बहुध्रुवीय विश्व अब केवल एउटा सिद्धान्त होइन वास्तविकता

याल्टादेखि नयाँ दिल्लीसम्म

अलेक्जेन्डर दुगिनका दृष्टिमा ब्रिक्सको  नयाँ दिल्ली सम्मेलन बहुध्रुवीयतातर्फको अर्को महत्त्वपूर्ण मोड हो, तर उनको चेतावनी छ: यो खेल अझै जिति सकिएको छैन। पश्चिम विभाजित हुँदै गए पनि उसले प्रत्याक्रमण गर्न सक्छ। अन्त्यमा नतिजा रणनीतिले नै निर्धारण गर्नेछ।

स्पुतनिक टिभी कार्यक्रम 'एस्कालेसन' (Escalation) मा दार्शनिक अलेक्जेन्डर दुगिनसँगको कुराकानी।

प्रस्तोता: नयाँ दिल्लीमा भएका घटनाक्रमहरू निस्सन्देह विश्वव्यापी भूराजनीतिक स्तरमा भइरहेका विशाल परिवर्तनहरूको अर्को चरण हुन्। जनसांख्यिकीय रूपमा आधा मानवजातिको प्रतिनिधित्व गर्ने विशाल आर्थिक प्रभाव राख्ने तीन शक्ति राष्ट्रका नेताहरूको धारणा ऐतिहासिक महत्त्वका छन्। प्रधानमन्त्री मोदीले स्पष्ट रूपमा भने कि ब्रिक्स (BRICS) को एकता र सहमतिलाई विश्व मञ्चमा ठोस परिणाममा रुपान्तरण गरिनुपर्छ, जसको अर्थ विश्वव्यापी शासन प्रणालीमा गरिने गहिरो सुधार हो। भ्लादिमिर पुटिन वा सी जिनपिङको तुलनामा भारतबाट कम कडा भाषाको अपेक्षा गरिएको थियो, तर पनि प्रणालीको पुनर्संरचना गर्ने कुरामा उनीहरूको साझा दृष्टिकोण देखियो। यसैबीच, भ्लादिमिर पुटिनले रूसले संयुक्त राष्ट्रसंघले विश्व भूराजनीतिमा आफ्नो केन्द्रीय भूमिका कायम राख्नुपर्ने कुरामा निरन्तर जोड दिँदै आएको स्पष्ट गरे। यी सबै विषय हेर्दा, अब हामीले विश्वव्यापी खेलाडीका रूपमा ब्रिक्सको मूल्याङ्कन कसरी गर्ने र उदाउँदो विश्व व्यवस्थामा यसको वास्तविक भूमिका के हो?

अलेक्जेन्डर दुगिन: म विगत ३० वर्षदेखि एक पूर्ण रूपमा स्थापित विद्वान र बौद्धिक व्यक्तिका रूपमा—बहुध्रुवीय विश्वको सिद्धान्त विकास गर्दै र यसको निर्माण प्रक्रियालाई नजिकबाट नियाल्दै आएको छु। मेरा धेरै पुस्तकहरू यसै विषयमा केन्द्रित छन्। यसमा बहुध्रुवीय सिद्धान्तसम्बन्धी विभिन्न भाषामा अनुवादित पाठ्यपुस्तकहरूका साथै हालैका अन्य धेरै कृतिहरू पनि समावेश छन्। मैले एमजीआईएमओ (Moscow State Institute of International Relations) मा बहुध्रुवीय विश्वको सिद्धान्त पढाउँछु र करिब १५-२० वर्ष पहिले मस्को स्टेट युनिभर्सिटीमा पनि यो विषय पढाउन सुरु गरेको थिएँ। मेरा लागि, अहिले भइरहेका घटनाक्रमहरू एउटा खुला किताबजस्तै स्पष्ट छन्।

सिद्धान्तको दृष्टिकोणबाट हेर्दा, विशिष्ट प्रवृत्तिहरू कहाँबाट उत्पन्न हुन्छन्, कसरी विकसित हुन्छन् र तिनको गन्तव्य के हो भन्ने कुरा बुझ्न सजिलो छ। म त्यो अन्तिम बिन्दु पनि देख्न सक्छु जहाँ हामी अझै पुगेका छैनौं र त्यो सुरुवाती बिन्दु पनि जहाँबाट हामी अघि बढेका थियौं: एकध्रुवीय विश्व, जसको चरमोत्कर्ष निस्सन्देह १९९० को दशकमा थियो, जब पश्चिमले आफूलाई एकमात्र विश्वव्यापी खेलाडी वा 'हेजेमोन' (सर्वशक्तिमान्) ठान्थ्यो। भूमण्डलीकरणको अर्थ नै यही थियो: त्यहाँ केवल पश्चिम र त्यसको परिधि (वरिपरिका क्षेत्र) मात्र थिए; र वैकल्पिक ध्रुवका रूपमा रहेको सोभियत संघको पतनपछि, अरू केही बाँकी रहेन।

सोभियत संघको पतन र भू-राजनीतिक आत्मघाती अन्त्यपछि, एकध्रुवीय विश्व-ढाँचाले आकार लिन थाल्यो। भ्लादिमिर पुटिन सत्तामा आएपछि, रुसले त्यो संरचनाबाट बाहिर निस्किएर बहुध्रुवीय विश्वतर्फ अघि बढ्न थाल्यो। येभगेनी प्रिमाकोभले १९९० को दशकको अन्त्यतिरै यसका प्रारम्भिक संकेतहरू देखिसकेका थिए, जुन भू-राजनीतिक भविष्य बुझ्नका लागि अत्यावश्यक छ। त्यसपछि, विशेष गरी चीनको उदय र हाम्रो आफ्नै देशको निरन्तर प्रयासका कारण बहुध्रुवीयता क्रमशः स्पष्ट हुँदै गयो। वास्तवमा, यसको सैद्धान्तिक व्याख्या निकै विस्तृत रूपमा भइसकेको छ। यस क्षेत्रमा व्यावसायिक रूपमा अध्ययन अनुसन्धान गर्नेहरूका लागि हामी कतातिर अघि बढिरहेका छौं भन्ने कुरा कम्तीमा पनि कल्पना गर्न सजिलो छ।

एउटा नयाँ बहुध्रुवीय विश्वको उदय भइरहेको छ। यो एकध्रुवीय होइन, बहुध्रुवीय विश्व हो, जसको अर्थ विश्वव्यापी सार्वभौमिकताको पश्चिमको दाबी अब अन्त्य भएको छ। उक्त दाबीलाई अस्वीकार गरिएको छ। बहुध्रुवीय विश्वका प्रत्येक सभ्यतामूलक राज्य र प्रत्येक ध्रुवले विश्व व्यवस्थाबारे आफ्नो छुट्टै दृष्टिकोण, मूल्य–मान्यता, परम्परा र आपसी सम्बन्धका अवधारणाहरू प्रस्तुत गर्छन् तथा आफ्नै सम्भावित परिदृश्यहरू अघि सार्छन्। यी सबै पक्षहरूलाई, यदि त्यसरी भन्न चाहनुहुन्छ भने, सामूहिक रूपमा विचार गरिन्छ तर अत्यन्त सीमित संख्यामा रहेका प्रमुख पक्षहरूद्वारा।

