दिने बानी

एउटा भिखारी बिहान बिहानै भिक्षा माग्न निस्क्यो।

बाहिर निस्कने बेला उसले आफ्नो झोलीमा एक मुट्ठी जौ हाल्यो। भिख माग्न निस्कने बेला रित्तो झोली बोकेर जानु हुँदैन भन्ने अन्धविश्वास भिखारीहरु बीच एउटा  प्रचलित छ। झोलीमा केहि अन्न देखेर मान्छेहरुलाई लाग्ने गर्छ कि अरु कसैले पनि केही भिक्षा दिएका छन् र मैले पनि दिनु पर्छ भनेर। पूर्णिमाको दिन थियो, भिखारी सोच्दै थियो आज ईश्वरको कृपा हुनेछ र साँझ पर्नु भन्दा अगाडि नै मेरो यो झोला भरिनेछ।

अचानक ऊ बसेको बाटोमा राजाको सवारी आउन लाग्यो। भिखारी खुशी भयो। आज राजाको दर्शन मिल्नेछ, पक्कै पनि राजाले केही न केही दिनेछन् र उनले दिने भिक्षाले मेरो गरिबी हट्नेछ। मेरो जीवन सुध्रिनेछ।

हर्षले भिखारीको सासै रोकिएला जस्तो भयो। राजाको रथ भिखारीको आगाडी आइपुग्यो। राजा आफैँ रथ बाट ओर्लेर भिखारी सामु उभिए। तर राजाले भिखारीलाई भिख दिनुको साटो आफ्नो उल्टै भिखारीको सामु आफ्नो बर्को फैलाएर याचना गरे।

भिखारी छक्क पर्‍यो। उसले सोच्ने सकेन अब के गरौं भनेर। राजाले फेरी भिक्षाको याचना गरे। भिखारीले आफ्नो झोलीमा हात हाल्यो। तर जीवनभर अरुसंग भिक्षा माग्ने बानी परेको उसको मनले अरुलाई भिक्षा दिन मान्दै मानिरहेको थिएन। बडो मुस्किलले उसले दुई दाना जौ निकालेर राजाको बर्कोमा हालिदियो।

त्यो दिन भिखारीलाई अरु दिनभन्दा बढी नै भिख मिल्यो। तर यसले पनि उसको मन भएन। दिनभरी उसलाई उसले राजालाई दिएको दुई दान भिक्षाको दुक्ख लागिरह्यो। बेलुका पाटीमा आएर उसले आफुले दिनभरी पाएको भिक्षा एउटा भाडोमा खान्यायो। उसको आश्चर्यको कुनै सीमा नै रहेन। उसले बिहान हिँड्ने बेला झोलीमा हालेर लगेका जौहरु मध्ये दुई दाना जौ सुन बनेका थिए। उसले बुझ्यो यो सबै राजालाई दिएको दानको कारणले भएको थियो। अहिले उसलाई पछुतो लाग्यो– त्यो बेला राजालाई आफूसंग भएको सबै जौ भिक्षा दिनु पर्थ्यो भनेर। तर उसले त्यसरी दिन सकेन। किनकि उसलाई दिने बानी थिएनन्।

–हितोपदेशबाट । प्रस्तुति: केदार सिटौला