नीतिकथाको राजा र प्रचण्डको व्यस्तता

खानेपानीको स्विच भल्भ खोल्ने काम प्रधानमन्त्री कि प्लम्बरको ?

विषय प्रवेश एउटा नीति कथाबाट गरौँ- कुनै जंगलमा राजा को बन्ने भन्ने विषयमा चुनाव भएछ । एक चतुर बाँदर अनेकै आश्वासन र तिगडमको सहारामा निर्वाचित भएछ । परम्परागत राजाको रुपमा सिंहको हार र बाँदरको विजयले जंगलमा केही आशा र खुसी पनि सञ्चार गरेछ । केही समयपछि एउटा मृगिनी पुरानो राजा सिंहले आफ्नो बच्चाको सिकार गरेको र उसलाई जीवितै आफ्नो ओडारमा लिएर गएको हुनाले उद्धार गरिदिनुपर्यो भन्दै नयाँ राजा समक्ष निवेदन गर्न गइछ ।

खुब के के न गर्न सक्छु भन्ने भ्रममा रहेको बाँदरले भनेछ, ‘चिन्ता नगर अब तिमीहरूको यो नयाँ राजाले त्यस्तो कुनै अन्याय हुन् दिने छैन । तिम्रो बच्चा सकुशल फिर्ता हुन्छ । बरु लु हिँड र मलाई देखाऊ, त्यो ओडार कहाँ छ ।’ त्यसपछि मृग र राजा बाँदर दुवै ओडारमा पुगेछन् । तर, बाँदर ओडार भित्र छिर्न त के बाहिरैबाट सिंहलाई मृगको बच्चालाई मुक्त गरिदिन आग्रह समेत नगरी त्यहाँका रुखको एक हाँगाबाट अर्कोमा, अर्कोबाट तेस्रोमा उफ्रिन र खेल्न थालेछ ।

उता बच्चा फिर्ता आउने आसमा त्यहीँ रुखमुनि मृगिनी बसेको तेस्रो दिन बित्दासमेत बाँदर राजाले कुनै पहल नगरेको बरु रुखमा खेलिमात्र रहेको देखेपछि आजित हुँदै सोधिछिन्, ‘महाराज आज तीन दिन भइसक्यो, मेरो बच्चा पनि भोकायो होला । अब त केही पहल गरिदिनुपर्यो । तपाई त रुखका हाँगामा खेल्न मै व्यस्त रहनु भो ?’

बाँदरले जवाफ दिएछ, ‘तिमीले देखिनौ मैले सक्ने जति गरी त रहेको छु । यहाँ आएदेखि अहिलेसम्म एक छिन थकाई मारेको छु ? बरु, उल्टै झपारे छ, अहोरात्र खट्दा जससम्म नदिने बैगुनी !’

कथा यति नै हो, अब चर्चा गरौँ, खासमा सरकार वा राष्ट्र प्रमुखले के कस्ता काम गरेर आफ्नो मुलुकलाई समृद्ध र सक्षम बनाएका छन्। अनि त्यस्ता राष्ट्र प्रमुखहरूमा के कस्ता गुण र क्षमता हुन्छन् । विशेषगरी उनीहरु आफ्नो समयलाई कसरी उत्पादनमूलक र रचनात्मक काममा खर्च गर्छन् ।        

कार्यकारी राष्ट्र प्रमुख र सरकार प्रमुखलाई सर्वाधिक व्यस्त व्यक्ति र उनीहरूको जिम्मेवारीलाई शारीरिक र मानसिक दुवै हिसाबले चुनौतीपूर्ण कार्य मानिन्छ। यसको लागि निश्चित कार्यालय समय मात्र पर्याप्त हुँदैन। उनीहरूको जिम्मेवारीले थप समयको पनि माग गर्दछ।

समकालीन विश्व नेताहरूलाई हेर्दा अनेकौँ देशका राष्ट्रपति र प्रधानमन्त्रीका जीवनशैलीलाई देख्न सकिन्छ जो आफ्नो काममा अहोरात्र खट्ने गर्थे। बेलायतकी प्रधानमन्त्री मार्गरेट थ्याचर जम्मा ४ घण्टा मात्र सुत्थिन् । उनि २० घण्टा सम्म काममा नै व्यस्त रहन्थिन् । अबेर रातिसम्म थ्याचर सरकारी रिपोर्टहरू अध्ययन गर्थिन्, त्यसबारे आफ्ना सहयोगीहरूसँग छलफल गर्थिन्। र, आफ्ना भाषणहरूको तयारी गर्थिन्। भनिन्छ, थ्याचर जति ढिलो सुते पनि बिहान ५ बजे बिबिसी रेडियोको फार्मिंग टुडे कार्यक्रम सुन्न उठिसक्थिन्। चाहे उनी २ वा ३ बजे नै किन सुत्न नगएकी किन नहुन्।