यस प्रक्रियाले त्यस्तो कुरालाई उजागर गर्छ जसमाथि थोरै मानिसहरूको मात्र ध्यान गएको छः यो बहुध्रुवीय विश्वले वास्तवमा कस्तो आकार लिनेछ, यसले कस्ता समस्या र अन्तर्विरोधहरू सिर्जना गर्नेछ, र यसले कस्तो कानुनी स्वरूप धारण गर्नेछ। संयुक्त राष्ट्र संघले आफ्नो वर्तमान स्वरूपमा पूर्णतया पुरानो व्यवस्था (अर्थात् 'याल्टा विश्व') को प्रतिनिधित्व गर्दछ। दोस्रो विश्वयुद्ध र 'महान् देशभक्तिपूर्ण युद्ध' पछि, द्विध्रुवीय प्रणाली र असंलग्न आन्दोलनको उदय भयो र संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को संरचनामा तिनै कुराहरूको प्रतिविम्ब देखिन्छ। सारमा भन्नुपर्दा, यो एउटा यस्तो द्विध्रुवीय संरचना थियो जुन विगत करिब चालीस वर्षदेखि अस्तित्वमा छैन।

तसर्थ, संयुक्त राष्ट्रसंघ एउटा यस्तो अन्तर्राष्ट्रिय संस्था हो जसले अझै पनि विगतको अवस्थालाई नै प्रतिविम्बित गर्छ। सोभियत संघको पतनपछि, पश्चिमले संयुक्त राष्ट्र संघको ठाउँमा (ध्यान दिनुहोस्, ठीक त्यसकै ठाउँमा) एकध्रुवीय विश्व कानुनी प्रणाली निर्माण गर्ने प्रयास गर्‍यो। यसै क्रममा 'लोकतान्त्रिक राष्ट्रहरूको संघ' (league of democracies) वा 'लोकतान्त्रिक मञ्च' (forums of democracy) जस्ता संरचनाहरू खडा गरिए, जसमा पश्चिम र यसको कोर भित्री घेरा, मध्य घेरा, दोधारमा रहेका राष्ट्रहरू र विश्वको परिधि समावेश जस्ता संरचना निर्माण गरिएका थिए।

बहुध्रुवीय विश्वको उदयले अन्तर्राष्ट्रिय संरचनाको एउटा नितान्त भिन्न स्वरूपलाई कार्यसूचीमा ल्याएको छ। हामी अहिले द्विध्रुवीय विश्वको त्यो शिथिल भइसकेको अवशेष अर्थात् पुरानो अन्तर्राष्ट्रिय कानुनी संरचनाको जडतालाई नयाँ आधारमा पुनर्गठन गर्ने प्रयास गर्दैछौं:  त्यो न त द्विध्रुवीय न त एकध्रुवीय, बरु यो बहुध्रुवीय हुनेछ। हामी अन्तर्राष्ट्रिय कानुनको एउटा यस्तो नयाँ विश्व प्रणालीतर्फ अघि बढिरहेका छौं भन्न सकिन्छ जुन सारमा बहुध्रुवीय छ। तर, हामी त्यहाँ पुग्न संयुक्त राष्ट्र संघको उपयोग गर्न चाहन्छौं। पश्चिमा जगत स्वयंलाई अब आफ्नो शक्तिमाथि भरोसा छैन र उनीहरूसँग स्पष्ट रूपमा त्यस्तो कडा श्रेणीबद्ध एकध्रुवीय कानुनी व्यवस्था निर्माण गर्ने क्षमताको अभाव छ जसमा केवल उनीहरूको मात्र अस्तित्व होस् र अरू कसैको होइन।

त्यो अब सम्भव छैन किनभने त्यहाँ चीन छ र हामी छौं वा 'हामी र चीन', जसरी तपाईंलाई मन पर्छ। एकध्रुवीय मोडेलले अब काम गर्दैन, र पश्चिमा जगत पनि संयुक्त राष्ट्र संघभित्रै हामीसँग काम गर्न बाध्य छ। यद्यपि उनीहरूलाई यो मन पर्दैन। हामी संयुक्त राष्ट्र संघलाई बहुध्रुवीयताको संस्थामा रूपान्तरण गर्ने आशा राख्छौं; उनीहरू भने यसको पुरानो जडतालाई नै कायम राख्न चाहन्छन्। जसले उनीहरूलाई अझै पनि केही अनौपचारिक विशेषाधिकारहरू प्रदान गर्दछ। विश्व अहिले एउटा निर्णायक मोडमा छ। संयुक्त राष्ट्र संघका लागि हुने संघर्षमा हामी जित्छौं र यसलाई बहुध्रुवीय विश्वको संस्था बनाउँछौं, वा विस्तार हुँदै गरेको ब्रिक्स (BRICS) को आधारमा एउटा नयाँ मोडेलको उदय हुन्छ जसमा थप 'सभ्यतागत राष्ट्र' (civilization-states) हरू समाहित हुनेछन्। यो समयले नै बताउनेछ। सायद अब यी घटनाक्रमले यही बाटो लिनेछ।

यसको दिशा स्पष्ट छ। हामीले व्यवहारमा बहुध्रुवीयतालाई कसरी साकार पार्नेछौं र अन्तर्राष्ट्रिय कानुनको नयाँ प्रणालीले कस्तो रूप लिनेछ भन्ने कुराको पूर्वानुमान गर्न अझै कठिन छ। नयाँ दिल्ली शिखर सम्मेलन त्यस दिशामा चालिएको अर्को कदम थियो। यहाँ केही उल्लेखनीय पक्षहरू छन्, जसको तपाईंले उल्लेख गर्नुभयो।

पहिलो, आज पूर्ण बहुध्रुवीयता त्यस्तो नाजुक सन्तुलनमा अडेको छ, जहाँ तराजुको कुनै एक पल्लामा राखिएको एउटा सानो प्वाँखले पनि समग्र झुकाव निर्धारण गर्न सक्छ। त्यसैले, प्रथम दृष्टिमा गौण देखिने खेलाडीहरू पनि निर्णायक साबित हुन सक्छन्। यस्तै एक निर्णायक कारक अमेरिकी–इजरायली आक्रामकता र पश्चिमी धुरीद्वारा गरिएको नरसंहारविरुद्ध इरानको सफल प्रतिरोध हो। इरानको अडिगता र शिखर सम्मेलनकै पूर्वसन्ध्यामा ‘अन्सार अल्लाह’ (हुथी)ले दक्षिण-पश्चिमी यमन तथा बाब-अल-मान्देब जलसन्धिमा नियन्त्रण स्थापित गर्नुले भूराजनीतिक नक्सामा आधारभूत परिवर्तन ल्याउँछ। यसरी इरान र अन्सार अल्लाहले बहुध्रुवीय पक्षको पल्लालाई निकै भारी बनाउँछन्।

यहाँ मोदीको अडान निर्णायक छ। भारत वा परम्परागत शैलीमा भनिने 'भारत एउटा यस्तो 'सभ्यतागत राष्ट्र' (civilization-state) हो जससँग निर्णायक मत (swing vote) निहित छ। यदि भारत, रुस र चीन (र तिनैका माध्यमबाट इरान, स्वतन्त्र अफ्रिका तथा स्वाधीन ब्राजिल, जो ब्रिक्सका महत्त्वपूर्ण स्तम्भ हुन् र जसबाटै यो समग्र परियोजनाको सुरुवात भएको हो) बहुध्रुवीयताको पक्षमा उभिए भने, हाम्रो विजय निश्चित छ; त्यसै क्षण बहुध्रुवीय विश्वको उदय हुनेछ।

