यमनमा हुथी आन्दोलनको उदय, वैचारिक धरातल र भूराजनीतिक संघर्ष
यतिखेर वैश्विक भूराजनितिक शक्ति संघर्षका विभिन्न मोर्चाहरु खुलेका छन् र तीमध्ये एउटा प्रमुख मोर्चा यमन पनि बनेको छ । खासगरी, लामो समयदेखि चल्दै आएको हुथीहरुले आफ्नो आक्रामक अभियानलाई अघि बढाएपछि र विश्व तेल निर्यातको एउटा महत्त्वपूर्ण बिन्दू स्ट्रेट अफ बाब-एल-मन्डेब (Bab el-Mandeb) माथि आफ्नो बलियो प्रभुत्व कायम गरेपछि हुथी आन्दोलन यतिखेर विश्वव्यापी रुपमा नै चर्चाको केन्द्र बनेको छ ।
समकालीन पश्चिम एशियाको भूराजनीतिक मानचित्रमा यमन एक संवेदनशील र रणनीतिक केन्द्रको रूपमा उभिएको छ । त्यहाँ लामो समयदेखि चल्दै आएको आन्तरिक द्वन्द्वले क्षेत्रीय शक्ति राष्ट्रहरूलाई मात्र होइन, वैश्विक अर्थतन्त्र र अन्तर्राष्ट्रिय सुरक्षा प्रणालीलाई नै समेत गम्भीर रूपमा प्रभावित पारिरहेको छ। यमनको यो जटिल राजनीतिक संकटको केन्द्रबिन्दुमा 'अन्सार अल्लाह' अर्थात् हुथी आन्दोलन रहेको छ। उत्तरपश्चिम यमनको पहाडी भूभागबाट सुरु भएको यो विद्रोही समूह आज देशको अधिकांश भूभाग नियन्त्रण गर्ने शक्तिशाली शासन व्यवस्थामा रूपान्तरित भएको छ । यसको उपस्थिति र प्रभुत्व यति बलियो छ कि यसले अन्तर्राष्ट्रिय जलमार्ग तथा क्षेत्रीय शक्ति सन्तुलनलाई नै समेत प्रभावित तुल्याउने गरी चुनौती दिइरहेको छ । यो किन र कसरी सम्भव भयो भन्ने कुरा बुझ्न यसको ऐतिहासिक, धार्मिक, वैचारिक र भूराजनीतिक आयामहरूको गहिरो चिरफार गर्नु जरुरी हुन्छ ।
ऐतिहासिक पृष्ठभूमि र जायदी पहिचानको राजनीति
हुथी आन्दोलनको जड़ यमनको धार्मिक तथा सांस्कृतिक इतिहाससँग गहिरो रुपमा जोडिएको छ। यमनको उत्तर र उत्तरपश्चिमी भूभाग शताब्दीयौंसम्म 'जायदी सिया' इस्लामको प्रभाव क्षेत्र रहँदै आएको छ। जायदीहरू सिया इस्लामको एक विशिष्ट शाखा हुन्, जसका धार्मिक मान्यताहरू मुख्यधारका बाह्र इमामी सियाभन्दा धेरै हदसम्म सुन्नी इस्लामको नजिक मानिन्छन्। सन् १९६२ मा सैन्य कू मार्फत यमनमा उत्तर यमनी गणतन्त्रको स्थापना हुनुअघि जायदी इमामहरूले एक हजार वर्षभन्दा बढी समयसम्म यमनमा आफ्नो धार्मिक तथा राजनीतिक शासन चलाएका थिए। त्यहाँ राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना भएपछि शताब्दीयौंसम्म सत्ता र प्रभावको केन्द्रमा रहेका जायदीहरूले आफूहरू राज्यसत्ताबाट सीमान्तकृत भएको महसुस गर्न थाले।
साउदी सीमासँग जोडिएको यमनी भूमिमा यो कट्टर सुन्नी विचारधाराको तीव्र प्रसारले स्थानीय जायदी संस्कृति, इतिहास र धार्मिक पहिचानले आफूलाई असुरक्षित महसूस गर्न थाले । उनीहरुले आफ्नो अस्तित्वमाथि नै ठूलो संकट उत्पन्न गरेको महसुस गर्न थाले।
यो सीमान्तकरणको पीडा र सांस्कृतिक अस्मिताको खोजी नै पछि गएर हुथी आन्दोलनको बीजारोपण बन्न पुग्यो। २० औं शताब्दीको अन्त्यतिर, विशेष गरी १९८० र १९९० को दशकमा, साउदी अरेबियाको प्रत्यक्ष तथा अप्रत्यक्ष आर्थिक र वैचारिक सहयोगमा उत्तर यमनमा वहाबी तथा सलाफी विचारधाराका विद्यालय र संस्थाहरूको व्यापक विस्तार भयो। साउदी सीमासँग जोडिएको यमनी भूमिमा यो कट्टर सुन्नी विचारधाराको तीव्र प्रसारले स्थानीय जायदी संस्कृति, इतिहास र धार्मिक पहिचानले आफूलाई असुरक्षित महसूस गर्न थाले । उनीहरुले आफ्नो अस्तित्वमाथि नै ठूलो संकट उत्पन्न गरेको महसुस गर्न थाले। यही वैचारिक आक्रमणको प्रतिकार गर्न र जायदीहरूको लोप हुन लागेको धार्मिक तथा सांस्कृतिक अस्तित्वलाई पुनर्जीवित गर्नका लागि यमनका बौद्धिक र धार्मिक व्यक्तित्वहरूले संगठित प्रयास थाले।
