राउल क्यास्ट्रो विरुद्धको अभियोग: युद्धका लागि बहाना
निकोलस ग्रेभन
क्युबा विरुद्ध हुने हिंसा र आतंकवादलाई वाशिङ्गटनले लामो समयदेखि आँखा चिम्लँदै आएको छ तर क्युबाले त्यसको प्रतिरोध गर्दा भने उसलाई सह्य हुँदैन। यो दोहोरो मापदण्ड अहिले फेरि एक पटक प्रष्ट रूपमा देखिएको छ। ट्रम्प प्रशासनले तीस वर्षअघि दुईवटा विमान खसालेको आरोपमा क्युबाका पूर्व राष्ट्रपति राउल क्यास्ट्रो विरुद्ध अभियोग दर्ता गर्ने तयारी गरिरहेको छ । जबकि अमेरिकी सेनाले क्यारिबियन र पूर्वी प्रशान्त महासागरमा नियमित रूपमा डुङ्गाहरू ध्वस्त पार्ने गर्दछ, जसमा करिब २०० जना मानिसहरू विना कुनै कानूनी कारबाही मारिने गर्छन्।
सन् १९९६ मा मियामीस्थित समूह 'ब्रदर्स टु द रेस्क्यु' का दुईवटा सेसना विमानहरू खसालिएको घटना कुनै आकस्मिक वा सन्दर्भहीन कार्य थिएन। यो घटना बारम्बारका उत्तेजनात्मक गतिविधि र घुसपैठ, थुप्रै चेतावनीहरू, र खुला रूपमा मुठभेड चाहने राजनीतिक समूहलाई नियन्त्रण गर्न अमेरिकी सरकारले गरेको इन्कारको परिणाम थियो।
मियामी र वाशिङ्गटनमा यसलाई चार जना व्यक्तिको मृत्युको लागि ढिलो गरी गरिएको उत्तरदायित्वको खोजीका रूपमा प्रस्तुत गरिएको छ। तर, यो प्रस्तावित अभियोग पुरानै परिचित जगमा उभिएको छ: चयनात्मक आक्रोश, ऐतिहासिक विस्मृति, र कानूनी अपवादवाद।
उद्धार अभियानदेखि उत्तेजनासम्म
'ब्रदर्स टु द रेस्क्यु' को स्थापना जोसे बासुल्टोद्वारा गरिएको थियो । जो असफल 'बे अफ पिग्स' आक्रमणका सहभागी र क्युबा विरुद्ध हिंसात्मक गतिविधिमा संलग्न सीआइएका सहयोगी थिए। सन् १९६१ मा बासुल्टो हवानाको एक मिसाइल बेसमा बम विष्फोट गर्ने षड्यन्त्रमा संलग्न थिए। 'द एटलान्टिक' का अनुसार, एक वर्षपछि उनले २० एमएमको तोप जडान गरिएको एउटा डुङ्गालाई हवानाको तटमा पुर्याउन मद्दत गरे र हर्नेडो डे रोजिटा होटलमा गोलाबारी गरे, जहाँ फिडेल क्यास्ट्रो खाना खाइरहेका होलान् भन्ने उनले विश्वास गरेका थिए।
'ब्रदर्स टु द रेस्क्यु' को स्थापना जोसे बासुल्टोद्वारा गरिएको थियो । जो असफल 'बे अफ पिग्स' आक्रमणका सहभागी र क्युबा विरुद्ध हिंसात्मक गतिविधिमा संलग्न सीआइएका सहयोगी थिए।
बासुल्टोले भनेका थिए, "मलाई संयुक्त राज्य अमेरिकाले आतंकवादीको रूपमा तालिम दिएको थियो।"
तलको विवरण मुख्यतया विलियम एम. लियोग्रान्डे र पिटर कोर्नब्लुहको पुस्तक 'ब्याक च्यानल टु क्युबा' (Back Channel to Cuba) मा आधारित छ, जसले 'ब्रदर्स टु द रेस्क्यु' को विमान खसाल्नुअघिका कूटनीतिक आदानप्रदान र घटनाक्रमहरूलाई दस्ताबेजीकरण गरेका छन्।
