ब्राजिलको चुनावमा लुलाका नौ औँलाहरूको कमाल

ब्राजिलको राष्ट्रपति निर्वाचनको दोस्रो चरणमा वर्तमान राष्ट्रपति लुला दा सिल्भाले अप्रत्याशित जित हासिल गरेका छन्। अक्टोबर ४ मा भएको पहिलो चरणको राष्ट्रपति निर्वाचनमा लुला पराजित भएका थिए। त्यस चरणमा उनी आफ्ना प्रतिस्पर्धी उम्मेदवार फ्लाभियो बोल्सोनारोसँग पराजित भएका थिए। त्यसबेला बोल्सोनारोले ४७.०३ प्रतिशत मत प्राप्त गरेका थिए भने लुलाले ४५.१६ प्रतिशत मत मात्र प्राप्त गरेका थिए। पहिलो चरणको निर्वाचनपछि गरिएका मत सर्वेक्षणहरूमा बोल्सोनारोको सहज जितको प्रक्षेपण गरिएको थियो। तर, करिब दुई हप्तापछि भएको निर्वाचनमा लुलाले चमत्कारिक जित हासिल गरेका छन्।

लुलाले यो निर्वाचनमा बोल्सोनारोसँग मात्रै प्रतिस्पर्धा गर्नुपरेको थिएन। उनले संयुक्त राज्य अमेरिकाको सरकारसँग पनि सामना गर्नुपरेको थियो। ट्रम्पको सम्पूर्ण अमेरिकी महादेशलाई अमेरिकाको एकल प्रभाव क्षेत्र दाबी गर्ने डोनरो डक्ट्रिनसँग पनि उनको प्रतिस्पर्धा थियो। अमेरिकाले केही समयअघि भेनेजुएलामा सैन्य कारबाही गरेर त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई अपहरण गरेको थियो। लुलाले सीआईए, मेटा, ठूला प्रविधि कम्पनीहरू तथा एलन मस्क र मार्क जुकरबर्गजस्ता अर्बपतिहरूले सञ्चालन गरेको इतिहासकै सबैभन्दा ठूलो जनमत प्रभावित पार्ने संयन्त्रसँग पनि प्रतिस्पर्धा गर्नुपरेको थियो। ल्याटिन अमेरिकाका सरकारहरूलाई आफ्नो चपेटामा पार्दै अघि बढेको अतिदक्षिणपन्थीहरूको ‘एङ्ग्री टाइड’ सँग पनि उनले जुध्नुपरेको थियो। त्यस्तै, ब्राजिलका अनुदारवादी इभान्जेलिकल चर्चहरू, बोल्सोनारोका समर्थकहरू, सशस्त्र आपराधिक समूहहरू र देशले अहिलेसम्म देखेका सबैभन्दा निकृष्ट अतिदक्षिणपन्थी शक्तिहरूसँग पनि उनले सामना गर्नुपरेको थियो। यसका अतिरिक्त, सट्टेबाजीका कम्पनीहरू, संगठित अपराध र करोडौँ समर्थक भएका फुटबल क्लबका नेताहरूसँग समेत उनले प्रतिस्पर्धा गर्नुपरेको थियो।

यो जित हेर्दा चमत्कारजस्तो देखिए पनि यसका पछाडि लुला र उनको वर्कर्स पार्टीले अपनाएका केही रणनीतिहरूले महत्त्वपूर्ण भूमिका खेलेका थिए। पहिलो चरणको निर्वाचनको तुलनामा दोस्रो चरणको मतदानमा सहभागी हुने मतदाताको प्रतिशत ७९.३ बाट बढेर ८०.९ पुगेको थियो। यो वृद्धि निर्णायक साबित भयो। यसले थप १३ लाख मतदातालाई मतदान केन्द्रसम्म ल्यायो, जसमध्ये लगभग सबैले लुलालाई मत दिएको देखिन्छ। ब्राजिलको दक्षिण र दक्षिणपूर्वका लगभग सबै क्षेत्रमा मतदानको प्रतिशत बढ्यो। यसका साथै, बदर र खाली मतको प्रतिशत ४.५ बाट घटेर ३ मा झर्नुले पनि लुलालाई महत्त्वपूर्ण लाभ पुर्‍यायो। करिब नौ लाख कम मतदाताले खाली वा बदर मत खसालेका थिए र तीमध्ये अधिकांश मत लुलाको पक्षमा गएको देखिन्छ। यस्तो परिवर्तन विशेषगरी ब्राजिलको उत्तरपूर्वी क्षेत्रमा बढी स्पष्ट देखिएको थियो।

