शाही पथमा शर्मा !

अति नै निराशाको अभिव्यक्ति दिन नेपाली समाजमा एउटा उक्ति चलनचल्तीमा छ - आशलाग्दो केटो जेठाजु पर्यो। हो, त्यस्तै भावमा अहिले आम नेपाली छन् जसले नेपाली काँग्रेसका चर्चित ‘युवा’ नेता तथा महामन्त्री विश्वप्रकाश शर्मालाई एक परिपक्व र बौद्धिक व्यक्तिका रूपमा लिँदै आएका थिए। प्रसंग, हालै उनले संसद्मा व्यक्त गरेको विचार र त्यसबारे आम जनमानसले जनाएको प्रतिक्रियाको हो।

नेपाली कांग्रेसका चर्चित नेता विश्वप्रकाश शर्माले क्रिकेट खेलाडी सन्दीप लामिछानेले अमेरिकी भिसा नपाउनुको दोष सरकारलाई दिएपछि त्यसबारे अहिले विभिन्न मत व्यक्त भइरहेका छन्, प्रतिक्रिया स्वरूप ।

प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले भनेका थिए–

‘आरोप लागिरहेको बेला शिरमा मुद्दा बोकेर मैदानमा उत्रिन हुन्न भनेर हामी कयौंले भन्यौं । तर, सम्मानित अदालतले निर्दोष साबित गरिसकेपछि यसबेला सन्दिप लामिछाने विश्वकपको मैदानमा हाम्रो प्रतिनिधित्व गरेर खेलिरहनु भएको अवस्था हुनुपर्थ्यो । आफ्नो खेलाडीको बारेमा अदालतले गरेको फैसला सुसूचित गरेर उनको लागि भिसाको वातावरण बनाउन सरकारले उचित पहल समयमै गर्नुपर्दथ्यो । यसमा कमजोरी कहाँ रह्यो ? यो किन कमजोरी भयो ? खेलकूद मन्त्री, परराष्ट्रमन्त्री र समग्र सरकारको यसबारेमा म सभामुखमार्फत् ध्यानाकर्षण गराउन चाहन्छु ।’

शर्माको यस भनाइको सामाजिक सञ्जालहरुमा व्यापक चर्चा र आलोचना भइरहेको छ । राजनीतिक वृत्तमा ‘विपीको प्रतिरुप’ भनेर यदाकथा प्रशंसासमेत गरिने शर्माको उक्त भनाइ लोकरिझ्याइँको लागि मात्रै आएको र उनले बलात्कारको आरोपीको पक्षपोषण गरेको भनेर चर्को आलोचना भएको छ । सन्दीप लामिछानेको मुद्दामा अदालतको एक तहमा उनले सफाइ पाएको पक्का हो । तर कानूनी रूपमा वालिग ठहर्याइपनि बौद्धिक तथा मानसिक रुपमा सही गलत छुट्याउने परिपक्वता हासिल गरिनसकेकी किशोरीको ‘युवावय चञ्चलता’को फाइदा उठाएर शारीरिक–मानसिक शोषण गर्ने लामिछाने जस्ता खेलाडीको पक्षमा शर्मा जस्तो परिपक्व नेता बोल्नुलाई धेरैले न्यायोचित अभिव्यक्ति ठानेका छैनन् । 

त्यसो त सन्दिप लामिछानेलाई भिसा दिनुपर्छ भनेर राप्रपाका नेता ज्ञानेन्द्र शाही त सडक प्रदर्शनमा नै उत्रिएका थिए । उनले सदनमा पनि यसबारेमा कुराहरु उठाएका थिए । ज्ञानेन्द्र शाही त कतिसम्म ठान्छन् भने अहिले सन्दीप लामिछानेलाई एक कुशल खेलाडीको रूपमा अगाडि बढ्न नसक्ने गरी सक्याउने प्रपञ्च भइरहेको छ । उनको बुझाइमा सन्दिप लामिछानेलाई यसरी नामेट पार्न सकियो भने नेपाली क्रिकेट सकिन्छ र क्रिकेट सकियो भने नेपालको अस्तित्व नै खतरामा पर्छ। तथ्यमा भन्दा लोकरिझ्याइँका लागि अन्टसन्ट बोल्ने र स्टन्ट गर्ने कुरामा शाही माहिर छन् । अहिले विश्वप्रकाश शर्माले पनि लोकरिझ्याइँको लोभमा उनकै बाटो पछ्याउन खोजेका त हैनन् भनी आलोचना हुन थालेको छ ।

यसअघि, नेपाली कांग्रेस नेतृत्वको सरकारले नेपालमा आर्थिक उदारीकरण लाई तिब्रता दिने क्रममा गरेको व्यापक निजीकरणको बचाउ गर्न सन्दर्भमा पनि उनले विरोधाभासपूर्ण अभिव्यक्ति दिएका थिए। धेरैले उनको त्यो बोलीको आलोचना गरेपनि बौद्धिक जगतले 'टङ स्लिप' भएको होला भन्ने ठानेको थियो। तर, उनको पछिल्लो भनाइले चाहिँ उनको बौद्धिक स्तर माथि नै प्रश्न उठेको छ ।