कस्तो हुनसक्छ इजरायल विरुद्ध इरानी प्रत्याक्रमणको स्वरूप

अप्रिल १ तारिखका दिन सिरियाको राजधानी दमास्कसमा रहेको इरानी वाणिज्य दूतावासमा इजरायलले गरेको आक्रमणमा १३ जना मानिसको मृत्यु भएको थियो। जस मध्ये ७ जना इरानी र ६ जना सिरियाली नागरिक थिए। मारिने मध्ये इरानको इस्लामिक रेभुलुसनरी गार्ड (आईआरजीसी) कोर का बरिष्ठ सदस्यहरू पनि थिए। जस मध्ये ब्रिगेडियर जनरल मोहम्मद रज़ा ज़ाहेदी महत्त्वपूर्ण मानिन्छन्। उनी आईआरजीसी कोरको विदेश शाखा मानिने 'कुद्नस फोर्स' का महत्त्वपूर्ण पदाधिकारी थिए ।

इजरायलले सिरिया स्थित इरानी संयन्त्रहरू माथि वर्षौँदेखि आक्रमण गर्दै आइरहेको छ। तर, इरानको दूतावास माथि आक्रमण गरेको भने यो पहिलो घटना हो। कुनै पनि देशका राजदूतावास र कूटनीतिज्ञहरू भियना कन्भेन्सन अन्तर्गत संरक्षित हुन्छन्। जस माथि युद्धको अवस्थामा समेत आक्रमण वर्जित छ।

यसअघि अमेरिकाले सन् १९९९ मा युगोस्लाभियाका राजधानी बेलग्रेडमा रहेको चिनिया राजदूतावासमा आक्रमण गरेको थियो। जसमा ३ जना चीनिया नागरिकहरूको मृत्यु भएको थियो। तत्कालीन अमेरिकी राष्ट्रपति विल क्लिन्टनले यो आक्रमण जानीजानी नभएको र भूलवश भएको भनेर माफी मागेका थिए।

तर, इजरायलले पछिल्लो  आक्रमण प्रति कुनै टिप्पणी गरेको छैन। इरानले दमास्कस आक्रमणको बदला लिने चेतावनी दिएको छ। इरानका सर्वोच्च नेता आयातुल्लाह अलि ख़ामेनेईले चेतावनी दिँदै भनेका छन्- हामी यो अपराध गर्ने तिनीहरूलाई यस्तो कारबाही गरेकोमा पछुताउन बाध्य बनाउने छौ। त्यस्तै, इरानका राष्ट्रपतिले यसलाई अमानवीय आक्रामक र घृणित काम भन्दै यसको जवाफ दिइनेछ भनेर चेतावनी दिएका छन्। इरानको चेतावनी पछि इजरायलमा सुरक्षा सतर्कता बढाइएको छ। यहाँसम्म की इरानले गर्न सक्ने प्रत्याक्रमण डरले इजरायलले आफ्नो मुलुकका संवेदनशील क्षेत्रको जीपीएस नै बन्द गरेको छ।

अहिले इरानले इजरायल माथि कस्तो जवाफी कारबाही गर्ला भन्ने चासो सर्वत्र छ। अमेरिकाले इरानले इजरायलमाथि ४८ घण्टा भित्र आक्रमण गर्न सक्ने चेतावनी दिएको छ। इरानी आक्रमणको डरका कारण इजरायलले विदेशमा रहेका आफ्ना २८ वटा दूतावासहरू बन्द गरेको छ।

इरानसँग इजरायल सम्म पुग्ने रेन्ज भएका थुप्रै मिसाइल र ड्रोनहरू रहेका छन्। इरानी मिसाइलहरू र ड्रोनहरू निक्कै स्तरीय मानिन्छन्। रुसले समेत युक्रेन युद्धमा इरानी मिसाइल र ड्रोनहरू प्रयोग गरिरहेको छ।  इरानले इजरायल माथि सिधा आक्रमण गर्न चाहेको खण्डमा यिनै मिसाइल प्रयोग गर्ने छ।

तर, इरानसँग इजरायलसँग बदला लिन यो बाहेक पनि अरू उपायहरू पनि छन्। इरानले इजरायल माथि सिधै आफैले आक्रमण नगरी आफ्ना छद्म शक्ति मार्फत हमला गर्न सक्छ। मध्यपूर्वमा इरानको शक्तिलाई अक्टोपस भन्ने समुद्री जीवसँग तुलना गर्ने गरिन्छ। जसरी अक्टोपसका ८ वटा हातहरू हुन्छन् त्यस्तै इरानका पनि थुप्रै हातहरू छन्। लेबनानको हिज़बुल्लाह, यमनको हुती, इराकका सिया लडाकु समूहहरू र प्यालेस्टाइनी समूहहरू हमास र इस्लामिक जिहादहरु। यिनीहरू मार्फत इरानले इजरायल माथि आक्रमण गर्न सक्छ।