लुला र बोल्सोनारोबाहेक पहिलो चरणमा सहभागी अन्य उम्मेदवारहरूले प्राप्त गरेका मतले पनि निर्वाचनको परिणाममा भूमिका खेले। यस विषयमा अझ विस्तृत विश्लेषण आवश्यक भए पनि प्रारम्भिक अनुमानअनुसार, क्युरीले प्राप्त गरेको मतको ठूलो हिस्सा लुलाको पक्षमा गएको देखिन्छ। त्यस्तै, काइआदो र रेनान सान्तोसले प्राप्त गरेका मतमध्ये करिब ४० प्रतिशत लुलाको पक्षमा, ५० प्रतिशत फ्लाभियो बोल्सोनारोको पक्षमा गएको र बाँकी मत बदर तथा खाली मतका रूपमा विभाजित भएको देखिन्छ।

करिब ८१ प्रतिशतको असाधारण मतदान दरले वामपन्थी पक्षले आफ्ना समर्थकहरूलाई मतदान केन्द्रसम्म पुर्‍याउन बढी सफलता हासिल गरेको देखाउँछ। यसमा विशेषगरी ब्राजिलको उत्तरपूर्वी क्षेत्रको भूमिका महत्त्वपूर्ण रह्यो। अधिकांश जनमत सर्वेक्षण र सञ्चारमाध्यमका पूर्वानुमानले आफ्नो जित सुनिश्चित भएको सङ्केत गरेपछि बोल्सोनारो पक्षले निर्वाचन जितिसकेको ठान्यो र लापरवाह बन्न थाल्यो। परम्परागत रूपमा दक्षिणपन्थीहरूको बलियो आधार मानिने ब्राजिलको दक्षिणी क्षेत्रमा समेत उत्तरपूर्वी क्षेत्रको तुलनामा मतदान दर कम रह्यो।

ब्राजिलको उत्तर र उत्तरपूर्वी क्षेत्रमा वर्कर्स पार्टी (पीटी) को सङ्गठनात्मक शक्ति र जनपरिचालन क्षमतालाई कम आँक्नु हुँदैन। यो एउटा विशाल राजनीतिक संयन्त्र हो, जसको सङ्गठनात्मक सञ्जाल तल्लो तहसम्म फैलिएको छ। आफ्ना समर्थकहरूलाई मतदान केन्द्रसम्म पुर्‍याउन र उनीहरूलाई प्रभावकारी रूपमा परिचालन गर्न सक्ने यसको क्षमता असाधारण छ। निर्वाचनको सङ्गठनात्मक तयारीसँगै, अक्टोबर ५ देखि ब्राजिलका विभिन्न स्थानमा हरेक दिन विशाल र स्वतःस्फूर्त सडक प्रदर्शनहरू पनि भए। पहिलो चरणको मतगणना सुरु भएको रातसमेत यी प्रदर्शन जारी रहे। सुरुमा लुलाको प्रत्यक्ष समर्थनबिना नै सुरु भएका यी प्रदर्शनलाई पछि उनले समर्थन गरे। यसरी देशका विभिन्न भागमा प्रदर्शनहरू फैलिँदै गए।

समग्रमा, मतदानमा भएको वृद्धि, वामपन्थी समर्थकहरूको प्रभावकारी परिचालनले निर्वाचनको अन्तिम परिणाम निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ।

