मार्क्सवादः वर्गमुक्ति र क्रान्तिको समाज–विज्ञान

दर्शनशास्त्रमा परेका गाँठाहरु व्युत्पत्तिशास्त्रको शब्दजालले फुकाउँदैन, थप जेल्छ मात्रै !

जब जब विज्ञानको उन्नतिले फड्को मार्छ, मानव समाजको चरित्रले पनि नयाँ फड्को मार्दै गएको छ । आदिम घुमन्ते–फिरन्ते युगबाट मानिसले विभिन्न चरण र चरित्रका युगहरु निर्माण गर्दै र तिनलाई फेरि अझ उन्नत युगमा बदल्दै लैजाँदा विज्ञानमा भएका गुणात्मक प्रगतिका आविष्कार र अन्वेषणले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । प्रकृति विज्ञानका क्षेत्रमा मात्रै नभएर समाज विज्ञानको विकासमा पनि नयाँनयाँ युगमा नयाँनयाँ विधा र विषयको विकास हुँदै गएको पनि छ । मार्क्सवाद एउटा त्यस्तै विज्ञान हो, जो समाजलाई बुझ्ने र वर्गभेदी समाज बदल्ने शास्त्रका रुपमा उन्नाइसौं शताब्दीदेखि संसार प्रख्यात छ । यो वर्गमुक्तिको समाज विज्ञान हो । तर, यसलाई दार्शनिक रुपमा अस्वीकार गर्ने, यसको मृत्यु भइसक्यो भन्ने, यो अब असान्दर्भिक भयो भन्ने, विज्ञानका नयाँ आविष्कारले यसलाई खारेज गर्‍यो भन्ने विद्वान्‌हरुको संसारमा कमी छैन । त्यसो भन्नेहरु उन्नाइसौं शताब्दीदेखि एक्काइसौं शताब्दीसम्म कम्मर कसेर डटिरहेकै छन् । काठमाडौंमा पनि पछिल्ला केही वर्षमा यसप्रकारका नवविद्वान्‌हरु मार्क्सवादलाई विज्ञानको कोटीबाट खारेज गर्ने ‘अभियान’मा कोण–कोणबाट जुटिरहेका छन् । यसै क्रममा ‘द डायलेक्टिकल सोसाइटी’ संस्था सञ्चालन गरिरहेका विनोद लोहनीले ‘दायित्वबोध’ अनलाइनमा मार्क्सवाद विज्ञान होइन भन्नका लागि लामो लेख लेखे । त्यसपछि त्यसमा बहस र प्रतिवादहरु भए । त्यसैसँग सम्बन्धित बहसको अर्को कडीका रूपमा यो आलेख तयार गरिएको छ ।

श्री लोहनीले ‘विज्ञानको मापदण्ड र मार्क्सवादः वस्तुनिष्ठता, पुनरावृत्ति र मिथ्याकरणीयताको प्रश्न’ शीर्षकको आफ्नो दोस्रो लेखमा एकातिर मार्क्स र एंगेल्सको उद्धरणहरूलाई लामा–लामा भयो भनेर पूर्ण रूपमा खारेज गरिदिएका छन् भने अर्कोतिर मार्क्सवाद कसरी समाज विज्ञान हो भन्ने मुख्य प्रतितर्कको जवाफमा फेरि प्रकृति विज्ञानका अनेक प्रसंगहरूसहित शब्द वर्षा गरेका छन् । जवाफी लेखमा उद्धरणमार्फत व्यक्त गरिएको तर्क बुझ्ने प्रयास गरेर उनले त्यसको प्रतिउत्तर दिएका हुन्थे भने यो बहस रचनात्मक दिशातिर जान सक्थ्यो, तर उनले त्यसो गरेनन् । यहाँ लोहनीको मार्क्स एंगेल्सका रचनाहरूबारे रहेको पूर्वाग्रहले काम गरेको हुन सक्छ । जब मुख्य दाबीमा नै प्राकृतिक विज्ञानको सटिकता र विषयक्षेत्रको तुलनामा समाजविज्ञान भिन्न हुन्छ भनिसकिएको छ भने त्यसमा पुनः प्रकृति विज्ञानकै परिभाषा, प्रसंग र प्रयोगहरूको शृंखला थपेर बहस गर्नुको कुनै औचित्य छैन । हरेक विज्ञानका आफ्ना विषयक्षेत्र, विधि र विशेषता आवश्यक हुन्छन् । उनले खारेज गरेका उद्धरणहरू फर्केर हेर्ने चेष्टा गरे भने त्यहाँ समाजमा जटिलता, मनोगतता र अनिश्चितता हुँदाहुँदै पनि समाजको गति जथाभावी हुँदैन, यसमा नियमबद्धता हुन्छ, यसको वस्तुगत अध्ययन सम्भव छ भन्नेबारे स्पष्ट शब्दमा लेखिएको थियो ।

