भ्यागुतो, सर्प र गँगटो

एक ठाउँको खोल्सामा भ्यागुतो, पानीसर्प र गँगटो बस्थे । उनीहरूको मितेरी राम्रै थियो तैपनि एउटाले भनेको अर्कोले नमान्ने परम्परा भने कायम नै थियो । अगाडि नै बाचाले हारेको हुनाले भ्यागुतो, सर्प गँगटोमध्ये कसैले कसैमाथि अन्याय गर्न पाउँदैनथे र भ्यागुतो आजसम्म जीवित नै थियो । यिनीहरूको बस्ने खोप्रा भिन्नाभिन्नै भए पनि चर्न भनेर बाहिर निस्कँदा चरनमा यी सबैको भेट भइहाल्थ्यो । यसभन्दा बाहेकको समयमा सर्प गुँडुल्किएर एकातिर बस्थ्यो, अर्कोतिर आँखा मात्र देखाएर गँगटो आसन जमाउँथ्यो । फेरि अर्कोतिर खोपामा भ्यागुतो आफूलाई निकै जान्नेसुन्ने सम्झी ठाँटसँग रहन्थ्यो । यही तरिकासँग तिनीहरू त्यो खोल्सामा बसेको झन्डै चौथाइ युगजति भइसकेको थियो ।
एक दिनको कुरा हो । टन्टलापुर घाम लागिरहेको थियो । उनीहरू भिन्नाभिन्नै आफ्ना खोपामा बसिरहेका थिए । पश्चिमतिर अलिअलि कालो बादलको टाटो उठी सगर कराउन थाल्यो । गड्याङगुडुङको आवाजले गँगटो डरायो र पाखातिर उक्लने विचार गरी मित्रहरूसँग सरसल्लाह गर्न आफ्नो खोपाबाट गँगटो निस्कियो । पहिले सर्पकहाँ गएर गँगटाले भन्यो, “मित्र, आज सगर असाध्यै कराइरहेछ । ठूलो पानी पर्छ होला । ठूलो पानी पर्यो भने चारैतिरको भल यही खोल्सामा आएर हामीलाई बगाउँछ । त्यस कारण ज्यान जोगाउन आज पाखातिर जाऔँ ।” गंगटाको यस्तो काँतर कुरा सुनेर आफ्नो मुन्टो उठाइ फुर्तीसाथ सर्पले भन्यो, “आ मीत, म त पाखासाखा कहीं पनि जान्नँ । ठूलो भल- बाढी आयो भने आफ्नो त सय बुद्धि छ, सुलुत्त पाखातिर लागिहाल्छु, अहिलेदेखि डराईडराई के जानु ? जस्तो पर्छ उस्तै टर्छ ।” गँगटाले लाज मानेजस्तो गरी 'के गर्नु, आफ्नो त एक बुद्धि मात्रै छ' भन्दै भ्यागुतो भएतिर लम्कियो ।
भ्यागुतो भएठाउँ गँगटो पुग्दा त भ्यागुतो खूब ध्यानमग्न भई बसेको रहेछ। गँगटाले त्यहाँ पनि आफू आएको कुरा सर्पलाई बताएझैं गरी सबै बतायो । तर त्यो कुरालाई भ्यागुताले पनि उस्तो सुनवाइ गरेन र भन्यो, 'हत्तेरी मीत, के डराउनु ? कथङ् पानी परेर ठूलो भल यही खोल्सातिर आइहाल्यो भने आफ्नो त तीनबुद्धि छँदै बुर्लुक्क तीन चोटि उफ्रनेबित्तिकै पाखा पुगिहाल्छु नि !' भ्यागुताको जवाफ पाएपछि गँगटाले 'के गर्नु, आफ्नो त एक बुद्धि मात्रै छ' भन्दै पाखातिर लाग्यो । आफूलाई ओत हुने एउटा प्वाल खोजेर खुत्रुक्क बस्यो ।
त्यो दिन बेलुकीपख ठूलो पानी र असिना दर्कियो । ज्यादै ठूलो भल आयो । गँगटाले साथीहरूलाई सम्झ्यो । भोलिपल्ट बिहान भएपछि 'साथीहरू के- कसो भए !' भनी आफ्नो पुरानो थलोतिर जान्छ त भ्यागुतो र सर्प दुवै छैनन् । 'कता गए होलान्, भवितव्यमा पो परे कि !' भनेर गँगटो खोल्सैखोल्सा उँधोतिर लाग्यो । गँगटाले राम्ररी आफ्ना मित्रहरूलाई चिन्यो । सर्पचाहिँ एउटा भालमा लमतन्न परेर मरिसकेछ। सायद भलले बगाएर ल्याउँदै भड्खालामा जाकिएर मरिसकेको होला, अनि त्यहाँ अड्किएको होला भन्ने ठान्यो । यसो तलतिर हेर्छ त भ्यागुतो झन् उतानो टाङ परेर सेतो भुँडी देखाउँदै यमद्वार पुगिसकेछ । अनि गँगटाले विचार गर्यो, 'हिजै मैले भनेको बेला पाखातिर गइदिएका भए यस्तो दशा हुने थिएन । घमन्डले गर्दा यसरी ज्यान गयो ।' तर अब के गरोस् गँगटाले । अनि त गँगटो एकछेउमा बसेर दुवै मित्रहरुलाई हेर्दै वैरागिएर कराउन थाल्यो, 'सय बुद्धि झालमा चाङ, तीन बुद्धि उत्तानो टाङ एकै बुद्धि पाखा नाघ' यति भनिसकेपछि आफ्ना मित्रहरू मरिसकेकाले गँगटो पनि त्यो खोल्साबाट बसाइँ सर्यो ।
हाम्रो लोककथाबाट । संकलनकर्ता: लीलासिंह कर्मा
प्रतिक्रिया