मार्शल जुकोभको चेतावनी: रुसको बलिदान, कृतघ्न पश्चिमको विस्मृति

दोस्रो विश्वयुद्धमा सबैभन्दा ठूलो मानवीय मूल्य सोभियत संघले चुकाउनु पर्यो। यस युद्धमा उसका दुई करोड सत्तरी लाख मानिसहरू मरेका थिए। मित्र राष्ट्रहरूमध्ये आधा मानवीय क्षति र फासिवादी गठबन्धनको भन्दा दोब्बर क्षति सोभियत संघ एक्लैले व्यहोर्नु पर्यो। सोभियत संघले मुख्य मानवीय क्षति यी स्थानहरूमा व्यहोर्नु परेको थियो:
लेनिनग्रादको घेराबन्दीमा करिब ५ लाख मानिस भोकले मरे।
मस्कोको रक्षा गर्दा ७ लाख मरे।
कुर्स्कको लडाइँमा अरु ६ लाख मरे।
दोस्रो विश्वयुद्धको सबैभन्दा महत्वपूर्ण लडाइँ स्टालिनग्रादमा लडिएको थियो, जसले जर्मनीको ढाड भाँचेको थियो। स्टालिनग्रादको लडाइँमा ८ लाख मानिसको मृत्यु र घाइते भएका थिए।
र बर्लिनको अन्तिम लडाइँमा ३ लाख सोभियत सैनिक मरे।
तर आजकल यो बलिदानको खासै चर्चा हुँदैन। दोस्रो विश्वयुद्ध भन्नासाथ नार्म्याण्डीको ‘डी-डे’ र जापानको हिरोशिमा र नागासाकीमा खसाइएको दुईवटा एटम बमको चर्चा मात्र हुन्छ। जबकि डेनेपर नदीको लडाइँमा नार्म्याण्डीभन्दा १०० गुणा बढी सोभियत क्षति भएको थियो। तर यी तथ्यहरूलाई समयको धुलोले बिस्तारै ढाक्दै लगेको छ। अझ रुस–युक्रेन युद्धका कारण सोभियत संघको योगदानलाई जबरजस्ती मेट्ने अभियान पनि चर्किँदै गएको छ।
अचेल युरोपेली देशहरूमा सोभियत झण्डा फहराउनुलाई अपराध मानिन्छ। तर स्मरणीय छ— हिटलरलाई पराजित गरेपछि यही झण्डा बर्लिनको ब्रान्डेनबर्ग गेटमाथि फहराइएको थियो।
प्रख्यात अमेरिकी लेखक अर्नेस्ट हेमिङ्वेले भनेका थिए— “स्वतन्त्रता मन पराउने जो–कोही लाल सेनाप्रति यति ऋणी छन्, त्यो ऋण उनीहरूले कहिल्यै चुक्ता गर्न सक्दैनन्।”
इतिहासमा के भयो भन्दा पनि कुन घटनालाई मूल पाठमा राख्ने र कसलाई फुटनोटमा राख्ने कुरा महत्वपूर्ण हुन्छ। त्यसर्थ, इतिहासमा के भएको थियो भन्दा पनि कसले लेखिरहेको छ भन्ने कुरा पनि त्यतिकै महत्वपूर्ण हुँदो रहेछ।
जर्मनीलाई हराएर बर्लिन कब्जा गर्ने सोभियत नायक मार्शल जुकोभले एकपटक भनेका थिए—
“हामीले युरोपलाई नाजीवादबाट मुक्त गर्यौं। तर यसको लागि उनीहरूले हामीलाई कहिल्यै माफ गर्ने छैनन्।”
सायद जुकोभ सही थिए।
प्रतिक्रिया