स्वच्छन्दतावाद र विकृत उत्तरआधुनिकतावादले दिशानिर्देश गरेको नेपालको राजनीति
अहिलेको राजनीतिक परिवर्तन स्वतःस्फूर्त होइन
सामाजिक सञ्जालको दुरुपयोग, यसमा पोखिएका फोहोर, घृणाजन्य अभिव्यक्ति, परपीडक व्यक्तिगत आक्रमण र सामाजिक बर्खास्तीका लागि गरिने षड्यन्त्रमूलक प्रचारप्रसारका ताण्डवहरूले हाँकेको वर्तमान राजनीतिपछाडि नियोजित योजना, भ्रमित दिमाग र अपभ्रंशित दर्शनले निर्माण गरेका आख्यान वा संकथनहरू छन्। यो अवस्थाको निर्माणमा बौद्धिक दार्शनिक विमर्शहरूको पतनको भूमिका पनि निर्णायक छ। समाजमा बौद्धिक र प्रज्ञानमूलक विमर्शको संस्कृति र साहित्यद्वारा चेतना निर्माण गर्न सकियो भने यस्ता विद्रूपपन हटाउन सकिन्छ । तर नेपाली समाजमा दार्शनिक विमर्श र प्रज्ञानको शून्य ता देखिएको व्यापक भएको छ, जसले ‘स्वच्छन्दतावाद’ (रोमान्टिसिजम र लाइसेन्सियसनेसको योग) को विशाल वृक्ष तयार पार्न मद्दत गरेको छ। ज्ञान प्रज्ञानको यस विग्रहमा स्कुलबाट भागेको सुकुलगुन्डा र सडकमा क्यारेमबोर्डमा बाजी थापेर दिन बिताउने र बेलुका रक्सी खाएर श्रीमती र छोराछोरी कुट्ने स्वाँठहरू समाजका विचारक बन्न पुगेका छन्। त्यसले सामाजिक सञ्जालमा लेख्छ ‘यो समाज तिमी जस्ता बौद्धिकले बिगारेको हो।’
नेपाली समाजमा दार्शनिक विमर्श र प्रज्ञानको शून्य ता देखिएको व्यापक भएको छ, जसले ‘स्वच्छन्दतावाद’ (रोमान्टिसिजम र लाइसेन्सियसनेसको योग) को विशाल वृक्ष तयार पार्न मद्दत गरेको छ।
अर्को एउटा तत्त्व पनि संलग्न छ जो राजनीतिक दलको कार्यकर्ता हो, तर माफिया/बिचौलिया धन्दामा लागेर अकुत कमाउँछ र बाजेको सेकुवा र रक्सीको सीमारहित सेवनलाई जिन्दगीको लक्ष्य बनाउँछ। त्यो पनि समाजको पथप्रदर्शक बनेको छ र राजनीति उसको अधीनमा छ। यस्ता व्यक्तिको नियन्त्रणमा रहेको सामाजिक सञ्जालचाहिँ ज्ञान र सूचनाको केन्द्र बनेको छ। यही सामाजिक सञ्जाल सञ्चारक्षेत्रको सूचना स्रोत बनेको छ। समसामयिक र सूक्ष्म दर्शन तथा समाजशास्त्रको केन्द्रमा रहेर छलफल हुनुपर्ने प्रश्न हो यो विषय, तर ९०% बौद्धिकहरू नेपालमा किन हो बोल्दै बोल्दैनन्। उनीहरू प्रश्न नै गर्दैनन्। परिणामहरू गम्भीर बनिरहेका छन्।
समाजमा बौद्धिक विमर्शको उन्मूलन भएजस्तै छ
आजको युवा पुस्तामा खासगरी जेन्जी विद्रोहमा पोखिएको भाव के थियो भन्ने कुरा कतै छलफल भएन। के यो व्यक्तिगत स्वतन्त्रताको खोज थियो? के स्थापित संस्थाप्रतिको वितृष्णा थियो? वा सीमाहीन अधिकारको खोजी र स्वच्छन्दताबीचको भ्रम थियो? यी प्रश्नको उत्तर नेपाली समाजमा बौद्धिकहरूका बीचमा विमर्शका विषय नै बनेनन्। सबै जेन्जी आन्दोलनको ‘भोटेकोशी’ मा बगे। बौद्धिक भनिने धेरै त जेन्जी आन्दोलनलाई आफ्नो लाभको मौका वा अवसर बनाउन पनि कुदे।
