धोखेबाज शिकारी

(चिनियाँ नीतिकथा)

मिर्ग ब्वाँसोसित डराउँछ । ब्वाँसो चितुवासित डराउँछ । चितुवा जंगली भालुसित डराउँछ । जंगली भालुका रौं  लामा लामा हुन्छन् । त्यो भालु मान्छे उभिएजस्तै उभिन सक्छ । जंगली भालु अति नै बलियो हुन्छ ।

दक्षिणी भू–राज्यमा एक शिकारी थियो । शिकार खेलने सीप थिएन । ऊ बाँसको बाजाबाट विभिन्न जन्तु जनावरको आवाज निकाल्न सक्थ्यो । आवाजले कुनै जनावरलाई नजिकै बोलाउँथ्यो, झुक्काएर त्यसमाथि हमला गर्थ्यो, मार्थ्यो ।

एक दिन शिकारी मिर्गको आवाज निकालेर मिर्गको बथानलाई आफूतिर आकर्षित गर्ने कोशिसमा थियो, एउटा अजङ्गको ब्वाँसो त्यहाँ आइपुग्यो । ब्वाँसो त्यहाँ मिर्ग छ भन्ने ठानेर आएको थियो । एक्लो शिकारीलाई देखेर ब्वाँसो आक्रमण गर्न सुरियो । शिकारीको सातो उड्यो । हातमा लिएको धनुषवाण खत्रक्कै तल खस्यो । यसैबेला अचानक उसले सम्झ्यो, “ब्वाँसो त चितुवासित डराउँछ त !” उसले बाजाबाट चितुवाको आवाज निकाल्यो ।

चितुवाको आवाज सुन्ने बित्तिकै ब्वाँसो डराएर त्यहाँबाट भाग्यो । त्यहाँ एक्कासी जंगली भालु आइपुग्यो । यो भोको भालु चितुवाको आवाज सुनेर त्यसैलाई खाऊँ भन्ने सुरले त्यहाँ आइपुगेको थियो ।

यतिखेर शिकारीसित जोगिने उपाय केही थिएन । भालु न हो, झ्याम्मै झम्ट्यो ।

प्रस्तुति: शारदारमण नेपाल