त्यस्तै, अमेरिकी राष्ट्रपति रहँदा बाराक ओबामा जम्मा ५ घण्टा मात्र सुत्थे। ओबामा बिहान २ बजेसम्म आफ्नो काममा तल्लिन रहन्थे। उनी अबेर रातिसम्म रिपोर्टहरू पढेर बस्थे। उनको अफिसमा राति ११ बजे कन्फरेन्स हुने गर्थ्यो। राति १ बजे आएको मेल पनि ओबामाको अफिसले रिसिभ गर्ने गर्थियो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि आफ्नो कामप्रतिको लगनशीलताका कारण चर्चित छन्। उनी दैनिक २० घण्टा सम्म काम गर्छन्। भनिन्छ, मोदी दैनिक साढे ३ देखी ४ घण्टा मात्र सुत्ने गर्छन्।

तर, यी सबै नेताहरूलाई पछि पार्ने व्यक्ति थिए, क्युबाका राष्ट्रपति फिडेल क्यास्ट्रो। फिडेल रातभरि काम गर्थे। उनको दिनको अन्त्य बिहानको ६-७ बजे मात्र हुन्थियो। अरू मानिसको दिनको सुरुवात हुँदा उनको दिनको अन्त्य हुन्थियो। फिडेल पुरै निशाचर प्रकृतिका थिए। यात्रा, तैनाथी,  बैठकहरू निरन्तर रुपमा चलिरहेको हुन्थ्यो। फिडेलले चिट्ठीपत्रहरु, रिपोर्टहरू, तार, समाचार, तथ्याङ्क, रेडियो र टेलिभिजन प्रसारणका सारहरू नियमित रुपमा अध्ययन गरिरहन्थे। फिडेल क्यास्ट्रो रातभर आफ्नो काममा लागि रहन्थे। जसको कारण उनका सहयोगीहरू जो प्रायजसो ३० वर्ष हाराहारीका युवाहरू हुन्थे उनीहरू समेत थाकेर निदाउन थाल्थे।

फिडेल क्यास्ट्रो हावा गफ भन्दा तथ्याङ्कमा विश्वास गर्थे। उनमा तथ्याङ्कप्रतिको लगाव कति थियो भन्ने उदाहरण एक घटनाले दिन्छ। सन् १९९३ मा भारतीय कम्युनिस्ट नेताहरू ज्योति बसु र सिताराम येचुरी क्युबाको भ्रमणमा पुगेका थिए । भ्रमणको क्रममा एक रात क्युबाका राष्ट्रपति फिडेल क्यास्ट्रोले भारतीय नेताहरूलाई भेट गर्न बोलाए। भेटघाट डेढ घण्टा चल्यो। क्यास्ट्रोले भारतीय कम्युनिस्ट नेता ज्योति बसुलाई प्रश्न माथि प्रश्न गर्न थाले। क्यास्ट्रोले सोध्न थाले- भारतमा कोइला कति उत्पादन हुन्छ ? फलाम कति उत्पादन हुन्छ ? आदि इत्यादि । ज्योति बसुलाई यी सब तथ्याङ्क याद थिएन । यी प्रश्नबाट आजित हुँदै बसुले येचुरीलाई बङ्गालीमा सोधे- क्यास्ट्रोले मेरो इन्टरभ्यु लिएको हो (एकी आमार इंटरव्यू नीच्चे ना कि?) त्यसपछि क्यास्ट्रोले येचुरी तिर फर्किदै भने- ज्योति त बुढा मानिस हुन् । उनलाई याद नहुनु त स्वाभाविक नै हो। तर, तपाईं त युवा हुनुहुन्छ । तपाईं जस्तो युवालाई यी सब कुरा याद हुनुपर्ने हो । भनिन्छ, त्यसपछि येचुरी क्युबा जाँदा सधैँ भारतको आर्थिक अवस्था बारेको तथ्याङ्क भएको ह्यान्ड बुक गोजीमा बोकेर जान्थे ताकि क्यास्त्रोसंग भेट भयो भने उनको प्रश्नको ठोस जवाफ दिन सकियोस् ।

एकातर्फ विश्वका यस्ता नेताहरू छन्, जो रातदिन रचनात्मक र ठोस काम गर्छन् । अर्कातर्फ हाम्रा देशका नेताहरू छन्, जसलाई समयको कुनै महत्त्व नै छैन। उनीहरू राजसी तामझाम र फजुलका काममा आफ्नो समय बिताउँछन्। यस कुराको ज्वलन्त उदाहरण मेलम्ची खानेपानी परियोजनाको उद्घाटन बनेको छ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार बिहान सिंहदरबार भित्रै कार्यालय परिसरको धारा खोलेर सो परियोजनाको पटक उद्घाटन गरे । यदि मेलम्चीको पानी काठमाडौँमा पहिलो पटक वितरण गरिएको भए यो उद्घाटनलाई स्वाभाविक मान्न सकिन्थ्यो। तर, यो भन्दा अघि नै सरकार वा राष्ट्र प्रमुख, सरोकारवाला मन्त्रीको तहबाट नै मेलम्चीको उद्घाटन चार पटक भइसकेको छ।

