गुणकारी फल आँप

आँपको करीब ३५ प्रजातिहरु छन् । ती प्रजातिहरुबाटै पनि हालसम्म १२०० भन्दा बढी उपप्रजातिका आँपहरु फेला परिसकेका छन् । तीमध्ये हजार प्रजातिहरु त भारतमा मात्रै पाइन्छन् । भारतमा वार्षिक २० मिलियन टनभन्दा बढी आँप उत्पादन हुने गर्छ । यो संसारभरि नै सर्वाधिक आँप उत्पादन गर्ने मुलुकमा पर्दछ । भारतको आन्ध्र प्रदेश, तमिलनाडु, कर्नाटका, उत्तर प्रदेश, बिहार, महाराष्ट्र आँपका प्रमुख उत्पादक क्षेत्रहरु हुन् ।

भारतपछि चीन (ताइवानसमेत मिलाएर), थाइल्याण्ड, मेक्सिको, इण्डोनेशिया, पाकिस्तान, ब्राजिल, इजिप्ट, बंगलादेश, नाइजेरियाहरु सर्वाधिक बढी आँप उत्पादन गर्ने देशमा पर्दछ ।

संसारको सबैभन्दा बढी उत्पादन हुने फलफूलमा आँप तेस्रो नम्बरमा आउँछ । आँपको उत्पत्ति थलो दक्षिण एशिया, अझ विशेष गरेर भारत, बर्मा, श्रीलंका र बंगलादेश हो । त्यहीँबाट यो मलाया, पूर्व एशिया र पूर्वी अफ्रिकामा फैलिँदै संसारभरि पुगेको हो ।

एउटा मध्यम खालको आँपमा औसत रुपमा १३५ क्यालोरी शक्ति हुन्छ । त्यसमा कार्बोहाइड्रेट १७ ग्राम, भिटामिन सी ५७.३ मिलिग्राम पाइन्छ । त्यसै गरी, यसमा भिटामीनहरु ए, बी१, बी२, बी३, बी६, मिनरल र एन्टिअक्सिडेन्ट पनि पर्याप्त मात्रामा हुन्छ । आँपमा कोलेस्ट्रोल वा जम्ने चिल्लो हुँदैहुँदैन । यसमा करीब ०.६ ग्राम नजम्ने चिल्लो पदार्थ हुन्छ । आँपमा सुगर १५ प्रतिशत, फाइबर ३.७ ग्राम, पोटासियम ३२२.९२ मिलिग्राम, म्याग्नेसियम ९ मिलिग्राम, सोडियम ४ मिलिग्राम, क्याल्सियम २०.७ मिलिग्राम र आइरन ०.२७ मिलिग्राम र थोरै मात्रामा जिंक हुन्छ ।

 भारतमा आँपलाई रगत बढाउने फल मानिन्छ । आँपमा आइरन पनि पाइने हुनाले रक्तअल्पता (anemia)  का विरामी, गर्भवती महिला र रजस्वला भएकी महिलालाई आँप खुवाउने सल्लाह दिइन्छ । आँपमा पाइने पोटासियम र म्याग्नेसियम जस्ता तत्वहरुले गर्दा मांसपेशी बाउँडिँदा, तनावको बेला, मुटुको समस्या, एसिडोसिसको समस्यामा पनि यो फल उपयोगी हुन्छ । आँपमा एक विशेष किसिमका इन्जायम (शरीरको लागि उपयोगी तत्त्व) पाइन्छ, जुन इन्जायम मेवामा पाइने पापेन जस्तै खानेकुरा पचाउनको लागि उपयोगी हुने गर्छ । विशेष गरेर यी इन्जायमहरुले मासुको प्रोटिनलाई राम्ररी टुक्राएर शरीरले पचाउन सक्ने बनाइदिन्छ । त्यसैगरी, आँपमा पाइने magneferin, katechol oxidase, and lactase जस्ता रसायनहरुले हाम्रो पाचन प्रणालीको कामलाई बढाइदिनुका साथै आन्द्राका भित्ताहरुलाई सफा गर्न पनि सहयोग गर्छ ।

आँपको खेती ईशापूर्व २००० देखि नै गर्न थालिएको हो । चिनियाँ यात्री ह्वाङ सेनले सातौं शताब्दीतिर भारतको भ्रमण गरेपछि आँपलाई चीन पुर्याएको विश्वास गरिन्छ । युरोपमा सन् १३३८ मा आँप पुगेको थियो । सोह्रौं शताब्दीतिर पोर्तुगिजहरुले आँपलाई पूर्व र पश्चिम अफ्रिका तथा ब्राजिल पुर्याएका थिए । सोह्रौं शताब्दीतिर आँपले तत्कालीन सामन्त, राजा र नवाबहरुले खाने विशेष फलको दर्जा पाएको थियो ।

तमिल भाषामा आँपलाई mancay वा mangay  भनिन्छ । पोर्तुगिजहरुले त्यसलाई Manga भने । यही शब्दबाट नै आँपको नाम अंग्रेजी भाषामा Mango भयो । यसको वैज्ञानिक नाम चाहिँ Mangifera indica हो । आँप संसारकै सबैभन्दा पुरानो फलहरुमध्येको पनि एक हो । यस फलको २५ देखि ३० मिलियन वर्षअगाडिको जीवाशेष पनि फेला परेको छ ।