घटाए बैंकहरुले ब्याजदर, पारेकै हो त अधिक तरलताले सकस ?

काठमाडौं । केही समययता अधिक तरलताको समस्यामा परेका नेपालका वाणिज्य बैंकहरुले ब्याजदर घटाउने क्रमलाई निरन्तरता दिएका छन्। लगानीयोग्य रकम उल्लेख्य मात्रामा भए पनि ऋण माग नभएपछि बैंकहरुले घाटा कम गर्न यस्तो रणनीति अपनाएका हुन् ।

बैंकहरुले यसरी निक्षेपको ब्याज घटाउने क्रम ६ महिना अघि साउन देखी सुरु गरेका हुन् । त्यसपछि असोजमा नेपाल राष्ट्र बैंकले मौद्रिक समीक्षा गर्दै नीतिगत तथा बैंक दर घटाएको थियो। नियामकको सो नीतिगत निर्णय पछि वाणिज्य बैंकहरुले पनि उल्लेख्य मात्रामा ब्याज घटाउँदै आएका थिए। जसलाई निरन्तरता दिँदै माघ १ गतेदेखि लागू हुनेगरि थप ब्याज दर घटाएका हुन्।

नेपालका वाणिज्य बैंकहरुले विगत दुई वर्ष अघि देखी लगातार रुपमा डेढ वर्षसम्म तरलता अभावको सामना गरे । त्यसपछि केही सहजता थपिए सँगै निकै उत्साहित भएका बैंकहरु ऋण माग्ने व्यवसायी नपाएपछि अहिले उल्टो समस्यामा छन्  । निक्षेपकर्तालाई ब्याज दिइरहनु पर्ने तर बैंकमा पैसा भने थुप्रिएर बस्ने भएपछि बैंकहरु सस्तोमा निक्षेप संकलन गर्ने र सस्तोमा नै लगानी गर्ने सोचमा पुगेका छन्  ।  नीतिगत ब्याजदर घटाउने गरी मौद्रिक नीति मार्फत राष्ट्र  बैंकले दिएको पछिल्लो निर्देशनले पनि वाणिज्य बैंकहरुलाई ब्याजदर कम गर्न बाटो खुलेको हो  ।

एकातिर मुद्रास्फीति कम गर्न ब्याजदर बढाउने नीति लिनुपर्ने र अर्कोतिर लगानी बढेर अर्थतन्त्र चलायमान गर्न ब्याजदर घटाउनुपर्ने विरोधाभासपूर्ण अवस्थाका कारण नेपालको वित्तीय क्षेत्रले निर्णय गर्ने क्रममा  निकै सावधानीपूर्वक निर्णय लिनुपर्ने स्थिति बन्ने गरेको छ  ।

पछिल्लो पटक यसरी ब्याजदर कम गर्नेमा एनएमबि र एभरेष्ट बैंक भने समावेश छैनन्। यी दुई बैंकले क्रमश ९ प्रतिशत र ८ प्रतिशतको ब्याजदर यथावत् राखेका छन्।

ब्याज घटाउने क्रममा बैंकहरु धेरै नै आक्रामक देखिएका छन् । सरकारी बैंक मध्ये कृषि विकाश बैंकले ९ प्रतिशतबाट ७ प्रतिशतमा ब्याजदर झारेको छ भने नेपाल बैंकले ८.५५ प्रतिशतबाट ८ प्रतिशतमा र राष्ट्रिय वाणिज्य बैंकले ८.६१ प्रतिशतबाट ८.०७ मा झारेको छ ।  

नयाँ ब्याजदर तोक्ने क्रममा प्राइम कमर्सियल बैंकले ८.१, माछापुच्छ्रे ८, नेपाल एसबिआइ ८.२५ र कुमारी बैंकले ८.११ प्रतिशत ब्याजदर माघ महिनाको लागि तोकेका छन् । त्यसैगरी, प्रभु बैंक ८.०६५, सानिमा ८.१५, लक्ष्मी सनराइज ८, एनआइसी एसिया ८.०६५ र नबिल बैंकले ८.१ प्रतिशत ब्याज निर्धारण गरेका छन् । ग्लोबल आइएमइले ८.१, स्ट्यान्डर्ड चार्टर्डले ८, एभरेस्टले पनि ८ प्रतिशत नै तोक्दा नेपाल इन्भेस्टमेन्ट मेघा बैंकले भने ८.६ प्रतिशत ब्याजदर तोकेको छ । अन्य बैंकहरु मध्ये सिटिजन्सले ९.१५ को सर्वाधिक उच्च ब्याजदर राख्दा सिद्धार्थ बैंकले ८.१ र हिमालयन बैंकले ८.१५ प्रतिशत कायम गरेका छन् ।

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।