संसारको सबैभन्दा लामो नदी कुन हो?

Image: https://media.baamboozle.com

संसारकै सबैभन्दा लामो नदी कुन हो भन्ने कुरा विवादको विषय हो । कुन नदीलाई संसारकै लामो नदी मान्ने भन्ने कुरा तपाईं यसलाई कसरी नाप्नु हुन्छ भन्ने कुरामा भर पर्दछ । तर अहिलेसम्मको मान्यताअनुसार, संसारको सबैभन्दा लामो नदीको दर्जा नाइल नदीले पाउँदै आएको छ । अहिलेसम्म स्थापित मान्यताअनुसार यसको लम्बाई ६,६५० किलोमिटर रहेको छ ।

त्यसो त नाइल नदीलाई संसारको सबैभन्दा लामो नदी मानिँदै गर्दा अमेजन नदीलाई पनि संसारकै सबैभन्दा लामो नदी मान्नेहरु पनि छन् । घेरै वर्षअघि गरिएको एक अध्ययनले पनि अमेजन नदीलाई संसारकै सबैभन्दा लामो नदी देखाएको थियो । –हेर्नुहोस्, बक्स) । अहिलेसम्म प्रचलित मान्यताअनुसार अमेजन नदीको कूल लम्बाई ६,४०० किलोमिटर छ ।

अमेजन नदी सबैभन्दा लामो नदी !

https://i.pinimg.com

चेकोस्लाभाकिया र पेरुका वैज्ञानिकहरुको एउटा संयुक्त टोलीले केही वर्षअघि गरेको १३ दिनसम्मको छानबिन र अन्वेषणबाट दक्षिण अमेरिकाको उत्तरी किनारादेखि दक्षिणी समुद्री किनारासम्म बगेको अमेजन नदी संसारको सबैभन्दा लामो नदी भएको बताएको छ ।

वैज्ञानिकहरुको उक्त संयुक्त टोलीले २०५७ साल साउन २ गते लिमामा आयोजित पत्रकार सम्मेलनमा एक वक्तव्य वितरण प्रस्तुत गर्नुका साथै आफ्नो अध्ययन भ्रमणबारे जानकारी दिंदै अमेजन नदीको कुल लम्बाई ७ हजार ८ सय ७२ किलोमिटर भएको बताएका थिए ।

पहिले पहिले विश्वको सबैभन्दा लामो नदीका रुपमा मान्यता पाउँदै आएको ६ हजार ७ सय किलोमिटर लामो नाइल नदीभन्दा अमेजन नदी १ हजार १ सय ७२ किलोमिटर बढी लामो भएको उक्त अध्ययन टोलीले बताएको थियो ।

सो अन्वेषण टोलीले समुद्री सतहदेखि ५ हजार मिटरमाथि पेरुको आदेन पहाडी क्षेत्रबाट बग्ने अमेजन नदीको विकट उद्गमस्थल खोज्दै विकट पहाडमा पुगेर उक्त कुरा पत्ता लगाएको बताएका थिए ।

पेरुको दक्षिण पश्चिमी क्यालोमा प्रान्तको पहाडी क्षेत्रमा एउटा विकट स्थानबाट उक्त नदीको बहाव शुरु भएको उनीहरूले बताएका थिए ।

“हातुम मायु २०००” नामक उक्त संयुक्त अध्ययन टोलीमा पेरुको सान मार्कोस विश्वविद्यालय र क्यारोलाइनाका २० जना विद्वानहरु रहेका थिए । उनीहरूले नै अमेजन नदी विश्वको शक्तिशाली र सबैभन्दा लामो नदी भएको घोषणा गरेका हुन् ।

 

 

त्यसो त नदीको वास्तविक लम्बाई कति छ भन्नेबारे टुङ्गो लगाउनु गाह्रो कुरा हो । खासगरी, नदीको वास्तविक स्रोत वा उद्गम बिन्दु कुन हो भन्ने कुरा जटील नदी प्रणाली भएको नदीको हकमा निक्कै चुनौतीपूर्ण कुरा हो ।

त्यसबाहेक, मौसमअनुसार नदीको पानीको बहावमा फरक आउन सक्छ । त्यसले पनि नदीको वास्तविक लम्बाई कति हो भन्ने कुरा निर्धारण गर्ने कुरालाई प्रभावित गर्न सक्छ ।

त्यसैगरी, नदी सोझो रेखामा बग्दैन । त्यो बांगोटिंगो गरेर बग्ने गर्छ  । त्यसले पनि नदीको वास्तविक लम्बाईको निर्धारण गर्ने कुरालाई असर गर्न सक्छ ।

विश्वको तेस्रो ठूलो नदी

विश्वको तेस्रो र एशियाको सबैभन्दा ठूलो/लामो नदीको नाम लिनुपर्दा चीनको याङ्त्जे (Yangtze) नदीको नाम आउँछ ।

यस नदीले  ब्राजिलको अमेजन नदीले जस्तो विशाल परिमाणमा समुद्रमा पानी त ओइर्याउँदैन । तर यसमाथि आश्रित मानव जनसंख्याको आधारमा भन्ने हो भने यस नदीको जोडाको अर्को नदी कुनै पनि छैन । यो संसारमा रहेका कूल मानव जातिको दशको एक हिस्सा (one-tenth) मानिस यसै नदीको किनारमा बसोबास गर्ने गर्छन् ।

https://wallpapercave.com

शताब्दीयौं अगाडिदेखि यो नदी चीनमा प्रमुख जलमार्गको रुपमा प्रयोग हुँदै आएको छ । प्रत्येक वर्ष यो नदीले १७० मिलियन क्यूबीक मिटर बालुवा र माटो थुपार्ने गर्छ, जसबाट त्यहाँ जियाङ सु प्रान्त (Jiangsu Province) नै निर्माण भएको छ । यो प्रान्त चीनको सबैभन्दा ठूलो धान उत्पादन गर्ने प्रान्तको रुपमा विख्यात छ । विश्वकै प्रमुख खानेकुरा धान (चामल) उत्पादनको ३५ प्रतिशत हिस्सा चीनले ओगट्छ ।

चीनको क्वीङहाइ र तिब्बत उत्पत्ति थलो रहेको यो नदी पूर्वी चिनियाँ समुद्रमा गएर मिसिन्छ । यसको कुल लम्बाई ६२११ किलोमिटर रहेको छ । यसमा बग्ने पानी ३१,९०० घनमिटर प्रतिसेकेण्ड रहेको छ । यसले ओगटेको क्षेत्र १,८००,००० वर्ग किलोमिटर रहेको छ ।

याङत्जे नदीलाई चिनियाँ भाषामा चाङ जियाङ (Chang Jiang) र परम्परागत चिनियाँ भाषा पिनयिन (pinyin) भनिन्छ । अहिलेका चर्चित नाम याङत्जे चाहिँ यो नदी पहिलो पटक पार गर्ने नौका (फेरी) को नाममा आधारित छ ।

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।