चेको चर्चित ‘आइकोनिक’ फोटो !

बीसौं शताब्दीको सबैभन्दा प्रभावशाली र विश्वव्यापी प्रभाव पारेको फोटोमा चे ग्वेभाराको फोटोलाई मानिन्छ । टाढा कतै क्षितिजतर्फ हेरिरहेका चे ग्वेभाराको यो फोटो बीसौं शताब्दीका सबै भन्दा चर्चित र प्रख्यात फोटोहरुमध्येका एक हो।  गुएरिल्लेरो हीरोइको (Guerrillero Heroico) अर्थात बहादुर गुरिल्ला लडाकु नाम गरिएको यो फोटो ५ मार्च १९६०  मा क्यास्ट्रोका ‘अफिसियल फोटोग्राफर’ अल्बर्टो कोर्दाले खिचेका थिए । त्यसबेला क्युबाको नयाँ सरकारमा उद्योग मन्त्री रहेका चे ३१ वर्षका युवा थिए ।

क्युबाको हावाना बन्दरगाहमा बेल्जियमबाट बिस्फोटक पदार्थ बोकेर आएको पानीजहाज बिस्फोट हुँदा करिब १०० जना क्युबालीहरुको मृत्यु भएको थियो। यो बिस्फोटको पछाडि अमेरिकाको हात रहेको आरोप क्युबा सरकारले लगाएको थियो । त्यही घटनामा मारिएको व्यक्तिहरुको श्रद्धाञ्जली सभामा सहभागी चेको तस्वीर फोटोग्राफर अल्बर्टो कोर्दाले खिचेका थिए। फोटोको बारेमा कोर्दाले पछि भनेको थिए– ‘आफूले त्यो फोटो खिच्दा चेको अनुहारमा एकसाथ झल्किएको दृढता, क्रोध र पीडाबाट तानिएको थिएँ ।’

त्यसबेला क्युबामा सम्पन्न सफल क्रान्तिका कारण सारा विश्वको ध्यान त्यसका नायक फिडेल क्यास्ट्रो र चे ग्वेभाराले तानेको थियो । संसारभरिका क्रान्तिकारीहरुका लागि क्युबाको सफल क्रान्ति एउटा आदर्श र प्रेरणाको स्रोत बनिरहेको स्थिति थियो ।त्यो पृष्ठभूमिमा कोर्दाले खिचेको  चे ग्वेभाराको त्यो तस्विर पनि क्रान्तिकारी आन्दोलनको प्रतीक बन्यो। शक्तिशाली क्रान्तिकारी नेताका रूपमा विश्वभर चिनिएका चेको उक्त फोटोले उनको विद्रोही आत्मा, साहस, र दृढ संकल्पलाई प्रतिनिधित्व गरेको भनी बहुप्रसंसा भयो ।

रमाइलो कुरा त के भयो भने समयको क्रमसँगै चेको त्यो फोटो क्रान्तिकारीहरु माझ मात्र लोकप्रिय भएन, त्यसले एउटा छुट्टै सांस्कृतिक प्रभाव पनि सिर्जना गर्‍यो । क्रान्ति र विद्रोहसँग खासै साइनो नराख्नेहरु माझ पनि यो फोटो एक ‘आइकन’ बन्न पुग्यो। यो फोटोलाई पोस्टर, टी-शर्ट, ब्यानर, र अन्य धेरै माध्यममा प्रयोग गरियो, जसले गर्दा यो विश्वभर चिनिने बन्यो।

कोर्दाको फोटोग्राफीको कला उक्त फोटोमा निक्कै राम्ररी प्रतिविम्बित भएको छ । उनले खिचेको तस्वीरमा चे ग्वेभाराको अनुहारमा दृढता, विश्वास, र एउटा अनौठो करिश्मा झल्किएको भनी विश्वव्यापी रुपमा नै प्रशंसा र चर्चा भयो । खासगरी, फोटो खिचिएको समय, फोटोको कम्पोजिशन र फोटोमा कैद भएको चे ग्वेभाराको भावभङ्गीले यसलाई अहिलेसम्म कै अत्यन्त प्रभावशाली फोटो मध्येका एक बनाएको छ।

अल्बर्टो कोर्दाले चे ग्वेभाराको चर्चित "गुएरिल्लेरो हीरोइको" फोटो लाइका एम२ क्यामेराले खिचेका थिए। उक्त क्यामेरा ३५ एमएम फोकल लेन्थ भएको रेंजफाइन्डर क्यामेरा हो, जसलाई त्यसबेलाका धेरैजसो पेशेवर फोटोग्राफरहरूले प्रयोग गर्थे। लाइका क्यामेरा निक्कै महंगो क्यामेरा मानिन्छ । यो क्यामेरा उच्च गुणस्तरीय फोटोहरु खिच्नका लागि  प्रयोग हुने गर्छ ।

त्यसो त फोटोग्राफीको बारेमा कोर्दाको यो भनाइ निक्कै चर्चित छ-

 Forget the camera, forget the lens, forget all of that. With any four-dollar camera, you can capture the best picture!