के काम छ र हाम्रो आँखीभौको ?

हाम्रो आँखाभन्दा माथिको डीलमा रौंको झुप्पा हुन्छ । त्यो झुप्पालाई आँखीभौं भनिन्छ । आँखीभौंले मानिसको अनुहारको स्वरुप बनाउन निकै ठूलो भूमिका खेल्छ । मानिस सुन्दर देखिनु वा नदेखिनुमा आँखीभौंको पनि केही हदसम्म योगदान हुन्छ । साँच्चै भन्ने हो भने आँखीभौ नभएको मानिस अनौठो देखिन्छ । यसले हाम्रो सुन्दरता बढाउने काम गरिरहेको हुन्छ । त्यसैले हामी आँखीभौमा धेरै ध्यान दिने गर्छौँ । धेरैजनाले त यसलाई परेला र ओठ जस्तै गरी विभिन्न आकार दिएर मिलाएको पनि पाउन सक्छौँ । आँखीभौंले मानिसको सोँचाइ र भावनालाई पनि जान्न मद्दत गर्छ । किनभने विभिन्न भावनामा मानिसले विभिन्न तरिकाले आँखीभौ चलाउने गर्छ ।

हाम्रो शरीरका सबै भागहरुमा रौं हुन्छ र शरीरमा रौं हुनुको आफ्नै अर्थ र कामहरु हुन्छन् ।  शरीरको कुनै भागमा बढी रौं हुन्छ त कुनै भागमा कम रौं । आँखीभौं चाहिँ हाम्रो शरीरको बढी रौं हुने भागहरुमध्येको एउटा भाग हो ।

हाम्रो आँखाको डीलमा हुने आँखीभौको मुख्य काम भनेको आँखालाई विभिन्न तरिकाले जोगाउनु हो । यसले हाम्रो आँखाको ओसिलोपनाबाट जोगाउन मद्दत गर्छ । गर्मीमा हिँडेको बेला यसले पसिनालाई आँखामा पस्न दिँदैन । त्यसै गरी पानी परेको बेला पानीलाई पनि हाम्रो आँखामा छिर्न दिँदैन । आँखीभौकै मद्दतले हामी पानी परेको बेला पनि मज्जाले देख्न सक्छौँ । आँखीभौले पानी र पसिना बग्ने दिसालाई परिवर्तन गरिदिन्छ । जसले गर्दा हाम्रो आखाँमा तिनीहरु छिर्न पाउँदैनन् । यसरी पानीमा रहेको हानिकारक वस्तु र पसिनामा रहेको नुनलाई आँखामा पर्नबाट जोगाउँछ । जसले आँखा चिलाउने समस्या पनि आउँदैन । कतिपय अवस्थामा त यसले हामीलाई धूलोबाट समेत जोगाउने काम गर्छ ।

कसै कसैको विचारमा त आँखीभौले मानिसलाई अहिलेसम्म धेरै बाँच्नका लागि मद्दत गरेको छ । पानी परेको बेला पनि देख्नु सक्दा मानिसलाई ओत खोज्नु सम्भव हुन्छ । जसले ठूलै दुर्घटनाबाट जोगाउन सक्छ । यदी हामी कुनै जनवारबाट भाग्दै छौँ भने पनि हाम्रो टाउकोमा धेरै पसिना आउँछ । पसिनालाई आँखामा छिर्नबाट रोके पछि हामी सजिलै त्यस्ता जनवारबाट बँच्न सक्छौँ । त्यसैले यसले केवल हाम्रो आँखालाई मात्र जोगाउँदैन । कहिलेकाहीँ यसले हाम्रो ज्यान पनि जोगाउन सक्छ । त्यसै कारण पनि आँखीभौ भएको मानिस आँखीभौ नभएको मानिसभन्दा धेरै समय बाँच्न सक्छ ।

अर्को रमाइलो कुरा के पनि छ भने आँखीभौंले हाम्रो आँखालाई घामबाट जोगाउने काम पनि गरिरहेको हुन्छ । यसले आँखामा पुग्ने घामको किरणलाई कम गर्न मद्दत गर्छ । यसरी यसले अप्रत्यक्ष रुपमा आँखाको कोर्निया र रेटिनालाई हुने क्षतिलाई रोक्न मद्दत गरिरहेको हुन्छ ।

आँखीभौंको अर्को उपयोगिता भनेको यसले हाम्रो भावनाहरुलई व्यक्त गर्ने काम पनि गर्छ । विभिन्न प्रकारका भावनाहरु, जस्तै, आश्चर्य, क्रोध वा खुसी प्रकट गर्न पनि आँखीभौंलाई मानिसले विभिन्न आकार प्रकारमा परिणत गरेर प्रयोग गयिररहेको हुन्छ ।

आँखीभौंको अर्को उपयोगिता भनेको यसले हाम्रो अनुहारको सुन्दरतालाई अभिबृद्धि गर्ने काम पनि गरिरहेको हुन्छ । त्यसैले मानिसहरु, अझ विशेष गरेर महिलाहरुले आफ्ना आँखीभौंलाई सुन्दर बनाउने कुरामा विशेष ध्यान दिने गर्छन् ।

किन कसैको आँखीभौं बाक्लो, कसैको पातलो हुन्छ?

त्यसो त सबैको आँखीभौं एकै प्रकारको हुँदैन । कसैको आँखीभौं झ्याप्पै बाक्लो हुन्छ भने कसैको पातलो । यसरी मानिसहरुको आँखीभौं फरक खालका हुनमा विभिन्न कारणहरुले भूमिका खेल्ने गर्छ ।

आँखीभौंको मोटाइ मानिसहरुमा फरक फरक हुनुमा धेरै हदसम्म आनुवंशिकताले भूमिका खेल्ने गर्छन् । त्यसबाहेक, मानिसको उमेर बढ्दै जाँदा त्यस क्षेत्रका कपालको जराहरु कम सक्रिय हुने हुनाले पनि आँखीभौं पातलो हुँदै जान्छ ।

हर्मोनमा हुने परिवर्तनहरुः आँखीभौ.को मोटोपनलाई हर्मोनमा हुने परिवर्तनले प्रभावित गर्न सक्छ । उदाहरणका लागि, गर्भवती महिला तथा रजोनिवृत्तिको चरणबाट पार गरिरहेका महिलाहरुमा आँखीभौंको मोटाइमा परिवर्तन आउन सक्छ ।

त्यसैगरी केही रोगहरुका कारण पनि आँखीभौं झर्न वा पातलो हुन सक्छ भने केमोथेरापी लगायतका औषधीहरुको प्रभावका कारण पनि आँखीभौंलाई असर पुग्न सक्छ । आँखीभौंलाई असर गर्ने अर्को स्वास्थ्य समस्या भनेको थाइराइडको समस्या पनि हो । त्यसबाहेक, अस्वस्थ खानेकुरा, खराब प्रदूषण, अत्यधिक सौन्दर्य प्रशाधनहरुको प्रयोग लगायतका कारणले पनि आँखीभौंमा नकारात्मक असर पर्न सक्छ ।