उमेर नै नपुगिकन कपाल फुल्नुको कारण यस्तो पो रहेछ !

के तपाईंले कसैले कपाल डाइ गरेर वा कपालमा रङ्ग लगाएर आफ्नो फुलको कपाललाई लुकाउन खोजेको देख्नुभएको छ ? या आफ्नो हजुरबुबाको फुलेर सेतै भएको कपाल देख्नु भएको छ ? अवश्य पनि देख्नु भएको छ होला । यो त हाम्रो लागि सामान्य कुरा नै हो । हामी सबैलाई थाहा नै छ, हाम्रो उमेर बढ्दै गएपछि हाम्रो कपालको रंग पनि आफैं बद्लिन्छ । पहिले कालो रङ्ग भएको कपाल पछि फुलेर सेतै हुने गर्छ । आखिर यस्तो किन हुन्छ ? के हाम्रो उमेरकै कारणले हाम्रो कपाल फुल्छ त ?

यो प्रश्नको उत्तर जान्नुभन्दा पहिले हाम्रो कपालको बारेमा केही कुरा जान्न जरुरी छ । हाम्रो टाउकोमा रहको कपाललाई साफ्ट (पाइप) र जरा गरेर दुई भागमा बा“ड्न सकिन्छ । साफ्ट भनेको हाम्रो टाउकोको बाहिरी भागमा देखिने कपालको रङ्गिन भाग हो । कपालको जरा चाहिँ हाम्रो टाउकोको भित्री भागमा रहेको हुन्छ । यसले कपाललाई अडाए राख्ने काम गर्छ । कपालको जरालाई फलिकल (flloicle) ले घेरेको हुन्छ ।

तपाईंहरुलाई सुन्दा अचम्म लाग्न सक्छ तर हाम्रो कपालको वास्तविक रङ्ग सेतो हुन्छ । त्यसो भए हाम्रो कपाल रङ्ग कसरी विभिन्न प्रकारका हुन्छन् त ? हाम्रो कपालको जरामा रहेको हरेक फलिकलमा निश्चित मात्रामा पिग्मेन्टहरु हुन्छन् । यस्ता पिग्मेन्टहरु मुख्य रुपमा दुई प्रकारका हुन्छन्:  गाढा (eumelanin) र हल्का (phaeomelanin) । यी पिग्मेन्टहरुले मेलानिन नामक रसायन पैदा गर्छ । यही रसायनकै कारणले गर्दा हाम्रो कपालको रङ्ग सेतो नभएर विभिन्न खाले रङ्गको हुने गर्छ । यो रसायन हामी जन्मेदेखि नै बनिन थाल्छ । कपालको रङ्ग कस्तो हुन्छ भन्ने कुरा चाहिँ हाम्रो कपालको साफ्टमा मेलालिनको फैलावटको मात्रामा भर पर्छ । साफ्टमा जति धेरै मोलनिन हुन्छ, त्यति नै हाम्रो कपालको रङ्ग गाढा हुन्छ । यसको मात्रा कम भयो भने हाम्रो कपालको रङ्ग खैरो अथवा हल्का रङ्ग भएको हुन्छ । मेलानिनले नै घाममा परेपछि हाम्रो छालाको रङ्ग पनि निर्धारण गर्ने काम गर्छ ।

मेलानिन मेलानोसाइट नामक विशेष पिग्मेन्टबाट बनेका हुन्छन् । तिनीहरु हाम्रो छालाको कपाल निक्लने भाग (फलिकल) मा रहेका हुन्छन् । एउटा फलिकलबाट एउटैमात्र कपाल बढ्ने गर्छ ।

हाम्रो कपाल मुख्य रुपमा तीन चरण गरेर बढ्ने गर्छ । ती निम्न रहेका छन्:

