के हो निकोटिन ? कसरी शरीरमा प्रभाव पार्छ यसले ?

• मलाई लेख्न बस्यो कि चुरोटको तलतल लागिहाल्छ । हातमा चुरोटको खिल्ली छैन भने दिमाग नै खुल्दैन । केही कुरा पनि सोच्न सक्दिनँ ।

– एक पत्रकार मित्र

•        मैले त कम्प्युटरको काम पनि कम गर्न थालें । कम्प्युटरमा बस्यो कि चुरोट खान मन लागिहाल्छ । चुरोट खाइनँ भने त केही पनि काम गर्नै सक्दिनँ ।

–ग्राफिक डिजाइनर साथी

•        मलाई पनि सूर्ति नखाइकन त केही काम पनि गर्नै मन लाग्दैन । सूर्ति नखाइकन त म हिसाब गर्नै सक्दिनँ । ध्यान नै कता जान्छ कता !

– एउटा अफिसका एकाउन्टेन्ट

•        हैन दाइ, खै चुरोट खानु पर्यो । मलाई चाहिँ सूर्ति है ! थाहा त छ नि, यसले फाइदा गर्दैन भन्ने, तरपनि यो नखाइकन कामको मेलो नै सर्दैन । लौ न, केही चुरोट र एक दुई प्याकेट सूर्ति ल्याइदिनु पर्यो !

– घर बनाउन खटिएका मजदूर साथीहरु

यहाँ माथि उल्लेख भएका कुराहरु कुनै काल्पनिक घटनाहरु हैनन् । यी त मैले विगतमा सुन्दै र भोग्दै आएका सत्य घटनाहरु हुन् ।

पटक पटक यस्ता कुराहरु सुन्दै आएपछि चुरोट र सूर्तिको अम्मल पटक्कै नभएको मेरो मनमा त्यसको कारण जान्न खुल्दुली जाग्यो । खोज्दै, बुझ्दै र पढ्दै जाँदा के थाहा लाग्यो भने, यी सबैका पछाडि जरो कारण त एउटै रहेछ ! त्यो हो चुरोट वा सूर्तिमा पाइने घातक रसायन निकोटिन !

आउनुहोस्, तपाईं हामी पनि यस घातक रसायनको बारेमा खोतलखातल गर्ने कोशिस गरौं ।

निकोटिनको प्रयोगः हजारौं वर्षको इतिहास

आजभन्दा हजारौं वर्षअघिदेखि नै मानिसहरुले सूर्तिलाई धूम्रपान वा खैनीको रुपमा खान वा सेवन गर्न थालिसकेका थिए । सूर्तिखेतीको शुरुवात सबैभन्दा पहिले करिब इशापूर्व ६००० वर्षअगाडि उत्तर तथा दक्षिण अमेरिकाबाट भएको थियो । शुरुमा यूरोप तथा एशियाका मानिसहरुलाई अमेरिकाबारे जानकारी थिएन । चौधौं शताव्दीमा स्पेनका क्रिस्टोफर कोलम्बस त्यहाँ पुगेपछिमात्र अमेरिकाबारे बाँकी विश्वलाई थाहा भयो । यूरोपेलीहरुलाई अमेरिकाबारे थाहा भएपछि उनीहरुले कालान्तरमा त्यसलाई उपनिवेश नै बनाए र त्यहाँका प्राकृतिक स्रोतहरुलाई दोहन गर्न थाले ।

त्यही क्रममा यूरोपेलीहरुले अमेरिकामा पहिलेदेखि भएको सूर्तिको ठूलो पैमानामा उत्पादन गरी त्यहाँबाट यूरोप र विश्वका अन्य भागहरुमा व्यापक रुपले निर्यात गर्न थाले । यसरी निकोटिनको प्रमुख स्रोतको रुपमा रहेको सूर्तिको विश्वव्यापी रुपमा खेती र  निर्यातको शुरुवात भयो ।

