कसले गर्‍यो प्लास्टिकको आविष्कार ?

लियो बेक्लेन्ड

प्लास्टिक हामी हामी हरेक दिन प्रयोग गर्छौं । यसको प्रयोगले गर्दा जस्तोसुकै सामानहरु बोक्न पनि हामीलाई सजिलो भएको छ । प्लाष्टिकबाट नै दैनिक जीवनमा उपयोग हुने विभिन्न खाले वस्तुहरु पनि निर्माण भएका छन् । त्यस्ता वस्तुहरुले हाम्रो कामलाई अझ सजिलो बनाएका छन् ।

यसरी मानव जीवनमा अहिले बहुउपयोगी र सहयोगी साबित भएको प्लास्टिकको आविष्कार गर्ने सिलसिलामा लामो समयदेखि कोशिस हुँदै आएका थिए । यसैक्रममा पहिलो सिन्थेटिक प्लाष्टिकको आविष्कार बेल्जियममा जन्मेका अमेरिकी रसायनविद लियो बेक्लेन्ड (१९६३–१९४४) ले गरेका हुन् । उनले यसको आविष्कार सन् १९०७ मा गरेका थिए । बेक्लेन्डले आविष्कार गरेको र अहिले दैनिक जीवनमा व्यापक रुपमा प्रयोग हुँदै आएको प्लास्टिक सिन्थेटिक प्लास्टिक हो । यो प्लास्टिक विभिन्न रासायनिक प्रक्रियाहरुबाट बनाइन्छ ।

सन् १९०० को शुरुताका बेक्लेन्ड आफ्ना परिवारसहित अमेरिकाको न्यूयोर्क बसाइ सरे । त्यहाँ उनले एउटा प्रयोगशाला खोलेका थिए । त्यसबेला अमेरिकामा विद्युत उद्योग भरखरै फस्टाउँदैथियो । त्यसबेला नाम चलिसकेका बेक्लेन्डले विजुलीमा चाहिने इन्सुलेटर (करेन्ट नलागोस् भनी तार छोप्ने प्लाष्टिक) बनाउने जिम्मा पाए ।

त्यसअघि इन्सुलेटरको रुपमा सेलएक नामक पदार्थको प्रयोग हुने गर्थ्यो । यो पदार्थ विटल कीरा (Laccifer lacca) ले रुखमा छोडेको पदार्थलाई तताएर तथा छानेर तयार गरिन्थ्यो । विद्युत उद्योग फस्टाउँदै गएपछि त्यसको माग बढ्दै गयो तर बढ्दो मागको तुलनामा त्यो निर्माण हुने प्रक्रिया निक्कै कम र सुस्त हुने भएकोले त्यसको व्यापक अभाव भयो । त्यसैले बिजुलीमा इन्सुलेटरको विकल्प खोज्नु जरुरी भइसकेको थियो । त्यसैको विकल्पको खोजीमा बेक्लेन्डले सिन्थेटिकको प्लाष्टिक आविष्कार गर्न पुगेको थिए ।

त्यसो त उनले यो कुरा सजिलै आविष्कार गरेका थिएनन् । त्यसको लागि उनी र उनका सहयोगीहरुले १९०४ देखि नै अनुसन्धान र खोज थालेका थिए । त्यसको करीब ३ वर्षसम्म उनीहरुले हज्जारौं प्रयोगहरु गरे, बेक्लेन्डका प्रयोगशालाका कापीका पानाहरु असफल प्रयोगका तथ्य र तथ्यांकहरुले भरिए । तर बेक्लेन्डले हरेश खाएनन् । उनले आफ्नो अनुसन्धान र प्रयोग जारी राखे । र, अन्त्यमा उनले आफूले चाहेजस्तो पदार्थको निर्माण गरेरै छाडे । उनले त्यो पदार्थको नाम बेकेलाइट राखेका थिए । त्यसलाई विभिन्न प्रयोग र तापक्रमहरुमा परीक्षण र अनुसन्धान गर्दै अन्ततः उनले सिन्थेटिकको प्लाष्टिक बनाउन सफलता हात पारेका थिए ।

आफ्ना आविष्कार सार्वजनिक गर्नुभन्दा पहिला उनले त्यसको प्याटेन्टका लागि निवेदन दिएका थिए । प्याटेन्ट नपाएसम्म उनले आफ्नो आविष्कारलाई गुपचुप नै राख्नु उचित ठाने । आविष्कारको दुई वर्षपछि मात्र उनले सन् १९०९ मा अमेरिकन केमिकल सोसाइटीको न्यूयोर्क च्याप्टरको बैठकमा आफ्नो आविष्कारलाई सार्वजनिक गरेका थिए ।