भारतले उपनिवेशवाद-विरोधी गहिरो परम्परा र पश्चिमा जगतप्रतिको अपरिहार्य शत्रुताबीच सन्तुलन कायम राख्दै आएको छ। जब कुनै जनता शताब्दीयौँसम्म पराजित भएर नरसंहारको सिकार बन्छन्, तब उनीहरूले आफ्ना दमनकारीहरूप्रति सहानुभूति राख्न सक्दैनन्। त्यो स्थितिलाई उल्ट्याउने चाहना कुनै पनि मुक्त भएको जनताका लागि स्वाभाविक हो। भारतको आफ्नै सभ्यतागत संसार पनि छ, (हिन्दू सभ्यता, विशिष्ट मानसिकता तथा हिन्दुत्व र धर्मको परम्परा) जुन कुनै पनि अर्थमा पश्चिमा होइन। साथै, रुससँग भारतको परम्परागत रूपमा कुनै भू-राजनीतिक विरोधाभास छैन।

मैले हालै यहाँ भ्रमणमा आएका भारतीय सेनाका एक पूर्व सेनाध्यक्षसँग कुरा गरेको थिएँ। उनले भने: "सामान्यतया हाम्रो अवस्था ठीक छ तर चीनसँगको स्थिति सरल र सामान्य छैन, साथै इस्लामिक विश्वसँगको स्थिति पनि सरल छैन।" यो सत्य हो। क्षेत्रीय परिवेशमा भारत चीनसँग प्रतिस्पर्धा गर्छ: हिमालय क्षेत्रमा सीमासम्बन्धी समस्याहरू छन् र इस्लामिक पक्ष (विशेष गरी यसको कट्टरपन्थी रूप) को डर पनि उनिहरुलाई छ, जसले वस्तुगत रूपमा नयाँ दिल्लीलाई इजरायलको नजिक ल्याउँछ। साथै, चीनसँगको प्रतिस्पर्धाले भारतलाई संयुक्त राज्य अमेरिकातर्फ धकेल्छ। त्यसैले मोदी एक मध्यवर्ती स्थितिमा छन् र सैद्धान्तिक रूपमा 'एकध्रुवीयता' (unipolarity) तर्फ ढल्किन सक्छन्। यदि त्यस्तो स्थायी रूपमा भयो भने, पहाडबाट ढुङ्गा खसेझैँ स्थिति बन्नेछ र प्रक्रियाले फरक गति लिनेछ।

तर हामी यसको विपरीत अवस्था पनि देख्छौं। यस शिखर सम्मेलनमा मोदीले बहुध्रुवीय विश्वको सक्रिय पक्षधर र एक वास्तविक रणनीतिकारका रूपमा धारणा राखे। उनले ब्रिक्स (BRICS) भित्र एकीकृत आर्थिक प्रणालीको प्रस्ताव गरे—जुन पश्चिमा प्रभुत्व र डलर-साम्राज्यवादमाथिको सीधा प्रहार हो। पर्दा पछाडि, ब्रिक्सको पूर्ण सैन्य गठबन्धन वा सीधा सैन्य सम्झौताको बारेमा पनि चर्चा चलिरहेको छ। यसको तर्क सरल छ: विश्व एकध्रुवीयता र बहुध्रुवीयतामा विभाजित छ। यदि एकध्रुवीय विश्वले 'ग्लोबल साउथ' (विकासशील राष्ट्रहरू), पूर्व र एसियाका मागहरूलाई बलपूर्वक अस्वीकार गर्छ र न्यायपूर्ण व्यवस्थाका लागि प्रयास गर्ने जो कोहीलाई युद्धको धम्की दिन्छ भने त्यो धम्कीलाई बुझ्नुपर्छ र त्यसको समान स्तरको जवाफ तयार पार्नुपर्छ।

मूलतः, यो तेस्रो विश्वयुद्धको तयारीसँग सम्बन्धित प्रश्न हो। यदि हामी साँच्चै बलियो छौं र हाम्रा देशहरूसँग आर्थिक, जनसांख्यिक, वित्तीय, रणनीतिक तथा आणविक क्षमताका दृष्टिले विशाल शक्ति छ भने त्यो युद्ध अझै पनि टार्न सकिन्छ। तर यदि हामी ‘होइन, होइन, जुनसुकै मूल्यमा पनि द्वन्द्व रोक्नु नै मुख्य कुरा हो’ भन्दै बसिरह्यौं भने, प्रतिपक्षीले हामीलाई डरपोक र अनिर्णयी ठान्नेछ। उसले उचित अवसर पाउनेबित्तिकै प्रहार गर्ने उद्देश्यले आफ्नो सैन्य शक्ति बढाउँदै जानेछ र हामीलाई झुटा आश्वासन दिएर ढुक्क बनाउने प्रयास गर्नेछ। त्यसैले, यदि हामीले हाम्रो शक्ति उसभन्दा कुनै पनि हिसाबले कम छैन भन्ने स्पष्ट देखाउन सक्यौं र एकध्रुवीय वर्चस्व स्थापित गर्न चाहने शक्तिसँगको कुनै पनि भिडन्तका लागि—चाहे त्यो संयुक्त सैन्य अभ्यास होस् वा सैन्य सम्झौता—हामी तयार छौं भन्ने सन्देश दिन सक्यौं भने, तेस्रो विश्वयुद्ध नहुने सबैभन्दा ठूलो ग्यारेन्टी त्यही हुनेछ।

प्रस्तोता: अघि बढ्दै भन्नुपर्दा, यदि हामी शक्ति सन्तुलनलाई हेर्ने हो भने, यो सायद एकातिर ब्रिक्स (BRICS) भित्र बढ्दो सहकार्य र अर्कोतिर पश्चिमा विश्वबीचको ध्रुवीकरणतर्फ ढल्किसकेको हुन सक्छ। हामी युरोपेली संघभित्र ठूला समस्याहरू र दक्षिणपन्थी शक्तिको उदयजस्ता घटनाक्रमहरू देखिरहेका छौं। त्यहाँ कुनै एकीकृत शासन प्रणाली छैन, र अझ भन्नुपर्दा कुनै बलियो प्रणाली पनि छैन। हामी पश्चिममा प्रभावशाली नेताहरू देखिरहेका छैनौं; जबकि पूर्वमा भने त्यस्ता नेताहरू देखिन्छन्। के यो निर्णायक साबित हुन सक्छ? र एउटा दोस्रो, मध्यवर्ती प्रश्न: के मोदी, भ्लादिमिर पुटिन र सी जिनपिङको संयुक्त उपस्थितिलाई विभाजनको बिन्दु (अर्थात् हामीले चरम विन्दु पार गरेको क्षण) भन्न सकिन्छ?

