केही लोकप्रिय घरपालुवा जनावरहरू
मानिसहरूले थरिथरिका जनावरहरुलाई पाल्ने गर्छन् । जनावार प्रेमीहरुका लागि आफूले पालेको जनावर परिवारका प्रिय सदस्य जस्तै हुने गर्छन् । ती पाल्तु जनावरहरुले तिनका पालनकर्तालाई जीवनका विभिन्न चरणहरूमा साथ समर्थन प्रदान गर्ने गर्छन्। यी जनावरहरूले आफ्ना पालन गर्नेका लागि साथीसहयोगीका रुपमा, साना बच्चाहरूका लागि खेल खेल्ने साथीको रूपमा र बच्चाहरूको सुरक्षाकर्ताका रुपमा, विरामी तथा असहायकहरुका लागि सहयोगीका रुपमा भूमिका निर्वाह गर्ने गर्छन् । थुप्रै अध्ययनहरुले जनावर पाल्दा भौतिक तथा मानसिक फाइदाहरु प्राप्त हुने देखाएका छन् ।
अधिकांश मानिसहरू घरपालुवा जनावरलाई साथीको रूपमा राख्छन्। कुकुर र बिरालो जस्ता जनावरहरूले मानिसहरूलाई एकान्त, तनाव, र मानसिक स्वास्थ्य समस्याबाट छुटकारा पाउन मद्दत गर्छन्। अनुसन्धानले देखाएको छ कि कुकुरहरूको साथले तनाव घटाउँछ र मानिसहरूको मानसिक स्थिति सुधार गर्न मद्दत पुर्याउँछ । त्यसैगरी, कुकुरहरू विशेष गरी सुरक्षाको लागि पनि घरपालुवा बनाइन्छ। धेरै परिवारले कुकुरलाई घरको रक्षकका रूपमा पाल्ने गर्छन् जसले चोरी र आपतकालीन अवस्थामा निक्कै मद्दत पुर्याउने गर्छन् ।
कुकुरहरू, घोडा, र अन्य जनावरहरू कामका लागि पनि पालिन्छन्। कुकुरहरू प्रहरी र सैनिक सेवामा, घोडाहरू खेती र यातायातका लागि प्रयोग हुन्छन्। यसका अतिरिक्त, केही जनावरहरू थेरापी, अग्नि र आपतकालीन सेवा, र अन्य सामाजिक सेवाहरूमा पनि प्रयोग हुन्छन् ।
धेरै स्थानमा, घरपालुवा जनावरहरू मानिसको सामाजिक हैसियत तथा संस्कृतिको हिस्सा बनिसकेका छन्। विशेष गरी शहरी क्षेत्रहरूमा, कुकुर र बिरालो पाल्नु मानिसहरूको जीवनशैलीको हिस्सा भएको छ ।
त्यसैगरी जनावरप्रतिको प्रेम र शौकका कारण पनि जनावरलाई घरपालुवा बनाउँछन्। त्यसैगरी, विभिन्न प्रजातिका चरा, माछा, र सरीसृपहरूलाई अध्ययन र शौकको उद्देश्यका लागि राखिन्छ ।
केही लोकप्रिय घरपालुवा जनावरहरू
लोकप्रिय घरपालुवा जनावरको कुरा गर्दा सबैभन्दा अग्रपङ्तिमा कुकुरको नाम आउँछ । कुकुरलाई संसारभरि सबैभन्दा धेरै घरपालुवा बनाइन्छ। तिनीहरू मानिसको साथी, सुरक्षा प्रदान गर्ने, र कामका लागि उपयोगी हुन्छन्। फरक प्रजातिका कुकुरहरूले फरक भूमिकामा सेवा दिने गर्छन् ।
कुकुरपछि बिरालोहरू पनि अत्यन्त लोकप्रिय घरपालुवा जनावर हुन्। तिनीहरू पनि जनावरप्रेमी मानिसहरु लागि प्राथमिक रुचिमा पर्छन् ।
एक्वेरियम माछा घरपालुवा जनावरको रूपमा धेरै लोकप्रिय छन्।
त्यसैगरी, मानिसहरुले सुगा, मैना, परेवालगायतका अन्य थुप्रै चराहरुलाई पाल्ने गर्छन्। यिनीहरू सुन्दर स्वर र चंचल स्वभावका कारण मन पराइन्छन्।
खरायो, गिनी पिगहरू पनि मानिसले घरपालुवा बनाउने जनावरमा पर्दछन् ।
घरपालुवा जनावरको सूचीमा पर्ने अर्को जनावर घोडा पनि हो । घोडालाई विशेष गरी ग्रामीण र कृषि क्षेत्रमा पालिन्छ। त्यसैगरी, गाइभैंसी, भेडाबाख्राहरु पनि मानिसले कृषि तथा खाद्यान्नका लागि पाल्ने गर्छन् ।
कसैकसैले अजिंगर, साना छेपारो, वा कछुवाजस्ता सरीसृपलाई पाल्ने गर्छन्। यिनीहरू अद्वितीय रुचि भएका व्यक्तिहरूका लागि उपयुक्त मानिन्छन्।
यी जनावरहरू मानिसहरूको आवश्यकता र रुचिअनुसार पालिन्छन्। जनावरको प्रजाति र पाल्ने चलन ठाउँ विशेषमा फरक हुन सक्छ। कुकुर र बिरालो भने संसारभरि नै सबैभन्दा सामान्य घरपालुवा जनावरका रूपमा परिचित छन्।
प्रतिक्रिया