यसको नेतृत्व मूल रुपमा बद्रेद्दीन अल-हुथी र उनका परिवारले गरे। सन् १९९० को दशकको आरम्भमा बद्रेद्दीन अल-हुथी र उनका सहकर्मीहरूले 'विश्वासी युवा फोरम' (Believing Youth) नामक संस्थाको स्थापना गरे। सुरुमा यो संस्था एक शैक्षिक, सांस्कृतिक र धार्मिक पुनर्जागरण अभियानको रूपमा अगाडि बढेको थियो, । यस संस्थाले युवाहरूलाई जायदी ग्रन्थहरू पढाउने, धार्मिक शिक्षा दिने र आफ्नो सांस्कृतिक जड़प्रति सचेत गराउने काम गर्दथ्यो। तर, यमनका तत्कालीन राष्ट्रपति अली अब्दुल्लाह सालेहको सरकार र पश्चिमा शक्तिहरूको बढ्दो प्रभाव, विशेष गरी अमेरिकाविरोधी भावनाको प्रस्फुटनसँगै यो शैक्षिक संस्था क्रमशः एक जुझारू राजनीतिक र वैचारिक धारमा रूपान्तरण भयो। संस्थाका संस्थापक बद्रेद्दीनका छोरा हुसैन बद्रेद्दीन अल-हुथीले यसलाई अझ बढी आक्रामक र राज्यविरोधी आकार प्रदान गरे । फलत: कुनै बेला धार्मिक कर्ममा मात्र सीमित तथा राज्यसत्ताका लागि कुनै चुनौती नठानिएको यो संगठन साडा प्रान्तमा सरकारका लागि टाउको दुखाइको विषय बन्न पुग्यो।
सरकारी दमन र विद्रोही मिलिसियाको सैन्य रूपान्तरण
हुसैन बद्रेद्दीन अल-हुथीको नेतृत्वमा यो समूहले तत्कालीन राष्ट्रपति अली अब्दुल्लाह सालेहको सरकारविरुद्ध खुला विरोध प्रदर्शन र अमेरिकी नीतिको तीखो आलोचना गर्न थाले। अमेरिकाले इराक र अफगानिस्तानमा चलाएको सैन्य कारबाहीको यमन सरकारले समर्थन गरेको थियो । त्यसको विरुद्धमा हुथीहरूले सानास्थित अमेरिकी दूतावास बाहिर चर्को नाराबाजी र विरोध गरे। यसले गर्दा साना सरकार र हुथीहरूको सम्बन्धमा कटुता पैदा हुन थाल्यो । हुथी अभियानको लोकप्रियता बढ्दै गएपछि सन् २००४ मा राष्ट्रपति सालेहको सरकारले हुसैन अल-हुथीलाई पक्राउ गर्न वा नियन्त्रणमा लिन सैन्य बल प्रयोग गर्यो । हुथीहरुले त्यसको सशस्त्र प्रतिवाद गरे । फलत: साडा प्रान्तमा सरकारी सेना र हुथी विद्रोहीहरूबीच पहिलो चरणको रक्तरञ्जित सशस्त्र संघर्षको सूत्रपात भयो।
सामान्यत: नेताको मृत्युले आन्दोलन कमजोर बन्ने गर्छ । तर यहाँ त्यसको ठीक उल्टो प्रभाव देखियो । नेताको मृत्यमा आन्दोलन कमजोर भएन, बरु उल्टै त्यो घटना यो समूहका लागि झनै ठूलो ऊर्जा र वैचारिक प्रेरणाको स्रोत बन्यो। हुसैनको मृत्युपछि उनका बुबा बद्रेद्दीन अल-हुथी र पछि उनका कान्छो भाइ अब्दुल-मलिक अल-हुथीले यस आन्दोलनको कमाण्ड सम्हाले।
त्यही सालको सेप्टेम्बर महिनामा सरकारी सुरक्षा फौजले चलाएको एक सैन्य कारबाहीमा हुसैन अल-हुथी मारिए। सामान्यत: नेताको मृत्युले आन्दोलन कमजोर बन्ने गर्छ । तर यहाँ त्यसको ठीक उल्टो प्रभाव देखियो । नेताको मृत्यमा आन्दोलन कमजोर भएन, बरु उल्टै त्यो घटना यो समूहका लागि झनै ठूलो ऊर्जा र वैचारिक प्रेरणाको स्रोत बन्यो। हुसैनको मृत्युपछि उनका बुबा बद्रेद्दीन अल-हुथी र पछि उनका कान्छो भाइ अब्दुल-मलिक अल-हुथीले यस आन्दोलनको कमाण्ड सम्हाले। अब्दुल-मलिकको चतुर र कठोर नेतृत्वमा हुथीहरूले गुरिल्ला युद्धको रणनीति अपनाए। उत्तर यमनको दुर्गम पहाडी भूभाग, जहाँ सरकारी सेनालाई लडाइँ गर्न अत्यन्त कठिन थियो । त्यहाँ हुथीहरूले स्थानीय भूगोलको फाइदा उठाउँदै निकै प्रभावकारी रूपमा प्रतिरोध जारी राखे।