वामपन्थी कार्यकर्ताहरूको एउटा समूहले ‘लुलाको सेना’ (Lula’s Army) नामक ह्वाट्सएप समूह गठन गरेको थियो। निर्वाचनको अन्तिम क्षणसम्म आइपुग्दा यस समूहका सदस्यहरूको सङ्ख्या एक करोड नाघेको थियो। यस समूहको उद्देश्य लुलाका समर्थकहरूलाई परिचालन गर्नुका साथै सामाजिक सञ्जाल र गुगलका एल्गोरिदमलाई प्रभावित पारेर दोस्रो चरणको निर्वाचनका क्रममा राजनीतिक बहसलाई आफ्नो पक्षमा आकार दिनु थियो।

पहिलो चरणको निर्वाचनमा पराजित भएपछि लुलाका समर्थकहरूले आफ्नो रणनीतिमा व्यापक परिवर्तन गरेका थिए। उनीहरूले निर्णयमा पुगिनसकेका वा राजनीतिप्रति उदासीन रहेका ब्राजिलका मतदातासम्म पुग्न सामाजिक सञ्जालमा अन्तिम समयको अभियान सुरु गरेका थिए। यो लुलाका लागि रणनीतिगत रूपमा महत्त्वपूर्ण परिवर्तन थियो। किनभने, पहिलो चरणको मतदानपछि मात्रै उनले मोबाइल फोन प्रयोग गर्न थालेका थिए।

ब्राजिलका नागरिक विश्वमै सबैभन्दा बढी इन्टरनेटसँग जोडिएका जनसमुदायमध्ये पर्छन्। यस वर्ष प्रकाशित एउटा प्रतिवेदनअनुसार, उनीहरू दैनिक औसत चार घण्टा सामाजिक सञ्जाल र भिडियो प्लेटफर्ममा बिताउँछन्, जुन विश्वव्यापी औसतभन्दा ५० प्रतिशतभन्दा बढी हो। मेटाका प्लेटफर्महरू, विशेषगरी ह्वाट्सएप, ब्राजिलमा राजनीतिक बहसका प्रमुख मञ्च बनेका छन्।

बोल्सोनारोको समर्थनमा अमेरिकी सरकार र प्रविधि कम्पनीहरूले फैलाएको एल्गोरिदमलाई चिर्न वैकल्पिक एल्गोरिदम तयार पारेर ‘लुलाको सेना’ ले पनि उनलाई असम्भवजस्तै देखिएको विजय हासिल गर्न महत्त्वपूर्ण सहयोग पुर्‍यायो।

ब्राजिलको इतिहासकै सबैभन्दा ध्रुवीकृत दोस्रो चरणको निर्वाचन हुनुभन्दा दुई दिनअघि बोल्सोनारोले आफ्नो चुनावी अभियानकै सबैभन्दा ठूलो रणनीतिक भूल गरे। अन्तिम टेलिभिजन बहसका क्रममा उनले लुला दा सिल्भामाथि व्यक्तिगत प्रहार गर्दै उनलाई ‘नौ औँला भएको मान्छे’ भनेर सम्बोधन गरे। वर्कर्स पार्टी (पीटी) का नेता लुलाको शारीरिक अपाङ्गताको उपहास गर्ने उद्देश्यले गरिएको यो टिप्पणी उल्टै बोल्सोनारोकै लागि प्रत्युत्पादक बन्यो र राजनीतिक रूपमा उनकै विरुद्ध फर्कियो।

लाखौँ अनिर्णीत मतदाताले प्रत्यक्ष हेरिरहेको उक्त बहसमा लुलाले आफूलाई पीडितका रूपमा प्रस्तुत गरेनन्। बरु, उनले सटीक प्रत्याक्रमण गरे। उनले १९ वर्षको उमेरमा धातु प्रशोधन गर्ने मेसिनमा काम गर्दा आफ्नो कान्छी औँला गुमाएको स्मरण गराए। त्यो दुर्घटना ब्राजिलका लाखौँ श्रमिकले भोग्नुपरेको असुरक्षित कार्यस्थल र श्रमको दयनीय अवस्थाको परिणाम थियो। त्यसपछि उनले बोल्सोनारोलाई कडा जवाफ दिँदै भने :