सन् १९९१ मा 'ब्रदर्स टु द रेस्क्यु' ले क्युबाली शरणार्थीहरूका लागि खोजी र उद्धार अभियानहरू उडाएर आफ्नो यात्रा सुरु गरेको थियो। तर सन् १९९४ को अध्यागमन सम्झौतापछि फ्लोरिडा स्ट्रेट्स पार गर्ने आप्रवासीहरूको प्रवाहमा भारी गिरावट आएपछि, यो समूहले उद्धार कार्य छोडेर प्रत्यक्ष उत्तेजनात्मक गतिविधिहरू सुरु गर्यो।
क्युबाका लागि तत्कालीन ह्वाइट हाउसका विशेष सल्लाहकार रिचर्ड नुसियो सम्झन्छन्:
"उनीहरूले क्युबाली सरकारलाई हैरान पार्ने र धम्क्याउने राजनीतिक एजेन्डा बोकेर काम गर्न थाले।"
'ब्रदर्स टु द रेस्क्यु' का पाइलटहरूले बारम्बार क्युबाली हवाई क्षेत्रको उल्लंघन गरे। उनीहरूले हवाना माथि धार्मिक पदकहरू र सरकार विरोधी पर्चाहरू खसाले। लियोग्रान्डे र कोर्नब्लुहले दस्ताबेजीकरण गरे अनुसार, एउटा पर्चामा क्युबालीहरूलाई "अहिले नै परिवर्तन ल्याउनुहोस्" भनी आग्रह गरिएको थियो।
बासुल्टो यी उडानहरूको उद्देश्यबारे स्पष्ट थिए। सन् १९९५ मा हवाना माथिको एक उडानपछि उनले घोषणा गरेका थिए:
"हामी मुठभेड चाहन्छौं।"
उनका अनुसार यो अभियानको उद्देश्य त्यहाँको शासन अभेद्य छैन भनेर देखाउनु थियो।
क्युबाली सरकारले वाशिङ्गटनलाई यी उडानहरू गैरकानूनी र खतरनाक भएको भन्दै बारम्बार चेतावनी दियो। क्युबाली अधिकारीहरूले कूटनीतिक विरोध दर्ता गरे, संघीय उड्डयन प्रशासन (FAA) लाई प्रमाणहरू पठाए, र स्पष्ट पारे कि यदि यो घुसपैठ जारी रहेमा क्युबाले विमानहरू खसाल्न सक्छ।
क्युबाली सरकारले वाशिङ्गटनलाई यी उडानहरू गैरकानूनी र खतरनाक भएको भन्दै बारम्बार चेतावनी दियो।
अमेरिकी अधिकारीहरूलाई यो खतरा वास्तविक छ भन्ने थाहा थियो। नेशनल सेक्युरिटी आर्काइभद्वारा प्राप्त सन् १९९६ जनवरीको एउटा इमेलमा, एफएए (FAA) अधिकारी सेसिलिया कापेस्टानीले आफ्ना वरिष्ठहरूलाई जानकारी दिएकी थिइन् कि, "कुनै दिन क्युबालीहरूले यी मध्ये एउटा विमान खसाल्नेछन्।"
यति हुँदाहुँदै पनि वाशिङ्गटनले ती उडानहरू रोक्न सकेन। क्युबाली अधिकारीहरूले सञ्चारका हरेक माध्यमहरू– कूटनीतिक नोट, सैन्य ब्रिफिङ, मध्यस्थकर्ता, र अनौपचारिक माध्यमहरू प्रयोग गरेर आफ्नो धैर्यता समाप्त भइसकेको कुरा स्पष्ट पारेका थिए।
२४ फेब्रुअरी १९९६ मा, 'ब्रदर्स टु द रेस्क्यु' का तीनवटा सेसना विमानहरूले समुद्रमा शरणार्थीहरू खोजिरहेको झुटो उडान योजना दर्ता गरेर फ्लोरिडाबाट उडान भरे। वास्तवमा, यो मिसन पुनः क्युबाली हवाई क्षेत्रभित्र प्रवेश गर्ने उद्देश्यले गरिएको थियो।