पहिलो पटक २०७७ साल फागुन २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रोमेकानिकल गेटको बटन थिचेर मेलम्चीको सुन्दरीजलमा मेलम्चीको पानी प्रवाहको उद्घाटन गरेका थिए । त्यसपछि त्यही साल चैत २० गते पहिलो पटक मेलम्चीको पानी काठमाडौँमा झारिएको थियो । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा निर्माण गरिएको धारा खोलेर मेलम्चीको पानी वितरण शुभारम्भ गरेकी थिइन् । २०७८ सालको जेठ मसान्तमा आएको ठूलो बाढी र पहिरोले मेलम्चीको मुहान क्षेत्र र हेडवर्क्स लगायतका क्षेत्रमा क्षति पुर्‍याएपछि पानी वितरण पूर्णरुपमा बन्द भएको थियो । २०७८ चैत्रमा बाढीले पुरेको हेडवर्क्स क्षेत्रको गेग्रान पूरै नपन्छाइ अस्थायी तवरले पानी काठमाडौँ ल्याइएको थियो। वैशाख ११ गते खानेपानी मन्त्री चौधरीले नै बानेश्वरस्थित काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को ट्याङ्कीबाट स्टेरिङ घुमाएर मेलम्चीको पानी वितरणको पुनः उद्घाटन गरे।

तर, यो जोगाडले तीन महिना पनि पानी आएन। वर्षा लागेपछि सुरुङ मार्गलाई बचाउन यसको मुख बन्द गर्नुपर्यो। फेरी हिउँदमा मेलम्चीको मुहान खोलेर र त्यसको संरचनालाई मर्मत गरेर २०७९ मङ्सिर २३ गते तत्कालीन खानेपानी मन्त्री उमाकान्त चौधरीले पुनः महाकाल केन्द्रबाट मेलम्चीको पानी वितरण शुभारम्भ गरेका थिए । हिजो फेरि प्रधानमन्त्री प्रचण्डले त्यही मेलम्चीको पानी वितरण कार्यको उद्घाटन गरेका हुन्।

संसारमा शायदै त्यस्तो कुनै देश होला जहाँ एउटा कामको पाँच पटकसम्म उद्घाटन गरिन्छ। अरू देशका नेताहरूलाई यस्तो सुविधा र फुर्सद नै कहाँ हुन्छ र ? मेलम्चीको उद्घाटन एउटा सानो झ्याल मात्र हो। तर यसबाट हाम्रो सरकार र शासकहरूको मनोबृतिलाई अवलोकन गर्न सकिन्छ। उनै प्रचण्ड आइतबार साँझ ५ बजेदेखि एउटा सांस्कृतिक कार्यक्रममा ३ घण्टा समय बिताएर निवास फर्किएका थिए । जो बिहान जुरुक्क उठेर सिधै धारा खोल्न सिंहदरबार पुगे ।

प्रधानमन्त्री प्रचण्डलाई गाउँपालिकाको स्वास्थ चौकी र कार्यालय भवन उद्घाटन गर्न जाने पर्याप्त फुर्सद हुनेगर्छ। जबकि यति बेला देश चरम आर्थिक र सामाजिक सङ्कटबाट गुज्रिरहेको छ। देश आर्थिक मन्दीको सङ्घारमा उभिएको छ। युवाहरू देशको भविष्यप्रति निराश बन्दै विदेश पलायन भइरहेका छन्। यस्तो भयानक सङ्कटलाई समाधान गर्न प्रधानमन्त्री अहोरात्र खट्नु पर्ने थियो। तर, उनको प्राथमिकतामा यस्तै बेतुकमा उद्घाटनहरू परिरहेका छन्। 

कसैले हाम्रा प्रधानमन्त्रीलाई सम्झाइ दिए हुन्थियो कि उद्घाटन एक पटक मात्र गरिन्छ। प्रत्येक पटक बाढीले पुरेको मेलम्चीको मुहान खोतलेर पानी ल्याउँदा स्विच भल्भ खोल्ने काम प्लम्बरको हो, प्रधानमन्त्रीको होइन। कम्तीमा हाम्रा प्रधानमन्त्रीले आफुलाई व्यस्त देखाउन यस्ता रमिते काम गर्ने र जन अपेक्षाका कामका लागि थोरैपनि चासो नदिने काम नगरिदिए आम नेपालीले थोरै भएपनि चित्त बुझाउने ठाउँ पाउने थिए कि !