सन् २००४ देखि २०१० को बीचमा सरकार र हुथीहरूबीच साडा क्षेत्रमा छ चरणमा ठूला सैन्य संघर्षहरू भए, जुन 'साडा युद्ध' को नामले चिनिन्छन्। यी युद्धहरूमा साउदी अरेबियाले समेत यमन सरकारलाई अप्रत्यक्ष रूपमा आर्थिक तथा गुप्तचर सहयोग पुर्याएको थियो । साउदीहरू आफ्नो दक्षिणी सीमा जोडिएको क्षेत्रमा कट्टर सिया विचारधाराको प्रभाव फैलिने कुराबाट अत्यन्त सशंकित थिए। यी लडाइँहरूमा हजारौं मानिस विस्थापित भए र पूर्वाधारहरू नष्ट भए, तर हुथीहरूले आफ्नो सैन्य क्षमतालाई कमजोर हुन दिएनन्। उनीहरूले सरकारी सेनाका आधुनिक हतियारहरू कब्जा गर्दै, स्थानीय आदिवासीहरूको साथ लिँदै र इरान तथा लेबनानको हिजबुल्लाबाट अप्रत्यक्ष रूपमा सैन्य प्रशिक्षण तथा प्रविधिको सहायता प्राप्त गर्दै आफूलाई एक अपराजित मिलिसियाको रूपमा स्थापित गरे।
अरब क्रान्ति, राजनीतिक संक्रमण र राजधानी कब्जा
सन् २०११ मा पश्चिम एशियामा आएको 'अरब क्रान्ति' को आँधी यमनमा पनि नराम्ररी ठोक्कियो। ३३ वर्षभन्दा बढी समयदेखि सत्तामा रहेका राष्ट्रपति अली अब्दुल्लाह सालेहविरुद्ध यमनभरि लाखौं जनता सडकमा उत्रिए। यो राष्ट्रिय असन्तुष्टि र राजनीतिक अस्थिरताको हुथीहरूले अत्यन्त चतुरतापूर्वक लाभ उठाए। सालेहविरुद्धको आन्दोलनमा हुथीहरू पनि सहभागी भए र उत्तरी क्षेत्रमा आफ्नो पकड अझ बलियो बनाउने मौका पाए। अन्ततः खाडी सहयोग परिषद् (GCC) को मध्यस्थतामा भएको सम्झौताअनुसार राष्ट्रपति सालेह पदबाट हट्न बाध्य भए र उनका उपराष्ट्रपतिको रूपमा रहेका अब्दराबुह मन्सुर हादीले संक्रमणकालीन राष्ट्रको जिम्मा सम्हाले।
संक्रमणकालीन सरकारले यमनलाई एक संघीय राज्यमा रूपान्तरण गर्ने योजना अगाडि बढायो, जसअन्तर्गत देशलाई ६ वटा प्रान्तहरूमा बाँड्ने प्रस्ताव गरियो। हुथीहरूले यो संघीय ढाँचाको कडा विरोध गरे । उनीहरूको तर्क अनुसार यस नयाँ विभाजनले हुथी बहुल क्षेत्रहरूलाई समुद्र र प्राकृतिक स्रोतहरूबाट वञ्चित गर्नेछ र उनीहरूलाई कमजोर बनाउनेछ। राजनीतिक रूपमा आफ्नो माग सुनुवाइ नभएपछि हुथीहरूले सैन्य बलको प्रयोग गरेर उत्तरबाट राजधानी सानातर्फ आफ्नो विजय यात्रा अगाडि बढाए।
सन् २०१४ को सेप्टेम्बर महिनामा हुथी विद्रोहीहरूले कुनै खासै ठूलो प्रतिरोधबिना नै राजधानी सानालाई आफ्नो नियन्त्रणमा लिए। राजधानीमा हुथीहरूको यो कब्जा यमनको आधुनिक इतिहासमा एक ठूलो राजनीतिक भूकम्प थियो, जसले देशलाई पूर्ण रूपमा गृहयुद्धको ज्वालामा होम्यो।
सन् २०१४ को सेप्टेम्बर महिनामा हुथी विद्रोहीहरूले कुनै खासै ठूलो प्रतिरोधबिना नै राजधानी सानालाई आफ्नो नियन्त्रणमा लिए। उनीहरूले सरकारी कार्यालयहरू कब्जा गरे, प्रधानमन्त्रीलाई राजीनामा दिन बाध्य पारे र राष्ट्रिय राजनीतिलाई पूर्ण रूपमा आफ्नो मुठीमा पारे। सन् २०१५ को जनवरीसम्म आइपुग्दा राष्ट्रपति हादी र उनका मन्त्रीहरूलाई नजरबन्दमा राखियो । हादी पछि भागेर दक्षिण यमनको आदेन सहर पुग्न सफल भए र पछि साउदी अरेबिया शरण लिन पुगे। राजधानीमा हुथीहरूको यो कब्जा यमनको आधुनिक इतिहासमा एक ठूलो राजनीतिक भूकम्प थियो, जसले देशलाई पूर्ण रूपमा गृहयुद्धको ज्वालामा होम्यो।
साउदी नेतृत्वको सैन्य हस्तक्षेप
राजधानी साना हुथीहरूको नियन्त्रणमा गएपछि र दक्षिणमा रहेका राष्ट्रपति हादीले साउदी अरेबियालाई प्रत्यक्ष सैन्य सहयोगको निम्तो दिए । सन् २०१५ को मार्च महिनामा साउदी युवराज मोहम्मद बिन सलमानको नेतृत्वमा एक शक्तिशाली अरब सैन्य गठबन्धनले यमनमाथि प्रत्यक्ष सैन्य हस्तक्षेप सुरु गर्यो। 'अपरेसन डार्क स्टोर्म' र पछि 'अपरेसन रिस्टोर होप' को नाम दिइएको यस अभियानमा संयुक्त अरब इमिरेट्स (UAE) लगायतका खाडी राष्ट्रहरूले साउदीलाई साथ दिए । संयुक्त राज्य अमेरिका, बेलायत र फ्रान्सजस्ता पश्चिमा देशहरूले पनि यो गठबन्धनलाई गुप्तचर, लजिस्टिक र अत्याधुनिक हतियारहरूको आपूर्ति गरेर अप्रत्यक्ष समर्थन प्रदान गरे।