अलेक्जेन्डर दुगिन: पहिलो कुरा, मलाई लाग्छ तपाईं एकदम सही हुनुहुन्छ। साथै अर्को त्यो जसले बहुध्रुवीय खेमालाई निकै बलियो बनाउँछ, त्यो स्वयं 'पश्चिम' भित्रै देखिएको विखण्डन हो। आज पश्चिममा कम्तीमा पाँचवटा खण्ड वा उप-ध्रुवहरू छन्: ट्रम्पको अमेरिका, नेतान्याहुको इजरायल, उदारवादी नेतृत्वमा रहेको युरोपेली संघ, आफ्नै विशिष्ट 'ग्लोबलिस्ट' (विश्वव्यापीकरण पक्षधर) धार बोकेको बेलायत, र स्वयं अमेरिकी 'वैश्वीकतावादी'हरू। नजिकबाट हेर्दा, यी कुनै पनि खण्डभित्र एकता देखिँदैन। ट्रम्पले सम्पूर्ण अमेरिकाको प्रतिनिधित्व गर्दैनन्; उनी तीव्र विरोधको सामना गरिरहेका छन्। इजरायल संयुक्त राज्य अमेरिकासँग धेरै नजिक छ भने युरोपेली संघसँग धेरै टाढा छ। पश्चिम यी पाँच खण्डमा विभाजित छ र तीमध्ये प्रत्येक आन्तरिक अन्तर्विरोधले ग्रस्त छन्।

हाम्रो अवस्था फरक छ। तपाईंले सही रूपमा औंल्याएझैं, वास्तवमा हामीसँग तीनवटा शक्तिशाली सभ्यतागत साम्राज्यहरू छन्। हो, मोदी लोकतान्त्रिक देशको नेतृत्व गर्छन्, तर उनीहरू रणनीतिक रूपमा सोच्छन्। जब मैले भारतका वरिष्ठ प्रतिनिधिमण्डलहरू, विशेष गरी त्यहाँका प्रमुख बुद्धिजीवीहरूसँग कुरा गरें, मैले एउटा सीधा प्रश्न सोधें: तपाईंहरू भारतीय सोचलाई औपनिवेशिक प्रभावबाट मुक्त गर्ने (decolonizing) कुरा गर्नुहुन्छ (जस्तो कि नरेन्द्र मोदीले निरन्तर गरिरहनुभएको छ) तर औपनिवेशिक शासकहरूले तपाईंहरूका लागि छोडेर गएको पश्चिमी शैलीको उदारवादी लोकतन्त्रको निरन्तरता किन नि? धर्म र वर्णमा आधारित मौलिक भारतीय मूल्य-मान्यताहरूसँग यसको कतिको तादम्यता छ? उनीहरूले जवाफ दिए: "हामीले यस विषयमा अझै गहिरिएर सोचेका छैनौं, तर हाम्रो प्रणालीमा सबै कुरा केन्द्रित छ, र त्यसैले हामी बलिया छौं।"

जुन क्षण तपाईं अनन्त दलीय बहसका लागि ढोका खोल्नुहुन्छ, त्यहाँ बाह्य प्रभाव पार्ने तत्वहरू, मूर्खहरू र विशुद्ध स्वार्थको पछि लाग्ने मानिसहरू सामेल हुन्छन्। त्यहीँबाट 'महान् राजनीति' (grand politics) समाप्त हुन्छ। जबसम्म हाम्रा देशहरूमा राजनीति नेताहरूद्वारा (रुसमा पुटिन, चीनमा सी जिनपिङ र भारतमा मोदीद्वारा) निर्धारित र निर्देशित हुन्छ, तबसम्म हामीसँग विदेशमा 'वैश्वीकतावाद'को प्रतिरोध गर्ने मात्र होइन,  स्वदेशमा नै अझ बलियो हुने अवसर पनि पनि प्राप्त हुन्छ।

पश्चिमा लोकतन्त्रको मुख्य कमजोरी भनेको उच्च तहमा निरन्तर नेतृत्व परिवर्तनको माग हो। तपाईंले प्रशासनिक तहको मध्यभागमा फेरबदल गर्न सक्नुहुन्छ; तर सर्वोच्च रणनीतिक नेतृत्वलाई भने बारम्बार परिवर्तन गरिरहन मिल्दैन। पश्चिमाहरूले 'डिप स्टेट' (अदृश्य राज्य संयन्त्र) र छायाँमा रहेका कुलीनतन्त्रीय संरचनाहरू मार्फत यसको क्षतिपूर्ति गर्ने प्रयास गर्छन्। अपारदर्शी र गोप्य हुने भएकाले, अँध्यारोमा काम गर्ने ती संरचनाहरू छिट्टै जीर्ण हुन्छन्, 'एपस्टाइन-शैली'का (अनैतिक) समूहहरूमा परिणत हुन्छन् र पतनको बाटोमा लाग्छन्। हाम्रो शक्ति भने खुला, प्रत्यक्ष र जनता तथा इतिहासप्रति जवाफदेही हुन्छ।

त्यसैले आजको निर्णायक तथ्य यो हो कि पश्चिमा जगत् विभाजित छ भने हामी एकजुट छौं। हामीले त्यो एकतालाई अझ सुदृढ बनाउनुपर्छ र हाम्रा समाजहरूमा शासनका ती परम्परागत स्वरूपहरूलाई स्थापित गर्नुपर्छ जुन हाम्रो सभ्यताको जग र परम्परागत मूल्यमान्यताबाट स्वाभाविक रूपमा विकसित भएका छन्। यो पहिलो बुँदा हो।

दोस्रो—तपाईंले विभाजन बिन्दु (bifurcation point) को बारेमा निकै रोचक प्रश्न सोध्नुभयो। मेरो विचारमा, हामीले त्यो बिन्दुलाई तब मात्र पहिचान गर्न सक्नेछौं जब हामी त्यसबाट धेरै टाढा पुगिसकेका हुनेछौं। हामी पछाडि फर्केर हेर्नेछौं र भन्नेछौं: त्यो नै विभाजन बिन्दु थियो। त्यो शिखर सम्मेलन, वा त्यसअघिको वा पछिको सम्मेलन, वा 'विशेष सैन्य कारबाही'को सुरुवात वा अन्त्य, वा ताइवान संकट, वा हुथीहरूद्वारा बाब-अल-मान्देब जलसन्धिमा गरिएको कब्जा।

जब यस्ता घटनाहरू हाम्रो सामु घटिरहेका हुन्छन्, तब बहुध्रुवीय विश्व आइसकेको छ वा हामी अझै त्यसतर्फ अघि बढ्दै छौं भन्ने कुरा निश्चित रूपमा भन्न सकिँदैन। त्यो निर्णायक रेखा पार भइसकेको छ भनी घोषणा गर्न समय कुर्नुपर्छ। सधैं यो जोखिम रहिरहन्छ कि प्रभुत्वशाली शक्ति (hegemon) ले केही नयाँ उपाय निकाल्न सक्छ र हामीलाई फेरि पछाडि धकेल्ने प्रयास गर्न सक्छ।  जहाँ जहिलेपनि शंकाको सुबिधा रहिरहन्छ।

त्यसैले म यहाँ अत्यधिक सावधानी अपनाउन आग्रह गर्दछु। हामीले काम गर्ने सिद्धान्तमा भर पर्नुपर्छ, किनकि सम्पूर्ण यात्राको नक्सा यात्रा प्रारम्भ देखि अन्तिम गन्तव्यसम्मको सम्पूर्ण रेलमार्गमा पहिले नै कोरिएको छ। यदि हामीले त्यो बाटोलाई स्पष्ट रूपमा ध्यानमा राख्यौं भने—क्षण-क्षणमा यो काम गर्छ वा गर्दैन, हामी अघि बढिरहेका छौं वा स्थिर छौं, वा रेलको 'पोइन्ट' (ट्र्याक परिवर्तन गर्ने संयन्त्र) बदलिएको छ वा छैन भनेर बहस गर्नुको सट्टा—तब वास्तविक रणनीतिक सोचको विकास हुनेछ। यदि आज 'पोइन्ट' बदलिएन भने पनि, भोलि बदलौंला। भोलि भएन भने, पर्सि गरौंला। बहुध्रुवीय विश्व निर्माण गर्न हामीलाई रणनीतिक सोचको आवश्यकता छ। चिनियाँहरूलाई यसको आवश्यकता छ, भारतीयहरूलाई छ, र हामीलाई पनि छ। म यही कुरालाई नै केन्द्रबिन्दुमा राख्न चाहन्छु।

