पाचन प्रक्रियालाई कसरी स्वस्थ राख्न र तीब्र  पार्न सकिन्छ ?

कतिपय मानिस मोटाघाटा हुन्छन् । त्यसो हुनुको पछाडि उसले खाएको खानेकुराहरु अनि त्यसलाई पचाउने प्रक्रियासँग पनि सम्बन्धित हुने गर्छ । हामीले खाएको खानेकुराहरु चाँचाडो पच्यो भने त्यो शक्तिमा रुपान्तरित हुन्छ र हाम्रा दैनिक क्रियाकलापहरु सञ्चालन गर्ने क्रममा त्यो खपत भएर जान्छ । तर हामीले खाएको खानेकुरा ढिलो गरी पच्यो भने त्यसो विस्तारै हाम्रो शरीरमा तौल बढाउने गरी जम्मा हुने गर्छ ।

धेरै मानिसहरुले आफ्नो शरीरको तौल घटाउनका लागि अथक प्रयास गर्ने गर्छन् तर त्यसो गर्दा गर्दै पनि उनीहरुको तौल पर्याप्त मात्रामा घटिरहेको हुँदैन । त्यसो हुनुको एउटा कारण उनीहरुको खाने पच्ने प्रक्रिया अलि ढिला गरी सम्पन्न हुनु पनि हो ।

खाना पचाउने प्रक्रियालाई तीब्र पार्ने एउटा उपाय हामीले के खाइरहेका छौं भन्ने कुरामा ख्याल गर्नु पनि हो । हामीले खाएको खानेकुराहरु पचाउने क्रममा तापक्रम उत्पन्ने हुने गर्छ । त्यो तापक्रम उत्पन्न गर्ने प्रक्रियामा खर्च हुने उर्जा हामीले दैनिक खपत गर्ने उर्जाको करिब १० प्रतिशत हुने गर्छ । अत्यधिक बढी प्रोटिन हुने खानेकुराहरु पचाउनका लागि शरीरको उर्जा अलि बढी खर्च हुने गर्छ । त्यसको तुलनामा कार्बोहाइड्रेट तथा चिल्लो पदार्थहरु पचाउन कम उर्जा खर्च हुने गर्छ । खानेकुराहरुमा प्रोटिन समावेश गर्दा खाना पचाउने प्रक्रियामा करिब १५ प्रतिशतले बृद्धि हुने गर्छ । तर हरियो सागपात–तरकारी, दालहरु र चिल्लो पदार्थं पनि हाम्रो शरीरलाई स्वस्थ राख्न तथा तौल नियन्त्रणमा राख्नका लागि खानामा समावेश गर्नु जरुरी हुन्छ ।

नियमित रुपमा व्यायाम, दौड तथा शारीरिक अभ्यासहरु गर्नु पनि खानालाई छिटो पचाउने उपायहरुमध्ये पर्दछन् । नियमित रुपमा गरिने व्यायामहरुले शरीरमा मांसपेशी बढ्ने तथा खँदिलो बनाइदिने गर्छ र त्यसले शरीरको खाना पचाउने प्रक्रियालाई पनि तीब्र पारिदिन्छ । त्यसको विपरीत बोसोले चाहिँ हाम्रो उर्जा खपतलाई बढाउँदैन । व्यायाम तथा शारीरिक अभ्यासहरु गर्नु भनेको शरीरबाट बोसो घटाउनु तथा मांसपेशीहरु बढाउनु पनि हो । शरीरमा मांसपेशीहरु बढ्नु भनेको शरीरको क्यालोरी पनि बढी खपत हुनु हो । किनभने ती मांसपेशीहरु सञ्चालन हुनका लागि हामीले आराम गरिरहेको बेलामा पनि उर्जा खपत भइरहेको हुन्छ । खाना पचाउने प्रक्रियालाई स्वस्थ र तीब्र बनाउनका लागि पर्याप्त मात्रामा सुत्ने प्रक्रियाले पनि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ । अनिद्राले हाम्रो शरीरको उर्जा सन्तुलनलाई खल्बलाइदिन्छ । त्यसले भोक लगाउने हर्मोनलाई उत्तेजित तुल्याइदिन्छ र हामीलाई बेला–कुबेला खानेकुराहरु खान तलतल तथा भोक लाग्ने गर्छ । त्यसले शरीरमा चिनी पचाउने प्रक्रियालाई पनि परिवर्तन गरिदिन्छ र उर्जा खपतलाई घटाइदिने गर्छ ।