सूर्तिको असरको बारेमा परापूर्वकालदेखि नै विवाद चल्दै आएको छ । शुरुशुरुमा सूर्तिले मानिसलाई प्लेगको महामारीबाट जोगाउँछ भन्ने विश्वाससमेत गरिन्थ्यो । तर लामो समयसम्म सूर्तिको सेवन गर्दा विभिन्न खराबीहरु पनि देखिन्थ्यो । त्यसैले मानिसहरु के विश्वास गर्थे भने सूर्ति र विभिन्न घातक रोगहरुका बीचमा अवश्य पनि कुनै सम्बन्ध हुनुपर्छ । त्यसबेला विज्ञान तथा प्रविधिको विकास भइनसकेकोले मानिसहरुको यो शंका प्रमाणित त हुन सकेन तर पछि विज्ञानले त्यसलाई सही ठहर्यायो ।

निकोटिन के हो ?

निकोटिन प्राकृतिक रुपमा पाइने तरल अल्कलोइड रसायन हो । यसको रासायनिक सूत्र (C10H14N2)  हो । यो रसायन कार्बन, हाइड्रोजन र नाइट्रोजन तत्वहरुको रासायनिक संयोगबाट बनेको हुन्छ । यस्तै अर्को किसिमको अल्कलोइड रसायन क्याफिन पनि हो, जुन कफी, चियामा पाइने गर्छ । यही कारण कफी, चियाको सेवन गर्न थालेपछि, चुरोट खान थालेपछि मानिसलाई त्यसको तलतल लाग्ने गर्छ । किनभने, यस्ता अल्कलोइड रसायनले मानिसको शरीरमा प्रभाव पार्ने र एक किसिमको आनन्ददायी उत्तेजना पैदा गर्ने गर्छ ।

एउटा सूर्तिको बोटमा करिब ५ प्रतिशत निकोटिन हुने गर्छ । एउटा चुरोटमा चाहिँ त्यसको ब्राण्ड हेरेर निकोटिनको मात्रा ८ देखि २० मिलिग्रामसम्म हुन सक्छ । रोचक त के छ भने, चुरोट खाँदा त्यसमध्ये पनि १ मिलिग्राम जतिमात्र हाम्रो शरीरले ग्रहण गर्ने गर्छ । मात्रा यति थोरै भएपनि त्यसले मानिसलाई आनन्द प्रदान गर्ने र त्यसको लत बसाइहाल्छ ।

शरीरमा निकोटिन कसरी घुस्छ– कसरी फ्यालिन्छ ?

अन्य लठ्याउने रसायनहरु जस्तै निकोटिनलाई पनि हाम्रो शरीरले विभिन्न भागबाट ग्रहण गर्न सक्छ । तीमध्ये पनि निम्न भागहरुबाट यो रसायनलाई हाम्रो शरीरले प्रमुख रुपमा ग्रहण गर्ने गर्छ:

क) छाला ख) फोक्सो

ग) म्यूकस मेम्ब्रेन (जस्तो, गिजा वा नाकका तहहरुबाट) ।

तर हाम्रो शरीरमा सबैभन्दा बेसी निकोटिन भित्र्याउने चीज चाहिँ चुरोट नै हो । हाम्रो फोक्सोमा स–साना हावाका थैलाहरु करोडौंको संख्यामा रहेका हुन्छन् । यी थैलाहरुको काम फोक्सोमा हावा लिने र फ्याल्ने नै हो । तर चुरोट खाँदा यी हावाका थैलाहरुमार्फत् निकोटिन हाम्रो रक्त प्रणालीमा मिसिने गर्छ ।

यी उल्लेखित माध्यमहरुबाट शरीरमा प्रवेश गरेको निकोटिन स–साना रक्तनलीहरुमा प्रवेश गर्ने गर्छ । ती रक्तनलीहरुभएर निकोटिन रगतमा मिसिन पुग्छ र रगत हुँदै यो तुरुन्तै मस्तिष्कसम्म पनि पुग्छ । रगतको माध्यमबाट यो रसायन शरीरका अन्य भागहरुमा पनि पुग्ने गर्छ । यसरी शरीर र मस्तिष्कमा पुगेको निकोटिनले विभिन्न असरहरु गर्ने गर्छ । तर चुरोट वा सूर्ति खाँदा हामीलाई आनन्द महशूस हुने र यसलाई छोड्नै मन नलाग्ने गरी लत लाग्नुको कारण चाहिँ मस्तिष्कमा यसले छोड्ने गहिरो प्रभाव नै हो । सूर्ति वा चुरोट सेवन गरेको १० देखि १५ सेकेण्डमा नै यसका दुव्र्यसनीहरुलाई निकोटिनको प्रभाव भइहाल्छ ।

