जुत्ताको नाप

चिनियाँ नीतिकथा

एकजना मानिस जुत्ता किन्ने विचार गर्दै थियो । बेसीमा हाट बजार लाग्यो । आज जुत्ता किन्छु भन्दै ऊ खाना खाएर बेसीतिर लाग्यो । जुत्ताका पसलहरु देखिए । उत्साहित हुँदै ऊ एउटा पसलमा पस्यो र भन्यो, “मलाई एक जोर जुत्ता चाहिएको छ ।”

पसले जुत्ता झिकेर देखाउँदै थियो ।

“ए मैले जुत्ताको नापो त घरमै बिर्सेर आएछु, धत्तेरी !”

पसलेले के के भन्दै थियो । ऊ केही नसुनी फटाफट घर फर्क्यो । घरमा पुगेर नापो लियो । पुनः बेसी झर्‍यो । ऊ बेसी पुग्दा हाटबजार उठिसकेको थियो । उसले जुत्ता किन्न पाएन ।

एकजनाले सोध्यो– “तपाईं जुत्ता कसको लागि किन्दै हुनुहुन्थ्यो ?”

“आफ्नै लागि !” उसले भन्यो ।

“त्यसो भए पसलमा पसेर जुत्ता लगाएर हेर्नु भएन ? आफैंलाई जुत्ता किन्न घरबाट नापो ल्याइरहन किन पर्थ्यो र ?”

कुरा सुनेर जुत्ता किन्न खोज्ने मान्छे ट्वाल्ल पर्‍यो ।

प्रस्तुति: शारदारमण नेपाल