यौनजन्य भाव बेचेर टिकटकबाट पैसा कमाउने र घाँटीमा दाम्लोजत्रै सुनको सिक्री हालेको बिचौलिया र सबै औँलामा पत्थरका औँठी लगाएका अन्धविश्वासका ठेकेदार पनि समाजका विचार निर्माता बनेका छन्।
आज नेपाली समाज दिशाहीन र कुहिरोले छोपेको अदृश्य गाउँजस्तो भएको छ। यो अराजकतावाद (अनार्किजम), स्वच्छन्दतावाद (रोमान्टिसिजम/ लाइसेन्सियसनेस) र उत्तरआधुनिकतावादका सीमाहरू धमिलिएर बनेको एउटा स्वरूपहीन आकृति जस्तो वा जेलीफिस जस्तो बन्न पुगेको छ। अघि नै भनेजस्तै यसका निर्णायक दार्शनिकहरू अश्लील भाषा बोल्ने स्कुलबाट भागेका उरन्ठेउला, क्यारेमबोर्डमा बाजी थाप्ने अल्छी र जातिवादले ग्रस्त नस्लवादीहरू बनेका छन्। यौनजन्य भाव बेचेर टिकटकबाट पैसा कमाउने र घाँटीमा दाम्लोजत्रै सुनको सिक्री हालेको बिचौलिया र सबै औँलामा पत्थरका औँठी लगाएका अन्धविश्वासका ठेकेदार पनि समाजका विचार निर्माता बनेका छन्।
दार्शनिक रूपमा अराजकतावाद भनेको 'नियम वा मान्यताहीनता' होइन, बरु 'एकाधिकारवादी शासकहीनता' हो। यसले राज्यसत्ताका एकाधिकारको विरोध गर्छ, तर समाज सञ्चालनका लागि उच्च नैतिक दायित्व, आत्मानुशासन र सामाजिक उत्तरदायित्वको त जोडदार माग गर्छ। यो दर्शनको व्यापकता रुसमा बोल्सेभिक क्रान्ति र चीनमा नयाँ जनवादी क्रान्तिको वरिपरि र अगाडि थियो। अराजकतावाद पनि परिवर्तन वा क्रान्तिका पक्षमा थियो र सामन्तवाद यसको विरोधको निसान थियो। यो अन्धविश्वास र सामन्तहरूको अधीनविरुद्ध वा कुलीन शासनका विरुद्ध जबर्दस्त उठेको आन्दोलन थियो। तर आज यही अराजकतावाद ‘स्वच्छन्दतावाद’ (जसलाई सीमाहीन उन्मुक्तता पनि मानिन्छ) का रूपमा प्रकट भएको छ। यसको आडमा स्वच्छन्दतावादले व्यक्तिका सीमाहीन अश्लील भावना, आत्मअभिव्यक्ति, आत्मदम्भ (नार्सिसिजम) र नव-कुलीनता अनि परपीडक इच्छा र व्यक्तिगत अहंकारलाई सर्वोपरि मान्छ। यसले समाजमा स्थापित सबै मान्यताको विरोध गर्छ, तर कुनै विकृतिको विरोध गर्दैन। यो इतिहासमा निर्माण भएका मानवतावाद, समतावाद, समाजवाद, प्रकृतिवाद र समुदायवाद जस्ता महासङ्कथन (ग्रान्ड न्यारेटिभ्स)हरू भत्काउन जेसुकै गर्न तत्पर हुन्छ। यसले पुराना संस्थाहरू भत्काउनुलाई नै क्रान्ति ठान्छ, बनाउनु यसको लक्ष्य होइन। यस्ता सोचहरूलाई भ्रष्ट पुँजीवाद र रुग्ण साम्राज्यवादले आफ्नो अस्तित्वका लागि प्रयोग गर्छन्। के त्यसो भए सिंहदरबारमा आगो लगाउने, अदालत जलाउने, प्रहरीलाई कुटेर मार्ने, स्वदेशी व्यापारीका प्रतिष्ठानमा आगो लगाउने आन्दोलन स्वतःस्फूर्त भएका घटना थिएनन्? हो, थिएनन्। ती घटना पुराना मान्यता र संस्थाहरू समाप्त गर्ने नाममा भएका स्वच्छन्दवादी नियोजित सोचका परिणाम थिए।
