ट्रम्पको बेइजिङ भ्रमण र एसियामा नयाँ शीतयुद्ध

टिंग्स चाक

यस हप्ता बेइजिङमा विगत नौ वर्षयताकै पहिलो अमेरिकी राजकीय भ्रमण विश्वसामु मञ्चन गरिँदैछ। 'ग्रेट हल अफ द पिपल' डोनाल्ड ट्रम्पका लागि खुला गरिएको छ, जो एप्पल, टेस्ला, ब्ल्याकरक, बोइङ र एनभिडिया लगायत १८ जना अमेरिकी कार्यकारी प्रमुखहरूसँगै यहाँ आइपुगेका छन्। बिहीबार राजकीय भोजको आयोजना गरिनेछ भने शुक्रबार चियापान र दिवाभोज हुने कार्यक्रम छ।

बेइजिङका सडकहरूमा ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको भेटवार्ताका लागि गत हप्तादेखि नै सि-१७ (C-17)  विमानमार्फत ल्याइएको 'द बिस्ट' (ट्रम्पको विशेष गाडी) ले मोटरकेड मार्ग सुरक्षित बनाइरहेको छ। अन्तर्राष्ट्रिय मूलधारका सञ्चारमाध्यमहरूले यसलाई वासिङ्टन र बेइजिङबीचको सम्बन्धमा आएको सुधारका रूपमा व्याख्या गरिरहेका छन्। यद्यपि, ट्रम्पका कदमहरूले भने अर्कै कुरा बोलिरहेका छन्।

एक फरक चीनसँगको जम्काभेट

चिनियाँ भूमिमा भएको पछिल्लो अमेरिकी राजकीय भ्रमण सन् २०१७ को नोभेम्बरमा स्वयम् ट्रम्पकै थियो— जुन अमेरिकाद्वारा लादिएको व्यापार युद्धको सुरुवात थियो। यो युद्ध बाइडेनको कार्यकालमा झनै गहिरियो र ट्रम्पको दोस्रो कार्यकालमा अझ तीव्र भएको छ। त्यसबेला उनलाई स्वागत गर्ने चीन बाह्य आक्रामकताको सामना गर्न सिक्दै मात्र थियो। तर अहिले उनलाई स्वागत गर्ने चीनले विगत नौ वर्षमा आफ्नो निर्यात बजारलाई विविधीकरण गरिसकेको छ, आपूर्ति श्रृंखलामा स्वायत्तता निर्माण गरेको छ, प्रतिकार गर्न सक्ने प्राविधिक क्षमता विकास गरेको छ र 'ग्लोबल साउथ' का देशहरूतर्फ आफ्नो ध्यान केन्द्रित गरेको छ।

चीनविरुद्ध ट्रम्पको असफल शुल्क युद्ध (tariff war) ले अन्ततः चीनलाई भन्दा बढी आफ्नै अर्थतन्त्र र जनतालाई चोट पुर्‍यायो। साथै, दुर्लभ खनिज तत्वहरूमा बेइजिङको निर्यात नियन्त्रणले अन्ततः ट्रम्पलाई पछि हट्न बाध्य बनायो। प्रतिनिधिमण्डलमा रहेका टिम कुक, एलन मस्क र एनभिडियाका जेन्सन हुआङ लगायत १८ जना अमेरिकी कार्यकारीहरू यहाँ आउनुको कारण उनीहरूका कम्पनीहरू चिनियाँ बजार बिना टिक्न नसक्ने भएकाले हो। चीनलाई रोक्ने अमेरिकी आर्थिक औजारहरूले वासिङ्टनले चाहेको जस्तो परिणाम दिन सकेनन्।

इरानमाथिको युद्ध

फेब्रुअरी २८ देखि इरानमाथि भइरहेको अवैध अमेरिकी-इजरायली युद्धका कारण यो शिखर सम्मेलन छ हप्ता पछि सरेको थियो। यस युद्धमा इरानका सर्वोच्च नेता अली खामेनी र हजारौँ इरानी नागरिक मारिएका छन्। यसैबीच, लेबनानमा २,७०० भन्दा बढी नागरिकको ज्यान गइसकेको छ, जहाँ अमेरिकी-इजरायली आक्रमणहरू अझै जारी छन्।