प्रस्तोताः म अर्को एउटा विषय पनि उठान गर्न चाहन्छु किनभने आज हामी बेलायतले सामना गरिरहेका अस्तित्वगत समस्याहरूबारे पनि चर्चा गर्नेछौं। तर त्यसअघिः तपाईंले पश्चिमी जगतका विभिन्न शक्ति-केन्द्रहरूबीच बढ्‌दै गएको विभाजनको कुरा गर्नुभयो। यसमा मलाई एउटा कुराले विशेष ध्यान आकर्षित गरायो। पछिल्लो समय म चार्ली कर्कका विचारहरू धेरै सुन्ने र हेर्ने गरिरहेको छु र यसले पश्चिमी समाजमा नैतिकताको व्यापक क्षय भइरहेको कुरा स्पष्ट पार्छ जुन, जुनसुकै तहमा पनि देख्न सकिन्छ। के यही कुरा नै समकालीन पश्चिमा जगतको विघटन र कमजोरीको मुख्य कारक बन्न सक्छ? अर्थतन्त्रको कुरा त परै जाओस्, मूल कुरा त यो हो कि उनीहरूसँग अडिग रहने कुनै सभ्यतागत वैचारिक आधार नै बाँकी छैन। चार्ली कर्क र विश्वभरका 'वैश्विकतावादी' हरूबीच देखिने ती तिक्ततापूर्ण द्वन्द्वहरूले केवल मतभेद मात्र होइन, बरु उत्कर्षमा पुग्दै गरेको एउटा आन्तरिक युद्धतर्फ संकेत गर्छन् होइन र?

अलेक्जेन्डर दुगिनः यो निकै गहिरो र गम्भीर दार्शनिक प्रश्न हो। एकातिर, यो स्पष्ट देखिन्छ कि पश्चिमी समाजमा व्याप्त नैतिक पतन, अधोगति, चरम अनैतिकता र विकृतिहरूले अन्ततः त्यस समाजलाई अपरिहार्य विनाशतर्फ धकेल्नेछन्। र यो ठूलो दुःखको कुरा हो कि अमेरिकामा अहिले सत्तामा रहेका 'ट्रम्पवादीहरूले पनि कुनै वास्तविक नैतिक विकल्प खडा गर्न सकेनन्, धेरै अर्थमा, उनीहरूले चार्ली कर्कले संघर्ष गरेको विरासतलाई नै धोका दिएका छन्।

आजको पश्चिमा जगत् भयावह अवस्थामा छ। उनीहरूले मानवीय गरिमा गुमाएका छन् र लोभी, आक्रामक, व्यक्तिवादी, पतित र दानवीय स्वरूपमा परिणत भएका छन्। त्यहाँ 'इडियोक्रेसी' (मूर्खहरूको शासन) हाबी भइरहेको छ तपाईंलाई त्यो चलचित्र याद होला जसमा भविष्यको समाजको राष्ट्रपतिले मतदाताहरूलाई पैसाको भरमा किन्छन्। त्यही 'इडियोक्रेसी' अहिले पश्चिममा हरेक क्षेत्रमा अघि बढिरहेको छ। मेक अमेरिका ग्रेट अगेन' (अमेरिकालाई फेरि महान बनाओं) अभियानका एक प्रमुख व्यक्तित्व चार्ली कर्क निकै प्रभावशाली, निष्ठावान् र असल मानिस थिए। उनी वास्तविक बहुध्रुवीय विश्व र रुससँगको सामान्य सम्बन्ध पुनर्स्थापनाको पक्षमा थिए। धेरै अर्थमा, उनी एक नैतिक मार्गदर्शक (नैतिक दिशासूचक) थिए। तर जब उनलाई हटाइयो, उनको वरिपरिको सबै कुरा भत्किन थाल्यो, यहाँसम्म कि उनका निकटतम सहयोगी र सहयोद्धासमेत पूर्णतया अप्रत्याशित रूपमा प्रस्तुत भए। तपाईंको कुरा सही होः यसको ठूलो महत्त्व छ।

तैपनि, यहाँ एउटा भयानक विरोधाभास छ, जसको चर्चा म सधैं गर्ने गर्छु। कसैले राम्रोसँग भनेका छन्ः सद्गुण, नैतिकता, पवित्रता र दयाले आफैंमा कुनै स्थूल सांसारिक शक्ति पैदा गर्दैनन्। यदि तपाइँलाई डेभिड लिन्चको ट्विन पिक्स (Twin Peaks) को दृश्य याद छ भने, त्यहाँ' ब्ल्याक लज' (Black Lodge) बाट विशाल ऊर्जा प्राप्त गरिन्छ। सत्तामा आउने व्यक्तिहरूको आत्मा जति विकृत, कुटिल र सडेको हुन्छ, त्यति नै उनीहरूमा त्यो भयावह ‘एपस्टाइन सभ्यता’ (Epstein civilization) को अन्धकारमय र विनाशकारी शक्ति बढी हुन्छ। यसबारे मात्र एकपल्ट सोच्नुहोस्!

शैतान शक्तिशाली हुन्छ, र मानिसहरू जति उसको नजिक पुग्छन्, उनीहरूसँग त्यति नै बढी सांसारिक शक्ति हुन्छ। ईश्वरको मार्गमा हिँड्ने व्यक्ति विशाल नैतिक बन्धनमा बाँधिएको हुन्छः यो काम गर्न सकिँदैन किनभने यो अनैतिक छ, त्यो काम स्वीकार्य छैन किनभने त्यसले कसैलाई हानि पुर्याउँछ वा पापतर्फ डोर्याउँछ। त्यसैले, पश्चिममा देखिएको नैतिक पतन र सर्वव्यापी मूर्खताको अर्थ स्वतः कमजोरी होइन। जर्मनीमा 'ग्रीन्स (Greens) र वामपन्थीहरूले एएफडि (AFD) विरुद्ध गरेको हालैको प्रदर्शनलाई सम्झनुहोस्ः सडकमा ओर्लिएका ती मानिसहरू वास्तवमै कुनै दुष्ट शक्तिले वशीभूत भएका जस्ता देखिन्थे। आधा मानिस र आधा जनावरको मिश्रित रूप, हात-खुट्टा टेकेर हिँड्ने र हरेक प्रकारका विकृत मानसिकता भएका मानिसहरू, जो आफूहरूलाई सामान्य जर्मनी चाहिँदैन भन्दै चिच्याइरहेका थिए। त्यो दृश्य पाताल लोकको ढोका खुलेको जस्तो देखिन्थ्यो।

