आत्म-निर्णयको अधिकारका लागि पुनः आह्वान: पोलिसारियो फ्रन्टले सहरावी गणतन्त्रको ५०औँ वार्षिकोत्सव मनायो

पोलिसारियो फ्रन्टले अल्जेरियाको टिन्डौफमा गत बुधबार एक विशाल सैन्य कवाजको आयोजना गर्दै 'सहरावी अरब लोकतान्त्रिक गणतन्त्र' (एसएडिआर) घोषणाको ५०औँ वार्षिकोत्सव मनाएको छ। यस अवसरमा पश्चिमी सहाराको स्वतन्त्रता र आत्म-निर्णयका लागि दशकौँदेखि चलिरहेको संघर्षलाई पुनः पुष्टि गरिएको छ।

यो वार्षिकोत्सव २७ फेब्रुअरी १९७६ को सम्झना हो, जब स्पेनले उक्त क्षेत्र छोडेपछि एसएडिआरको घोषणा गरिएको थियो। ५० वर्ष बितिसक्दा पनि सहरावी नेतृत्वले यो संघर्ष अझै अपुरो रहेको बताएको छ। हाल सो क्षेत्र मोरक्कोको नियन्त्रणमा छ र रबात (मोरक्कोको राजधानी) को स्वायत्तता प्रस्तावमाथि बढ्दो अन्तर्राष्ट्रिय समर्थनका बीच यो संघर्ष जारी छ।

यस कार्यक्रमलाई सम्बोधन गर्दै सहरावी राष्ट्रपति एवं पोलिसारियोका महासचिव ब्राहिम घालीले सहरावी जनताको आत्म-निर्णय र स्वतन्त्रताको अधिकारको प्रयोग नै न्यायोचित र स्थायी शान्ति प्राप्त गर्ने एक मात्र मार्ग भएको दाबी गरे।

प्रतिरोधमा आधारित घोषणा

फेब्रुअरीको सुरुमा, वार्षिकोत्सवको पूर्वसन्ध्यामा दिएको मन्तव्यमा घालीले यस अवसरलाई सार्वभौमिकताको ऐतिहासिक पुष्टिको रूपमा चित्रण गर्दै भने:

"सहरावी जनताले सहरावी अरब लोकतान्त्रिक गणतन्त्र स्थापनाको ५०औँ वार्षिकोत्सव मनाउनेछन्, जुन उनीहरूले विश्वका अन्य जनताझैँ आफ्नो राष्ट्रिय भूमिमा स्वतन्त्रता र सम्मानका साथ बाँच्ने आफ्नो सार्वभौम इच्छाको मूर्त रूपको रूपमा घोषणा गरेका थिए।"

घालीले सहरावी राज्यको स्थापनालाई प्रतिरोधको लामो इतिहाससँग जोड्दै भने, "सहरावी राज्यको घोषणा सहरावी प्रतिरोधको लामो यात्राको चरमोत्कर्ष हो... जुन स्वर्गीय मोहम्मद सिद इब्राहिम बासिरीको नेतृत्वमा भएको 'जेमला विद्रोह' जस्तै थियो र एल-उआली मुस्तफा सैयदको आधिकारिक घोषणासँगै टुङ्गिएको थियो।"

उनले यस वार्षिकोत्सवलाई संघर्षमा ज्यान गुमाउनेहरूको संस्मरणको क्षणको रूपमा व्याख्या गरे, "यो हाम्रो वीर जनताको स्वतन्त्रताको वैध अधिकारका लागि बलिदान दिने राष्ट्रिय हितका सम्पूर्ण शहीदहरूको आत्माप्रति श्रद्धाञ्जली र सम्मान व्यक्त गर्ने अवसर हो।"

सहरावी नेताले मोरक्कोको नियन्त्रणमा रहेका क्षेत्रहरू र शरणार्थी शिविरहरू लगायतका विभिन्न मोर्चाहरूमा जारी प्रतिरोधको निरन्तरतामा पनि जोड दिए।

"हामी अधिनस्त क्षेत्रहरूमा रहेका हाम्रा जनतालाई अभिवादन व्यक्त गर्दछौँ... जसले दमन, विस्थापन, सम्पत्ति जफत र स्रोतसाधनको दोहन जस्ता नीतिहरूका बाबजुद पनि अटल संकल्प र दृढताका साथ प्रतिरोध गरिरहेका छन्।"