“उनले मलाई ‘नौ औँला भएको मान्छे’ भने। श्रमको संसार कस्तो हुन्छ भन्ने कुरा मभन्दा बढी कसलाई थाहा होला र? मैले राति पनि काम गरेको छु, त्यतिबेला काम गर्नुपर्ने अवस्था नभए पनि। म आफूलाई ‘नौ औँला भएको मान्छे’ भनेर सम्बोधन गर्न कुनै मिलिसियाकर्मीलाई अनुमति दिनेछैनँ। उसले आफ्नो जीवनमा एक दिन पनि काम गरेको छैन। काम भनेको के हो भन्ने उसलाई थाहा छैन। उसले पाएको पहिलो जागिर उसका बुबाले मिलाइदिएको नक्कली जागिर थियो, तर ऊ ब्रासिलियामै बसेर आफ्नो जीवन बिताइरह्यो। अनि अहिले आएर मलाई ‘नौ औँला भएको मान्छे’ भन्छ?”

केही सेकेन्डमै लुलाले श्रमिक वर्गलाई होच्याउने उच्चवर्गीय उपहासको आधार भत्काइदिए। उनले बोल्सोनारो श्रमिक वर्गको वास्तविक जीवनबाट कति टाढा छन् भन्ने कुरा उजागर गरे। साथै, आफ्नो शारीरिक चोटलाई विशेषाधिकारप्राप्त वर्गको अहङ्कारविरुद्ध श्रम, सङ्घर्ष र आत्मसम्मानको प्रतीकका रूपमा प्रस्तुत गरे। यसरी बोल्सोनारोले निर्णायक बन्न सक्ने अन्तिम बहसलाई आफ्नै लागि राजनीतिक पासोमा परिणत गरिदिए। यो निर्वाचनको निर्णायक मोड थियो। यस घटनाले चुनावी माहोल लुलाको पक्षमा मोड्न महत्त्वपूर्ण भूमिका खेल्यो।

ब्राजिलको राष्ट्रपति निर्वाचनमा ८० वर्षीय मजदुर नेता लुला दा सिल्भाको जितको प्रभाव ब्राजिलमा मात्र सीमित छैन। यसले ल्याटिन अमेरिकामा धक्का खाइरहेको वामपन्थी आन्दोलनमा समेत नयाँ ऊर्जा थपिदिएको छ। यसले ट्रम्पको विस्तारवादी नीतिलाई चुनौती दिएको छ। साथै, बहुध्रुवीय विश्वव्यवस्था निर्माण गर्ने प्रयासमा लागेको ब्रिक्सलाई थप बल प्रदान गर्नेछ। लुलाको यो विजय केवल एउटा निर्वाचनको परिणाम मात्र होइन, बरु राजनीतिक सङ्गठन, जनपरिचालन र वैकल्पिक राजनीतिक सन्देशको शक्तिको समेत उदाहरण हो। निर्वाचनमा जनताको सक्रिय सहभागिता, श्रमिक वर्गसँगको सम्बन्ध र सामाजिक सञ्जालको प्रभावकारी उपयोगले स्थापित शक्तिका चुनौती सामना गर्न सकिन्छ भन्ने यसले देखाएको छ। अमेरिकी प्रविधि कम्पनीहरूका एल्गोरिदम र मूलधारका सञ्चारमाध्यमको प्रभावबीच वैकल्पिक डिजिटल परिचालनको प्रयासले पनि निर्वाचनको परिणाममा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने सन्देश दिएको छ। विश्व राजनीतिमा शक्ति-सन्तुलन परिवर्तन भइरहेको वर्तमान अवस्थामा लुलाको विजयले राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय र बहुध्रुवीय विश्वव्यवस्थाका पक्षमा उभिएका शक्तिहरूमा नयाँ आशा र विश्वास जगाएको छ ।

तस्विर: https://www.reuters.com