तैपनि, उनीहरू कमजोर छन् भनी सोच्नु गल्ती हुनेछ। हाम्रो विरोधाभासपूर्ण निष्कर्ष यो हो कि दुष्टतामा पनि अपार शक्ति हुन्छ। तर, त्यसको सामना गर्न हामीसँग उनीहरूकै जस्तो तरिका अपनाउने अधिकार छैन। उनीहरूका घिनलाग्दा, शैतानी चालबाजी, अनैतिक आचरण र षड्यन्त्रपूर्ण तिकडमहरू प्रयोग गरेर हामी उनीहरूजस्तै बन्न सक्दैनौं। हामी सत्य, धार्मिकता र आत्माको पवित्रतामा अडिग रहन बाध्य छौं, किनकि हामी ईश्वर र परम्परागत मूल्य-मान्यताका लागि एक पवित्र युद्ध लडिरहेका छौं। यदि हामीले प्रकाशका योद्धाहरू को आचारसंहिता त्याग्यौं र उनीहरूकै शैली अपनायौं भने, बाहिरी रूपमा जित हासिल गरे पनि अन्ततः हामी पूर्ण रूपमा पराजित हुनेछौं। बहुध्रुवीय विश्वका लागि चलिरहेको यस विश्वव्यापी युद्धमा हाम्रा नैतिक बन्धनहरू नै हाम्रो मुख्य कवज हुन्। पश्चिमा जगतको नैतिक पतनलाई कम आँक्नु हुँदैन वा त्यसलाई उनीहरूको कमजोरीको स‌ङ्केत मात्र ठानेर बेवास्ता गर्नु हुँदैन। हामी यसबारे सजगर सचेत हुनुपर्छ।

प्रस्तोताः अब बेलायतमा वास्तवमा के भइरहेको छ भन्ने प्रश्नतिर लाग्दा, एकातिर यस घटनाक्रमलाई लिएर उत्साह वा आशा जाग्न सक्छ; तर अर्कोतिर हामी जान्दछौं कि स्कटल्यान्डमा ऐतिहासिक रूपमै—र उत्तरी आयरल्यान्ड अर्थात् अल्स्टरमा पनि—केन्द्रबाट अलग हुने प्रवृत्ति रहँदै आएको छ। त्यहाँका एक वर्ग इंग्ल्यान्डसँगको सम्बन्ध र ब्रिटिस राजसत्तासँगको बन्धन तोड्न चाहन्छन्। तपाईंको विचारमा स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डका नेताहरूले अघि सारेका यी लक्ष्यहरू कत्तिको यथार्थपरक छन्? विशेषतः अहिले उनीहरू एउटै साझा सोचबाट जोडिएका छन् र संयुक्त पत्रकार सम्मेलनसमेत गर्न थालेका छन्। यस परिप्रेक्ष्यमा हेर्दा, निकट भविष्यमा एक राज्यका रूपमा संयुक्त अधिराज्यको भविष्य कस्तो देखिन्छ?

अलेक्जेण्डर दुगिनः जब हामी ‘इङ्ग्ल्यान्ड’, ‘ग्रेट ब्रिटेन’ वा ‘संयुक्त अधिराज्य’ भन्छौं, तब हामी प्रायः बिर्सन्छौं कि यी तीनै एउटै कुरा होइनन्। इङ्ग्ल्यान्ड त मुख्य ब्रिटिश टापुको एउटा भाग मात्र हो। त्यसै टापुको उत्तरमा स्कटल्याण्ड र पश्चिममा वेल्स पर्छन्। स्कटल्याण्ड र वेल्स दुवैमा सेल्टिक मूलका मानिसहरूको उल्लेख्य जनसंख्या छ। यिनै मानिसहरू प्राचीन ब्रिटोनहरूका प्रत्यक्ष वंशज मानिन्छन्, जो एङ्गल, स्याक्सन र जुट जस्ता जर्मनिक जनजातिहरू यी भूमिमा आउनुभन्दा अघि यहाँ बसोबास गर्थे।

ग्रेट ब्रिटेनमा तीन ऐतिहासिक समूह छन्, जसका मानिसहरूको भाषा र पहिचान पूर्णतः फरक छ। त्यति मात्र होइन, आयरल्याण्डको उत्तरमा अल्स्टर पनि छ, जसलाई एङ्ग्लो-स्याक्सनहरूले ओगटेका छन्; वास्तवमा यो नजिकैको उपनिवेशजस्तै हो। स्वतन्त्र आयरल्याण्ड भने अब संयुक्त अधिराज्यको भाग छैन। त्यसैले हामी बल र ऐतिहासिक जडताका भरमा एकसाथ राखिएका चार राजनीतिक क्षेत्रसँग व्यवहार गर्दै छौं।

शक्तिशाली केन्द्रापसारक प्रक्रियाहरू अब यी प्रत्येक भ्रंश-रेखामा चलिरहेका छन्। शताब्दीयौंदेखि धूर्तता र हिंसाको बलमा स्कटल्याण्ड, वेल्स र उल्स्टरमाथि शासन गर्दै आएको इङ्ग्ल्याण्ड द्रुत गतिमा कमजोर हुँदै छ। यसको विश्वव्यापी नेतृत्व जंगली बन्दै गएको छ। यसले देशमा आश्चर्यजनक संख्यामा अवैध आप्रवासी भित्र्याइरहेको छ र चरमपन्थी आन्दोलनहरूलाई समर्थन गरिरहेको छ। यसरी यो वास्तवमा आफैलाई नष्ट गर्दै छ र आफ्नै जनताप्रति घृणा जगाउँदै छ। लाखौं अंग्रेजी जनता यो अभिजात वर्गविरुद्ध सडकमा उत्रिएका छन्, तर केही परिवर्तन हुँदैन।

स्कट्स र वेल्शहरू, लन्डनलाई हेर्दै, आफ्नो सेल्टिक उत्पत्तिलाई सम्झन्छन् र सोध्छन् कि उनीहरूले यो पतित, आक्रामक, रुसोफोबिक विश्वव्यापी गुटलाई किन सहनु पर्छ, जसले अन्ततः एपस्टाइन नेटवर्कमा मानवताको सबै झलक गुमाएको छ। आयरल्याण्डले पनि इङ्गल्याण्डको हातबाट भोगेको सबै कुरा सम्झन्छ र आफ्नो टापुको उत्तरमा रहेको यो औपनिवेशिक उपाधीबाट छुटकारा पाउन र देशलाई एकताबद्ध गर्न चाहन्छ।

लन्डनले अधिकार, पैसा र बल गुमाएपछि, केन्द्रलाई एकसाथ राख्ने संस्थाहरू टुक्रिन्छन्। परिधि बलियो हुँदै जान्छ, केन्द्र कमजोर हुँदै जान्छ। आजको एजेन्डामा पश्चिमले प्रशंसा गर्ने 'रूसको उपनिवेशीकरण' होइन, तर ब्रिटिश टापुहरूको उपनिवेशीकरण हो। यस्तो विभाजनको लागि धेरै खाकाहरू छन्ः ग्रेट ब्रिटेनलाई तीन मूल राज्यहरू इङ्गल्याण्ड, स्कटल्याण्ड र वेल्स मुक्त उत्तरी आयरल्याण्डमा फर्काउन सकिन्छ, र अझ अगाडि बढ्न सकिन्छ।

आज ब्रिटिश टापुहरू अत्यन्तै कमजोर छन्। तिनीहरूसँग अन्तहीन बसाइँसराइमा अन्धविश्वास बाहेक कुनै राष्ट्रिय विचार बाँकी छैन। धेरै बेलायती शहरहरू र विश्वविद्यालयहरूमा, आदिवासी जनसंख्या आगमन जनसमुदायद्वारा विस्थापित भइरहेको छ जसले उनीहरूलाई भित्याउने मानिसहरूलाई घृणा गर्छन्। यो ब्रिटिश सभ्यताको राक्षसी आत्महत्या हो। यदि हामी निन्दक हौं भने, हामी भन्न सक्छौंः यसले उनीहरूलाई सही सेवा दिन्छ, यसमा उच्च ऐतिहासिक प्रतिशोध छ, भारत र अन्यत्र उनीहरूको औपनिवेशिक विगतको पनि छ।

