भिटामीन डीः कमीले मात्रै हैन, बढी मात्राले पनि नोक्सान नै गर्छ !

आधुनिक रहनसहन र जीवनशैलीले अहिले धेरै मानिसहरुले धेरै स्वास्थ्य समस्या भोग्नुपर्ने हुन्छ । त्यस्ता समस्याहरुमध्ये एउटा प्रमुख समस्या भिटामीन डीको कमी पनि हो । खासगरी, अहिलेको व्यस्त र भागदौडपूर्ण जिन्दगीले गर्दा मानिसहरुले पर्याप्त मात्रामा घामको किरणमा समय बिताउन पाउँदैनन् । फलतः अधिकांश मानिसहरुमा भिटामीन डीको कमी देखापर्ने गर्छ ।

भिटामीन डीको कमीले हाम्रो शरीरमा विभिन्न खालका समस्याहरु देखापर्न सक्छन् । यहाँ त्यस्ता केही समस्याहरुबारे उल्लेख गरिएको छः

मांसपेशीमा कमजोरी र बाउँडिनुः भिटामीन डीले हाम्रो शरीरको मांसपेशीको कार्यप्रणालीलाई सही ढंगले सञ्चालन हुन सहयोग गर्छ । फलतः भिटामीन डीको कमी हुँदा हामीलाई कमजोरी महसूस हुन्छ, मांसपेशीहरु दुख्छ र बाउँडिने गर्छ ।

हड्डीमा पीडा र मक्किने समस्याः भिटामीन डी हड्डीलाई स्वस्थ राख्न अत्यावश्यक तत्त्व हो । यसको अभावमा हामीलाई हड्डी दुख्ने, सजिलै भाँच्चिने तथा कालान्तरमा गएर हड्डी मक्किने समस्या देखापर्न सक्छ ।

थकान र कमजोरीः भिटामीन डीको कमी हुँदा हामीलाई थकाइ लाग्ने, केही काम गर्न मन लाग्ने हुन्छ । पर्याप्त मात्रामा भिटामीन डीको आपूर्ति हुँदा मात्रै हाम्रो शरीरले पर्याप्त मात्रामा उर्जा उत्पादन र सङ्ग्रह गर्न सक्छ ।

अवसाद र मुड बिग्रनुः भिटामीन डीको कमीले हुने एउटा प्रमुख समस्या अवसाद अर्थात् डिप्रेसन हुने तथा मुड विग्रने पनि हो भनी केही अध्ययनहरुले देखाएको छ । तर योबारेमा अन्तिम निष्कर्षमा पुग्नका लागि थप अध्ययनहरु हुन बाँकी छ ।

कमजोर रोग प्रतिरोधी क्षमताः भिटामीन डीले हाम्रो शरीरको रोग प्रतिरोधी क्षमतालाई पनि स्वस्थ र दुरुस्त राख्न भूमिका खेल्छ । यो भिटामीनको अभावमा हाम्रो शरीरको रोग प्रतिरोधी क्षमता कमजोर भएर जान्छ । यो भनेको अरु रोग व्याधिहरुले हाम्रो शरीरलाई सजिलैसँग ग्रसित तुल्याउन सक्ने खतरा हो ।

दीर्घरोगहरुको खतराः भिटामीन डीको कमीले शरीरमा विभिन्न खालका दीर्घ रोगहरुले सताउने सम्भावना बढेर जान्छ । त्यस्ता दीर्घ रोगहरुमा मुटुसम्बन्धी रोगहरु, मधुमेह, रोगप्रतिरोधी क्षमताले आफ्नै शरीरमा क्षति गर्ने रोगहरु तथा केही निश्चित प्रकारका क्यान्सरहरु समेत लगाउने गरेको देखिएको छ । यसबारेमा थप अध्ययनअनुसन्धान हुन बाँकी छ ।

भिटामीन डीको कमीले गर्ने असर व्यक्तिको उमेर, शारीरिक अवस्था लगायतका पक्षहरुले फरक फरक हुने गर्छ । तर पनि आफूलाई भिटामीन डीको कमीले हुने माथिका कुनै पनि लक्षण देखापरेमा तुरुन्तै जचाउनु सबैभन्दा उत्तम उपाय हो । स्वास्थ्यकर्मीहरुले तपाईंको यथोचित परीक्षणपछि आहार विहारमा परिवर्तन, खानाको तौरतरिकामा हेरफेर गर्न सल्लाह दिन सक्छन् वा आवश्यकताअनुसार भिटामीन डी खान सल्लाह दिन पनि सक्छ ।