अमेरिकी-इजरायली आक्रामकताको प्रतिशोधमा इरानी मिसाइल र ड्रोनहरूले कतार, बहराइन, कुवेत, जोर्डन, साउदी अरब र संयुक्त अरब इमिरेट्स भरिका १५ वटा अमेरिकी सैन्य अखडाहरूमा आक्रमण गरेका छन्। अल उदेद एयर बेसमा मात्रै ४४ वटा मिसाइल र ८ वटा ड्रोनले प्रहार गरेका छन्, जसबाट २१७ वटा संरचनामा क्षति पुगेको वा ध्वस्त भएको छ र मर्मत लागत करिब ५ अर्ब अमेरिकी डलर अनुमान गरिएको छ। युद्धको एघारौँ हप्तामा, अमेरिकी नौसैनिक नाकाबन्दी र बमबारीका बाबजुद इरानले निरन्तर प्रतिरोध गरिरहेको छ र युद्ध वासिङ्टनले भविष्यवाणी गरे जस्तो भएको छैन। यसले हाम्रो क्षेत्रका युद्ध विरोधी आन्दोलनहरूले लामो समयदेखि तर्क गर्दै आएको कुरालाई प्रस्ट पारेको छ: आयोजक राष्ट्रहरूलाई बेचिएका यी सैन्य आधार शिविरहरू सुरक्षा कवच होइनन्, बरु निसाना हुन्।

आफ्नो आगमनको ठीक केही दिन अघि ट्रम्पले तेहरानको शान्ति प्रस्तावलाई "रद्धी" भन्दै अस्वीकार गरे। मे ११ मा—आफ्नो प्रस्थानको पूर्वसन्ध्यामा—अमेरिकी राज्य कोष विभागले इरान-चीन तेल व्यापारलाई लिएर थप १२ व्यक्ति र कम्पनीहरूमाथि प्रतिबन्ध लगायो। सोही दिन अमेरिकी सिनेटरहरूको एक समूहले ट्रम्पलाई ताइवानका लागि नयाँ १४ अर्ब डलरको हतियार प्याकेज स्वीकृत गर्न आग्रह गरे।

बेइजिङ पनि मौन बसेको छैन। मे २ मा, पाँच चिनियाँ रिफाइनरीहरूमाथि लगाइएको अमेरिकी प्रतिबन्धको जवाफमा चीनले सन् २०२१ मा जारी गरिएको आफ्नो 'एन्टी-स्यांक्सन ब्लकिङ रुल्स' (anti-sanctions Blocking Rules) पहिलो पटक प्रयोग गर्‍यो। जसअनुसार चिनियाँ क्षेत्रभित्र अमेरिकी सर्तहरु "मान्यता दिइने, लागू गरिने वा पालना गरिने छैनन्।" चिनियाँ विदेश मन्त्रालयले यसलाई अन्तर्राष्ट्रिय कानुनको आधार विनाको अवैध र एकपक्षीय कदम भनेको छ।  यद्यपि यो अवज्ञा पूर्णतया सर्तहीन भने थिएन। चिनियाँ बैंकहरूलाई प्रतिबन्धित रिफाइनरहरूसँगको जोखिम कम गर्न गोप्य रूपमा सल्लाह दिइएको छ तर सार्वजनिक अडान भने स्पष्ट छ। सोही हप्ता, चिनियाँ विदेशमन्त्री वाङ यीले इरानका विदेशमन्त्री अब्बास अराघचीलाई बेइजिङमा स्वागत गरे। चीन इरानको सबैभन्दा ठूलो व्यापारिक साझेदार र यसको तेलको प्रमुख खरिदकर्ता रहिआएको छ।

घेराबन्दीको संरचना

इरान एक मात्र युद्धको पृष्ठभूमि होइन। यस क्षेत्रभरि अमेरिकी सैन्य उपस्थितिको संरचनालाई विस्तार र तीव्र पारिँदैछ। ट्रम्पको भ्रमणकै हप्ता फिलिपिन्सको इतिहासकै सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यास—'बालिकातन २०२६' (Balikatan 2026) सम्पन्न भयो, जसमा सात राष्ट्रका १७ हजार विदेशी सैनिकहरू सहभागी थिए। फिलिपिन्सको भूमिमा जापानी एन्टि-सिप मिसाइलहरू तैनाथ गरिएका छन् र देशको दक्षिणमा नयाँ अमेरिकी इन्धन डिपो स्थापना गरिएको छ। मध्य लुजोनमा फिलिपिन्सले 'न्यु क्लार्क सिटी' को ४,००० एकड जमिन 'प्याक्स सिलिका इनिसिएटिभ' (Pax Silica Initiative) लाई हस्तान्तरण गरेको छ । जुन अमेरिकी कमन ल अन्तर्गत सञ्चालन हुने र कूटनीतिक उन्मुक्ति प्राप्त अमेरिकी नियन्त्रित उच्च-प्रविधि क्षेत्र हो, जसको लिज ९९ वर्षका लागि नवीकरण गर्न सकिन्छ।

