्तक्षेपलाई प्राथमिकता दिनु, स्थापित राजनीतिक भाषाभन्दा सामाजिक सञ्जालको प्रत्यक्ष भाषामा संवाद गर्नु; यी सबैलाई उत्तरआधुनिक राजनीतिक संस्कृतिका संकेतका रूपमा लिन सकिन्छ।
यो ठीक हो कि होइन भन्ने प्रश्नभन्दा पहिले यसले आधुनिक राजनीतिको परम्परागत व्याकरणलाई चुनौती दिइरहेको छ भन्ने तथ्य महत्वपूर्ण हुन्छ। यही कारणले अहिलेका धेरै आलोचकहरू सरकारलाई बुझ्न असफल भइरहेका छन्। उनीहरू नियम खोजिरहेका छन्, जबकि सम्भवतः सरकार नियम पुनर्लेखनको प्रक्रियामा छ। उनीहरू संरचना खोजिरहेका छन्, जबकि सम्भवतः वर्तमान राजनीतिक शैली संरचनाकै वैधतामाथि प्रश्न उठाइरहेको छ। उनीहरू स्थिर संगठन खोजिरहेका छन्, जबकि राजनीतिक अभ्यास क्रमशः तरल (fluid), व्यक्तिकेन्द्रित र प्रसङ्गनिर्भर बन्दै गएको देखिन्छ।
यो ठीक हो कि होइन भन्ने प्रश्नभन्दा पहिले यसले आधुनिक राजनीतिको परम्परागत व्याकरणलाई चुनौती दिइरहेको छ भन्ने तथ्य महत्वपूर्ण हुन्छ। यही कारणले अहिलेका धेरै आलोचकहरू सरकारलाई बुझ्न असफल भइरहेका छन्।
यद्यपि यहाँ एउटा गम्भीर सावधानी आवश्यक छ। डेरिडाको विनिर्माणलाई अराजकताको दर्शन भनेर बुझ्नु ठूलो भूल हुनेछ। उनले संरचना भत्काउन मात्र भनेका थिएनन्। कुनै पनि संरचनाले आफूलाई अन्तिम सत्यका रूपमा प्रस्तुत गर्दा त्यसको आलोचनात्मक परीक्षण गर्न सिकाएका थिए। त्यसैले विनिर्माणको उद्देश्य उत्तरदायित्व समाप्त गर्नु होइन, बरु प्रत्येक दाबीलाई प्रश्न गर्न सक्ने बौद्धिक स्वतन्त्रता जोगाउनु हो।
राज्य सञ्चालनमा भने परिस्थिति फरक हुन्छ। राज्य केवल भाषिक संरचना होइन। यो नागरिकको सुरक्षा, न्याय, अर्थतन्त्र, प्रशासन र सार्वजनिक उत्तरदायित्वसँग जोडिएको संस्था हो। यदि स्थापित संरचनालाई निरन्तर चुनौती दिइन्छ भने त्यसको ठाउँमा के आउँछ भन्ने प्रश्नबाट कुनैपनि सरकार उम्किन सक्दैन। किनभने दर्शनमा अनिश्चितता रोचक हुन सक्छ; शासनमा भने अनिश्चितताको मूल्य नागरिकले तिर्नुपर्छ।
वर्तमान सरकारलाई डेरिडाको विनिर्माणवादसँग तुलना गर्नु यसको आधिकारिक वैचारिक पहिचान घोषणा गर्नु होइन। बरु यो यसको राजनीतिक व्यवहारलाई बुझ्न सकिने एउटा दार्शनिक रूपक मात्र हो।
यसैले वर्तमान सरकारलाई डेरिडाको विनिर्माणवादसँग तुलना गर्नु यसको आधिकारिक वैचारिक पहिचान घोषणा गर्नु होइन। बरु यो यसको राजनीतिक व्यवहारलाई बुझ्न सकिने एउटा दार्शनिक रूपक मात्र हो। सम्भव छ, सरकार सचेत रूपमा डेरिडालाई पढेर अघि बढेको नहोस्। तर यसका धेरै व्यवहारहरूले स्थापित संरचनालाई अस्वीकार गर्ने, केन्द्रलाई अस्थिर बनाउने र पुराना राजनीतिक भाषालाई विखण्डन गर्ने प्रवृत्ति भने देखाइरहेको छ।
अन्ततः प्रश्न एउटै बाँकी रहन्छ। के यो विनिर्माण नयाँ र बढी उत्तरदायी संरचनाको पूर्वतयारी हो, वा संरचनाविहीन राजनीतिक रोमान्टिसिज्मको क्षणिक उत्सव मात्र ? यसको उत्तर आज कसैसँग छैन। अवश्य पनि इतिहासले नै दिनेछ। तर यति भने निश्चित छ, नेपालको वर्तमान राजनीतिलाई बुझ्न केवल पुराना राजनीतिक शब्दकोश पर्याप्त छैनन्। सायद अब दर्शनको पुस्तक पनि खोल्नुपर्ने बेला आएको छ।
क्युबाको आर्थिक सुधार र समाजवादी नवीकरणको सम्भावना
सुधार र खुलापनको नीतिदेखि यता चीनको शीर्ष नेतृत्वले चिनियाँ भाष्यलाई कसरी न…
उपभोक्ता शक्तिको भ्रम: खाद्यान्नलाई बजारीकरणबाट मुक्त गर्ने बेला किन भयो?
नेपालमा टेक्नो-फासीवादको विनिर्माण
आदतको सत्ता र क्रान्तिकारी रूपान्तरण
विकास आयोजनामा सामाजिक तथा वातावरणीय सुरक्षण र अनुपालन
पढाइको राजनीति
प्रतिक्रिया