खाना पचाउने प्रक्रियालाई तीब्र पार्ने अरु उपायहरुमा लामो समयसम्म एकै ठाउँमा बसेर काम नगरिबस्ने, सक्रिय जीवन बिताउने, कतै आउनु जानु पर्दा सकेसम्म हिँड्ने कुरा पनि पर्दछ । त्यसै गरी लामो समयसम्म एकै ठाउँमा बसेर काम नगर्ने, कामको बीचमा बेलाबेलामा उठेर यताउता टहल्ने गर्दा पनि हाम्रो पाचन प्रणालीलाई सहयोग पुग्दछ ।

हामीले खाना खाने नियमित समय तालिका बनाउने गर्नुपर्छ । मनलाग्दी खानेकुराहरु खाने, कहिले नखाने गर्दा पनि शरीरको खाना पचाउने प्रणालीलाई असर पुग्दछ । त्यसैले नियमित रुपमा सन्तुलित खाना खाने बानी गर्दा हाम्रो शरीरको पाचन प्रणालीले राम्ररी काम गर्न सक्छ । 

खाना पचाउने प्रक्रियालाई नियमित गर्न र स्वस्थ राख्नका लागि पर्याप्त पानी पिउने बानी गर्नु पर्दछ । शरीरमा पर्याप्त मात्रामा पानी नहुँदा हाम्रो खाना पचाउने प्रक्रियामा पनि असर पुग्दछ, त्यसले त्यो गतिलाई सुस्त तुल्याइदिन्छ । त्यसका लागि पर्याप्त पानी पिउने तथा बेलाबेलामा ग्रीन टी पिउने जस्ता कुराहरु गर्न उचित हुन्छ । ग्रीन टीमा पाइने क्याटेचिनले पनि खानेकुराहरु पचाउन सहयोग गर्छ ।

खानेकुरासँग खुर्सानी खाने बानीले पनि पाचन प्रणालीलाई राम्रो बनाउन सहयोग पुग्छ । खासगरी खुर्सानीमा हुने क्याप्सिाइसिनले पाचन प्रणालीको गति तथा शरीरमा जम्मा भएका क्यालोरीलाई खपत गराउने कार्यलाई तीब्र बनाउन सहयोग गर्छ ।

पाचन प्रणालीलाई स्वस्थ्य र सुचारु राख्नका लागि एकैचोटी धेरै खानेकुराहरु खानु हुँदैन । एक पटकमा थोरै तर नियमित रुपमा खानेकुराहरु खाने बानी बसाल्ने हो भने पनि हाम्रो पाचन प्रणालीलाई भार पर्दैन र त्यसले खानेकुराहरुलाई सजिलै पचाउन सक्छ ।

पाचन प्रणालीलाई स्वस्थ्य र नियमित राख्नका लागि ख्याल गर्नैपर्ने अर्को कुरा के हो भने हामीले ‘डायटरी सप्लिमेन्ट’हरुमा भर पर्नु हुँदैन । त्यसो त बजारमा चकाचौंध विज्ञापनका साथ त्यस्ता ‘सप्लिमेन्ट’हरु पाइने गर्छ तर तिनले खासै फाइदा गर्दैन । कुनै रोगका कारण त्यस्ता सप्लिमेन्टहरु खानैपर्ने अवस्थामा पनि विज्ञहरुसँग सल्लाह गरेर मात्रै खानुपर्छ ।

सबैभन्दा मुख्य कुरा, स्वस्थकर जीवनपद्दति अपनाउने हो भने स्वतः नै हाम्रो खाना पचाउने प्रक्रियामा पनि स्वस्थ र नियमित भइहाल्छ ।

ख्याल गर्नैपर्ने कुरा के हो भने, खाना पचाउन प्रक्रिया व्यक्तिको वंशानुगत गुणहरुमा पनि निर्भर गर्दछ । तर खानेकुराहरुको चयन, शारीरिक अभ्यास, जीवनशैलीहरुलाई सन्तुलित तुल्याएर पाचन प्रणालीलाई चुस्त, दुरुस्त राख्न सकिन्छ ।

 

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।