बढ्दो पर्यटक आगमनबाट उत्साहित छैनन् होटल व्यवसायी

काठमाडौं । नेपालमा पर्यटक आगमनको संख्या बढ्दो छ । सन् २०२४ को तीन महिनामै तीन लाख भन्दा बढी पर्यटक नेपाल आएका छन् ।

अघिल्लो महिना मार्चमा त एक लाख २८ हजार १६७ विदेशी पर्यटक नेपाल भित्रिएर नयाँ रेकर्ड नै बन्यो। यस वर्षको जनवरीमा ७९ हजार एक सय जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । पर्यटक आगमनको संख्या फेब्रुअरीमा ९७ हजार ४२६ पुगेको थियो ।

जबकी सन् २०२३ को पहिलो तीन महिनामा दुई लाख २७ हजार ७५५ जना पर्यटक मात्रै पर्यटक नेपाल आएका थिए ।  

सन् २०२४ को सुरुवातदेखि नै पर्यटक आगमन बढेपनि होटल व्यवसायी भने खुसी छैनन् । नेपालमा पर्यटक राख्ने होटलको क्षमता पनि बढेको बढ्यै छ । क्षमता बढेपनि त्यस अनुसारको पर्यटक आगमन संख्या बढ्न नसकेको होटल व्यवसायीहरू बताउँछन् । 

पर्यटन क्षेत्रका नेपालले क्षमता अनुसारको लाभ लिन नसकेको होटेल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाह बताउँछन् । अध्यक्ष शाह भन्छन्, ‘पर्यटन क्षेत्रबाट नेपालले जति लाभ लिन सक्ने हो त्यति हामीले लिन सकिरहेका छैनौँ । एक लाख पर्यटकको संख्या गनेर हामी खुसी भइरहेका छौँ । जबकी त्यसको तीन दोब्बर सेवा दिन सक्ने क्षमता हामीले बनाइसकेका छौँ ।’

नेपालमा सडक लगायतका पूर्वाधारको समस्या रहेका कारण पनि पर्यटकहरू उल्लेख्य आउन नसेको उनको भनाई छ । उनी भन्छन्,  ‘अन्तर्राष्ट्रिय सञ्जालसंग जोडिनका लागि बनेको एयरपोर्टमा जहाज आउँदैनन् । एकातिर सिधा उडान छैन अनि अर्कोतिर सडकको अवस्था त्यस्तो छ । काठमाडौंमा आएका पर्यटक पोखरा नै जानु पर्‍यो भने पाँच÷छ घण्टाको बाटोमा १४÷१५ घण्टा लाग्छ । यस्तो अवस्थामा नेपालमा को आउँछ ?’

पर्यटन प्रवर्द्धनको क्षेत्रमा एक पटक काम गरे भनेर अब आवश्यक छैन भन्ने खालको सरकारले सोच राख्न नहुने उनको तर्क छ । ‘हामीले पर्यटन प्रवर्द्धनका लागि गरेका विभिन्न कार्यक्रमहरूमा नेपाल आउन चाहने मानिसहरू धेरै भेटेका छौँ । उनीहरूलाई नेपाल ल्याउने वातावरण सरकारले बनाउनु पर्छ’, उनले भने ।

त्यस्तै, होटल संघ नेपाल (हान)का महासचिव साजन शाक्यले पनि पूर्वाधारका कारण नेपालमा पर्यटकको संख्या उल्लेख्य नभएको गुनासो गरे । उनले भने, ‘नेपालमा पूर्वाधार विकास अत्यन्तै सुस्त छ । एउटा सडक बनाउनका लागि वर्षौँ लाग्छ । पूर्वाधारकै कारण नेपालमा पर्यटकहरू आउन मान्दैनन् ।’  

पोखरामा सिधा अन्तर्राष्ट्रिय उडान हुन नसकेको उनले गुनासो गरे । महासचिव शाक्यले भने, ‘‘उडानमा कनेक्टिभिटी बढाउनु पर्ने हाम्रोमा अत्यन्तै चुनौती रहेको छ । पोखरालाई पर्यटकीय राजधानी घोषण गरिएको छ । तर, दुर्भाग्यको कुरा त्यहाँको अन्तर्राष्ट्रिय उडान नियमित हुन सकेको छैन । नियमित उडान गर्ने हो भने विदेशी पर्यटक उल्लेख्य मात्रामा नेपाल आउँछन् ।’ 

आफूहरू केही समय अगाडी भारतको अयोध्या गएको सुनाउँदै उनले भने,  ‘त्यहाँ नेपाल घुम्न आउन चाहने भारतीयहरू धेरै रहेछन् । त्यहाँ भारतका अन्य ठाउँबाट लाखौँको संख्या पर्यटकहरू आउने गरेका छन् । ती पर्यटकहरू नेपाल पनि आउन चाहन्छन् । तर, हामीले अयोध्याबाट भैरहवाको दुरी टाढा नहुँदा पनि भित्र्याउन सकिरहेका छैनौँ ।’