पृथ्वीको लागि बढ्दो गम्भीर खतरा बनिरहेको अन्तरिक्षको कवाडी
कल्पना गर्नुहोस्, पृथ्वीको वरिपरि करिब १०० ट्रिलियन (एक लाख खर्ब) साना–ठूला वस्तुहरू तीव्र गतिमा घुमिरहेका छन्। यो कुनै प्राकृतिक उल्कापिण्डको वर्षा होइन, यो मानव निर्मित 'अन्तरिक्षको कवाडी' (Space Junk) हो। हामीले अन्तरीक्षमा पठाएका पुराना स्याटेलाइटहरू, रकेटका अवशेषहरू र अन्य काम नलाग्ने वस्तुहरू अहिले पृथ्वीको कक्षमा एउटा अदृश्य तर डरलाग्दो खतरा बनेर तैरिरहेका छन्।
के हो अन्तरिक्षको कवाडी?
सन् १९५७ मा 'स्पुतनिक-१' प्रक्षेपण गरेयता, मानव जातिले हजारौँको संख्यामा स्याटेलाइट र अन्तरिक्षयानहरू पृथ्वीको कक्षमा पठाएको छ। यिनीहरूले दूरसञ्चार, मौसम विज्ञान र जीपीएस जस्ता सेवाहरूमा ठूलो योगदान पुर्याएका छन्। तर, जब यी स्याटेलाइटहरूको आयु सकिन्छ वा दुर्घटना हुन्छ, तिनीहरू त्यहीँ कवाडी बनेर रहिरहन्छन्। अमेरिकी अन्तरिक्ष एजेन्सी 'नासा' (NASA) ले यी काम उपयोगिता सकिएका वस्तुहरूमाथि लगातार नजर राख्छ, तर नासाले केवल ठूला आकारका वस्तुहरूलाई मात्र ट्र्याक गर्न सक्छ। लाखौँको संख्यामा छरिएर रहेका स-साना टुक्राहरूलाई पत्ता लगाउन र तिनबाट बच्न निकै कठिन छ।
पेन्सिलको इरेजरले गर्ने बिनास
धेरैलाई लाग्छ कि साना कणहरूले के नै क्षति पुर्याउन सक्ला र? तर अन्तरिक्षको भौतिक विज्ञान अलि फरक छ। पृथ्वीको कक्षमा यी वस्तुहरू करिब १५,००० माइल प्रतिघण्टा (करिब २४,००० किमी/घण्टा) भन्दा बढीको रफ्तारमा घुमिरहेका हुन्छन्। एक सामान्य पेन्सिलको इरेजर वा एउटा सानो नट-बोल्ट पनि यति तीव्र गतिमा कुनै सक्रिय स्याटेलाइट वा अन्तरिक्षयानसँग ठोक्कियो भने, त्यसले ठूलो विस्फोटक क्षति पुर्याउन सक्छ।
वैज्ञानिकहरूले एउटा 'लाइट ग्यास गन' (Light Gas Gun) को प्रयोग गरेर गरेको परीक्षणले यसको भयावहता पुष्टि गरेको छ। जब १५,००० माइल प्रतिघण्टाको गतिमा एउटा सानो वस्तुलाई एल्युमिनियमको ठोस ब्लकमा प्रहार गरियो, त्यसले ब्लकको सतहमा ५ इन्च गहिरो खाडल बनाइदियो। यदि यस्तै टक्कर अन्तरिक्षमा भयो भने, त्यसले सञ्चार प्रणाली ध्वस्त पार्न सक्छ र भविष्यका अन्तरिक्ष अभियानहरूलाई निकै जोखिमपूर्ण बनाउन सक्छ।
केसलर सिन्ड्रोम (Kessler Syndrome)
अन्तरिक्षको कवाडीसँग जोडिएको सबैभन्दा ठूलो डर 'केसलर सिन्ड्रोम' हो। यो एक यस्तो अवस्था हो जहाँ अन्तरिक्षमा भएका अनुपयोगी वस्तुहरू आपसमा ठोक्किएर थप साना टुक्राहरू जन्माउँछन्, जसले गर्दा त्यसता वस्तुहरुको संख्या ज्यामितीय दरमा बढ्दै जान्छ। यदि यो नियन्त्रणभन्दा बाहिर गयो भने, पृथ्वीको कक्ष भरिएर त्यहाँ नयाँ स्याटेलाइट पठाउन वा पृथ्वीबाट अन्तरिक्ष यान बाहिर निस्कन पनि असम्भव हुनेछ।
अबको बाटो
अन्तरिक्षको यो समस्यालाई हल गर्न हाल विश्वभरि विभिन्न प्रयासहरू भइरहेका छन्। धेरै निजी कम्पनीहरू र अन्तरिक्ष एजेन्सीहरू 'अन्तरिक्ष सफाइ' (Space Cleanup) प्रविधिमा काम गरिरहेका छन्। यसमा चुम्बकीय जाली, रोबोटिक हात वा लेजरको प्रयोग गरेर यी अन्तरिक्षीय फोहोरहरूलाई तान्ने र वायुमण्डलमा जलाउने योजनाहरू समावेश छन्।
अन्तरिक्ष केवल एउटा विज्ञानको क्षेत्र मात्र होइन, यो आधुनिक मानव सभ्यताको आधार हो। यदि हामीले समयमै अन्तरिक्षको फोहर व्यवस्थापन गर्न सकेनौँ भने, हाम्रा स्मार्टफोनदेखि बैंकिक ट्रान्ज्याक्शनसम्मका सबै सेवाहरू प्रभावित हुनसक्छन्। पृथ्वीलाई जोगाउन अब धर्तीमा मात्र होइन, आकाशभन्दा माथिको यो 'अदृश्य युद्धभूमि' मा पनि हामीले विशेष सतर्कता अपनाउनु आवश्यक छ।
एक मस्तिष्क, दुई प्राचीन प्रणाली
एआईबारे पोपको ज्ञान र चेतावनी - चर्चको ५०० वर्ष पुरानो डर
प्रोजेक्ट सनक्याचर: अन्तरिक्षमा एआई डेटा सेन्टर युगको पहिलो परीक्षा
एआई : हौवा होइन, ऐना हो ! नियमन-नियन्त्रण होइन, दिशा दिनुपर्छ
पृथ्वीको शक्तिशाली खगोलीय संरक्षक बृहस्पति ग्रह
कृषि र पर्यावरणका मौन पहरेदार चमेरो
रहस्यमयी प्लुटो: हाम्रो सौर्यमण्डलको एउटा अनौठो यात्री
प्रतिक्रिया