अराजकतावाद पनि परिवर्तन वा क्रान्तिका पक्षमा थियो र सामन्तवाद यसको विरोधको निसान थियो। यो अन्धविश्वास र सामन्तहरूको अधीनविरुद्ध वा कुलीन शासनका विरुद्ध जबर्दस्त उठेको आन्दोलन थियो। तर आज यही अराजकतावाद ‘स्वच्छन्दतावाद’ (जसलाई सीमाहीन उन्मुक्तता पनि मानिन्छ) का रूपमा प्रकट भएको छ।
आजको युवा वर्गले राज्य वा संस्थाको नियन्त्रण अस्वीकार गर्दा (अराजकतावादी रुझान) त्यसको बदलामा चाहिने 'आत्मानुशासन र सामाजिक दायित्व' लाई भने बिर्सिएको छ र स्वच्छन्दतावादलाई नै स्वतन्त्रता ठानेको छ। फलस्वरूप, कुनै पनि सीमा वा दायित्व स्वीकार नगर्ने प्रवृत्तिलाई नै 'अराजकतावाद' वा 'स्वतन्त्रता' सम्झिने भ्रम नेपाली समाजमा मौलाएको छ। यसले गर्दा अराजकतावादले खोजेको निरङ्कुश र सामन्तवादी भ्रष्ट शासनविरुद्धको वैयक्तिक स्वतन्त्रताको चाहना केवल 'व्यक्तिगत स्वच्छन्दता' (Licentiousness) मा परिणत भएको छ। यसकै परिणाम पुराना सबै भत्काउने उद्देश्यहीन आन्दोलन नै राजनीति बनेको छ।
स्वच्छन्दतावाद र विकृत उत्तरआधुनिकतावाद एकै भएका छन्
के यो विकृत अराजकतावाद वा स्वच्छन्दतावाद विकृत उत्तरआधुनिकतावादसँग मिल्छ? हो, यो ठ्याक्कै मिल्छ। यो प्रवृत्ति उत्तरआधुनिकतावादको विकृत प्रभाव नै हो। उत्तरआधुनिकतावादको मुख्य वा मूल सोच भनेको 'महान् आख्यानहरू' (ग्रान्ड न्यारेटिभ्सहरू) लाई अस्वीकार गर्नु हो। यसले कुनै पनि सत्य, स्थापित व्यवस्था वा सर्वमान्य नैतिक मानकलाई मान्दैन।
जब उत्तरआधुनिकतावादले स्थापित मान्यतालाई भत्काउँछ, त्यसले युवाहरूलाई ‘स्थापित राजनीतिक वा सामाजिक संस्था नमान्न उक्साउँछ।’ यसको प्रयोग सिंहदरबारको आगो हो। सिंह छैन कसरी सिंहदरबार भयो भन्ने प्रश्न यसकै आख्यान हो।
‘तपाईंको सत्य तपाईंको हो, मेरो सत्य मेरो हो’ भन्ने अवधारणालाई अगाडि सार्छ। यसले वेद, बुद्ध, लाओ, मार्क्स, लेनिन, गान्धी, जिसस, मोहम्मद, जीवन, प्रेम, दाम्पत्य केही मान्दैन। यसले विकृतिको पल्लो छेउमा पुगेर बाबुलाई आमाको बलात्कारी हो भनेर बताउँछ। जब उत्तरआधुनिकतावादले स्थापित मान्यतालाई भत्काउँछ, त्यसले युवाहरूलाई ‘स्थापित राजनीतिक वा सामाजिक संस्था नमान्न उक्साउँछ।’ यसको प्रयोग सिंहदरबारको आगो हो। सिंह छैन कसरी सिंहदरबार भयो भन्ने प्रश्न यसकै आख्यान हो। रवि लामिछानेले ‘हिजोका शक्तिले लोकतन्त्र निर्माण गरेको सम्झाउँदै, व्यवस्था भत्काउने होइन निर्माण गर्ने हो भनेको’ यही विकृत उत्तरआधुनिकतावाद र स्वच्छन्दतावादप्रति विरोध गर्नुपर्ने अनुभूति व्यक्त गरेको हो भन्ने देखिन्छ र उनीमा राजनीतिक सुझबुझ देखिन्छ। उनी यो प्रवृत्तिप्रति चिन्तित भएका छन् भन्ने देखिन्छ।