साउदी नेतृत्वको गठबन्धनको मुख्य उद्देश्य हुथीहरूलाई पराजित गरेर राष्ट्रपति हादीको वैध सरकारलाई पुन: सत्तामा फर्काउनु र इरान समर्थित मिलिसियालाई आफ्नो दक्षिणी सिमानाबाट धपाउनु थियो। साउदी वायुसेनाले यमनभरि अन्धाधुन्ध हवाई आक्रमणहरू सुरु गर्यो । त्यसले गर्दा हुथी नियन्त्रित क्षेत्रहरूमा मात्र होइन, आम नागरिकको बसोबास क्षेत्र, अस्पताल, विद्यालय र बजारहरूमा समेत ठूलो धनजनको क्षति भयो। यसबाहेक, साउदी गठबन्धनले यमनमाथि कडा हवाइ, समुद्री र स्थलमार्गको नाकाबन्दी लगायो । त्यसले गर्दा देशका करोडौं जनता खाद्य संकट, औषधि अभाव र कुपोषणको चपेटामा परे।
भीषण हवाई आक्रमण, आर्थिक नाकाबन्दी र अन्तर्राष्ट्रिय दबाबका बाबजुद पनि हुथीहरूले आत्मसमर्पण गरेनन्। उनीहरूले स्थानीय रूपमा ड्रोन र क्षेप्यास्त्र (मिसाइल) प्रविधिमा आत्मनिर्भर बन्ने प्रयास गरे। इरानको प्राविधिक सहयोगमा हुथीहरूले साउदी अरेबियाका तेल रिफाइनरीहरू, विमानस्थलहरू र महत्वपूर्ण पूर्वाधारहरूमाथि ड्रोन र क्रुज मिसाइलहरूद्वारा सटीक आक्रमण गर्न थाले।
संयुक्त राष्ट्रसंघले यमनको यो संकटलाई संसारको सबैभन्दा खराब मानवीय संकटको रूपमा परिभाषित गर्यो। यति भीषण हवाई आक्रमण, आर्थिक नाकाबन्दी र अन्तर्राष्ट्रिय दबाबका बाबजुद पनि हुथीहरूले आत्मसमर्पण गरेनन्। उनीहरूले स्थानीय रूपमा ड्रोन र क्षेप्यास्त्र (मिसाइल) प्रविधिमा आत्मनिर्भर बन्ने प्रयास गरे। इरानको प्राविधिक सहयोगमा हुथीहरूले साउदी अरेबियाका तेल रिफाइनरीहरू, विमानस्थलहरू र महत्वपूर्ण पूर्वाधारहरूमाथि ड्रोन र क्रुज मिसाइलहरूद्वारा सटीक आक्रमण गर्न थाले। सन् २०१९ मा साउदी अरेबियाको विशाल अरामको (Saudi Aramco) तेल प्रशोधन केन्द्रमा गरिएको ड्रोन आक्रमणले विश्वको तेल आपूर्ति केही समयका लागि आधाभन्दा बढी प्रभावित बनायो । यो आक्रमणले हुथीहरूको सैन्य क्षमता र प्रविधिको विकासको स्तरलाई विश्वसमक्ष उजागर गर्यो ।
क्षेत्रीय 'एक्सिस अफ रेसिस्टेन्स' सँगको सम्बन्ध
हुथी आन्दोलनको वैचारिक आधार मूल रूपमा 'अल-सर्खाह' (The Scream) भन्ने नारामा आधारित छ । यसमा स्पष्ट रूपमा अमेरिकाको नाश, इजरायलको नाश र यहूदीहरूमाथि धिक्कार व्यक्त गरिएको छ। उनीहरू आफूलाई इस्लामको वास्तविक रक्षा गर्ने र पश्चिमी साम्राज्यवाद तथा खाडीका राजतन्त्रहरूको दम्भविरुद्ध लड्ने क्रान्तिकारी शक्तिको रूपमा प्रस्तुत गर्छन्। वैचारिक हिसाबले हुथीहरूलाई इरानको नेतृत्वमा रहेको 'प्रतिरोधको अक्ष' (Axis of Resistance) को एक अपरिहार्य हिस्सा मानिन्छन्। यस गठबन्धनमा लेबनानको हिजबुल्ला, सिरिया तथा इराकका विभिन्न सिया मिलिसियाहरू समावेश छन्।
इरान र हुथीहरूको सम्बन्धलाई लिएर अन्तर्राष्ट्रिय राजनीतिमा विभिन्न विश्लेषणहरू हुने गरेका छन्। पश्चिमा देशहरू र साउदी अरेबियाले हुथीहरूलाई इरानको पूर्ण नियन्त्रणमा रहेको 'प्रक्सी' (Proxy) वा कठपुतली मिलिसियाको रूपमा चित्रण गर्ने गरेका छन् । उनीहरुको बुझाइमा त्यसले तेहरानको इसारामा पश्चिम एशियामा अस्थिरता फैलाउने काम गर्छ। तर, यो तथ्यसँग मेल खाँदैन । हुथीहरूसँग आफ्नै स्थानीय, राष्ट्रिय र यमनी स्वाधीनताका ऐतिहासिक एजेन्डा छन्। इरानले हुथीहरूलाई हतियार, वित्तीय सहयोग र प्रविधिको हस्तान्तरण गरेर साउदी अरेबियालाई क्षेत्रीय स्तरमा दबाबमा राख्ने रणनीतिक औजारको रूपमा प्रयोग गरेको कुरा केही हदसम्म सही हो । तर हुथीहरूको निर्णय प्रक्रिया र उनीहरूको आन्तरिक राजनीति इरानबाट हैन, पूर्ण रूपमा उनीहरूकै स्वार्थबाट निर्देशित हुन्छ।
