मौरीको विषले स्तन क्यान्सरको कोष मार्न सक्ने !

विश्व स्वास्थ्य संगठन, अमेरिकी क्यान्सर सोसाइटी जस्ता संस्थाहरुले प्रकाशित गर्ने गरेको तथ्याङ्कअनुसार क्यान्सरका कारण वर्षेनी संसारभरि करिब एक करोड मानिसहरूको मृत्यु हुने गर्छ। त्यसमा पनि महिलाहरुको सबैभन्दा बढी  मृत्यु स्तन क्यान्सरका कारण हुने गर्छ । स्तन क्यान्सरका कारण हरेक वर्ष झन्डै ६८५,००० भन्दा बढी महिलाहरुको मृत्यु हुने गर्छ।

त्यसो त विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार, स्तन क्यान्सर महिलाहरुलाई हुने क्यान्सरमध्येका सबैभन्दा सामान्य प्रकार हो र तर बेलैमा ख्याल नगर्दा र उपचार नपाउँदा यसबाट हुने मृत्यु दर पनि निकै उच्च छ।

क्यान्सर रोगको उपचार संसारभरि नै अति महंगो हुने गर्छ । नेपाल जस्तो गरिब र विपन्न मुलुकमा क्यान्सर लाग्नु भनेको ठूलै दशा लाग्नु हो । यसले मानिसलाई आर्थिक रुपमा कङ्गाल बनाउँछ । राज्यले दिने आर्थिक सहयोग सीमित मात्रै हुने गर्छ ।

यस्तो स्थितिमा स्तन क्यान्सरको उपचारमा आशाको एउटा नयाँ किरण देखापरेको छ । त्यो हो– क्यान्सरको उपचारमा मौरीको विषको प्रयोग ।

अष्ट्रेलियाको ह्यारी पर्किन्स मेडिकल रिसर्च इन्स्टिट्युट र पश्चिमी अष्ट्रेलिया विश्वविद्यालयको टोलीले गरेको एक अनुसन्धानमा मौरीको बिष स्तन क्यान्सरको कोषको वृद्धि कम गर्न अत्यन्त प्रभावकारी हुने देखिएको छ । खासगरी, त्यो अन्य किमोथेरापीका औषधिहरूसँग मिलाएर प्रयोग गर्दा विशेष प्रभावकारी हुने गरेको फेला परेको छ ।

उक्त अध्ययनमा गरिएको प्रयोगमा बिषले स्वस्थ कोशिकाहरूलाई नोक्सान नगरी क्यान्सर कोशिकाहरूलाई मार्न सफल भएको देखिएको थियो।

वैज्ञानिकहरूले मौरीको बिषमा मेलिटिन नामक तत्त्व पाइने र त्यसैले क्यान्सरको कोषलाई मार्न सक्ने कुरा पत्ता लगाएका छन् । मुसामाथि गरिएको प्रयोगको दौरानमा अनुसन्धानकर्ताहरुले मेलिटिनले मात्र ६० मिनेटभित्रै क्यान्सरको कोशिकाहरूलाई मार्न सकेको फेला पारेका थिए । मौरीको विषमा पाइने उक्त मेलिटिनले क्यान्सर कोशिकाको सतह वा प्लाज्मा झिल्लीमा प्रवेश गरेर २० मिनेटभित्रमै प्वालहरू बनाई क्यान्सरको कोशिकाहरूलाई बढ्न र विभाजन गर्न आवश्यक रासायनिक सन्देशहरूलाई रोक्न सक्षम भएको अध्यननमा देखिएको थियो। खासगरी मेलिटिनले क्यान्सर कोशिकाहरूलाई बढ्ने र प्रतिलिपि बनाउने मुख्य सन्देश वा सिग्नलिङ मार्गलाई अवरुद्ध गरिदिन्छ । त्यसक्रममा मेलिटिनलाई किमोथेरापी औषधिहरूसँग मिलाइदा त्यसको प्रभावकारितामा झनै बढी बृद्धि भएको पनि अनुसन्धानकर्ताहरुले पाएका थिए । उनीहरुले के पाए भने मेलिटिनले क्यान्सर कोशिकाहरूको सतहमा बनाएका प्वालहरूले किमोथेरापी औषधिहरूलाई लक्ष्य कोशिकाहरूमा प्रवेश गर्न सजिलो बनाइदयो ।  

उक्त अनुसन्धानले के पनि देखाएको छ भने मह मौरीको बिषमा पाइने मेलिटिन नामक तत्वले कडा खालको स्तन क्यान्सरको कोषलाई छिटो नष्ट गर्न सक्षम हुन्छ। रोचक कुरा त के पनि देखियो भने मेलिटिनले ट्रिपल-नेगेटिभ (उपचारका सीमित उपायहरु रहेको स्तन क्यान्सरको एक रुप) र HER2-समृद्ध स्तन क्यान्सरको कोशिकाहरूलाई मात्र नष्ट गर्ने गरेको तर स्वस्थ कोशिकाहरूलाई कुनै हानि नपुर्‍याएको पनि पाएका थिए ।

यद्यपि यो अनुसन्धान प्रारम्भिक चरणमा छ, यसले भविष्यमा स्तन क्यान्सरको उपचारमा ठूलो भूमिका खेल्न सक्ने सम्भावना देखाएको छ। विशेषगरी, मेलिटिनलाई अन्य किमोथेरापी औषधिहरूसँग मिलाएर क्यान्सरको उपचारमा प्रयोग गर्न सकिन्छ, जसले किमोथेरापीको असरलाई अझ प्रभावकारी बनाउन सक्छ।

अनुसन्धानमा संलग्न डा. डफीका अनुसार उक्त अनुसन्धानको उद्देश्य विभिन्न प्रकारका स्तन  क्यान्सरका कोशिकाहरुमा मौरीको विष र त्यसमा पाइने यौगिक मेलिटिनको क्यान्सरविरोधी गुणहरुको परीक्षण गर्नु थियो । उनका अनुसार, यसअघि कसैले पनि स्तन क्यान्सरका विभिन्न किसिमहरु तथा स्वस्थ कोशिकाहरुमा मौरीको विष वा मेलिटिनको प्रभावको तुलना गरेको थिएन ।

त्यसो त मौरीको विषको प्रभावबारे पहिलो रिपोर्ट १९५० मा नेचर जर्नलमा छापिएको थियो, जसमा मौरीको विषले विरुवामा ट्युमरको विकासलाई कम गरिदिएको उल्लेख थियो । मानवमा हुने विभिन्न खालका क्यान्सरहरुमा मौरीको विषयको उपयोगबारे भने पछिल्लो दुई दशकमा मात्रै विशेष चासो बढ्न थालेको हो ।