अप्रिल २८ मा, दक्षिण कोरियास्थित अमेरिकी सेनाका कमान्डर जनरल जेभियर ब्रन्सनले 'जापान टाइम्स' सँग कुरा गर्दै वासिङ्टनले एउटा "किल वेब" (kill web) निर्माण गरिरहेको बताए । जुन दक्षिण कोरिया, जापान र फिलिपिन्सलाई चीन, रुस र उत्तर कोरियाविरुद्ध एउटै संरचनामा जोड्ने एक सञ्जालकृत प्रणाली हो। अगस्ट २०२५ मा, ट्रम्पले प्योङटाेकस्थित अमेरिकी सैन्य अखडाबारे सञ्चारकर्मीहरूसँग कुरा गर्दै दक्षिण कोरियामा रहेको "विशाल सैन्य आधार शिविरको जमिनमा स्वामित्व प्राप्त गर्न" चाहेको बताएका थिए। उल्लेखनीय छ कि दक्षिण कोरियामा मात्रै अमेरिकाका ६६ वटा सैन्य अखडाहरू छन्। जापानमा, सैन्य खर्चलाई दोब्बर बनाइँदैछ—जुन सन् १९४५ पछिको सबैभन्दा ठूलो पुन:शस्त्रीकरण हो—जसमा ४०० वटा अमेरिकी टमाहक (Tomahawk) मिसाइलहरू खरिद गरिएका छन्। दक्षिणपन्थी प्रधानमन्त्री सानाए ताकाइचीको नेतृत्वमा यो परियोजनाले निरन्तरता र तीव्रता पाएको छ। ताइवानका लागि ट्रम्पले डिसेम्बरमा ११ अर्ब डलरको हतियार प्याकेज स्वीकृत गरे, जुन इतिहासकै सबैभन्दा ठूलो प्याकेज हो। उनले प्रेससँगको कुराकानीमा आफूले हतियार बिक्रीका बारेमा स्वयम् सी सँगै छलफल गर्न चाहेको बताएका छन्।

'हाइपर-इम्पेरियलिज्म' देखि 'ह्यान्ड्स अफ एसिया' सम्म

यस हप्ता बेइजिङमा जे देखिएको छ, त्यो सम्बन्ध सुधार होइन, र ट्रम्पसँगै यात्रा गरिरहेका कार्यकारी प्रमुखहरू उदारताका संकेत होइनन्। चीनविरुद्धको आर्थिक र सैन्य आक्रामकता, घेराबन्दीको एउटै परियोजनाका दुई पाटाहरू हुन्। यो 'हाइपर-इम्पेरियलिज्म' (अति-साम्राज्यवाद) हो: एउटा यस्तो साम्राज्य जसको आर्थिक प्रभुत्व कमजोर हुँदै जाँदा झन् बढी बल प्रयोगतर्फ उन्मुख छ, जहाँ आफ्नो सार्वभौमसत्ता रक्षा गरिरहेका चीन र अन्य 'ग्लोबल साउथ' का देशहरू प्राथमिक निसाना बनेका छन्। ट्रम्पको 'लेनदेनवादी' शैली अमेरिकी साम्राज्यवादबाट अलग भएको अवस्था होइन, बरु यसका आर्थिक औजारहरूले काम गर्न छाडेपछि यसले लिएको नयाँ रूप मात्र हो।

भियतनाम मुक्तिको वार्षिकोत्सवका अवसरमा अप्रिल ३० मा 'इन्टरनेसनल पिपुल्स एसेम्बली' र यस क्षेत्रका साझेदार संस्थाहरूद्वारा सुरु गरिएको "ह्यान्ड्स अफ एसिया" (Hands Off Asia) अभियानले एसियाबाट विदेशी सैन्य अखडाहरू हटाउन, 'अकस' (AUKUS) 'क्वाड' (Quad) जस्ता आक्रामक सम्झौताहरू रद्द गर्न, र सैन्य खर्चलाई जनताका आवश्यकताहरूमा केन्द्रित गर्न आह्वान गर्दछ। हाम्रो क्षेत्रभरि विस्तार भइरहेको यो संरचना जनताको रक्षाका लागि होइन, बरु चीनलाई घेर्न र बाँकी एसियालाई नियन्त्रणमा राख्न निर्माण गरिएको हो। यस हप्ता ट्रम्प बेइजिङ आइपुग्दा, 'ग्रेट हल' मा हस्ताक्षर गरिने कुनै पनि सम्झौताले उनको प्रशासनले यस क्षेत्रमा निर्माण गरिरहेको युद्धको खाकालाई लुकाउन सक्ने छैन। ओकिनावादेखि सुबिकसम्म, र प्योङटाेकदेखि तेहरानसम्मका जनताले यो युद्ध-पिपासु प्रवृत्तिको वास्तविक रूप देखिसकेका छन् र यसको विरोध गर्दै भनिरहेका छन्: "एसियामाथि हस्तक्षेप बन्द गर" (Hands off Asia)

(टिंग्स चाक 'ट्राइकोन्टिनेन्टल: इन्स्टिच्युट फर सोसल रिसर्च' की एसिया सह-संयोजक र 'वेनहुआ जोङ्गेङ: अ जर्नल अफ कन्टेम्पोररी चाइनिज थट' की सह-सम्पादक हुन्। उनी बेइजिङमा कार्यरत छिन्।)

स्रोत: पिपुल्स डिस्प्याच