लाल सागरको सुरक्षा संकट र वैश्विक भूराजनीतिक प्रभाव
सन् २०२३ को अक्टोबर ७ मा इजरायल र हमासबीच युद्धको नयाँ र भयानक अध्याय सुरु भएपछि हुथी आन्दोलनले केवल यमनको आन्तरिक विद्रोही समूहबाट उक्लिँदै वैश्विक भूराजनीतिको केन्द्रमा आफूलाई उभ्यायो। प्यालेस्टाइनको गाजापट्टीमा इजरायलले चलाएको सैन्य कारबाही र नरसंहारको विरोधमा हुथीहरूले हमासको पक्षमा खुला ऐक्यबद्धता जनाए। उनीहरूले लाल सागर, अरेबियन सागर र विश्व तेल आपूर्ति एवं व्यापारका लागि अत्यन्तै महत्वपूर्ण स्ट्रेट अफ बाब-एल-मन्डेब भएर इजरायलतर्फ जाने वा इजरायलसँग कुनै पनि किसिमको व्यावसायिक सम्बन्ध राख्ने सम्पूर्ण जहाजहरूलाई निशाना बनाउने घोषणा गरे।
एसिया र युरोपलाई जोड्ने स्वेज नहरको प्रवेशद्वार तथा विश्वको कुल समुद्री व्यापारको लगभग १२ प्रतिशत हिस्सा र ऊर्जा आपूर्तिको ठूलो अंश गुज्रने बाब-एल-मन्डेबमाथि हुथीको बलियो प्रभुत्व छ । उनीहरुको मञ्जुरी र समर्थनबिना त्यहाँबाट जहाजहरु सुरक्षित पार हुन सम्भव छैन ।
हुथीहरूले अत्याधुनिक एन्टी-शिप मिसाइलहरू, ड्रोनहरू र द्रुत गतिकी डुङ्गाहरूको प्रयोग गरेर लाल सागरमा आवतजावत गर्ने अन्तर्राष्ट्रिय कार्गो जहाजहरूमाथि आक्रमण सुरु गरे। एसिया र युरोपलाई जोड्ने स्वेज नहरको प्रवेशद्वार तथा विश्वको कुल समुद्री व्यापारको लगभग १२ प्रतिशत हिस्सा र ऊर्जा आपूर्तिको ठूलो अंश गुज्रने बाब-एल-मन्डेबमाथि हुथीको बलियो प्रभुत्व छ । उनीहरुको मञ्जुरी र समर्थनबिना त्यहाँबाट जहाजहरु सुरक्षित पार हुन सम्भव छैन । त्यही कारण Maersk, MSC लगायतका विश्वका ठूला-ठूला ढुवानी कम्पनीहरूले आफ्ना जहाजहरूलाई लाल सागरबाट पठाउन बन्द गर्न बाध्य भए । उनीहरु अफ्रिकाको महाद्वीपको फेद हुँदै 'केप अफ गुड होप' को लामो र महँगो मार्ग प्रयोग गर्न विवश बने ।
यसले गर्दा अन्तर्राष्ट्रिय ढुवानी लागतमा भारी वृद्धि भयो, आपूर्ति श्रृंखला (Supply Chain) नराम्ररी प्रभावित भयो र वैश्विक बजारमा मुद्रास्फीति तथा इन्धनको मूल्य अझ आकाशियो। हुथीहरूको यो कारबाहीले अमेरिका र यसका सहयोगी देशहरूलाई गम्भीर चुनौती दियो। अमेरिकाले 'अपरेसन प्रोस्पर गार्डियन' नामक बहुराष्ट्रिय नौसेना गठबन्धन बनाएर लाल सागरमा गस्ती बढाउनुका साथै यमनभित्र रहेका हुथीहरूको क्षेप्यास्त्र प्रक्षेपण स्थलहरू र राडार स्टेसनहरूमाथि बारम्बार हवाई आक्रमणहरू गर्यो। बेलायतले पनि अमेरिकी सेनाको यस कारबाहीमा प्रत्यक्ष साथ दियो।
तर, यी पश्चिमा हवाई आक्रमणहरूले हुथीहरूको हौसला घटाउनुको साटो उनीहरूलाई यमनको घरेलु राजनीतिमा अझ लोकप्रिय बनायो। हुथीहरूले प्यालेस्टाइनको पक्षमा उभिएर अमेरिकी र इजरायलविरोधी अडान लिएको कारण अरब तथा इस्लामिक जगतमा उनीहरूको जनसमर्थन अभूतपूर्व रूपमा बढ्यो। साउदी अरेबियासँगको लामो युद्धविराम सम्झौताको संघारमा पुगेको अवस्थामा समेत हुथीहरूले लाल सागरको सुरक्षा संकटलाई आफ्नो रणनीतिक कार्डको रूपमा प्रयोग गरेर आफूलाई पश्चिम एशियाको एक मुख्य वार्ताकारको रूपमा स्थापित गरे।
भूराजनीतिक खेलको जीवन्त दस्तावेज