१) एनाजिन: यो सबैभन्दा सुरुको चरण हो । यो २ देखि ७ वर्षको अवधिसम्म चलिरन्छ । यो चरणमा हाम्रो कपाल निकै छिटो गतिको साथ बढ्ने गर्छ । हाम्रो कपालको ८०–८५ प्रतिशत कपाल यही चरणमा पलाउने गर्छ ।

२) क्याटाजिन:यो चरणमा भने हाम्रो कपालको बढ्ने प्रक्रिया रोकिने गर्छ ।  यो चरण १० देखि २० दिनको छाटो समयको मात्र हुन्छ ।

३) टेलोजिन: यो चरणपछि हाम्रो कपालको बढ्ने प्रक्रिया पूर्ण रुपमा बन्द हुन्छ । यही चरणमा हाम्रो कपालको फाइबर पनि झरेर जान्छ । यो चरण १०० दिनसम्म चल्छ । यो चरण पछि फेरि सुरु कै एनाजिन चरण दोहोरिन्छ ।

टाउकोमा कपाल बनेपछि मेलानोसाइटले केराटिन नामक प्रोटिन हाम्रो  छालामा पठाउँछ । यही केराटिन प्रोटिन कै कारणले नै हाम्रो नङ्ग, छाला र कपाल बनिन्छ । वर्षैभरि मेलानोसाइटले हाम्रो कपालमा केराटिन पठाउँछ । यसैले गर्दा पनि हाम्रो कपालमा रङ्ग आउन थाल्छ ।

हामी बुढो भएपछि हाम्रो कपालको फलिकलमा रहेको पिग्मेन्ट विस्तारै मर्दै जान्छ । जब त्यहाँ पिग्मेन्टको मात्रा घटेर निकै कम हुन्छ, हाम्रो कपालममा मेलानिनको मात्रा पनि कम हुन्छ । अनि विस्तारै हाम्रो कपालको रङ्ग हल्का हुँदै खैरो हुन्छ । जति धेरै बुढो भयो कपालमा मेलानिनको मात्रा त्यति नै कम हुँदै जान्छ । धेरै बुढो भएपछि हाम्रो कपालको रङ्ग पुरै सेतो हुन्छ । यसलाई नै हामी हाम्रो कपाल फुल्यो भनेर भन्छौँ ।

कपाल फुल्ने विभिन्न कारणहरु

हाम्रो कपाल किन फुल्छ भन्ने कुरा केही वंशानुगत कारण, केही जैविक कारण र केही चाहिँ अझै थाहा हुन नसकेका कारणहरु छन् ।तीमध्ये पनि कपाल फुल्ने कुरासँग सम्बन्धित केही पक्षहरु निम्नानुसार छन् ।

मेलानिनः हाम्रो कपालको रङ कस्तो हुने भन्ने कुरा मेलानिनसँग सम्बन्धित हुन्छ । हाम्रो कपालको फोलिकल्समा हुने मेलानोसाइटले उत्पादन गर्ने मेलानिनको मात्राको आधारमा कपाल कालो, खैरो, सुनौलो वा रातो हुने गर्दछ ।

उमेरः हाम्रो उमेर बढ्दै जाँदा कपालको फोलिकल्समा हुने मेलेनोसाइटहरु कम सक्रिय हुने गर्छ वा मरेर जान्छ । यसले गर्दा हाम्रो कपालमा मेलानिनको उत्पादन घटेर जान्छ वा बन्द हुन्छ । फलतः हाम्रो कपालको रङ सेतो वा खराने  हुँदै जान्छ । सामान्यतः मानिस ३५ वर्षको उमेर लाग्दै जाँदा मेलानिनको उत्पादन घट्ने क्रम शुरु हुन्छ । तर यसबाहेक, वंशानुगत कारणहरुले गर्दा पनि यसको उत्पादन घट्ने समय तलमाथि हुन सक्छ ।

