वार्ता असफल: स्ट्रेट अफ हर्मुज र लेबनानमा तनावपूर्ण अवस्था
विश्व राजनीतिमा पछिल्लो समय खाडी क्षेत्र र पश्चिम एशियाको तनावले निकै गम्भीर मोड लिएको छ। विशेष गरी स्ट्रेट अफ हर्मुज क्षेत्रमा नाकाबन्दी गर्ने अमेरिकी सैन्य निर्णय र लेबनानमा जारी इजरायली सैन्य कारबाहीले विश्वव्यापी सुरक्षा र भू-राजनीतिक स्थिरतामा ठूलो चुनौती खडा गरेको छ।
अमेरिकी सेनाले स्ट्रेट अफ हर्मुज हुँदै इरानी बन्दरगाहहरूमा हुने सबै प्रकारका समुद्री आवागमनलाई रोक्ने घोषणा गरेको छ। यो कठोर कदम आज बिहान १४ बजे (ग्रीनवीच मिनटाइम) बाट लागू हुने बताइएको छ। समुद्री मार्गमाथिको यो नाकाबन्दीलाई विश्वका धेरै विश्लेषकहरूले इरानविरुद्धको एक आक्रामक सैन्य चालका रूपमा हेरेका छन्। यस प्रतिक्रिया स्वरूप इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (IRGC) ले कडा चेतावनी जारी गरेको छ। इरानी सेनाले ‘कुनै पनि विदेशी सैन्य जहाज स्ट्रेट अफ हर्मुजको नजिक आएमा त्यसलाई युद्धविरामको उल्लंघन मानिने र त्यस्ता जहाजविरुद्ध कडा सैन्य कारबाही गरिने’ चेतावनी दिएको छ। यस प्रकारको दोहोरो धम्कीले हर्मुज क्षेत्रमा कुनै पनि समय ठूलो सैन्य मुठभेड हुनसक्ने सम्भावना बढाएको छ।
यसैबीच, कूटनीतिक प्रयासहरू पनि असफल भएका छन्। इरानका विदेश मन्त्री अब्बास अराघ्चीले हालै पाकिस्तानमा अमेरिकासँग भएको वार्ता विफल भएको पुष्टि गरेका छन्। उनका अनुसार, अमेरिकाको 'अधिकतमवादी' दृष्टिकोण, बारम्बार फेरिने वार्ताका सर्तहरू र समुद्री नाकाबन्दीका कारण समझदारी बन्न सकेन। वार्ताको यो असफलताले अमेरिकाले खाडी क्षेत्रमा कूटनीतिभन्दा सैन्य शक्ति प्रदर्शनको बाटो रोजेको देखिन्छ ।
खाडीको यो तनावपूर्ण वातावरणबीच इजरायलले लेबनानमाथि आक्रमण तीव्र बनाएको छ। पछिल्ला घटनाक्रम अनुसार, इजरायली सेनाले दक्षिण लेबनानको मारौब क्षेत्रमा भीषण बमबारी गरेको छ, जसमा कम्तीमा चार जना सर्वसाधारणले ज्यान गुमाएका छन्। त्यस्तै, बिन्ट जबेल सहरका सबै प्रवेशद्वारहरू इजरायली सेनाले नियन्त्रणमा लिएको छ। त्यहाँ हिजबुल्लाह लडाकु र इजरायली सेनाबीच प्रत्यक्ष भिडन्त जारी रहेको छ। दक्षिण लेबनानका स्थानीय बासिन्दाहरूले आफ्नो घर छोडेर भाग्न बाध्य हुनुपरेको छ, जसले गर्दा त्यहाँ मानवीय संकट गहिरिँदै गएको छ।
यसरी, स्ट्रेट अफ हर्मुजमा अमेरिका र इरानबीचको समुद्री तनाब र लेबनानमा इजरायल र हिजबुल्लाहबीचको द्वन्द्वले समग्र पश्चिम एशियालाई एक ठूलो युद्धको संघारमा पुर्याएको देखिन्छ। समुद्री व्यापार मार्ग अवरुद्ध हुँदा विश्वव्यापी आपूर्ति श्रृंखला र इन्धनको मूल्यमा समेत गम्भीर असर पर्ने निश्चित छ। वार्ताका सबै ढोकाहरू बन्द हुँदै जाँदा र सैन्य गतिविधिहरू बढ्दै जाँदा, अन्तर्राष्ट्रिय समुदायका लागि यस क्षेत्रमा शान्ति कायम गर्नु निकै जटिल बन्दै गएको छ। अबका दिनहरूमा यी शक्ति राष्ट्रहरू कसरी प्रस्तुत हुन्छन्, त्यसले विश्वको सुरक्षा भविष्यलाई निर्धारण गर्नेछ।
क्षेत्रीय शक्ति राष्ट्रहरूको यो टकरावले केवल सोझै प्रभावित देशहरूलाई मात्र नभई विश्व अर्थतन्त्र र कूटनीतिक सम्बन्धलाई पनि लामो समयसम्म गहिरो प्रभाव पार्ने निश्चित छ। अहिलेको अवस्थामा संयमता र पुनः वार्ताको पहल आवश्यक छ । तर तत्कालको लागि त्यो सम्भावना निक्कै कम देखिन्छ ।
इरानलाई त्यागेर भारतले चुकाएको मूल्य
सोभियत विजयले आजको रुसलाई अझै आकार दिइरहेको छ- पुटिन
ओमानको खाडीमा तनाव: इरानद्वारा ट्याङ्कर कब्जा र अमेरिकाको जवाफी कारबाही
केरलाको रातो तारा अझै चम्किरहेको छ
बङ्गालमा लोकतन्त्रको उपहास: ममता बनर्जीको पराजयपछाडिको तीतो यथार्थ
तमिलनाडु २०२६: डिजिटल मोड, युवा हस्तक्षेप, र दुई-दलीय युगको अन्त्य
विजयका वाचा अब राजनीतिक परीक्षणमा पर्नेछन्
प्रतिक्रिया