यमनमा हुथी आन्दोलनको उदय र उनीहरूको निरन्तरको संघर्ष सतही रुपमा हेर्दा क्षेत्रीय जातीय वा धार्मिक विद्रोही समूहको कथा जस्तो लाग्न सक्छ । तर गहिराइमा गएर हेर्ने हो भने यो सीमान्तकृत समुदायको राजनीतिक अधिकारको खोजी, वैचारिक कट्टरता, बाह्य शक्तिको हस्तक्षेप र भूराजनीतिक खेलको एक जीवन्त दस्तावेज हो। साडाका गुफा र पहाडहरूबाट सुरु भएको यो आन्दोलन आज यमनको राजधानी साना र देशको ठूलो भूभागमाथि शासन गर्ने राजनीतिक शक्तिमा परिणत भइसकेको छ। लाल सागरमा उनीहरूले खडा गरेको सुरक्षा चुनौतीले यो प्रष्ट पारेको छ कि अब पश्चिम एशियाको शक्ति समीकरणमा हुथीहरूलाई बेवास्ता गरेर क्षेत्रीय वा वैश्विक शान्ति स्थापना गर्न असम्भव छ। भूराजनीतिक चलखेलले गिजोलेको यमनको भविष्य अझै अनिश्चित र गम्भीर मानवीय संकटले घेरिएको छ । तर यस परिस्थितिबीच हुथीहरू आगामी दिनमा यमन र सम्पूर्ण पश्चिम एशियाको भूराजनीतिलाई निर्देशित गर्ने एक प्रमुख र अपरिहार्य शक्ति बनेर रहनेछन् भन्ने कुरा उनीहरुले राजनीतिक र सैन्य अडानमार्फत सिद्ध गरिसकेका छन् ।
इरान र यमनको हुथी (अन्सार अल्लाह) आन्दोलनबीचको सम्बन्ध
समकालीन पश्चिम एशियाको भूराजनीतिक मानचित्रमा सबैभन्दा बढी चासो र रणनीतिक बहसको केन्द्रबिन्दुमा इरान र हुथीहरुबीचको सम्बन्ध के हो भन्ने रहेको छ। यी दुई शक्तिहरूबीचको सम्बन्धलाई वैचारिक सहानुभूतिको परिणाम वा छोटो अवधिको सहकार्यको रूपमा मात्र बुझ्न सही हुँदैन । अहिले आएर उनीहरुबीचको सम्बन्ध र सहकार्य गहिरो संस्थागत, सैन्य र भूराजनीतिक साझेदारीमा रूपान्तरण भइसकेको छ। इरानले हुथीहरूलाई पूर्ण रूपमा नियन्त्रण गर्ने 'प्रोक्सी' वा कठपुतली मिलिसिया मात्र भनेर पश्चिमा संकथन जसरी फैलाइएको छ, त्यो यथार्थसँग पटक्कै मेल खाँदैन । हुथीहरूसँग यमनको आन्तरिक राजनीति र स्वाधीनतासम्बन्धी आफ्नै ऐतिहासिक तथा राष्ट्रिय एजेन्डा छन्। के कुरा चाहिँ सत्य हो भने इरान र हुथीबीचको राजनीतिक र सैन्य सम्बन्धले पश्चिम एशियाको शक्ति समीकरणमा दूरगामी प्रभाव पारेको छ।
अहिले आएर इरान र हुथीहरुबीचको सम्बन्ध र सहकार्य गहिरो संस्थागत, सैन्य र भूराजनीतिक साझेदारीमा रूपान्तरण भइसकेको छ।
इरान र हुथीहरूबीचको राजनीतिक तथा सैन्य साझेदारीको स्वरूपलाई गहिरिएर अवलोकन गर्दा यसमा प्रविधि हस्तान्तरण, गुप्तचर सहकार्य र कूटनीतिक वैधताको बलियो आयाम देखिन्छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्क्स (IRGC) र यस अन्तर्गतको कुड्स फोर्सले हुथीहरूलाई आधुनिक ब्यालिस्टिक मिसाइल, क्रुज मिसाइल र आत्मघाती ड्रोनहरू निर्माण गर्ने प्राविधिक ज्ञान तथा तिनका पाटपुर्जा आपूर्ति गर्दै आएको छ। यमनको कठिन पहाडी भूगोल र साउदी नाकाबन्दीका बाबजुद हुथीहरूले इरानी सहयोगमै आफ्नै रासायनिक तथा प्राविधिक संयोजन केन्द्रहरू स्थापना गरी यी घातक हतियारहरू उत्पादन गर्ने र साउदी अरेबिया तथा लाल सागरका नौसेना लक्ष्यहरूमा सटीक आक्रमण गर्ने क्षमता विकास गरेका छन्। यसका साथै, लेबनानको हिजबुल्लाह र इरानका सैन्य सल्लाहकारहरूले हुथी लडाकुहरूलाई यमनी रणभूमिमा टिकिरहन, जटिल गुरिल्ला युद्ध रणनीति अपनाउन र आधुनिक सञ्चार तथा गुप्तचर प्रणाली सञ्चालन गर्न आवश्यक पर्ने तालिम प्रदान गरेका छन्। कूटनीतिक मोर्चाहरूमा पनि, अन्तर्राष्ट्रिय समुदायले हुथी सरकारलाई आधिकारिक मान्यता नदिइरहेको बेला इरानले भने उनीहरूको सरकारलाई तेहरानमा औपचारिक कूटनीतिक स्थान र मान्यता प्रदान गरेको छ । यसरी इरानले अन्तर्राष्ट्रिय मञ्चमा उनीहरूलाई राजनीतिक वैधता दिन ठूलो भूमिका खेलेको छ।
