ग्रहका आकारसम्बन्धी केही रमाइला तथ्यहरु

https://upload.wikimedia.org/

हाम्रो सौर्यमण्डलमा एउटा माउ तारा सूर्य, आठ वटा ग्रहहरु, पाँच वटा बौना ग्रहहरु (dwarf planets) र २९३ वटा उपग्रहहरु छन् । यसभित्र करिब १४ लाख छुद्र ग्रहहरु (asteroids)  र ४००० वटा जति पुच्छ्रेताराहरु छन् ।

हाम्रो सौर्यमण्डल आकाशगंगा तारामण्डलमा अवस्थित छ र यो आकाशगंगाको केन्द्रलाई करिब ८,२८००० किलोमिटर प्रतिघण्टाको गतिले परिक्रमा गरिरहेको छ । यसले आकागंगाको केन्द्रलाई एक चक्कर लगाउन करिब २३० मिलियन वर्ष समय लाग्छ ।

आकार र आयातनको हिसाबले हाम्रो सौर्यमण्डलको माउतारा सूर्य निक्कै ठूलो छ । हाम्रो माउ तारा सूर्यको व्यास (diameter)  १३,९२,७०० किलोमिटर छ । यो भनेको पृथ्वीभन्दा झन्डै १०९ गुना बढी हो ।  द्रव्यमान (mass) को हिसाबले यसले हाम्रो सौर्यमण्डलको ९९.८ प्रतिशत हिस्सा ओगट्छ । आयातनको हिसाबले हेर्दा सूर्यभित्र स्वयं हाम्रो ग्रह पृथ्वी १,३००००० वटा अटाउन सक्छ ।

 आकारमा हाम्रो पृथ्वी सौर्यमण्डलको पाँचौं ठूलो ग्रह हो । यसको व्यास १२,७५६ किलोमिटर छ ।  यसभित्र चन्द्रमालाई हाल्ने हो भने २६ वटा चन्द्रमा अटाउँछ । चन्द्रमाको व्यास ३,४७५ किलोमिटर छ ।

बरुण ग्रह  (Neptune)  मा ५७ वटा पृथ्वी अटाउँछ । नेप्च्युन ग्रहको व्यास ४९,२४४ किलोमिटर रहेको छ ।

उता अरुण ग्रह  (Uranus)  मा भने झन बढी अर्थात् ६३ वटा पृथ्वी अटाउँछ । यस ग्रहको व्यास ५०७२४ किलोमिटर छ ।

शनि ग्रह  (Saturn)  मा ७६४ वटा पृथ्वी अटाउँछ । शनिग्रहको व्यास ११६४६४ किलोमिटर रहेको छ ।

https://bebzol.com/

सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पति  (Jupiter)  मा त झन् १३२१ वटा पृथ्वी अटाउँछ । वृहस्पतिको व्यास १३९८२२ किलोमिटर रहेको छ । यस हिसाबले वृहस्पतिको आकार निक्कै ठूलो रहेको छ ।

सूर्यभित्र १००० वटा वृहस्पति ग्रह अटाउँछ । अझ शनि ग्रह त १६०० वटा अटाउँछ ।