स्वच्छन्दतावादमा घुलित उत्तरआधुनिकतावादको दुष्परिणाम के हुन्छ भने जब कुनै सर्वमान्य मापदण्ड रहँदैन, तब व्यक्तिगत इच्छा वा स्वच्छन्दता नै 'मेरो अधिकार' वा 'मेरो स्वतन्त्रता' हो भन्ने मान्यता बन्न पुग्छ। नेपालमा यो मान्यता नै अहिले राजनीति बनेको छ। यो विनाशको पूर्वअवस्था हो भन्ने बुझ्नुपर्छ। यो मान्यताबाट हुने परिवर्तनले विनाशको बाटोमा पुर्याउँछ नै। यसको उदाहरण हो बोरिस येल्त्सिनले रुसमा गरेको क्रान्ति र जेलेन्स्कीले युक्रेनमा गरेको क्रान्ति। रुसको सभ्यता नै झन्डै ध्वस्त भयो। तर लामो सभ्यता बोकेको रुसको पुनरुत्थान हुन सक्यो।
परिवर्तनका नाममा आज देशमा लामो समयदेखि स्थापित संस्थाहरू भत्किरहेका छन्। संसदको मर्यादा कमजोर भएको छ। यो सिर्जनात्मक रहेन। कार्यपालिका अनुभूत हुन छोडेको छ। सरकार प्रमुख संसदको पनि नेता हो भन्ने मान्यता अब रहेन। अदालतप्रति अविश्वास भरिएको छ।
के स्वच्छन्दतावाद र उत्तरआधुनिकतावादको गलत बुझाइ नै आजको नेपाली समस्या हो? निकै हदसम्म यो सत्य हो। यो केवल बुझाइको समस्या मात्र नभएर प्रयोगको समस्या पनि हो। परिवर्तनका नाममा आज देशमा लामो समयदेखि स्थापित संस्थाहरू भत्किरहेका छन्। संसदको मर्यादा कमजोर भएको छ। यो सिर्जनात्मक रहेन। कार्यपालिका अनुभूत हुन छोडेको छ। सरकार प्रमुख संसदको पनि नेता हो भन्ने मान्यता अब रहेन। अदालतप्रति अविश्वास भरिएको छ।
सबै किसिमका अवधारणागत भ्रम (Conceptual Confusion) ले समाजलाई गाँजेको छ। उत्तरआधुनिकतावादले अधिकार, शक्ति र स्थापित संरचनामाथि प्रश्न उठाउन सिकाएको थियो, तर त्यसलाई सम्बन्धित दायित्व बिनाको उपभोगमा ढाल्दा समाज नै मान्यताहीन हुँदै छ र विसर्जनको बाटोमा जाँदै छ। ‘एक एक वटा लास विरोधीका घरमा पठाइदिनु’ भन्ने र ‘श्रीमानको अवस्थाको जानकारी माग्दा 'तँलाई एक दिन पोइ नभई हुँदैन'‘ भन्ने सामाजिक सञ्जालका परपीडक टिप्पणी यसका उदाहरण हुन्।
धेरैले ठान्छन्– स्थापित अल्गोरिदमका प्रयोगकर्तालाई अर्को शक्तिशाली समूह बनाएर अल्गोरिदमबाटै निषेध गर्नु नै सही बाटो हो भन्ने मान्यता पनि यही विकृत उत्तरआधुनिकतावादबाट प्रभावित छन्। यसको औषधि त राजनीतिलाई विचारले निर्देशित गर्नु नै हो।