संसारभर आफ्नो विकृत शासन चलाएबापत तिनीहरूले इतिहाससामु मूल्य चुकाउनैपर्छ। संक्षेपमा भन्नुपर्दा, ब्रिटिश साम्राज्यले मानवतालाई दुष्टता, निर्दयता र विनाशबाहेक अरू केही दिएन। यो ब्रिटिश साम्राज्यवादको त्यो भयावह इतिहास हो, जो नरसंहार, हिंसा, अन्याय, कपट र झूटले भरिएको छ। मानवताको ठूलो हिस्सामा एउटा स्वाभाविक भावना छ: यो साम्राज्य संसारमा कहिल्यै नभएको भए हुन्थ्यो। तर हामी मानवीय रूसी मानिसहरू हौं। त्यो पुरानो, राम्रो इङ्गल्याण्डको बारेमा सोच्नुहोस् जुन पहिले अस्तित्वमा थियो चौसरको युगमा, राजा आर्थर र किंवदन्तीहरूको वा वाल्टर स्कटको रोमान्टिक इङ्गल्याण्डमा। अवश्य पनि यसको आफ्नै समस्याहरू पनि थिए, तर यसको आफ्नै शैली, भावना र गहिरो संस्कृति थियो। त्यो कम्प्याक्ट क्षेत्रले एक पटक धेरैको लागि मोडेलको रूपमा काम गर्यो। अन्ततः, इङ्गल्याण्डले आफ्नो बाताबरण र आकर्षण गुमायो र सबैका लागि खराब झूटा, घृणित विश्वव्यापी अनुकरण बन्यो।

मेरो विचारमा, इङ्गल्याण्डलाई एउटा जीवित संग्रहालयजस्तै बनाएर संरक्षित राख्नु उपयुक्त हुन्छ। अनावश्यक विस्तार र विकासको होडबाट मुक्त, र बाह्य प्रशासनको अधीनमा। नत्र भने, उनीहरूले फेरि कुनै बदमाशहरूलाई नै अगाडि ल्याउनेछन्, जसले यो टापुलाई आप्रवासीहरूका नयाँ लहरहरूले भरिदिनेछन्।

त्यहाँ मेरा असल परिचित मानिसहरू छन्। उदाहरणका लागि, चार्ली कर्कका साथीहरूमध्ये जोन म्यापिन पर्छन्, जो टिन्टागेल क्यासलका मालिक हुन्। यो क्यासल आर्थुरियन किंवदन्तीसँग जोडिएको छ र उनी पुरानो ब्रिटिश अभिजात्य वर्गका प्रतिनिधि हुन्। इङ्गल्याण्डमा अरू असल मानिसहरू पनि छन्। जब तिनीहरू आफ्नो देशको यो अवस्था हेर्छन्, तब भन्छन्—यसलाई नष्ट गर्नुपर्छ; किनकि समकालीन इङ्गल्याण्डलाई संसारका अरू कुनैभन्दा बढी तिनीहरू आफै घृणा गर्छन्।

तर तिनीहरू अर्को इङ्गल्याण्डलाई माया गर्छन्, चेस्टरटन, टोल्किन, कोनन डोयल र डिकेन्सको इङ्गल्याण्डलाई; त्यो परम्पराको इङ्गल्याण्डलाई, जब यो अझै मानवीय थियो र संस्कृतिविहीन विश्वव्यापी शून्यतामा परिणत भएको थिएन। त्यसैले मलाई लाग्छ, यदि हामीले यसलाई नक्साबाट मेटाइदियौं भने संसार अझ गरिब हुनेछ। यसलाई एउटा सौम्य संग्रहालयका रूपमा जोगाइराख्नु नै सायद सबैभन्दा उचित र उपयुक्त विकल्प हो।

प्रस्तोताः बेलायती संग्रहालयले विश्वका विभिन्न कुनाबाट लुटपाट वा चोरी गरी ल्याइएका प्रदर्शनमा राखिएका वस्तुहरू मात्र सम्बन्धित देश तथा समुदायलाई फिर्ता गरोस्; त्यसबाहेक, संग्रहालयलाई यथावत् रहन दिऔँ। यसो गर्दा के फरक पर्छ ?

अलेक्जेन्डर दुगिनः र त्यो निकै राम्रो हुनेछ। मुख्य कुरा त उनीहरूलाई बाह्य प्रशासनको मातहतमा राख्नुपर्छ, किनकि उनीहरू अब आफैलाई समेत सञ्चालन गर्न असमर्थ छन्, विश्वलाई हाँक्ने त कुरै छोडौँ। उनीहरूको साम्राज्यवादी परियोजना असफल भइसकेको छ। उनीहरूको 'विश्वव्यापीपन' (universalism) को दाबी पनि टिक्न सकेको छैन न त विज्ञान, न संस्कृति, न त उदार लोकतन्त्रको राजनीति नै अब प्रभावकारी देखिएको छ। यी सबै कुराहरू अत्यन्तै संकुचित र कुनै निकास नभएको अवस्थामा पुगेका प्रमाणित भइसकेका छन्

इङ्गल्याण्डलाई लोकतन्त्रको एउटा ऐतिहासिक संग्रहालयका रूपमा छोडिदिन सकिन्छ मानौँ, यसलाई उन्नाइसौँ शताब्दीमा, अर्थात् यसको पूर्ववर्ती स्वरूपको चरमोत्कर्षको अवस्थामा फर्काइयोस्। त्यो निकै उत्कृष्ट हुनेछ। अनि यसलाई यस्तो पुरोपेली संग्रहालय बनाइयोस् जहाँ हामी रुसीहरू भिसा बिना नै जान सकौं, केवल यो हेर्नका लागि कि त्यहाँ सबै कुरा ठीकठाक छ र उनीहरू फेरि कुनै विकृत वा कुमार्गमा त फसेका छैनन् ।

प्रस्तोताः  प्रोफेसर दुगिन आउनुहोस् इतिहासबाट वर्तमानतर्फ अघि बढौँ, किनकि यहाँ अर्को अहिलेको अत्यन्त महत्वपूर्ण विषय छः कृत्रिम बुद्धिमत्ता  एआई(AI)। यस सन्दर्भमा दुईवटा तथ्यलाई एकअर्कासँग दाँजेर हेर्नु सान्दर्भिक हुन्छ। एकातिर, साम अल्टम्यान र एलन मस्कजस्ता पश्चिमा जगतका प्रमुख व्यक्तित्वहरूले कडा र चिन्ताजनक अभिव्यक्ति दिँदै आएका छन् कि एआई (AI) को विकासलाई तत्काल सुस्त बनाइनुपर्छ, किनकि यसबाट मानवजातिलाई गम्भीर हानि पुग्न सक्छ। अर्कोतिर, केही दिनअघि मात्रै सी जिनपिङले भनेका छन् कि चीन आफ्ना कृत्रिम बुद्धिमत्ता प्रविधिहरूलाई खुला रूपमा उपलब्ध गराउन तयार छ अर्थात्, कुनै बन्द प्रणालीबिना जो कोहीले पनि यसको प्रयोग गर्न सक्नेछन् र यस क्षेत्रमा हरतरहले सहकार्यलाई प्रवर्द्धन गर्न चीन तत्पर छ। स्पष्ट रूपमा, एउटै सभ्यतागत प्रक्रियाभित्र यी दुई भिन्न रणनीतिहरू हुन्। त्यसैले प्रश्न यो उठ्छः हामी कसको पक्षमा छौं?