वंशाणुः हाम्रो जीनले थुप्रै कुराहरुलाई पुर्खाहरुबाट बोकेर आएका हुन्छन् जसमध्ये कपालको रङ र त्यो फुल्ने समय पनि पर्दछ । विभिन्न अध्ययनहरुले कपाल सेतो हुँदै जानका लागि जिम्मेवार थुप्रै जीनहरुको पहिचान गरेका छन् । त्यस आधारमा कतिपय मानिसहरुमा युवाअवस्थामा नै पनि कपाल फुल्ने कुरा जीनमै लेखिएर आएको हुन्छ । 

कोही मानिसको कपाल छिटै फुल्छ छ त कसैको धेरै ढिलो फुल्ने गर्छ । हजुरबुबा वा हजुरआमाको कपाल फुल्ने समयको अध्ययन गरेर छोराछोरी वा नातानातिनाहरुको कपाल फुल्ने उमेरको अनुमान गर्न सकिन्छ । किनभने बाबु बाजेको जीन उनीहरुको सन्ततिमा भेटाउन सकिन्छ । कपाल फुल्ने प्रक्रिया निकै लामो हुन्छ । हामीले पहिलो सेतो कपाल भेटेको धेरै वर्षपछि मात्र पुरै कपाल फुल्ने गर्छ ।  

अन्य पक्षहरुः कपाल फुल्नुका अन्य कारणहरुमा तनावलाई पनि लिने गरेको पाइन्छ तर यसबारे अझै ठोस रुपमा प्रमाणित हुन बाँकी नै छ । तनावले कपाल फुल्नुमा सोझै सम्बन्ध राख्छ भन्नेबारे अझै प्रमाणित भइसकेको छैन । तर लगातारको तनाव, स्वास्थ्य अवस्था, शरीरमा भिटामीन बी१२ को कमी, रोग प्रतिरक्षा प्रणालीसम्बन्धी रोगहरु जस्ता कुराहरुले कपाल फुल्ने कुरालाई प्रभावित गर्ने गरेको भने पाइएको छ । त्यसैगरी, रगतमा आइरनको कमी वा थाइरोड ग्ल्यान्डमा खराबी भयो भने पनि कपाल फुल्छ । चुरोट खानेहरुको कपाल पनि चुरोट नखाने मानिसकोभन्दा चाँडै फुल्छ । चुरोट खाने मानिसको शरीरमा अक्सिजनको मात्रा कम हुन्छ । त्यही भएर तिनीहरुको कपाल अलिक चाँडै फुल्ने गर्छ ।

त्यसो त कपाल फुल्नुको ठोस कारण पत्ता लगाउनेबारे विज्ञानले अझै खोजअनुसन्धान गरिरहेको छ । पछिल्ला अध्ययनहरुले कपालको फोलिकल्समा हुने स्टेम कोषले मेलानिनको उत्पादनमा असर गर्नेबारे पनि प्रारम्भिक तथ्यहरु फेला परेका छन् । यस प्रणालीबारे अझ विस्तृत रुपमा बुझ्न सकियो भने युवावस्थामै कपाल फुल्ने समस्या तथा समग्र रुपमै कपाल फुल्ने समस्याको समाधान खोज्ने दिशामा पक्कै पनि केही उपलब्धिहरु हासिल हुन सक्नेछन् ।

कपालसम्बन्धी केही रोचक तथ्यहरु

• हाम्रो तालुमा सामान्य रुपमा एक लाखदेखि लिएर एक लाख पचास हजारसम्म कपाल हुन्छ ।

• हाम्रो कपाल निकै दह्रो हुन्छ । यसले १०० ग्राम सम्मको तौल थाम्न सक्छ । हाम्रो तालु दह्रो हुने हो भने त टाउकोमा भएको पुरै कपाले १० देखि १५ टनसम्मको तौल थाम्न सक्छ ।

• कपालमा निकै तीव्र गतिमा कोषहरुको विभाजन हुन्छ । जसलाई माइटोसिस् भनिन्छ । एक दिनमा हाम्रो कपाल ०.३ मिलिमिटर र एक महिनामा १ सेन्टिमिटर बढ्छ ।