स्वतन्त्रता (Liberty) र स्वच्छन्दता (Licentiousness) बीचको भिन्नता छुट्याउन नसक्नु नै आजको सामाजिक तथा राजनीतिक द्वन्द्वको प्रमुख कारण हो भन्न सकिन्छ। सबै संस्था ध्वस्त पारेपछि केही बाँकी नरहनु नै विकास हो भन्ने संकथन स्थापना गर्ने सोच आजको राजनीति दर्शन बनेको छ। यही योजनाले सिंहदरबार जलेको थियो। अर्कातिर अल्गोरिदमले राजनीतिलाई नियन्त्रण गर्ने प्रवृत्ति पनि विकृत उत्तरआधुनिकतावादकै प्रयोग हो। धेरैले ठान्छन्– स्थापित अल्गोरिदमका प्रयोगकर्तालाई अर्को शक्तिशाली समूह बनाएर अल्गोरिदमबाटै निषेध गर्नु नै सही बाटो हो भन्ने मान्यता पनि यही विकृत उत्तरआधुनिकतावादबाट प्रभावित छन्। यसको औषधि त राजनीतिलाई विचारले निर्देशित गर्नु नै हो।
आजको डिजिटल युग र सोसल मिडियाले उत्तरआधुनिकतावादको ‘अति-व्यक्तिवाद’ (Hyper-individualism) लाई झन् तीव्र पारिदिएको छ। प्रविधिले मानिसलाई तुरुन्तै आफ्नो विचार र इच्छा व्यक्त गर्ने स्वच्छन्दता त दियो, तर त्यसको सामाजिक परिणामप्रति उत्तरदायी बन्ने संस्कृति दिएन। राज्य, राजनीति र धार्मिक/सामाजिक संस्थाहरूको भ्रष्टाचार र असक्षमताका कारण युवाहरूमा ती संस्थाप्रतिको विश्वास स्खलित भयो। तर उनीहरूलाई बाटो देखाउने विमर्श बौद्धिकहरूले गरेनन्। बौद्धिकहरू पेसाकर्मी जागिरे बने। उनीहरूका दिमागबाट दर्शन भाग्यो। परिणामस्वरूप युवाहरूमा आफू मात्र मानव भएको र बौद्धिक भएको भ्रम सुरु भयो र उनीहरूले वर्गलाई उमेर समूहले विस्थापित गरे। यस सोचले उनीहरूलाई अराजकतावादी/उत्तरआधुनिकतातर्फ धकेलेको छ, जहाँ उनीहरूले संस्थागत विकल्प खोज्नुको सट्टा व्यक्तिगत स्वच्छन्दतालाई नै अन्तिम मुक्ति मान्न थालेका छन्।
निष्कर्ष
समग्रमा भन्नुपर्दा, आजको समस्या 'उत्तरदायित्वविहीन स्वतन्त्रता' को खोजी हो, जो नेपालको राजनीतिमा क्याक्टसको बिरुवाका रूपमा मौलाउँदै छ। अराजकतावादले मागेको उच्च सामाजिक चेतना र उत्तरआधुनिकतावादले दिएको संस्थागत प्रश्न उठाउने छुटबीचको सन्तुलन बिग्रिएर केवल 'स्वेच्छाचारिता' वा स्वच्छन्दता बाँकी रहनु नै आधुनिक नेपाली समाजको मुख्य चुनौती बनेको छ। अतः आज नेपालमा जे भइरहेको छ त्यो स्वतःस्फूर्त कुनै व्यक्तिको उदय होइन। यो ‘स्वच्छन्दतावादी’ विद्रोहले ल्याएको क्रान्ति हो, र यसले भत्काउनु नै लक्ष्य ठान्छ। माओवादी आन्दोलनको अराजकता यसको जननी हो। माओवाद बीचैमा क्रान्तिप्रतिको धोकामा अन्त्य भयो, र व्यक्तिगत वा सामूहिक लुटतन्त्रमा परिणत भयो। वर्तमान नेपाली समाजका विद्रोही पक्षले भत्काउने तागतको महिमा देखेको थियो। त्यसको अनुसरण राम्रोसँग भयो।
जलचक्रको विनाश र सभ्यताको संकट
विज्ञान, समाज र इतिहासको कसीमा कार्ल मार्क्स
नीतिकथा
हिमनदी: विस्फोटको प्रतीक्षामा रहेका टाइम बमहरू
अन्ततः पुँजीवाद मर्दैछ
देवीप्रसाद चट्टोपाध्याय: भारतको भौतिकवादी दार्शनिक परम्पराको पुनःखोज
विपत्तिले साझा नियति सिद्ध गर्छ, उद्धारले जीवनको सर्वोच्चता दर्साउँछ
प्रतिक्रिया