इरानमाथि इजरायलद्वारा तीन चरणको आक्रमण

Image: www.middleeasteye.net

इजरायलले आज शनिबार बिहान इरानको राजधानी  तेहरान आसपासका निशानाहरूमा हवाई हमला गरेको छ ।  जसका कारण इरानको राजधानीमा ठूलो विस्फोटको आवाज सुनिएको थियो। इजरायलले इरानको राजधानी लगायत अरु पनि शहरमा आक्रमण गरेको छ।  यो हमलालाई यस महिनाको शुरुमा इजरायलमाथि इरानले गरेको आक्रमणको जवाफमा गरिएको ठानिएको छ। 

इजरायली आक्रमणको पूर्ण विवरण आइसकेको छैन। तर प्राप्त रिपोर्ट अनुसार तेहरानमा विस्फोट भएका आवाजहरु सुनिएका छन्। इरानी सामाजिक संजालमा देखाइएका भिडियोहरूमा इजरायली हवाई आक्रमणहरुलाई इरानी हवाई सुरक्षा प्रणालीले रोक्ने प्रयास गरेका थिए।   इरान सरकारले आफ्नो राष्ट्रिय टेलिभिजनमा मार्फत ती विस्फोटहरू हवाई सुरक्षा प्रणालीको सक्रियताका कारण भएको हो भनेर दावी गरेको छ। इरानले आफ्नो सिमाना भित्र सबै हवाई उडानलाई स्थगित गरेको छ।

अमेरिकाले इजरायलको आक्रमणलाई आत्मरक्षाको कदम भन्दै यसलाई इरानद्वारा अक्टोबर १ मा भएको भनिएको आक्रमणको प्रतिक्रिया बताएको छ। अमेरिकालाई इजरायलले यो आक्रमण बारे जानाकरी दिएको थियो।  इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले उनलाई र रक्षामन्त्री योआभ गलान्टलाई भूमिगत बंकरभित्र देखाइरहेको तस्बिर र भिडियो सार्वजनिक गरेको छ, जसले स्थितिको गम्भीरतालाई संकेत गरेको छ।

अमेरिकी र इजरायली अधिकारीहरूले भनेअनुसार इजरायलले इरानमाथि तीन चरणमा आक्रमण गरेको थियो । त्यसअनुसार, पहिलो चरणको आक्रमण इरानी हवाई रक्षा प्रणालीहरूमा तथा दोस्रो र तेस्रो चरणको आक्रमण मिसाइल र ड्रोन आधार तथा उत्पादन स्थलहरूमा लक्षित गरिएको थियो ।

इजरायलले इरानमा तीन पटक हवाई आक्रमण गरेपछि आफ्नो यो कारवाही समाप्त भएको जनाएको छ। तर रोयटर्सले जनाएअनुसार इरानी अधिकारीहरुले ‘इजरायलको सैन्य आक्रमणको इरानले जवाफ दिने’ बताएका छन् ।