जब मुख्य दाबीमा नै प्राकृतिक विज्ञानको सटिकता र विषयक्षेत्रको तुलनामा समाजविज्ञान भिन्न हुन्छ भनिसकिएको छ भने त्यसमा पुनः प्रकृति विज्ञानकै परिभाषा, प्रसंग र प्रयोगहरूको शृंखला थपेर बहस गर्नुको कुनै औचित्य छैन ।

मार्क्सवादले समाजको गतिका नियमहरूको अध्ययन गर्छ र यसै अध्ययनको आधारमा कुनै समाजलाई बुझ्ने कोसिस गर्छ । यसकारण समाजलाई समाजकै आन्तरिक गतिको आधारमा बुझ्न सकिन्छ र बदल्न सकिन्छ । यही अर्थमा मार्क्सवादलाई १९औं शताब्दीमा समाज विज्ञान भनिएको थियो, आज पनि यो पंक्तिकारसहित हजारौंको दाबी त्यही हो । उपन्यास र खोजी पत्रकारिता विधालाई तुलनामा अघि सारेर लोहनीले मार्क्सवादलाई पनि कला–साहित्यजस्तै कल्पना र सिर्जनाको क्षेत्र भन्न खोजेको देखिन्छ । यी विधा र क्षेत्रका पनि आफ्नै नियम, संरचना र मान्यता हुन्छन् तर यी विज्ञानका विधा होइनन् भन्ने जगजाहेरै छ । यी विधाले समाजको गतिको नियमबारेमा खोजी गर्ने वा समाजलाई सम्पूर्णतामा बुझ्ने कोशिस गर्दैनन् तर ती विधाले सामाजिक यथार्थबारे एक पाटोको भने अन्तरदृष्टि दिन सक्छन्, दिन्छन् पनि ।

मार्क्स र एंगेल्सको दाबी थियो, शोषण र उत्पीडनबाट मुक्त समाजको कल्पना गर्दैमा मात्र समाजवाद आउन सक्दैन । यसै कारण उनीहरूले समाज र इतिहासको, समाजको गतिको नियमको अध्ययनको आवश्यकतामा जोड दिएका थिए