अलेक्जेन्डर दुगिनः मलाई लाग्छ यसबारे हाम्रो आफ्नै एउटा पक्ष वा दृष्टिकोण हुनुपर्छ। एआईको समस्या भनेको सर्वप्रथम बुद्धिमत्ता आफैंसँग सम्बन्धित समस्या हो। बुद्धिमत्ता के हो, यसको वाहक को हो, र यसको प्रकृति तथा विशिष्ट विशेषताहरू के हुन् हामीले यिनै कुराहरूको व्याख्या कसरी गर्छौँ भन्नेमा नै यसका जवाफहरू खोजिनुपर्छ।

पश्चिमी विकासकर्ताहरूका लागि एआईमा जोर बुद्धिमत्तामा होइन, बरु ‘कृत्रिम’ (artificial) भन्ने शब्दमा पर्छ। एआईको संक्षिप्त रूपमा उनीहरूका लागि पहिलो अक्षर—अर्थात् ‘Artificial’—नै सर्वाधिक महत्त्वपूर्ण हुन्छ। यो प्रविधिको विजय हो, जसलाई उनीहरू प्रगति भन्न अभ्यस्त छन्; तर यसै विजयभित्र एउटा घातक पासो लुकेको छ। जबसम्म सबै कुरा कृत्रिम सिद्धान्त र प्रविधि-केन्द्रित सोचमा आधारित रहन्छ, तबसम्म उनीहरू यस प्रक्रियालाई अन्तिम विन्दुसम्म धकेल्नेछन्। यसलाई सुस्त बनाउने प्रयासहरूलाई नै ओस्वाल्ड स्पेन्गलरले ‘उन्मुक्त प्रविधि’ (unleashed technics) भनेका थिए। कृत्रिम बुद्धिमत्ताको सार नै प्राविधिक सिद्धान्तको यही उन्मुक्ति हो, जसले प्राकृतिक र मानवीय पक्षलाई विस्थापित गर्न थाल्छ।

त्यसैले, एकातिर यी प्रविधि-दिग्गजहरू कृत्रिमतालाई तीव्र बनाउन र उन्मुक्त गर्न हरसम्भव प्रयास गरिरहेका छन्; अर्कोतिर, उनीहरूभित्र विवेकको एउटा अंश अझै झिल्किरहेको हुन्छ, र उनीहरू आफै डराउँछन्: ‘हे भगवान्, हामी के गर्दैछौं?’ दाहिने हातले देब्रे हातलाई रोक्न खोज्छ: ‘हस्तक्षेप नगर—हामीले त अर्बो एजेन्ट (स्वचालित प्रणाली) तयार पारिसक्यौं।’ एउटा रोचक घटना घटेको थियो: एन्थ्रोपिक (Anthropic) प्रणालीले १५ मिनेटमै पेन्टागनका कोडहरू तोड्यो र अमेरिकी आणविक हतियारको नियन्त्रणमा पहुँच प्राप्त गर्यो; अनि उनीहरूले यो कुरा डोनाल्ड ट्रम्पलाई प्रत्यक्ष रूपमा देखाए। अब कल्पना गर्नुहोस्, यसको अर्थ के हुन्छ।

यसैसँगै, प्रविधि, प्रगति र कृत्रिम भविष्यप्रतिको अन्धविश्वासले उनीहरूलाई हरेक डरलाई पन्छाउन बाध्य पार्छ: ‘केही छैन, हामी अघि बढ्नेछौं; नरोकिई अघि बढिरहनेछौं।’ यो नै पश्चिमी सभ्यताको चरम स्किजोफ्रेनिया (विभाजित मानसिकता) हो। वास्तवमा हामी यही स्थितिको सामना गरिरहेका छौं। उनीहरूमा अझै बुद्धिमत्ताको एक अंश बाँकी छ, तर बढ्दो रूपमा कृत्रिमताकै वर्चस्व कायम हुँदैछ। प्राकृतिक कुरालाई कृत्रिम कुराले प्रतिस्थापन गर्ने विचार नै आधुनिक युगको मूल आधार बनेको छ। सतही वा सामान्य ङउपायहरू अपनाएर यसलाई रोक्न सकिन्छ भनी सोच्नु नै भोलापन हो।

हामीले समकालीन पश्चिमको समग्र वैचारिक प्रतिमान (प्याराडाइम) लाई पुनर्विचार गर्नुपर्छ र बुद्धि तथा मनको स्वरूपमाथि नै प्रश्न उठाउनुपर्छ। अन्ततः मनको वाहक को हो? के केवल मानिस मात्र? हाम्रो क्रिस्चियन परम्पराले सिकाउँछ कि मनको मूल स्रोत लोगोस हो अर्थात् ईश्वरको वचन वा स्वयं ईश्वरीय चेतना। हाम्रो बुद्धि नितान्त ‘प्राकृतिक’ मात्र होइन; त्यो एउटा उच्च सिद्धान्ततर्फ उन्मुख हुन्छ। यसले माथिबाट प्रकाश ग्रहण गर्न सक्छ, तर आसुरी अर्थात् दुष्ट स्वभावको पनि बन्न सक्छ। हेगेलको दर्शन, शास्त्रीय दर्शन र विशेषतः हाम्रो रुसी धार्मिक दर्शनमा ‘मन’ सम्बन्धी विमर्शले अर्थको विशाल दायरा समेटेको छ।

यदि हामीले सी जिनपिङ, एलन मस्क वा साम अल्टम्यानका धारणाहरूमध्ये कुनै एउटालाई मात्र अँगाल्यौँ भने, हामी अनिर्णयको बन्दी वा गतिहीन अवस्थामा पुग्नेछौं। विशेषतः हामीसँग आफ्नै पूर्ण विकसित एआई त छैन नै।  प्राकृतिक बुद्धिमत्ताको हकमा पनि सधैँ सबै कुरा सहज रूपमा अघि बढ्दैन। त्यसैले हामीले यो प्रश्नलाई अझ व्यापक रूपमा, अर्थात् आधारभूत दर्शनको तहबाट उठाउनु आवश्यक छ। मनको स्वरूपबारे गहिरो बुझाइका माध्यमबाट मात्र हामी एउटा यस्तो वास्तविक र स्वतन्त्र दृष्टिकोण निर्माण गर्न सक्छौं, जसले हाम्रा गहनतम हित र परम्परागत मूल्य–मान्यताको प्रतिनिधित्व गर्छ।

Source: https://www.multipolarpress.com

Image: https://afrinz.ru/

 

अनुवाद एवं प्रस्तुति: मोहनप्रसाद ज्ञवाली

(यो अनुवाद लेख साभार छाप्नेले अनिवार्य रुपमा मूल लेखको स्रोत, अनुवादकको नाम र दायित्वबोधको हाइपरलिङ्कसहित स्रोत खुलाउनुहोला । उचित तरिकाले स्रोत नखुलाइकन प्रकाशित गरिएमा बौद्धिक चोरी मानिनेछ ।–दायित्वबोध)

 दायित्वबोधको विशेष अनुरोध

वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ?

के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ?

दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ !

तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ?
यस लिङ्कमा थिच्नुहोस