त्यसो त निकोटिनको प्रभाव हाम्रो शरीरमा लामो समयसम्म रहिरहँदैन । यसको असर करिब ६० मिनेटसम्म मात्र रहने गर्छ । चुरोट खाएको करिब ६ घण्टापछि शरीरमा घुसेको १ मिलिग्राममध्ये पनि ०.०३१ मिलिग्राम निकोटिनमात्र हाम्रो शरीरमा रहिरहन्छ ।

अब खुल्दुली जाग्न सक्छ– बाँकी निकोटिन चाहिँ कहाँ जान्छ त ?

शरीरमा घुसेको निकोटिनको ८० प्रतिशत भागलाई हाम्रो कलेजोमा हुने इन्जाइमहरुले कोटिनिन नामक रसायनमा परिणत गरिदिन्छ । त्यसैगरी, निकोटिनलाई हाम्रो फोक्सोले पनि कोटिनिन र निकोटिनअक्साइडमा परिणत गरिदिन्छ । यसरी परिणत भएको कोटिनिन र निकोटिनअक्साइड चाहिँ मुत्रको माध्यमबाट शरीरबाट बाहिरिन्छ । रोचक त के छ भने, कोटिननको जम्मा आयु ४८ घण्टामात्र हुन्छ । त्यसैले कसैले पछिल्लो एक वा दुई दिनमा चुरोट खाए नखाएको कुरा उसको मुत्रमा कोटिनिनको मात्रा जाँचेर पनि पत्ता लगाउन सकिन्छ ।

फोक्सो वा कलेजोले छान्न नसकेको बाँकी निकोटिन चाहिँ रगत शुद्ध गर्ने क्रममा हाम्रो मृगौलाले छान्ने गर्छ । त्यसरी छानिएको निकोटिन पनि मुत्रकै माध्यमबाट शरीरबाट बाहिरिने गर्छ ।

सूर्ति वा चुरोटको तलतल किन लाग्छ ?

सूर्ति खानथालेपछि मानिसलाई त्यसको तलतल फेरि फेरि लाग्ने गर्छ । कसैले लहडमा वा रहरले यसको सेवन गरेपछि फेरि अर्को पटक पनि यसलाई उपयोग गर्न मनलाग्न थाल्छ । त्यसको सेवन गर्ने मानिसलाई यो कुरा राम्ररी नै थाहा हुन्छ– सूर्तिको सेवनले फाइदाभन्दा बढी नोक्सान नै गर्छ । तरपनि उसले त्यसको सेवन गर्ने मोह त्याग्न सक्दैन । यस्तो चाहिँ किन हुन्छ ?

वास्तवमा, सूर्तिको सेवन गरेपछि मानिसलाई एक किसिमको रमाइलो अनुभव हुन्छ । अझ कतिपयलाई त अत्यन्तै खुशी र रोमाञ्चको पनि अनुभव हुन्छ । प्राकृतिक अवस्थामा नै सूर्तिमा धेरै रसायनहरु हुने गर्छन् र अझ त्यसलाई चुरोट बनाउँदा कतिपय थप रसायनहरु पनि मिसान्छन् । तर मानिसलाई तलतल लगाउने रसायन चाहिँ सूर्तिमा हुने निकोटिन नै हो । त्यही निकोटिनले नै मानिसलाई आनन्द र रोमाञ्चको अनुभूति दिन्छ, जसले उसलाई एउटापछि अर्को चुरोट वा खैनी खानको लागि उत्प्रेरित गर्ने गर्छ ।