यी दुई शक्तिहरूलाई एकआपसको नजिक ल्याउनमा धेरै वटा वैचारिक, ऐतिहासिक र भूराजनीतिक कारणहरूले उत्प्रेरकको रूपमा काम गरेका छन्। सबैभन्दा मुख्य कारक भनेको उनीहरूको साझा शत्रुतापूर्ण दृष्टिकोण र ‘एन्टी-वेस्टर्न’ तथा ‘एन्टी-जियोनिस्ट’ एजेन्डा हो। लामो समयदेखि इरानको इस्लामी गणतन्त्रलाई पल्टाउन अमेरिका र इजरायल टुप्पी कसेर लागि परेको छ । यस स्थितिमा इरानको शासन व्यवस्थाको वैचारिक आधार नै स्वत: अमेरिका विरोधी र इजरायल विरोधी बन्न पुगेको छ । उता हुथीहरूको आधिकारिक नारामा समेत अमेरिकाको नाश र इजरायलको विरोधलाई प्रमुखताका साथ उठाइएको छ। यो साझा वैचारिक शत्रुर्ता उनीहरूलाई पश्चिमा र खाडीका ‘पश्चिमा समर्थित’ राजतन्त्रविरुद्ध उभिने बलियो वैचारिक आधार प्रदान गरेको छ। यसबाहेक, साउदी अरेबियाविरुद्धको साझा स्वार्थले उनीहरूको सम्बन्धलाई अझ बलियो तुल्याएको छ। पश्चिम एशियामा इरान र साउदी अरेबिया धार्मिक र राजनीतिक प्रभुत्वका लागि ऐतिहासिक प्रतिद्वन्द्वी हुन्। सन् २०१५ मा साउदी नेतृत्वको गठबन्धनले यमनमाथि भीषण सैन्य आक्रमण सुरु गरेपछि हुथीहरू आफ्नो अस्तित्व रक्षाका लागि बाह्य शक्तिको सहयोग खोज्न बाध्य भए, र इरानलाई आफ्ना कट्टर प्रतिद्वन्द्वी साउदी अरेबियालाई उसकै दक्षिणी सिमानामा निरन्तर दबाबमा राख्ने सुनौलो भूराजनीतिक अवसर प्राप्त भयो।
हुथीहरूको आधिकारिक नारामा समेत अमेरिकाको नाश र इजरायलको विरोधलाई प्रमुखताका साथ उठाइएको छ। यो साझा वैचारिक शत्रुर्ता उनीहरूलाई पश्चिमा र खाडीका ‘पश्चिमा समर्थित’ राजतन्त्रविरुद्ध उभिने बलियो वैचारिक आधार प्रदान गरेको छ।
धार्मिक निकटताको मनोवैज्ञानिक पक्षले पनि उनीहरूलाई नजिक ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ। हुथीहरू जायदी सिया हुन् भने इरान बाह्र इमामी सिया राष्ट्र हो । धार्मिक सिद्धान्तका हिसाबले उनीहरूबीच केही भिन्नताहरू रहे तापनि पश्चिम एशियामा सुन्नी बहुल शक्तिहरू र खाडीका राजतन्त्रहरूबाट सीमान्तकृत र प्रताडित हुनुपरेको साझा पीडाले उनीहरूलाई सिया पहिचानको भावनात्मक धागोमा जोडेको छ। सबैभन्दा ठूलो भूराजनीतिक लाभको कुरा गर्दा, इरानका लागि यमनमा हुथीहरूलाई समर्थन गर्नु निकै न्यून लागतमा ठूलो रणनीतिक प्रभाव पार्ने माध्यम बनेको छ। लाल सागर र स्ट्रेट अफ बाब-एल-मन्डेबको सामरिक अवस्थितिको फाइदा उठाउँदै हुथीहरूले अन्तर्राष्ट्रिय समुद्री व्यापार र ऊर्जा आपूर्तिलाई प्रभावित पार्न सक्ने भएकाले, इरानले यो क्षेत्रलाई पश्चिमी शक्तिहरूसँग मोलतोल गर्ने र पश्चिम एशियामा आफ्नो प्रभाव विस्तार गर्ने प्रमुख रणनीतिक हतियारको रूपमा प्रयोग गर्दै आएको छ। यसरी हेर्दा, इरान र हुथीबीचको सम्बन्ध खाली संयोगको उपज मात्र पक्कै हैन । अहिले हताश र निराशाका बीच साम्राज्यवादी शक्तिहरु अन्धधुन्ध बलप्रयोग र प्रभुत्व जोगाइराख्ने अभियानमा लागेको जटील भूराजनीतिक परिस्थितिमा इरान र हुथीबीचको सम्बन्ध–सहकार्य दुवै पक्षका व्यावहारिक आवश्यकता, क्षेत्रीय सुरक्षाका काउन्टर-स्ट्राटेजी र साझा शत्रुहरूविरुद्धको प्रतिरोधमा टिकेको एक मजबुत गठबन्धन बन्न पुगेको छ ।
|
हुथी र इरानबीच धार्मिक समानता र मतभिन्नता इरान र यमनका हुथी (अन्सार अल्लाह) आन्दोलनबीचको सम्बन्धमा धर्म एक महत्वपूर्ण वैचारिक र मनोवैज्ञानिक पक्ष पक्कै हो । तर उनीहरूको धार्मिक विश्वास र इतिहासमा धेरै समानता र गम्भीर मतभिन्नताहरू पनि विद्यमान छन्। यी दुवै शक्ति सिया इस्लामका अनुयायी भए पनि उनीहरूको आन्तरिक धार्मिक सिद्धान्तहरूमा ठूलो भिन्नता रहेको छ। इरान र हुथीहरूबीचको मुख्य धार्मिक समानता उनीहरूको व्यापक सिया इस्लामको पहिचान र ऐतिहासिक रूपमा उत्पीडित वा सीमान्तकृत हुनुपर्ने धार्मिक