मार्क्स र एंगेल्सले विज्ञान शब्दलाई ‘काल्पनिक (Utopian) शब्दको विपरीत प्रयोग गरेका थिए । यदि लोहनीले मेरो प्रतिउत्तर ध्यान दिएर हेर्न आवश्यक ठानेका भए यो कुरा बुझ्न कुनै पहाड खसाल्नु पर्ने थिएन । मार्क्स र एंगेल्सको दाबी थियो, शोषण र उत्पीडनबाट मुक्त समाजको कल्पना गर्दैमा मात्र समाजवाद आउन सक्दैन । यसै कारण उनीहरूले समाज र इतिहासको, समाजको गतिको नियमको अध्ययनको आवश्यकतामा जोड दिएका थिए । प्राकृतिक विज्ञान जसरी समाजको पनि एक सुसंगत भौतिकवादी दृष्टिकोणबाट अध्ययन गर्न सकिन्छ किनकि समाज पनि प्रकृतिकै विस्तार हो । उनीहरूले आफ्नो कर्ममार्फत यो सिद्ध पनि गरेका थिए । प्रकृति विज्ञानको प्रयोगशाला प्रकृति हो र समाज विज्ञानको प्रयोगशाला समाज हो । प्रकृतिका परिघटनाहरूको प्रेक्षण, अमूर्तिकरण र सामान्यीकरणको प्रकृयाद्वारा नै प्रकृति विज्ञानका सिद्धान्तहरू विकसित भएका हुन । समाज विज्ञान पनि तथ्य र तथ्यांकमा आधारित हुन्छ, तर सामाजिक विज्ञान हूबहू प्रकृति विज्ञान जस्तो हुँदैनन्, समाजिक यथार्थ प्राकृतिक यथार्थभन्दा धेरै जटिल हुन्छ र यसमा परिवर्तनका वाहक (एजेन्ट) सचेत हुन्छन् । मार्क्सवाद पनि सामाजिक इतिहासको प्रेक्षण र ठोस अध्ययनको प्रकृयामार्फत विकसित भएको हो र यसमा पनि तथ्य र तथ्यांकको आधारमा नै कुनै नियम वा सिद्धान्तको प्रतिस्थापित गरिन्छ । प्रतिस्थापित नियम वा सिद्धान्तहरूको सत्यताको लागि व्यवहारिक प्रयोग गरिन्छ र आवश्यकता अनुरूप विसंगतिहरू हटाउन पनि काम हुन्छ । यसरी व्यवहार–सिद्धान्त–व्यवहारको प्रकृया लगातार स्पाईरल मोसनमा चलि नै रहन्छ । यही प्रकृयाले मार्क्सवादलाई समाज विज्ञान बनाउछ । र, विज्ञानका अरु क्षेत्र जस्तै मार्क्सवाद पनि निरन्तर विकसित हुँदै जान्छ । त्यसकारण मार्क्स एंगेल्सपछि लेनिनका योगदान, माओको योगदानलाई मार्क्सवादी विज्ञानको विकासका रुपमा अध्ययन गरिन्छ ।

तमाम मार्क्सवादी राजनीतिक अर्थशास्त्रीहरू आज पनि पुँजीवादको अध्ययन गर्नमा पनि तथ्य, तथ्यांक र सुत्रहरूको सहारा लिने गर्दछन् तर मार्क्सवाद आर्थिक आधारको अध्ययनमा मात्र सीमित हुँदैन, यसले त राजनीतिक व्यवस्था, राज्यसत्ता, विचारधारा, संस्कृति आदिको पनि अध्ययन गर्दछ ।