जब विमानहरू टापु नजिक पुगे, क्युबाली कन्ट्रोलरहरूले तुरुन्तै उनीहरूलाई आफ्नो हवाई क्षेत्र पार नगर्न चेतावनी दिए।
जब विमानहरू टापु नजिक पुगे, क्युबाली कन्ट्रोलरहरूले तुरुन्तै उनीहरूलाई आफ्नो हवाई क्षेत्र पार नगर्न चेतावनी दिए। उनीहरूले चेतावनी दिए, "त्यस तर्फ प्रवेश गर्दा तपाईंहरू खतरामा पर्नुहुनेछ।"
नेशनल सेक्युरिटी आर्काइभमा दर्ता भए अनुसार, बासुल्टोले जवाफ दिए:
"हामी यसका लागि तयार छौं। स्वतन्त्र क्युबालीका रूपमा यो हाम्रो अधिकार हो।"
त्यसको केही समयपछि, क्युबाली लडाकु विमानहरूले दुईवटा विमानलाई खसालिदिए, जसमा सवार सबै चार जनाको मृत्यु भयो। बासुल्टोको विमान भने मियामी फर्कन सफल भयो।
त्रासदीको स्वार्थपूर्ण प्रयोग
'ब्रदर्स टु द रेस्क्यु' का विमानहरू खसालिएको घटनालाई क्युबालाई दानवीकरण गर्न मात्र प्रयोग गरिएन, बरु यसले दशकौंसम्मका लागि अमेरिकी नीतिलाई नै नयाँ मोड दियो।
यस घटनाअघि, क्लिन्टन प्रशासनले हवाना सँग सीमित सम्बन्ध सुधारका बाटाहरू सावधानीपूर्वक खोजिरहेको थियो। तर विमान खसालिएपछि, कंग्रेसका कट्टरपन्थीहरूले यस अवसरलाई छोपे। ह्वाइट हाउस भित्रै केही अधिकारीहरूले अति-प्रतिक्रिया नजनाउन चेतावनी दिएका थिए। रिचर्ड नुसियोले वरिष्ठ सल्लाहकार स्यान्डी बर्जरलाई भनेका थिए– "'ब्रदर्स टु द रेस्क्यु' आगोसँग खेलिरहेको थियो, उनीहरूले जे चाहेका थिए, त्यही परिणाम पाए।"
'ब्रदर्स टु द रेस्क्यु' का विमानहरू खसालिएको घटनालाई क्युबालाई दानवीकरण गर्न मात्र प्रयोग गरिएन, बरु यसले दशकौंसम्मका लागि अमेरिकी नीतिलाई नै नयाँ मोड दियो।
तर त्यो चेतावनीलाई बेवास्ता गरियो। बिल क्लिन्टनले तुरुन्तै 'हेल्म्स–बर्टन एक्ट' (Helms–Burton Act) लाई समर्थन गरे, जसले क्युबा विरुद्धको अमेरिकी नाकाबन्दीलाई कानूनी रूप दियो। यसको 'शीर्षक ३' (Title III) मार्फत यसको क्षेत्राधिकार विस्तार गरियो, जसले अमेरिकी नागरिकहरूलाई क्युबाली क्रान्तिपछि राष्ट्रियकरण गरिएका सम्पत्तिहरू "ओसारपसार" गर्ने विदेशी कम्पनीहरू विरुद्ध मुद्दा हाल्ने अधिकार दियो। क्लिन्टन र त्यसपछिका हरेक राष्ट्रपतिले दुई दशकभन्दा बढी समयसम्म 'शीर्षक ३' लाई निलम्बन गरे, तर सन् २०१९ मा डोनाल्ड ट्रम्पले यस प्रावधानलाई सक्रिय पारिदिए। यसले गर्दा दर्जनौं मुद्दाहरू दर्ता भए र टापुबाट विदेशी लगानी बाहिरिने अवस्था सिर्जना भयो।
न्याय विभागको अभियोगमा फ्लोरिडामा आधारित चरमपन्थीहरूले क्युबालाई निशाना बनाएको लामो र हिंसात्मक इतिहास गायब छ, जुन आजसम्म पनि जारी छ।
