जीवन मार्ग

मेरा आफ्नै किसिमका अनुराग छन्, सपनाका आफ्नै अनुराग छन्, विचारका आफ्नै छन् । मैले आफैलाई अनुबन्धित गरेको मेरा आफ्नै आचारसंहिता छन् । त्यसो भन्दैमा आफुलाई स्वयम्भू बनाउने खेलोफड्कोमा पनि म छैन । निर्जन टापुमा आफल्लिएको रविन्सन क्रुसो पनि म होइन । समाजमा हुर्केको छु र त्यसले नै मेरो जीवन नसामा रक्त सन्चार गराएको छु । त्यो गुन प्रति मेरो विवेकले कृतघ्न हुनै दिन्न । अनि त मैले प्रतिदानमा प्रणयको कविता लेखेको छु ।

अरुका प्रति ममा न  क्रोध छ न त कुण्ठा नै । म ठान्छु मेरा जस्तै अरुका पनि सपना होलान्, विचार होलान् र आफ्नै आचार मार्गमा विचरण गरेका होलान् । अरुसंग मेरो कुनै ठुलो माग पनि छैन । बस, मलाई न बिथोलिदिए पुग्छ, थिचोमिचो न गरी दिए पुग्छ । जीवन यात्रामा सहयात्रीहरुको करिश्मा र मजा नै अर्को हुन्छ । म त्यस्तो हातेमालोमा औधी लोभिन्छु पनि । मलाई मेरा सीमा र अज्ञानताको भरपुर चेत छ । मेरा सत्कर्म मेरा कमजोरी भन्दा थोरै मात्र भारी भए पनि मलाई सन्तोष गर्न पुग्छ । शक्तिको मन्दिरमा मलाई पुजा गर्न आउँदैन फेरि पनि म अधर्मी होइन । म अबोध बालकको मुस्कानबाट जति प्रफुल्लित हुन्छु, बुढाबुढी, दीन दुखिको आँसुबाट त्यतिकै भरङ्ग पनि हुन्छु । औकात बाहिरका रुँची पनि आक्कलझुक्कल सवार भइहाल्छन्, तर एकै छिनमा थामिन्छु । आखिर रंगिन सपना कसका हुँदैनन् र !? 

सानोमा रोटे पिङ्ग खेलेको छु तर त्यसमा मलाई रिंगटा लाग्यो, एउटा माथि जाँदा अरु तल झर्नु पर्ने । पौडी मलाई खुब मनपर्छ त्यो पनि समुहमा । मलाई एकल बादनमा मुरलीको धुन मनपर्छ तर त्यो भन्दा बढी अर्केष्ट्रा मन पर्छ । तामस मेरो शिक्षा र धर्म दुवैले अस्वीकार गर्छ ।

घोडा त मलाई बादशाह कै किन न होस् चढ्न मन लाग्छ, तर चोरीछिपी होइन । घोडैमा चढ्दा पनि ओर्लेर भीर पखेराका सुनाखरी हेर्न म रुचाउँछु । मलाई सगरमाथाको उचाई मनपर्छ तर लिगलिगको उकालो एक्लै दौडिन भने ज्यान गए सक्दिन । किनभने मलाई उकालोदेखि डर लाग्छ - बस्ती छोडिदै  जान्छ र निर्जनताले लपेट्न थाल्छ । मेरी आमाले भनेकी छन्, माथि निर्जन नागी डाँडामा शैतानहरुले बास गर्छन् र उनैले नचाउँछन् ।

म खेल खेल्छु, शतरंज मलाई आउँदैन, अरुचि पनि छ - लासै लासमाथिको दिग्विजय । मेरो ब्रह्मले भन्छ त्यो अधम हो । क्यारम खेल्न पनि म जान्दिनँ - 'रानी' खाएर विजयी हुने छुब्धा ममा छैन, उता ताकेर यता गोटी खाने सीप पनि सिकिएन । सानोमा रोटे पिङ्ग खेलेको छु तर त्यसमा मलाई रिंगटा लाग्यो, एउटा माथि जाँदा अरु तल झर्नु पर्ने । पौडी मलाई खुब मनपर्छ त्यो पनि समुहमा । मलाई एकल बादनमा मुरलीको धुन मनपर्छ तर त्यो भन्दा बढी अर्केष्ट्रा मन पर्छ ।

तामस मेरो शिक्षा र धर्म दुवैले अस्वीकार गर्छ । तामस अरुले देखाए प्रहसनको मजा लिन्छु कसैले आफुलाई आरोप लगाए सपनामा पनि कहालिन पुग्छु । मलाई तामसबाट जोगाउने म भित्रको गुरुको आदेश छ, जसले मलाई लुरुलुरु अनुपालन गर्न लगाउँछ, " हेर, तिम्रो अँध्यारोमा प्रकाश पार्ने र तिम्रो दुर्बलातामा शक्ति भर्ने धेरै गतिला र गुणी मानिसहरु तिम्रै वरिपरि र अन्यत्र पनि छन् । तिमी विनयशील भए पुग्छ । तिमी सामाजिक हौ र त्यसैमा तिम्रो सम्भावना र कर्तब्य छिपेको छ । बस, सचेत कर्म गर । संगीतको मधुर धुन त्यसै कहाँ आउँछ !'