मार्क्सवाद अनुभवमा आधारित (Empirical) हुँदैन भन्ने लोहनीले दाबी गरेका छन् । यो दाबी पूर्ण रूपमा गलत दाबी हो । मार्क्स र माक्र्मवादीहरूले आफ्नो सिद्धान्त समाज र इतिहासको अवलोकन गरेरै विकसित गरेका हुन । यहाँ ध्यान दिनुपर्ने के छ भने, समाज विज्ञानको तथ्यहरू सामाजिक तथ्य हुन्छन्, यसलाई सधैं गणितीय तथ्यहरू अथवा सुत्रहरूमा प्रस्तुत गर्न सक्नुपर्छ भन्ने कुनै अनिवार्यता छैन । विशेषगरी आर्थिक आधारसँग जोडिएको सिद्धान्तलाई गणितीय तथ्य र सुत्रहरूको रूपमा पनि प्रस्तुत गर्न सकिन्छ, मार्क्सले पुँजीमा देखाएको पनि त्यही हो । तमाम मार्क्सवादी राजनीतिक अर्थशास्त्रीहरू आज पनि पुँजीवादको अध्ययन गर्नमा पनि तथ्य, तथ्यांक र सुत्रहरूको सहारा लिने गर्दछन् तर मार्क्सवाद आर्थिक आधारको अध्ययनमा मात्र सीमित हुँदैन, यसले त राजनीतिक व्यवस्था, राज्यसत्ता, विचारधारा, संस्कृति आदिको पनि अध्ययन गर्दछ । यी अध्ययन पनि सामाजिक तथ्यमा आधारित हुन्छन् तर यसलाई प्राकृतिक विज्ञान जसरी गणितीय आँकडा र सुत्रको रूपमा हेर्न सकिन्छ भन्ने छैन । समाज विज्ञानमा पनि आर्थिक आधारमा आधारित सिद्धान्त जस्तै अतिरिक्त मूल्यको सिद्धान्तमा पूर्वअनुमानको क्षमता अधिक हुन्छ । विशेषगरी अधिरचनामा आधारित सिद्धान्तमा सटीक पूर्वानुमान गर्न गाह्रो हुन्छ किनभने निरन्तर गतिशील र बहुआयामिक समाजको गतिका आयामहरु निरन्तर बहुआयामी ढंगले परिवर्तनशील हुन्छन् । तर अर्थव्यवस्थासम्बन्धी सवालमा भने वैज्ञानिक अध्ययन गरेर आर्थिक संकटबारे सापेक्षतः पूर्वानुमान गर्न सकिन्छ । जस्तैः क्रान्तिको बारेमा भने सटिक पूर्वानुमान गर्न सकिदैन किनकि क्रान्ति आर्थिक संकट बाहेक पनि अन्य कतिपय राजनीतिक र सामाजिक तथा सास्ंकृतिक पक्षहरूमा निर्भर हुन्छ । फेरि पनि मार्क्सवादलाई लागू गरेर आर्थिक संकटको परिस्थितिमा पनि राजनीतिक तथा सामाजिक अवस्था अनुरूप रणनीति बनाएर संकटलाई क्रान्तिमा बदल्ने सम्भावना बढाउन सकिन्छ ।

मार्क्सवाद हरेक समाजिक परिघटनाको सटीक भविष्यवाणी गर्न सक्दैन यसै आधारमा यसलाई विज्ञानको दायराबाट हटाउने भन्ने कुनै युक्तिसंगत तर्क होइन । यसै अर्थमा लोहनीको विज्ञान सम्बन्धी परिभाषा एकदमै संकीर्ण परिभाषा भनिएको थियो । यही संकीर्ण परिभाषाको आधारमा पनि जेनेटिक्सलाई विज्ञानको परिभाषाबाट हटाउनुपर्छ किनकी जेनेटिक्स पनि म्यूटेसनबारे भविष्यवाणी गर्न सक्दैन । त्यसैगरी भूगर्भशास्त्रले पनि यदि भुकम्पबारे सटीक पूर्वानुमान गरेन भने यो पनि विज्ञान हुने भएन । त्यसो त हरेक विज्ञानमा कम वा बेसी यो कुरा लागू हुन्छ ।

पहिलो प्रतिउत्तरमा मार्क्स र एंगेल्सका उद्धरणहरूमार्फत उनीहरूले समाजवादको अघि वैज्ञानिक शब्द किन जोडेका थिए, ती उल्लेख गरिएको थियो । त्यसैको निरन्तरतामा आउनुहोस् अब लेनिनले मार्क्सवादलाई किन विज्ञानको श्रेणीमा राखेका थिए । लोहनीले उद्धरण लामो वा छोटो भयो भनेर बेवास्ता नगरुन्, बरु तिनलाई खारेज गर्ने प्रतितर्क गरुन् भन्ने अपेक्षा राखिएको छ । त्यसो भएको खण्डमा मात्र यो बहस रचनात्मक दिशातर्फ जान सक्ने सम्भावना छ ।