'ब्रदर्स टु द रेस्क्यु' को विमान खसालिएको घटना 'क्युबान फाइभ' (Cuban Five) मध्येका एक हेरार्डो हर्नान्डेज विरुद्धको मुद्दामा पनि केन्द्रिय बन्यो। 'क्युबान फाइभ' ती गुप्तचरहरूको समूह थियो जसलाई क्युबाका नागरिकमाथि आक्रमण गर्ने आतंकवादी संगठनहरूको निगरानी गर्न दक्षिण फ्लोरिडा पठाइएको थियो। सन् १९९८ मा क्युबाली अधिकारीहरूले एफबिआईलाई अमेरिकाद्वारा आर्थिक सहयोग प्राप्त दर्जनौं आतंकवादी षड्यन्त्रहरूको विस्तृत दस्ताबेज बुझाएका थिए। तर, एफबिआईले ती आतंकवादी सञ्जालमा छिरेका एजेन्टहरूलाई नै पक्राउ गरेर प्रतिक्रिया जनायो। सन् २००१ मा एक अत्यन्त विवादास्पद मुद्दामार्फत हर्नान्डेजलाई विमान खसाल्ने निर्णयमा संलग्न भएको, आदेश दिएको वा पूर्व जानकारी भएको कुनै प्रमाण नहुँदा नहुँदै पनि षड्यन्त्रको आरोपमा दोषी ठहर गरियो।
झण्डै तीन दशकपछि, सोही घटनालाई व्यापक सन्दर्भबाट अलग गरेर पुनः क्यास्ट्रोलाई निशाना बनाउन हतियारका रूपमा प्रयोग गरिँदैछ। न्याय विभागको अभियोगमा फ्लोरिडामा आधारित चरमपन्थीहरूले क्युबालाई निशाना बनाएको लामो र हिंसात्मक इतिहास कतै उल्लेख छैन, जुन सिलसिला आजसम्म पनि रोकिएको छैन।
झण्डै तीन दशकपछि, सोही घटनालाई व्यापक सन्दर्भबाट अलग गरेर पुनः क्यास्ट्रोलाई निशाना बनाउन हतियारका रूपमा प्रयोग गरिँदैछ।
फ्लोरिडामा आधारित आतंकवाद र दशकौँको दण्डहीनता
२५ फेब्रुअरी, २०२६ मा, १० जना सशस्त्र व्यक्तिहरू बोकेको फ्लोरिडामा दर्ता भएको एउटा डुङ्गाले क्युबाको उत्तरी तटबाट एक माइल टाढा क्युबाली तटरक्षक बलसँग दोहोरो भिडन्त गर्यो। क्युबाको गृह मन्त्रालयका अनुसार, ती व्यक्तिहरूले पहिले गोली चलाएका थिए, जसमा एक क्युबाली कमाण्डर घाइते भए। भिडन्तपछि पाँच जना मारिए र डुङ्गा कब्जामा लिइयो। उक्त डुङ्गाबाट १२,००० राउन्डभन्दा बढी गोली, स्नाइपर राइफल, मोलोटोभ ककटेल (पेट्रोल बम), बुलेटप्रुफ ज्याकेट र नाइट भिजन उपकरणहरू बरामद गरियो। डुङ्गामा सवार सबै १० जना अमेरिकामा बसोबास गर्ने क्युबाली मुलका नागरिक भएको बताइएको छ।
यो घटना अमेरिकी भूमिबाट क्युबा विरुद्ध निर्देशित सशस्त्र आक्रमण, तोडफोड र आतंकवादको दशकौँ लामो अभियानको पछिल्लो कडी मात्र हो। यस्ता गतिविधिहरू प्रायः दण्डहीनताका साथ र कहिलेकाहीँ मियामी र वाशिङ्गटनको मौन राजनीतिक संरक्षणमा हुने गरेका छन्।