चेतनासँग जोडिएको छ। दुवै पक्ष इस्लाम धर्मका पैगम्वर हजरत मोहम्मदका ज्वाइँ तथा चौथो खलिफा अली इब्न अबी तालिबलाई उनीहरूको राजनीतिक र आध्यात्मिक उत्तराधिकारी मान्ने परम्परासँग निकट छन्। पश्चिम एशियाको बहुसंख्यक सुन्नी इस्लाम, विशेष गरी कट्टर वहाबी वा सलाफी विचारधाराको प्रभुत्व रहेको क्षेत्रमा यी दुई समूहले आफूहरूलाई धार्मिक रूपमा अल्पसंख्यक वा ऐतिहासिक रूपमा अधिकारबाट वञ्चित समुदायका रूपमा महसुस गरेका छन्। यही साझा सिया पहिचान र सुन्नी राजतन्त्रहरूको वैचारिक दवाबविरुद्ध उभिनुपर्ने मनोवैज्ञानिक धरातलले उनीहरूलाई एकअर्काको धार्मिक तथा राजनीतिक सहयात्री बन्नका लागि भावनात्मक आधार प्रदान गरेको छ। तर, सैद्धान्तिक र युगीन मान्यताका हिसाबले इरान र हुथीहरूबीच गम्भीर धार्मिक मतभिन्नताहरू पनि रहेका छन्। इरानको राजकीय धर्म 'बाह्र इमामी सिया' (Twelver Shia / Ithna 'ashariyyah) हो, जसले बाह्रवटा विशेष इमामहरूलाई दिव्य र त्रुटिरहित (infallible) मार्गदर्शन मान्दछ र अन्तिम इमाम महदीको गुप्तबास तथा पुनरागमनमा विश्वास राख्छ। यसको विपरीत, हुथीहरू सिया इस्लामको सबैभन्दा उदार शाखा मानिने 'जायदी सिया' (Zaydi Shia) इस्लामका अनुयायी हुन्। जायदीहरूले बाह्रवटा इमामहरूको सिद्धान्तलाई मान्दैनन् र उनीहरूको इमामहरूको सूची पाँचौं इमाम जैद बिन अलीमा आएर अलग हुन्छ। धार्मिक कर्मकाण्ड, न्यायशास्त्र (Jurisprudence) र दैनिक उपासनाका मामिलामा जायदीहरू सुन्नी इस्लामको 'हनाफी' मज्हरसँग धेरै हदसम्म मिल्छन्, जसले गर्दा इतिहासमा जायदीहरूलाई सिया भन्दा पनि सुन्नीहरूको नजिक मानिने गरिन्थ्यो। नेतृत्वको छनोट र राजनीतिक सत्ताको वैधानिकताको विषयमा पनि इरान र हुथीहरूबीच ठूलो सैद्धान्तिक भिन्नता छ। इरानको शासन व्यवस्था पूर्ण रूपमा 'विलायत-ए-फकिह' (Guardianship of the Islamic Jurist) को सिद्धान्तमा आधारित छ, जहाँ एक सर्वोच्च धार्मिक गुरु ( Ayatollah) ले राज्य र धर्मको सम्पूर्ण शक्ति आफ्नो नियन्त्रणमा राख्दछन् र उनको निर्णय अन्तिम मानिन्छ। यसको विपरीत, जायदी सिद्धान्तअनुसार इमाम वा नेता बन्नका लागि Fatima (फातिमा) र Ali (अली) को वंशबाट भएको हुनुपर्छ र उसले अन्यायपूर्ण शासनविरुद्ध हतियार उठाएर आफ्नो योग्यता प्रमाणित गर्नुपर्छ । त्हायँ इरानको जस्तो कडा धार्मिक पदानुक्रम (clerical hierarchy) वा सर्वोच्च धर्मगुरुको अधिनता स्वीकार गरिँदैन। यसरी, सैद्धान्तिक र धार्मिक परम्पराका रूपमा इरानको बाह्र इमामी विचारधारा र हुथीहरूको जायदी विचारधाराबीच आधारभूत भिन्नताहरू रहे तापनि, व्यावहारिक राजनीतिमा यी सैद्धान्तिक दुरीहरू गौण बन्न पुगेका छन्। पश्चिम एशियाको भूराजनीतिक संघर्षमा आफ्नो अस्तित्व रक्षा, साझा क्षेत्रीय प्रतिद्वन्द्वीहरूविरुद्धको प्रतिरोध र रणनीतिक स्वार्थले उनीहरूलाई धार्मिक भिन्नताभन्दा माथि उठेर घनिष्ठ सैन्य तथा राजनीतिक साझेदारी कायम गर्न प्रेरित गरेको छ। |
ब्राजिलको चुनावी संघर्ष: ब्रिक्स र भूराजनीतिमा पार्न सक्ने दुरगामी प्रभाव
इथियोपियामा फेरि गृहयुद्ध: प्रधानमन्त्री अबियको ‘फुटाऊ र शासन गर’ रणनीति उल्ट…
बहुध्रुवीय विश्व अब केवल एउटा सिद्धान्त होइन वास्तविकता
इरान भन्छ: अमेरिकाले मानव अधिकार हनन गर्यो, ७ दिने योजना स्वीकारे हर्मुज खु…
‘परमाणु हतियार इजरायलसँग, निरीक्षक इरानमा’ पेजेश्कियानको गम्भीर प्रश्न
रुसमा पुटिन झनै बलियो बन्दै !
मानचित्रको युद्ध: असमान पृथ्वीमाथि समान पृथ्वीको विजय
प्रतिक्रिया