बेक्लेन्डको यो आविष्कार चाँडै नै लोकप्रिय हुँदै गयो । विश्वप्रसिद्ध पत्रिका टाइमले सन् १९२४ मा उनको बारेमा एउटा आवरण कथा नै छाप्यो । त्यसमा बेक्लेन्डले आफ्नो आविष्कार केही वर्षभित्रमा नै आधुनिक सभ्याताका सबै यान्त्रिक कारखानाहरुको अभिन्न अंग बन्ने दाबी गरेका थिए । नभन्दै त्यस्तै भयो । कतिसम्म भने, सन् १९४५ मा बेक्लेन्डको निधन हुँदाको वर्षसम्म आइपुग्दा अमेरिकामा वार्षिक ४ लाख टन प्लाष्टिक उत्पादन हुन थालिसकेको थियो ।

त्यसो त बेक्लेन्डले आविष्कार गर्नुभन्दा पहिले पनि प्लाष्टिकको प्रयोग हुने गर्थ्यो । तर त्यो चाहिँ रासायनिक प्रक्रियाबाट तयार नगरिएका प्लास्टिक थियो । त्यस्तो रसायनिक प्रक्रियाबिना नै बन्ने प्लास्टिकको आविष्कार सन् १८६२ मा नै भएको थियो । त्यस्तो प्लाष्टिकको आविष्कार भने बेलायतका अलेक्जेन्डर पार्क्सले गरेका थिए । उनले यसको प्रदर्शन सोही साल लण्डनको द ग्रेट इन्टरनेसनल एक्जिबिसन नामक मेलामा गरेका थिए ।

पार्क्सले आविष्कार गरेको प्लास्टिक भने पार्केसाइन नामक जैविक वस्तुको रेसाहरुबाट बनाइन्थ्यो । त्यसरी प्लाष्टिक बनाउने प्रक्रियामा त्यसलाई आकार दिनका लागि पार्केसाइनका रेसाहरुलाई  ताप दिइन्थ्यो र आफूले चाहेको निश्चित आकार आएपछि त्यसलाई चिसो बनाइथ्यो । यसरी विभिन्न आकारका प्लास्टिकका वस्तुहरु निर्माण गर्ने गरिन्थ्यो ।  त्यसपछि सन् १८६९ मा सेलुलोइड प्लाष्टिक पनि बनेको थियो । तर यी दुवै प्लाष्टिकको अवगुण भनेको यो अत्यधिक प्रज्वनशील र अस्थीर खालको थियो ।

ज होस्, प्लाष्टिकको आविष्कारको कुरा गर्दा अलेक्जान्डर पार्कले लियो बेक्लेन्डलेभन्दा ४५ वर्ष पहिले नै प्लास्टिकको निर्माण गरेका थिए । त्यसैले पहिलो प्लास्टिक निर्माण गर्ने श्रेय बेलायतका अलेक्जान्डर पार्कलाई दिइन्छ  भने पहिलो सिन्थेटिक प्लाष्टिक बनाउने श्रेय चाहिँ  बेक्लेन्डलाई नै जान्छ ।

 

१० लाख डलरमा बेचिएको आविष्कार !

बेक्लेन्डले सिन्थेटिक प्लाष्टिकको आविष्कार गर्नुअघि नै उनले सन् १८९० ताका भेलोक्स (Velox) नाम गरेको फोटो कागज बनाएका थिए । उनले यो फोटो कागजको आविष्कार गर्नुअघि फोटो बनाउनको लागि फोटोग्राफरहरुले घामको प्रकाशको भर पर्नुपर्थ्यो । उनले बनाएको यो नयाँ कागजले गर्दा फोटोग्राफरहरुले फोटो बनाउनको लागि घामको प्रकाशको भरपर्नुपर्ने अवस्थाको अन्त्य भयो किनभने, उनको यो फोटो कागजमा अरु प्रकाशका स्रोतहरु (तत्कालीन अवस्थामा ग्याँसको प्रकाश, जसलाई पछि बिजुलीले विस्थापित गर्‍यो)बाट पनि फोटो बनाउन सकिने भयो । रमाइलो के छ भने, उनको यो आविष्कारको सम्पूर्ण अधिकारलाई त्यसबेला क्यामेराका आविष्कारक तथा फोटोग्राफीमा समर्पित जर्ज इस्टम्यानले सन् १८९९ तिर १० लाख डलर तिरेर किनेका थिए ।

image source: https://s.hdnux.com