यसको सबैभन्दा कुख्यात उदाहरण क्युबाना फ्लाइट ४५५' हो। सन् १९७६ मा बार्बाडोसको तट नजिकै विस्फोट गराइएको उक्त नागरिक विमानको बम विष्फोटमा ओर्लान्डो बोश र लुइस पोसाडा कारिलेसलाई मुख्य योजनाकार मानिन्छ। उक्त विष्फोटमा सवार सबै ७३ जनाको मृत्यु भएको थियो। त्यस समयमा, यो पश्चिमी गोलार्धमा हवाई आतंकवादको सबैभन्दा घातक घटना थियो। पीडितहरूमा बालबालिकाहरू र क्युबाको राष्ट्रिय फेन्सिङ टोलीका सबै सदस्यहरू सामेल थिए।
एफबिआईले पछि बोशको संगठन 'कोअर्डिनेसन अफ युनाइटेड रिभोलुसनरी अर्गनाइजेसन' (CORU) लाई "क्यास्ट्रो विरोधी आतंकवादी छाता संगठन" को रूपमा वर्णन गरेको थियो भने पूर्व अमेरिकी महान्यायाधिवक्ता डिक थोर्नबर्गले बोशलाई "पश्चात्तापविहिन आतंकवादी" भनेका थिए। पोसाडा कारिलेस पनि दशकौँसम्म चलेका हिंसात्मक अपरेशनहरूको लामो श्रृंखलामा संलग्न थिए, जसमा १९९७ मा हवाना का होटलहरूलाई लक्षित गरी गरिएको बम विष्फोट पनि समावेश थियो, जसमा एक इटालियन पर्यटकको मृत्यु भएको थियो र धेरैजना घाइते भएका थिए।
बोश र पोसाडा कारिलेसलाई कारबाही गर्नुको सट्टा अमेरिकाले अन्ततः दुवैलाई संरक्षण दियो। सन् १९९० मा, राष्ट्रपति जर्ज एच. डब्लु. बुशले बोशलाई देशमा बस्न अनुमति दिए, जबकि १९८९ मा न्याय विभागले उनको विगत र वर्तमानका आतंकवादी गतिविधिहरूको ठोस प्रमाण उद्धृत गर्दै उनलाई देशनिकाला गर्ने निर्णय गरेको थियो। यसैबीच, पोसाडा कारिलेस क्युबाना विमान विष्फोटको मुद्दामा ट्रायलको पर्खाइमा रहँदा भेनेजुएलाको जेलबाट भागे र पछि 'इरान-कन्ट्रा' काण्डको समयमा मध्य अमेरिकामा पुनः देखा परे। सन् २००५ मा अवैध रूपमा अमेरिका प्रवेश गरेपछि, पोसाडा कारिलेसलाई भेनेजुएला वा क्युबामा सुपुर्दगी हुनबाट बचाइयो र क्युबाना विमान विष्फोटका लागि अमेरिकामा उनीमाथि कहिल्यै मुद्दा चलाइएन।
बोश र पोसाडा कारिलेसलाई कारबाही गर्नुको सट्टा अमेरिकाले अन्ततः दुवैलाई संरक्षण दियो। सन् १९९० मा, राष्ट्रपति जर्ज एच. डब्लु. बुशले बोशलाई देशमा बस्न अनुमति दिए, जबकि १९८९ मा न्याय विभागले उनको विगत र वर्तमानका आतंकवादी गतिविधिहरूको ठोस प्रमाण उद्धृत गर्दै उनलाई देशनिकाला गर्ने निर्णय गरेको थियो।
पोसाडा कारिलेस र बोश दुवै आफ्नो मृत्यु नहुञ्जेल मियामीमा स्वतन्त्र रूपमा बसे।
मियामी: दोहोरो मापदण्डको केन्द्रविन्दु