मार्क्सले समाजको गतिलाई प्राकृतिक–ऐतिहासिक प्रक्रियाका रूपमा हेरे, जुन त्यस्ता नियमहरूद्वारा सञ्चालित हुन्छ, जो मानिसहरूको इच्छा, चेतना र अभिप्रायबाट मात्र स्वतन्त्र हुँदैनन्, बरु यसको विपरीत, तिनको इच्छा, चेतना र अभिप्रायलाई नै निर्धारण गर्छन् । यदि मानिसहरूले आफ्नो इतिहास आफैँ बनाउँछन् भने, मानिसहरूका र विशेषगरी व्यापक जनसमुदायका प्रेरणाहरूलाई के कुराले निर्धारण गर्छ ? परस्पर विरोधी विचारहरू र आकांक्षाहरूबीचको द्वन्द्वलाई के कुराले जन्म दिन्छ ? मानव समाजका व्यापक जनसमुदायबीच हुने यी सबै द्वन्द्वहरूको समग्रता के हो ? मानवको सम्पूर्ण ऐतिहासिक गतिविधिको आधार निर्माण गर्ने भौतिक जीवनको उत्पादनका वस्तुगत अवस्थाहरू के हुन् र यी अवस्थाहरूको विकासको नियम के हो ? मार्क्सले यी सबै कुरातर्फ ध्यानाकर्षण गराए र इतिहासको अध्ययनलाई एउटा एकीकृत प्रक्रियाका रूपमा वैज्ञानिक ढङ्गले अध्ययन गर्ने मार्ग देखाए, यद्यपि इतिहासमा अत्यन्त ठूला विविधता र अन्तर्विरोधहरू छन् ।’ (लेनिन, जनताका साथीहरु को हुन् र उनीहरु सामाजिक जनवादीहरुसँग कसरी संघर्ष गर्छन् ?)

मानिसहरूले आफ्नो इतिहास आफैँ बनाउँछन् भने, मानिसहरूका र विशेषगरी व्यापक जनसमुदायका प्रेरणाहरूलाई के कुराले निर्धारण गर्छ ? परस्पर विरोधी विचारहरू र आकांक्षाहरूबीचको द्वन्द्वलाई के कुराले जन्म दिन्छ ? मानव समाजका व्यापक जनसमुदायबीच हुने यी सबै द्वन्द्वहरूको समग्रता के हो ? मानवको सम्पूर्ण ऐतिहासिक गतिविधिको आधार निर्माण गर्ने भौतिक जीवनको उत्पादनका वस्तुगत अवस्थाहरू के हुन् र यी अवस्थाहरूको विकासको नियम के हो ?

लोहनीले लेखकलाई मजदुरवर्गीय दृष्टिकोणबाट सामाजिक यथार्थको वस्तुनिस्ठ अध्ययन गर्न सकिन्छ भन्ने दाबीको स्रोत खोजेका थिए । यहाँ म उनको पुनः ध्यानाकर्षण गर्न चाहन्छु कि मार्क्स र मार्क्सवादीहरूका अनेकन लेखनीबाट यो स्पष्ट हुन्छ । मजदुर र शोषित वर्गको दृष्टिबाट यथार्थ हेर्ने र वस्तुनिस्ठ हुनुमा कुनै अन्तरविरोध छैन, किनकि मजदुर वर्गको भलाई सत्यको उजागर गर्नुमा नै छ । मौरिस कनफर्थले आफ्नो पुस्तक द्वन्द्वात्मक भौतिकवादमा यसै कुरालाई निम्न शब्दमा लेखेका छन्:

