'रेड नेपोलियन' अर्थात् भियतनामी क्रान्तिका नायक जनरल भो नुग्येन गियाप

 भियतनाम क्रान्तिका अद्वितीय नेता हुन् हो चि मिन्ह । उनीपछि उनकै जत्तिको उचाइ र मान भएका भियतनामी क्रान्तिका अर्का नायक थिए जनरल भो नुग्येन गियाप।

जनरल गियापले फ्रान्सविरुद्धको भियतनामी मुक्त्ति युद्धको नेतृत्व गरेका थिए। उनले फ्रान्सको सेनालाई दियन बियन फुको निर्णायक लडाइँमा हराएका थिए। त्यहाँ पराजित भएपछि भियतनामबाट फ्रान्स भाग्न बाध्य भएको थियो ।

 उनले फ्रान्स विरुद्धको लडाइँमा मात्र होइन, अमेरिकाविरुद्धको एक दशक लामो युद्ध र भियतनामको एकीकरणको युद्धलाई समेत सफलतापूर्वक नेतृत्व गरेका थिए। असाधारण युद्धकौशल र रणनीतिका जानकार भएका कारण जनरल गियापलाई रेड नेपोलियन (Red Napoleon ) पनि भन्ने गरिन्थ्यो।

एक पटक जनरल गियाप अरब देशहरुको भ्रमणमा गएका थिए। सो भ्रमणको क्रममा उनले प्यालेस्टाइनी क्रान्तिकारीहरुको क्याम्पको पनि भ्रमण गरे। जनरल गियापले ती प्यालेस्टाइनी क्रान्तिकारी समुहका नेताहरुको विलाशी र फजुलखर्ची जीव शैली देखे । त्यो वास्तवमा क्रान्तिकारी शैली र आचरणभन्दा नितान्त भिन्न र पश्चगामी थियो । उनले त्यसलाई भियतनामका जंगलमा रहेका भियतनामी क्रान्तिकारीहरुको कष्टकर अवस्थालाई पनि सहजै वरण गर्न सक्ने जीवनशैली संग तुलना गरे। वास्तवमा क्रान्तिकारीहरुले अपनाउनुपर्ने जीवनशैली त्यस्तो हुनु जरुरी हुन्छ जसले गर्दा उनीहरु प्रतिकूल परिस्थितिमा पनि उच्च मनोबलका साथ सहजै दुश्मनका विरुद्ध मोर्चामा डटेर उभिन सक्छन् ।

 जनरल गियापले प्यालेस्टाइनी क्रान्तिकारी नेताहरुलाई प्रस्ट संग भने कि तपाईंहरुको क्रान्ति सफल हुन गाह्रो छ।

अरब नेताहरुका लागि त्यो अप्रिय कुरा थियो । उनीहरुले गियापलाई त्यसो भन्नुको कारण सोधे । जनरल गियापले जवाफ दिए – 'क्रान्ति र सम्पतिको कुनै मेल नै हुँदैन। क्रान्तिलाई चेतनाले नेतृत्व गरेको हुँदैन भने त्यो आतंकवादमा रुपान्तरित हुन्छ। र क्रान्तिमा विलासिता र पैसाको वर्षा हुन थालेपछि क्रान्तिचेत मरेर जान्छ, विस्तारै त्यो चोर र अपराधीहरुको झुण्डमा परिवर्तन हुन्छ। आफूलाई क्रान्तिकारी भनेर दावी गर्ने तर विलासी जीवन बिताउन चाहने, गर्छ तर दरबारमा बस्ने, स्वादिष्ट भोजन गर्ने चाहनाले जितेका मानिस वास्तवमा क्रान्तिकारी हुनै सक्दैन, त्यो त खराब नियत भएको पाखण्डीमा परिणत हुन्छ । त्यस्ता व्यक्तिको जीवनशैली क्रान्तिकारीको जीवनशैली हुनै सक्दैन, त्यो त अरुको रगत पसिनामा बाँच्ने परजीवीमा परिणत हुन्छ ।

०००

आफूलाई क्रान्तिकारी दावी गर्ने तर निजी सम्पत्ति र विलासी जीवनका लागि अपहत्ते गर्नेहरुका लागि जनरल गियापका कुरा पाच्य होला त ?