क्युबाप्रति अमेरिकी नीतिको आधार रहेको दोहोरो मापदण्डका लागि मियामी ग्राउन्ड जिरो हो। यस सहरको राजनीतिमा वर्चस्व जमाएका क्युबाली-अमेरिकी कट्टरपन्थीहरूले लामो समयदेखि "स्वतन्त्रता" र "मानव अधिकार" को नाममा क्युबा विरुद्ध हिंसा, आतंकवाद र सामूहिक सजायको वकालत गर्दै आएका छन्। स्वभाविक रूपमा, क्यास्ट्रो विरुद्ध अभियोग चलाउने वर्तमान दबाब फ्लोरिडाका क्युबाली-अमेरिकी कट्टरपन्थीहरूले न्याय विभागलाई त्यसो गर्न आग्रह गरेको तीन महिनापछि आएको हो।
फ्लोरिडाका रिपब्लिकन सांसद मारियो डियाज-बलार्टले युएसए टुडे लाई भनेका छन्:
"यो मैले लामो समयदेखि सोचेको र गर्न चाहेको कुरा थियो। र मलाई लाग्यो कि यो काम गर्ने राष्ट्रपति नै यिनै ट्रम्प हुन्।"
क्युबामाथि मुद्दा, वाशिङ्गटन कानूनभन्दा माथि
यो कपटपूर्ण व्यवहार फ्लोरिडा स्ट्रेट्समा मात्र सीमित छैन। यस शताब्दीको सुरुदेखि नै अमेरिकाले युद्धको घोषणा नगरी, संयुक्त राष्ट्र संघको अनुमति बिना र प्रायः नागरिक पीडितहरूको वास्ता नगरी धेरै देशहरूमा बमबारी गरेको छ। हालैका दिनहरूमा क्यारिबियन र प्रशान्त क्षेत्रमा अमेरिकाले जुन स्तरको दण्डहीनताका साथ सैन्य आक्रमणहरू गरेको छ, त्यसको तुलनामा सन् १९९६ को क्युबाको कदम निकै संयमित देखिन्छ।
वाशिङ्गटन र मियामीले तीन दशक पुरानो घटनालाई लिएर एक ९४ वर्षीय वृद्ध विरुद्ध अभियोगको तयारी गरिरहँदा, ट्रम्प प्रशासनले पछिल्ला महिनाहरूमा अन्तर्राष्ट्रिय जलक्षेत्रमा डुङ्गामा सवार मानिसहरूलाई विना कुनै जवाफदेहीता मारिरहेको छ। सन् २०२५ सेप्टेम्बरदेखि अमेरिकाले 'अपरेशन सदर्न स्पियर' अन्तर्गत क्यारिबियन र प्रशान्त क्षेत्रका जहाजहरूमाथि झण्डै ६० वटा सैन्य आक्रमण गरिसकेको छ, जसमा "लागुऔषध तस्कर" र "आतंकवादी संगठन" लाई लक्षित गरिएको दाबी गरिएको छ।
वाशिङ्गटन र मियामीले तीन दशक पुरानो घटनालाई लिएर एक ९४ वर्षीय वृद्ध विरुद्ध अभियोगको तयारी गरिरहँदा, ट्रम्प प्रशासनले पछिल्ला महिनाहरूमा अन्तर्राष्ट्रिय जलक्षेत्रमा डुङ्गामा सवार मानिसहरूलाई विना कुनै जवाफदेहीता मारिरहेको छ।
यी अपरेशनहरूमा कम्तीमा १९३ जना मारिएका छन्। यसमा प्रयोग गरिएका रणनीतिहरूमा छद्मभेषी सैन्य विमानहरू र 'डबल ट्याप' स्ट्राइकहरू (पहिले नै ध्वस्त भइसकेको जहाजमा बाँचेकाहरूलाई मार्न गरिने दोस्रो आक्रमण) सामेल छन्। यसबारे जनतालाई कुनै प्रमाण दिइएको छैन । स्याटेलाइट तस्बिरहरू गोप्य राखिएका छन् र मारिएकाहरूको नाम समेत सार्वजनिक गरिएको छैन। अमेरिकी सैन्य शक्तिका पीडितहरूलाई सार्वजनिक रूपमा चिनिने सम्मान समेत विरलै दिइन्छ।
यी गैर-न्यायिक हत्याहरूले अमेरिकी विदेश नीतिको परिचित दोहोरो मापदण्ड झल्काउँछन्: अमेरिकाको आफ्नै हिंसा वैध हुन्छ, जबकि उसका विरोधीहरूको हिंसा आत्मरक्षाकै मामिलामा पनि अवैध मानिन्छ।