श्रमिक वर्ग बाहेकका, समाजको नेतृत्व गरेका र गर्न प्रयत्नमा रहेका सबै वर्गहरू शोषक वर्ग नै थिए उनीहरूको उपलब्धीहरू जे जस्ता भएपनि सबैखाले शोषक वर्गहरूले आफ्नो वास्तविक अवस्थिति र उदेश्यहरू आफूहरू माझ र शोषितहरूसँग पनि लुकाउनका लागि निरन्तर अनेकन तरिकाहरू अपनाएका थिए । यी उपायहरूद्वारा उनीहरूले आफ्नो शासन सर्वमान्य र अपरिवर्तनीय बनाउने प्रत्यत्न गर्दछन् । शोषक वर्गहरू कहिल्यै पनि शोषकको रूपमा आफ्नो वास्तविक अवस्थिती र उद्देश्यहरू पहिचान गर्न तयार छैनन् वा आफनो व्यवस्था पनि अस्थायी हो भन्ने स्वीकार गर्दैनन् ।’

श्रमिक वर्ग मात्र एउटा यस्तो वर्ग हो जो अर्को किसिमको शोषणकारी व्यवस्था बनाउने चाहना राख्दैन, बरू यस्तो मानिसले मानिसलाई शोषण गर्ने व्यवस्था भत्काउन चाहन्छ । यही कारणले गर्दा श्रमिक वर्गसँग लुकाउनु केहि छैन । यसलाई त वास्तविकता जस्तो छ त्यस्तै बुझ्नु छ । वस्तुगत स्थिति जति राम्ररी ग्रहण गर्यो संघर्षलाई उत्तिकै बल पुर्याउन सकिन्छ ।’

लेनिनले पनि स्पष्ट शब्दमा लेखेका थिए,  ‘निष्पक्ष’ भएर होइन मजदुर वर्गको दृष्टिकोणबाट नै समाजको वस्तुनिस्ठ अध्ययन गर्न सकिन्छ ।

द्वितीय विश्वयुद्धपछि विज्ञानको अर्थ बदलियो भन्ने लोहनीको दाबी छ । तर उनले आफ्नो लेखनमा यो परिभाषा कसले बदलेको हो भन्ने उल्लेख गरेका छैनन् । ‘उत्तरआधुनिकतावादीको योगदान’बारेमा पनि उनले स्पष्ट शब्दमा केही लेखेका छैनन् ।

वर्ग संघर्षमा कुनै पनि सामाजिक विज्ञान निष्पक्ष हुन सक्दैन । एक र अर्को बहानामा सबैखाले वैधानिक र नवउदारवादी विज्ञान पुँजीको शोषणको बचाउ गर्दछन्, मार्क्सवादले मात्र पुँजीको शोषणको विरूद्ध अथक युद्ध जारी राखेको छ । श्रम शोषण व्याप्त समाजमा विज्ञान निष्पक्ष भएको दाबी गर्नु भनेको उत्पादकहरूसँग आफ्नो लगानीबाट आउने नाफा घटाएर श्रमिकको ज्याला बढाउनु पर्छ भन्नेमा अपेक्षा राखी निष्पक्षता खोज्नु जस्तै मुर्खता हो ।’ (लेनिन, मार्क्सवादका तीन स्रोत र तीन संघटक अंग)