इजरायलको उत्तरी सिमानामा रहेको देश लेबनानको हिज़बुल्लाह अत्यधिक शक्तिशाली छ। यो समूहसँग विश्वकै सबैभन्दा ठुलो गैर सरकारी सेना छ। भनिन्छ हिज़बुल्लाहसंग एक लाख भन्दा बढी रकेटहरू छन्। प्यालेस्टाइनको गाँजा पट्टिमा इजरायल र हमास बीच युद्ध सुरु भएयता हिज़बुल्लाहसंग पनि इजरायलको छिटपुट लडाई भइरहेको छ। जसमा हिज़बुल्लाहका दर्जनौँ लडाकुहरू मारिएका छन्। यदि इरानले हिज़बुल्लाहलाई इजरायलसँग लडाई गर्ने संकेत दियो भने पनि तत्काल भीषण युद्ध सुरु हुन सक्छ। जुन इजरायलको लागि हसाससंग गरिरहेको युद्ध भन्दा कयौँ गुणा कठिन हुनेछ।

स्मरणीय छ सन् २००६ मा भएको लडाइँमा हिज़बुल्लाहले इजरायललाई गतिलो पाठ पढाएको थियो। त्यस्तै इरानको अर्को वैकल्पिक उपाय भनेको यमनको हुती आन्दोलन हो। अहिले पनि गाँजा पट्टि माथि इजरायली आक्रमणको विरोधमा हुतीहरूले लाल सागरमा पानीजहाजहरू माथि रकेट र मिसाइल आक्रमण गरिरहेका छन्। यो क्रममा इजरायल समर्थित र सम्बद्ध अनेकौँ मालवाहक पानीजहाजहरू डुबिसकेका छन्। हुतीहरूले गरेको लगातार आक्रमणका कारण लाल सागरबाट हुने मालसामान ढुवानी निक्कै कम भईसकेको छ। अमेरिका र बेलायतले हुतीहरूलाई नियन्त्रण गर्न यमन माथि आक्रमण गरिरहेका छन्। तर, यसले पनि हुतीहरूको शक्ति कम भएको छैन। इरानले हुतीहरूलाई आग्रह गरेमा उनीहरूले पनि इजरायलका ठेगानाहरू माथि आक्रमण गर्न सक्छन्।

त्यस्तै, इरानले इजरायललाई जवाफ दिन परमाणु बम बनाउन सक्छ। इरानले यो वर्षको सुरुवात तिर युरेनियम संवर्धनको प्रतिशत ६० % पुर्‍याएको छ। परमाणु बम बनाउनको लागि ९० % सम्म युरेनियम संवर्द्धन गर्नु पर्ने हुन्छ। इरानले सहजै यो काम गर्न सक्छ। यदि इरानले परमाणु बम बनाएर परीक्षण गर्‍यो  भने इजरायल बिरुद्ध त्यो जस्तो गतिलो बदला अरू कुनै हुन सक्दैन। किनकि अहिले सम्म मध्य पूर्वमा इजरायल एक मात्र आणविक शक्ति सम्पन्न देश रहँदै आएको छ।

इजरायलले गाजामा मानवीय सहायताका अन्तर्गत राहात सामग्री वितरण गरिरहेका स्वयमसेवकहरु माथि समेत आक्रमण गरेर अमानवीयताको विद्रूप स्वरूप पेश गरेको भन्दै बिश्वब्यापीरुपमा विरोध भएपछि त्यसबाट विश्वको ध्यान अन्यत्रै मोड्न इजरायलले इरानी दूतावासमा गरेको आक्रमण वास्तवमा नै निकै महँगो साबित हुने देखिएको छ । त्यसबाहेक इजरायली प्रधानमन्त्रीको राजीनामा र युद्ध बिरामको माग देश भित्र नै तीव्र बन्दै ठुलो संख्यामा इजरायली नागरिक सडकमा नै उत्रिएको अवस्थामा युद्धको सान्दर्भिकता र निरन्तरताको आवश्यकता पुष्टि गर्ने इजरायली सत्ताको प्रयास सही वा आत्मघाती के हुने हो त्यो अब इरानले गर्ने प्रत्याक्रमणको घनत्वले नै निर्धारण गर्ने छ ।