के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

मिथकीय फूल ब्रम्हकमल, जुन उच्च हिमाली क्षेत्रमा मात्रै फुल्छ !

कतिपय सुन्दर तर सहज प्राप्त हुन नसक्ने कुराहरुसँग मिथक गाँसिएका हुन्छन् । त्यस्तै मिथक गाँसिएका एउटा फूल हो ब्रम्हकमल । हिन्दू धार्मिक मिथकअनुसार, उक्त फूल ‘विश्वब्रम्हाण्डका सृष्टिकर्ता’ ब्रम्हाको प्रिय फूल हो । उनी यसै फूलमा बसेर सारा विश्वब्रम्हाण्डको सञ्चालन गरिरहेका हुन्छन् ।

अहिले फूलप्रेमीहरुमाझ ब्रम्हकमल एक लोकप्रिय नाम भएको छ । धेरै फूलप्रेमीहरुले ब्रम्हकमल रोप्ने चाहना राख्छन् । यो फूल रोप्यो र घरमा फुल्यो भने सुख–समृद्धिको वर्षा हुन्छ भन्ने विश्वास गरिन्छ ।

तर उदेकलाग्दो कुरा चाहिँ के छ भने नेपालीहरुमध्ये धेरैले ब्रम्हकमल भन्दै आइरहेको तथा घरमा रोपेर मख्ख पर्ने गरेको फूल आफैंमा भने ब्रम्हकमल होइन। त्यो त भारतका केही चतुर व्यापारीहरुले भारत–नेपालका धर्मभीरु मानिसहरुलाई भ्रमित पार्न तथा उनीहरुलाई त्यो फूलको विरुवा महंगो दाममा बेच्नका लागि रचेके फण्डा मात्रै हो । यो कुरा बुझ्नु र बुझाउनु जरुरी छ ।

सक्कली ब्रम्हकमल

हिमालय क्षेत्रमा पाइने दुर्लभ र पवित्र फूल चाहिँ वास्तविक वा सक्कली  ब्रम्हकमल (Saussurea obvallata)  हो। यो बोट Asteraceae परिवारमा पर्छ।

ब्रम्हकमलको बोट सधैं रहिरहने खालको हुन्छ । यसको बोटको उचाइ औसत १ फुट  हुने गर्छ भने कुनै कुनैको उचाइ २ फुटभन्दा बढी पनि हुन सक्छ । यसको बोटमा ३० सेमी लामो र २० सेमी चौडा, ठूला र चम्किला पातहरू हुन्छन्। ब्रम्हकमलको फूल सुन्दर सेतो रंगको घण्टी आकारको हुन्छ, जुन लामो र पातलो पत्रहरूले घेरिएको हुन्छ। यो फूल रातमा फुल्छ र यसको मादक सुगन्धको लागि प्रसिद्ध छ, जुन पूर्णिमाको रातमा विशेष गरी तीव्र हुन्छ।

यसका फूलहरू उभयलिंगी (भालेपोथी दुवै अंगहरू भएका) हुन्छन् र कीराहरूले यसलाई परागसेचन गर्छन्। यी फूलहरू मध्य-बर्षायाम (जुलाई–अगस्ट) मा पहाडी चट्टानहरू र घाँसहरू बीच ३७००–4६०० मिटरको उचाइमा फुल्छन्। फूलका टाउकाहरू बैजनी रंगका हुन्छन्, जसलाई पहेंलो-हरियो रङका कागजी पातहरूले छोपेर राखेको हुन्छ, जसले यसलाई चिसो पर्वतीय वातावरणबाट सुरक्षा दिन्छ। यो फूल फुल्दा त्यसबाट अत्यन्तै मोहित पारिदिने खालको मीठो सुगन्ध आउने गर्छ । नेपालको हिमाली क्षेत्र, तिब्बत, र भारतको उत्तराखण्ड राज्य लगायतका क्षेत्रमा पाइने फूलहरू जुलाईदेखि सेप्टेम्बरसम्म फुलेको देख्न सकिन्छ, त्यसपछि बोटको माथिल्लो भाग मर्छ र फेरि अप्रिलमा देखिन थाल्छ।

यस फूलको वैज्ञानिक नामको Saussurea अल्पाइन वैज्ञानिक होरास बेनेडिक्ट डे साउसेरेको नामबाट राखिएको हो भने obvallata शब्द obvallatus बाट लिइएको हो ।  obvallatus को अर्थ "पर्खालले घेरिएको" हुन्छ ।

भारत सरकारले १९८२ मा Saussurea obvallata को तस्वीर सहितको र फूललाई अंग्रेजीमा Sassurea obvallata र देवनागरी लिपिमा ब्रम्हकमल भनेर चिनिने हुलाक टिकट जारी गरेको थियो। पहिले उत्तराञ्चल भनिने भारतको उत्तराखण्ड राज्यको राष्ट्रिय फूल पनि यही ब्रम्हकमल हो ।  

यो दुर्लभ प्रजातिको विरुवा भएकोले अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) ले यसलाई दुर्लभ प्रजातिको रूपमा वर्गीकृत र संरक्षित गरेको छयसको आवास विनाश, चरिचरन, र अन्य खतराहरूका कारण यस विरुवाको संख्या घटिरहेको छ।

ब्रम्हकमल औषधीय गुण भएको फूल हो । यसको विरुवालाई आयुर्वेदिक औषधिको रूपमा पनि प्रयोग गरिन्छ। यसले घाउ निको पार्ने, शरीरलाई ठण्डा राख्ने, र अन्य धेरै स्वास्थ्य लाभ दिने आयुर्वेदिक मान्यता छ । यस बोटको जरा स्थानीय औषधिको रूपमा चोटपटक तथा काटिएको घाउको उपचारमा प्रयोग गरिन्छ।

‘नक्कली’ ब्रम्हकमल !

