इस्टर टापु: रहस्यमय विशाल ढुङ्गाका मूर्तिहरूको अचम्मको कथा

प्रशान्त महासागरको विशाल जलराशिको बीचमा एउटा यस्तो ठाउँ छ, जहाँ पुग्दा समय आफैँ रोकिएको जस्तो लाग्छ। यो ठाउँ हो इस्टर टापु, जसलाई स्थानीय भाषामा 'रापा नूई' भनिन्छ। संसारका अन्य भू-भागबाट हजारौँ किलोमिटर टाढा रहेको यो टापु आज पनि इतिहासका कैयौँ अनुत्तरित प्रश्नहरू बोकेर उभिएको छ। यसका तटहरूमा रहेका  'मोआई' भनिने ती रहस्यमय र विशालकाय ढुङ्गाका मूर्तिहरूले विश्वभरका मानिसहरूलाई सदियौँदेखि अचम्मित तुल्याउँदै आएका छन्।

इस्टर टापुको बाहिरी संसारसँगको पहिलो आधिकारिक भेट सन् १७२२ को इस्टर आइतबारका दिन भएको थियो। डच खोजकर्ता ज्याकोब रोग्भेवेन आफ्ना जहाजहरूसँगै प्रशान्त महासागरको अज्ञात क्षेत्रमा भ्रमण गरिरहेका थिए। अचानक, उनको नजर टापुमा पर्‍यो। यति दुर्गम स्थानमा कुनै मानव बस्ती वा यति भव्य संरचनाहरू हुन सक्छन् भनेर उनले सोचेका पनि थिएनन् । तर, तटमा पुगेपछि उनले देखेको दृश्य कल्पनाभन्दा बाहिरको थियो। टापुभरि मानिसका अनुहारजस्तै देखिने दर्जनौँ विशाल ढुङ्गे मूर्तिहरू छरिएर रहेका थिए । यी मूर्तिहरू अति भव्य र कलात्मक थिए । ती कसरी र कसले बनाए भन्ने प्रश्नले त्यतिबेला नै उनीहरूलाई आश्चर्यचकित बनाएको थियो।

पछिल्ला अनुसन्धानहरूले पत्ता लगाएअनुसार, इस्टर टापुमा करिब ९०० भन्दा बढी यस्ता विशाल मूर्तिहरू छन्। यी मूर्तिहरू ज्वालामुखी चट्टानमा कुँदिएका हुन्। यीमध्ये कतिपय मूर्तिहरू उभिएका छन्, त कतिपय बाटोमै अलपत्र परेका छन्, र कतिपय त माटोमा गाडिएका छन्। यी मूर्तिहरूको औसत उचाई १३ फिटभन्दा बढी छ र तौल १३ टनभन्दा बढी हुन्छ। रोचक कुरा के छ भने, यी मूर्तिहरूका आँखाहरू बनाइएका थिए, जसमा सेतो कोरल र कालो ओब्साइडियनको प्रयोग गरिएको थियो, जसले गर्दा मूर्तिहरू जीवित रहेको आभास हुन्थ्यो। आजजस्तो उन्नत प्रविधिको विकास भइनसकेको त्यसबेला पुराना पुर्खाहरूले यी भारी ढुङ्गाहरूलाई एक ठाउँबाट अर्को ठाउँमा कसरी लगे, त्यो आज पनि बहसको विषय बनेको छ।

इतिहासकार र पुरातत्वविद्हरूका अनुसार, यी मोआई मूर्तिहरू रापा नूईका पुर्खाहरूको सम्मानमा बनाइएका थिए। प्रत्येक मूर्तिले एक विशिष्ट शक्ति वा पूर्वजलाई प्रतिनिधित्व गर्दथ्यो। यी मूर्तिहरूमा 'माना' अर्थात् अलौकिक शक्ति हुन्छ, जसले टापुको रक्षा गर्छ र समुदायलाई समृद्धि दिलाउँछ भन्ने विश्वास गरिन्थ्यो । यी मूर्तिहरू गाउँतिर नफर्केर समुद्रतिर फर्किएका छन्, जसले आफ्ना पुर्खाहरूको निरन्तर निगरानी र सुरक्षाको प्रतीकलाई दर्शाउँछ।

इस्टर टापु विश्वको सबैभन्दा अलग-थलग ठाउँहरूमध्ये एक हो। यो टापु सबैभन्दा नजिकको बसोबास भएको ठाउँबाट लगभग २,००० किलोमिटर टाढा छ। आधुनिक युगमा पनि यहाँ पुग्नु निकै चुनौतीपूर्ण छ। कुनै ठूला उपकरण वा प्रविधि उपलब्ध नभएको बेलामा पिन यस्तो दुर्गम स्थानमा प्राचीन मानिसहरूले यति विशाल निर्माण कार्य सम्पन्न गर्नु मानव इतिहासको ठूलो र अत्यन्तै आश्चयर्जनक उपलब्धिको रूपमा लिइन्छ।

आज इस्टर टापु एक पर्यटकीय गन्तव्य बनेको छ, तर मोआई मूर्तिहरूसँग जोडिएका रहस्यहरू पूर्ण रूपमा सुल्झिएका छैनन्। केही विद्वानहरुका अनुसार, कुनै बेला उन्नतिको उत्कट अवस्थामा पुगेको यो सभ्यता संशाधनको अधिक प्रयोग र वातावरण बिग्रिएपछि विस्तारै पतनको बाटोमा लाग्यो। यद्यपि, यी मूर्तिहरूले आज पनि हामी मानव जातिको सिर्जनात्मक शक्ति र प्रकृतिप्रतिको हाम्रो सम्बन्धको बारेमा वास्तवमै जानकार छौँ र भनेर हामीलाई प्रश्न गरिरहेका छन्? इस्टर टापुका यी मौन मूर्तिहरू समयको साक्ष्य हुन्। तिनीहरूले सिकाउँछन् कि चाहे जतिसुकै कठिन परिस्थिति किन नहोस्, मानव जातिको कला र विश्वासले चट्टानहरूमा पनि प्राण भर्न सक्छ। यी विशाल मूर्तिहरूले समयको गर्भमा पुरिएको इतिहास मात्र होइन, बरु मानिसको अटूट साहस र रहस्यमय यात्राको कथा पनि बोकिरहेका छन्।

तस्विर: https://i.pinimg.com