दशकौँको निर्वासन र संघर्षका बाबजुद सहरावी गणतन्त्रले कार्यमूलक संस्थाहरू र एक विशिष्ट राजनीतिक प्रणालीको निर्माण गरेको उल्लेख गर्दै उनले भने, "यी पाँच दशकहरूले एक अद्वितीय अनुभव तयार गरेका छन्... जसले मुक्ति र राष्ट्र निर्माणका कार्यहरूलाई एकसाथ जोडेको छ।"

उनले थप जोड दिँदै भने- सहरावी राज्यले कठिन परिस्थितिमा पनि शिक्षा, स्वास्थ्य सेवा र शासन संरचनालाई अगाडि बढाउँदै "आफ्नो अस्तित्व, उपस्थिति र निरन्तरतालाई प्रमाणित गरेको छ।"

महाद्वीपीय र अन्तर्राष्ट्रिय ऐक्यबद्धता

अन्तर्राष्ट्रिय स्तरमा, अफ्रिकी राष्ट्रहरू र मुक्ति आन्दोलनहरूबाट प्राप्त ऐक्यबद्धताका सन्देशहरूले यस वार्षिकोत्सवको राजनीतिक महत्त्वलाई थप बलियो बनाएका छन्।

दक्षिण अफ्रिकाको अफ्रिकन नेशनल कंग्रेस (एएनसी) ले यस कोसेढुङ्गालाई उपनिवेश विरोधी वृहत्तर संघर्षको हिस्साको रूपमा वर्णन गरेको छ:

"यो ऐतिहासिक अवसर औपनिवेशिक कब्जाका विरुद्ध र आत्म-निर्णयको अविच्छिन्न अधिकारका लागि सहरावी जनताले लडेको न्यायोचित संघर्षको पुन:पुष्टि हो।"

एएनसीले यो मुद्दा अझै सुल्झिन बाँकी रहेको कुरा दोहोर्‍याउँदै भन्यो: "५० वर्ष बितिसक्दा पनि पश्चिमी सहारामा जारी कब्जा... अन्तर्राष्ट्रिय कानुनको प्रत्यक्ष अपमान र अफ्रिकाको पूर्ण उपनिवेशिकरणको बाँकी रहेको कार्यभार हो।"

ओलिभर टाम्बोको विरासतलाई स्मरण गर्दै विज्ञप्तिमा थपिएको छ: "पश्चिमी सहाराका जनताको संघर्ष औपनिवेशिक प्रभुत्व विरुद्धको वृहत्तर संघर्षबाट अलग छैन।"

पूर्वी अफ्रिकामा, तान्जानियाले सहरावी अभियानप्रति आफ्नो समर्थन पुन: पुष्टि गर्दै "आत्म-निर्णयको खोजीमा उनीहरूको लचिलोपन र लगनशीलता" को प्रशंसा गरेको छ र अन्तर्राष्ट्रिय कानुन एवं संवादमा आधारित समाधानका लागि आह्वान गरेको छ।

त्यसैगरी, मरिससका नविनचन्द्र रामगुलामले यस वार्षिकोत्सवलाई "एक महत्त्वपूर्ण ऐतिहासिक घटना" भन्दै सहरावी नेतृत्व र जनतालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

सहरावी गणतन्त्र आफ्नो छैटौँ दशकमा प्रवेश गर्दै गर्दा, पोलिसारियो फ्रन्टले मोरक्कोको स्वायत्तताको प्रस्तावलाई अस्वीकार गर्ने क्रम जारी राखेको छ र स्वतन्त्रताका लागि जनमत संग्रह हुनुपर्ने अडानमा अडिग छ।

"सहरावी जनता कुनै खतरा वा त्रासको स्रोत बन्ने छैनन्... बरु उनीहरू खुला हृदयले शान्ति र सहयोगको हात अगाडि बढाउनेछन्... [तर] आफ्ना अधिकार, स्वतन्त्रता र प्रतिष्ठाको रक्षा गर्न भने पछि हट्ने छैनन्।"

मोरक्कोको कब्जामा रहँदा एसएडिआरले विभिन्न चुनौतीहरूको सामना गरिरहनु परे तापनि, सहरावी जनता आफ्नो पहिचान र आत्म-निर्णयको अधिकारका लागि अझै संघर्षरत छन् र यस लडाइँमा अटल दृढता प्रदर्शन गरिरहेका छन्।

स्रोत: पिपुल्सडिस्प्याच