कमीले मात्र हैन, बढीले पनि क्षति गर्छ

त्यसो त भिटामीन डीको कमीले मात्र होइन, हाम्रो शरीरमा यो भिटामीनको मात्रा बढी भयो भने क्षति नै गर्छ । जब हाम्रो शरीरमा भिटामिन डी आवश्यकताभन्दा धेरै मात्रामा आपूर्ति हुन्छ वा जम्मा हुन्छ, त्यसले ‘भिटामिन डी विषाक्तता’ वा ‘हाइपरभिटामिनोसिस डी’  (hypervitaminosis D) भनिने समस्या निम्त्याउन सक्छ । भिटामिन डी विषाक्तताको अवस्थामा सबैभन्दा ठूलो समस्या नै रगतमा क्याल्सियमको मात्रा अत्यधिक बढेर जान्छ । त्यो अवस्थालाई हाइपरक्याल्सेमिया (hypercalcemia) भनिन्छ। शरीरमा  धेरै भिटामिन डी जम्मा हुँदा हामीलाई पर्ने नकारात्मक प्रभावहरु मोटामोटी निम्न छन्ः

– अत्यधिक भिटामिन डीले वाकवाकी र बान्ता हुन सक्छ।

– भिटामिन डीको उच्च स्तरले कमजोरी र थकान निम्त्याउन सक्छ ।

– भिटामिन डी विषाक्तताले हामीलाई मतिभ्रमित तुल्याइदिन सक्छ । त्यसले गर्दा हामीले कुनै पनि कुरामा ध्यान केन्द्रीत गर्न नसक्ने, सही कुरालाई गलत देख्ने, राम्ररी सोच्न नसक्ने जस्ता समस्याहरु सामना गर्नुपर्ने हुन सक्छ ।

–अत्यधिक भिटामिन डीले हामीलाई धेरै तिर्खा लागिबस्ने र शरीरमा निर्जलीकरण बढाउन सक्छ।

–भिटामिन डीको विषाक्तताले हाम्रो पाचन प्रणालीमा पनि असर गर्ने गर्छ । त्यसले मुख्यतया कब्जियत गराउन सक्छ ।

–भिटामिन डीको अत्यधिक सेवनले भोक नलाग्ने समस्या देखापर्न सक्छ । भोक नलाग्दा हामीलाई राम्ररी खानेकुराहरु खान मन लाग्दैन । फलतः शरीर स्वस्थ राख्न लागि चाहिने अत्यावश्यक पोषणहरु शरीरले प्राप्त नगर्न पनि सक्छ ।

–भिटामिन डी को मात्रा लामो समयसम्म शरीरमा रहिरह्यो भने त्यसले मृगौलालाई पनि क्षति गर्न सक्छ ।

– भिटामिन डीको विषाक्तताले हाम्रो मुटु,  रक्तनली र मृगौला जस्ता नरम तन्तुहरूमा क्याल्सियम जम्मा हुन सक्छ । त्यसले अत्यन्तै गम्भीर स्वास्थ्य समस्याहरुलाई निम्त्याउन सक्छ ।

–भिटामीन डी अत्यधिक बढी हुँदा पनि हड्डीहरुमा असर पर्ने, हड्डी दुख्ने तथा कमजोर हुने जस्ता समस्या देखा पर्न सक्छ ।

त्यसो त भिटामिन डीको विषाक्तता आउने सम्भावना अत्यन्तै कम हुन्छ । यो अवस्था खासगरी भिटामीन डीको कमी हुँदा त्यसलाई पूर्ति गर्न अत्यधिक मात्रामा भिटामीन डीको सप्लिमेन्ट लिँदा आउन सक्छ । तर यो स्थायी रुपमा रहिरहँदैन । खासगरी, चिकित्सकको सल्लाहबेगर, राम्ररी रगत परीक्षण नगराइकन जथाभावी भिटामीन डीको सप्लिमेन्ट लिनेहरुमा मात्रै यो समस्या देखापर्न सक्छ । त्यसैले सबैभन्दा राम्रो उपाय भनेकै यस्ता कुनै पनि भिटामीन वा अन्य पोषक तत्वहरुको अतिरिक्त खुराकहरु लिनुभन्दा पहिले चिकित्सकसँग परामर्श गर्न र उनीहरुले दिएको सल्लाहअनुसारको समायावधिभित्र मात्रै सिफारिशअनुसारको मात्रामा लिनु सबैभन्दा उचित र सुरक्षित उपाय हो ।