द्वितीय विश्वयुद्धपछि विज्ञानको अर्थ बदलियो भन्ने लोहनीको दाबी छ । तर उनले आफ्नो लेखनमा यो परिभाषा कसले बदलेको हो भन्ने उल्लेख गरेका छैनन् । ‘उत्तरआधुनिकतावादीको योगदान’बारेमा पनि उनले स्पष्ट शब्दमा केही लेखेका छैनन् । उत्तरआधुनिकतावादीहरूको योगदान हो कि विज्ञानको परिभाषा र अमुर्तिकरण र सामान्यीकरणको वैज्ञानिक विधिमाथिको प्रहार हो ? विज्ञानलाई औपनिवेशिक इतिहाससँग जोडेर पूर्ण रूपमा खारेज गर्ने उत्तर–आधुनिकतावादीहरूप्रतिको लोहनीको मोह अप्रत्यासित भने लाग्दैन । पुनः विज्ञानको परिभाषातर्फ नै जाऊँ, दोस्रो विश्वयुद्धपछि विश्वभरका वैज्ञानिकले आमसहमतिमा विज्ञानको परिभाषा बदलेको हो ? यदि त्यस्तै हो भने लोहनीले यसको स्रोतबारे पनि खुलाउनु पर्ने हो । लेखकको जानकारी अनुसार विज्ञान शब्दको परिभाषामा दोस्रो विश्वयुद्धपछि कुनै विशेष र गुणात्मक अर्थ फेरिने गरी परिवर्तन आएको छैन । विज्ञान (Science)  शब्दको प्रयोग आज पनि त्यही अर्थमा गरिन्छ जस्तो १९ औं शताब्दीमा हुने गरेको थियो । प्राक–आधुनिक युगमा भने विज्ञान शब्दको उपयोग भिन्न अर्थमा हुने गर्दथ्यो । पूर्वीय शास्त्रहरुमा यो शब्दलाई अरु विभिन्न अर्थमा पनि प्रयोग गर्ने गरिन्थ्यो, त्यसबारे यहाँ अहिले चर्चा गर्नु आवश्यक छैन । तर, संसारैभरि मूलतः १८ र १९ औं शताब्दीपछि आधुनिक विज्ञानको अर्थमा नै यसको प्रयोग हुँदै आएको छ । जर्मन शब्द विजेनक्याफ्ट (Wissenschaft)  पनि प्रकृति विज्ञान र सामाजिक विज्ञान दुबै समावेश छन् । फेरि यो बहसको मर्म शब्दका खेलहरु र अर्थका बदलावहरुसँग होइन भन्नेमा प्रष्ट हुन आवश्यक छ (त्यस्तो बहस पनि अर्कै सन्दर्भमा गर्न सकिन्छ) ।

मार्क्सवाद कुन अर्थमा विज्ञान हो भन्ने सन्दर्भमा लेनिनको एउटा भनाइ फेरि हेरौंः

दर्शन र सामाज विज्ञानको इतिहासले पूर्ण स्पष्टताका साथ देखाउँछन् मार्क्सवादमा विश्व सभ्यताको विकासको मूल मार्गबाट अलग भएर उत्पन्न भएको, जड र रूढिवादी सिद्धान्तको अर्थमा ‘सम्प्रदायवाद’ जस्तो कुनै विशेषता छैन । यसको विपरीत, मार्क्सको प्रतिभा ठीक यही कुरामा निहित थियो कि उनले मानवजातिका अग्रणी प्रतिभाशाली व्यक्तिहरूले पहिले नै उठाइसकेका प्रश्नहरूको उत्तर प्रस्तुत गरे । उनको सिद्धान्त दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवादका महानतम शिक्षकहरूको शिक्षाको प्रत्यक्ष र अविच्छिन्न निरन्तरताका रूपमा विकसित भयो ।’ (लेनिन, पूर्ववत)

मार्क्सवाद धर्मशास्त्र होइन, मार्क्स वा एंगेल्सले के–के लेखे त्यो मात्रै होइन । यसको विकास पनि विकसित समाजका विकसित यथार्थको वस्तुगत अध्ययन र निर्मम आलोचनाबाटै हुँदै आएको हो । तर, दार्शनिक अर्थमा निरन्तर संशय गर्नु भनेको व्यक्ति संशयवादी (Skepticism)  दिशातर्फ जानु हो ।