सत्ता परिवर्तनलाई 'न्याय' को रूपमा पुनः प्याकेजिङ
यो विचाराधीन अभियोग दशकौँ पुरानो हिसाब चुक्ता गर्ने साधन मात्र होइन; बरु, यसले कमजोर फौजदारी आरोपहरूलाई 'सत्ता परिवर्तन' र सम्भवतः सैन्य हस्तक्षेपका लागि कानूनी बहानामा बदल्ने वर्तमान विदेश नीतिलाई मद्दत गर्दछ।
एनबीसी न्यूज का अनुसार, ट्रम्प क्युबाली सरकारले सत्ता टिकाइराख्न सकेकोमा झन् झन् निराश बन्दै गएका छन् र अभूतपूर्व प्रतिबन्ध र इन्धन नाकाबन्दीले मानवीय संकट निम्त्याउँदा पनि किन सत्ता ढलेन भनी आफ्ना सल्लाहकारहरूलाई सोधिरहेका छन्। प्रशासनका अधिकारीहरूले क्युबाली सरकार यसै वर्षको अन्त्यसम्ममा ढल्ने विश्वास गरे पनि ट्रम्पलाई यो समयसीमा अपर्याप्त लागेको छ।
ट्रम्प क्युबाली सरकारले सत्ता टिकाइराख्न सकेकोमा झन् झन् निराश बन्दै गएका छन् र अभूतपूर्व प्रतिबन्ध र इन्धन नाकाबन्दीले मानवीय संकट निम्त्याउँदा पनि किन सत्ता ढलेन भनी आफ्ना सल्लाहकारहरूलाई सोधिरहेका छन्।
आर्थिक युद्धले क्युबाली सरकार ढाल्न असफल भएपछि रक्षा मन्त्रालयले क्युबा विरुद्ध सम्भावित सैन्य कारबाहीको योजना बनाइरहेको छ। अब कमी छ त केवल एउटा कानूनी बहानाको। भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अपहरण गर्न जायज ठहराइएको लागुऔषध-आतंकवादको आरोप क्युबामा सजिलै लागू गर्न सकिँदैन। दशकौँदेखि अमेरिकी गुप्तचर समुदायको साझा निष्कर्ष छ कि क्युबाले आतंकवादलाई संरक्षण दिँदैन। साथै, स्टेट डिपार्टमेन्टले लामो समयदेखि क्युबालाई लागुऔषध नियन्त्रणमा अमेरिकाको मुख्य साझेदार मान्दै आएको छ।
यस्तो अवस्थामा क्यास्ट्रो विरुद्धको अभियोगले सैन्य कारबाहीका लागि एउटा कमजोर भए पनि कानूनी आधार प्रदान गर्ने देखिन्छ। यो मुद्दा जवाफदेहीताको दीर्घकालीन खोजी नभई वाशिङ्गटनले क्युबा विरुद्ध सुरु गर्न लागेको नयाँ र थप हिंसात्मक चरणको कानूनी जग मात्र हो।
स्रोत: https://www.bellyofthebeastcuba.com
Image: https://ichef.bbci.co.uk
पुटिनको चीन भ्रमण !
जब पश्चिमाहरूका लागि जिहाद उपयोगी बन्यो
क्युबाद्वारा इन्धन भण्डार समाप्त भएको घोषणा; अमेरिकी नाकाबन्दी मुख्य कारण
युक्रेनद्वारा रुसको राजधानी मस्कोमा ड्रोन आक्रमण
अस्ताउँदो महाशक्ति र उदाउँदो शक्तिको भेट: ट्रम्पको चीन भ्रमण
ट्रम्पको बेइजिङ भ्रमण र एसियामा नयाँ शीतयुद्ध
अमेरिकाले इरानमाथि गरेको युद्धका कारण सिर्जित नयाँ विश्वव्यापी खाद्य संकटका ल…
प्रतिक्रिया