अहिले नेपाल र भारतमा व्यापक रुपमा ब्रम्हकमल भनेर प्रचारप्रसार गरिएको तथा बेचिने गरेको अर्को फूल पनि पाइन्छ । सक्कली ब्रम्हकमलजस्तै यो फूल पनि रातको समयमै फुल्ने गर्छ । यो फूलको नाम हो– नाइट ब्लुमिङ सेरियस  Night-blooming Cereus (Epiphyllum oxypetalum)  ।वास्तवमा यो फूल ब्रम्हकमल हैन । यो वैज्ञानिक रूपमा नै ब्रम्हकमलभन्दा भिन्न फूल हो।

नाइट ब्लुमिङ सेरियस   समुद्री सतहमा, समुन्द्र किनारका क्षेत्रदेखि समशीतोष्ण क्षेत्रमा हुन्छ।

नाइट ब्लुमिङ सेरियस   रातमा फुल्ने सुगन्धित सेतो फूल हो विचित्रको कुरा के छ भने  यसको फूलको आयु एक रात मात्र हुन्छ ।  यसको फूल रातभरिमा पूर्ण रूपमा फुल्छ र बिहानको समयमा ओइलाउन थाल्छ। यो फूल पनि अत्यन्तै सुगन्धित खालको हुने गर्छ । यसको मीठो सुगन्ध अनि रातको समयमा मात्रै फुल्ने र फूलको आयु पनि एक रात मात्रै हुने भएकोले यस फूललाई पनि धार्मिक रुपमा पवित्र फूल नै मान्ने गरिन्छ ।

धार्मिक महत्त्व: यस फूललाई पनि पवित्र मानिन्छ, र यसको विशेषता र फूलने समयको दुर्लभताका कारण यसलाई पूजा र धार्मिक कार्यहरूमा प्रयोग गरिन्छ।

भिन्न हुन् यी दुई फूलहरु !

धेरै मानिसहरूले  नाइट ब्लुमिङ सेरियस  फूललाई ब्रम्हकमल भनेर भ्रममा पर्छन्, तर यो वास्तवमा ब्रम्हकमल (Saussurea obvallata) भन्दा भिन्न खालको फूल हो । ब्रम्हकमल (Saussurea obvallata) उच्च हिमाली क्षेत्रमा मात्र पाइने एक अल्पाइन फूल हो। उता नाइट ब्लुमिङ सेरियस   (Epiphyllum oxypetalum) चाहिँ क्याक्टस प्रजातिको फूल हो, जुन समशीतोष्ण क्षेत्रमा पाइन्छ।

दुबै फूललाई स्थानीय रूपमा ब्रम्हकमल भनेर चिनिए–चिनाइए पनि वैज्ञानिक दृष्टिकोणले यी दुई फरक प्रजातिका हुन्। यिनीहरुको परिवार र भौतिक विशेषताहरू फरक छन्।

सक्कली  ब्रम्हकमल Asteraceae परिवारमा पर्ने र अलि अग्लो बोट हुने विरुवा हो । यो नेपाल, भारत, र तिब्बतको हिमालय क्षेत्रमा पाइन्छ र यसमा ठूला, चम्किला पातहरू र सुन्दर, घण्टी आकारको सेतो फूल हुन्छ।

अर्कोतर्फ, ब्रम्हकमल भनेर हामी मख्ख पर्दै आइरहेको नाइट ब्लुमिङ सेरियस चाहिँ क्याक्टस प्रजातिको विरुवा हो, जुन Cactaceae परिवारमा पर्छ। यो मध्य र दक्षिण अमेरिकामा पाइन्छ र यसलाई डचम्यान्स पाइप, क्वीन अफ द नाइट, प्रिन्सेस अफ द नाइट, नाइट-ब्लूमिङ सेरियस, वा अर्किड क्याक्टस लगायतका नामले पुकारिन्छ । यसमा लामो, सपाट, र खण्डित पातहरू हुन्छन्, र यसले रातमा फुल्ने ठूला, सुगन्धित सेतो फूलहरू उत्पादन गर्छ।

यी दुवै बोटहरू आफ्नै किसिममा अनौठो र सुन्दर भए पनि, यी फरक प्रजातिहरू हुन् जसको विशेषताहरू भिन्न छन् र एउटै परिवारमा पर्दैनन् ।

Main image: wikipedia