लोहनीले निरन्तर संशयलाई विज्ञानको एक प्रमुख विशेषता भनेका छन् । निरन्तर संशयको अर्थ यदि कुनै सिद्धान्तलाई आलोचनात्मक रूपमा हेर्नु, त्यसमा निरन्तर प्रश्न गर्नु र परीक्षण गरिरहनु हो भने त मार्क्सवादमा यही विशेषता प्रमुख विशेषताका रुपमा छ । मार्क्सवाद धर्मशास्त्र होइन, मार्क्स वा एंगेल्सले के–के लेखे त्यो मात्रै होइन । यसको विकास पनि विकसित समाजका विकसित यथार्थको वस्तुगत अध्ययन र निर्मम आलोचनाबाटै हुँदै आएको हो । तर, दार्शनिक अर्थमा निरन्तर संशय गर्नु भनेको व्यक्ति संशयवादी (Skepticism)  दिशातर्फ जानु हो । निरन्तर संशयमा फँसेपछि मार्क्सवाद विज्ञान हो कि होइन भन्ने प्रश्नमा मात्रै सीमित रहदैंन, यो संशय गहिरिदैं जान्छ । यसको निरन्तरताको प्रश्न र संशय मानिसले भौतिक जगतलाई बुझ्न सक्छ कि सक्दैन या यो भौतिक जगतकै अस्तित्वको छ कि छैन भन्नेसम्म पनि पुग्छ । त्यसैले निरन्तर संशयको यात्रा मार्क्सवादबाट कान्ट र ह्युमतिर या भनौं दर्शनको उल्टो दिशातर्फ बढ्न थाल्छ र अन्तत यसको विर्सजन अज्ञेयवाद हुँदै भाववादमा गएर हुन्छ । दार्शनिक रूपमा निरन्तर संशयले तपार्इंलाई भौतिकवादमाथि पनि शङ्का गर्ने दिशामा लिएर जान्छ । हो, हामीले दृढ रूपमा जडसुत्रवादको विरोध गर्नै पर्छ तर यो प्रकृयामा संशयवादको खाल्डोमा गएर जाकिनबाट भने जोगिनै पर्छ । लोहनी दार्शनिक रुपमा संशयवादमा फस्न स्वतन्त्र छन् । त्यसै हो भने उनले स्पष्ट रूपमा ऐतिहासिक संशयवादको धार बनाउन उचित हुन्छ, मार्क्सवादी आवरणभित्रै असजिलो मानीमानी बस्नुभन्दा । सुसंगत भौतिकवादी हो या होइन भन्ने जटिल प्रश्न भएको बेला बहस केवल ‘विज्ञान’ शब्दको शाब्दिक अर्थ वा परिभाषाभित्र खोज्ने होइन, बरु बहसलाई दर्शनतिर केन्द्रित गरिनु आवश्यक छ– जसको एक्कापट्टी ऐतिहासिक भौतिकवाद छ भने अर्को दिशातर्फ ऐतिहासिक संशयवाद छ । यो बहस अब दुई विश्व दृष्टिकोणबीचको बहसको दिशातर्फ जान खोजेको प्रतीत हुँदैछ ।

अन्त्यमा, लेनिनले एक प्रसिद्ध उक्तिमा भन्नुभएको थियो ‘क्रान्तिको इतिहासबारे किताब लेख्नुभन्दा स्वयम् क्रान्तिमा सहभागी हुनु बढी आनन्ददायी र फलदायी काम हो ।’ ठीक त्यसरी नै भन्न सकिन्छ, ‘विज्ञान’ शब्दको अर्थ र परिभाषा के हो र के होइन भन्ने शब्दजालयुक्त बुद्धिविलास वा तर्कबाजीमा अल्झनुभन्दा वर्गभेद अन्त्यको वैज्ञानिक उपक्रममा सामेल हुनु बढी श्रेयस्कर कर्म हो ।

सम्बन्धित सामग्रीहरु

के मार्क्सवाद विज्ञान नै हो ?

मार्क्सवाद र विज्ञानको संकथन: ऐतिहासिक रूपान्तरण र नेपाली वामपन्थी दृष्टिकोण

मार्क्सवादलाई विज्ञान भन्नुको तात्पर्य के हो?

मार्क्सवाद अकाट्य विज्ञान हो

विज्ञानको मापदण्ड र मार्क्सवाद: वस्तुनिष्ठता, पुनरावृत्ति र मिथ्याकरणीयताको प्रश्न

विज्ञानलाई बुझ्ने द्वन्द्वात्मक दृष्टिकोण