इजरायली उक्साहट: के इरान प्रत्यक्ष युद्धमा ओर्लिएला ?

इजरायलले १२ घण्टाको फरकमा आफ्ना दुई सबैभन्दा कट्टर विरोधी समुहहरुका प्रमुख नेताहरुको हत्या गरेपछि पश्चिम एसियामा तनाव चरमसीमामा पुगेको छ। इजरायलले ३० जुलाईमा हिज्बुल्लाहका वरिष्ठ कमान्डर फुआद शुकरलाई लेबनानको राजधानी बेरुतमा मिसाइल प्रहार गरेर हत्या गरेको थियो। त्यसको केही घण्टाभित्र उसले इरानको राजधानी तेहरानमा मिसाइल प्रहार गरी हमासका राजनीतिक नेता इस्माइल हानियाको हत्या गरेको थियो।

आफ्नो वरिष्ठ कमान्डर मारिएपछि हिज्बुल्लाहले त्यसको बदला लिने चेतावनी दिएको छ। फुआद शुकरको अन्तिम संस्कारलाई सम्बोधन गर्दै हिज्बुल्लाह प्रमुख हसन  नस्रल्लाहले इजरायल संगको युद्ध नयाँ चरणमा प्रवेश गरेको दावी गर्दै इजरायललाई आफ्नो समुहले दिने ‘अवश्यम्भावी प्रतिक्रिया’ पर्खिन चेतावनी दिएका छन्।

इस्माइल हानिया । https://www.islamicinvitationturkey.com

हमासका प्रमुख इस्माइल हानियाको हत्या इरानका नयाँ राष्ट्रपतिको सपथग्रहण समारोहमा सहभागी भएको समयमा भएको थियो।  इस्माइल हानिया हमासका राजनीतिक नेता थिए। उनी कुनै सैन्य कमान्डर थिएनन्। इस्माइल हानिया सन् २००६ मा प्यालेस्टाइनका प्रधानमन्त्री समेत रहेका थिए। उनी कतारमा बस्थे। इस्माइल हानियाले हमास र इजरायल बीच अहिले जारी युद्ध रोक्नको लागि भैरहेको शान्तिवार्तामा सक्रियतापूर्वक भाग लिने गरेका थिए। त्यसक्रममा उनले टर्की र इजिप्टको बारम्बार भ्रमण गर्ने गरेका थिए। इजरायलले चाहेको भए इस्माइल हानियालाई जुनसुकै ठाउँमा हत्या गर्न सक्थियो। तर उसले उनको हत्या तेहरानमा गरेर इरानलाई युद्धको लागि उक्साउन चाहिरहेको छ।

इजरायलको यो आक्रमण पछि इरानका सर्बोच नेता आयोतोल्ला खामेनीले बदला लिने चेतावनी दिएका छन्।

 गत अप्रिलमा पनि इजरायलले सिरियाको राजधानी दमास्कसमा रहेको इरानी दुताबासमा हमला आक्रमण गरेर दुई जना सैन्य कमान्डरहरुको हत्या गरेको थियो। त्यसको बदलामा इरानले इजरायल माथि करिब ३०० मिसाइल र ड्रोनहरु प्रहार गरेको थियो। जसमध्ये अधिकांशलाई पश्चिम एसियामा रहेका अमेरिकी र अरब देशका सेनाले खसालेका थिए। यस पटक पनि इरानले इजरायल माथि सोहि प्रकारले आक्रमण नगर्ला भन्न सकिन्न।

अमेरिकाले इजरायलको यो कारवाहीको बारेमा आफूलाई कुनै जानकारी नभएको दाबी गरिरहेको छ। तर अमेरिकाले इजरायल माथि कुनै आक्रमण भए उसको रक्षा आफुले गर्ने बाताइरहेको छ। इजरायलको रक्षाको लागि अमेरिकाले लेबनान नजिक १२ वटा युद्धपोतहरु तैनाथ गरेको छ।

इरानले आफ्नो भूमिमाथि भएको इजरायली अतिक्रमणको बदला कसरी लिनेछ भन्ने चासो सर्वत्र रहेको छ। इरानले अप्रिल महिनामा जस्तै इजरायलमाथि सिधा आक्रमण पनि गर्न सक्छ। वा आफ्ना मित्र शक्तिहरु लेबनानका हिज्बुल्लाह, यमनका हुथी बिद्रोही र इराकी शिया मिलिशियाहरु मार्फत पनि इजरायल माथि आक्रमण गर्न सक्छ। पश्चिम एसियामा इरानको शक्तिलाई अक्टोपसका ८ वटा भुजाहरुसंग तुलना गर्ने गरिन्छ। हिज्बुल्लाह, हुथी र इराकी शिया मिलियाहरु इरानका भुजाहरु हुन्। यी मध्ये लेबनानको हिज्बुल्लाहको सर्वाधिक शक्तिशाली मानिन्छ। हिज्बुल्लाहसंग करिब ४० हजार सैनिकहरु छन्। ऊ संग करिब १ लाख रकेटहरु र ड्रोनहरु रहेका छन्। यदि हिज्बुल्लाह इजरायलसंग प्रत्यक्ष युद्धमा उत्रियो भने इजरायललाई निक्कै संकट पर्न सक्छ। अहिले पनि हिज्बुल्लाह र इजरायल बीच सीमित द्वन्दहरु भइरहेको छ। यो द्वन्द प्रत्यक्ष युद्धमा परिणत भयो भने इजरायलको ठुलो भूभाग हिज्बुल्लाहका हजारौ रकेटहरुले तबाही मच्चाउन सक्छन्। इजरायललाई  हिज्बुल्लाह संगको लडाई हमाससंग जस्तो सहज हुनेछैन।

अहिले इरानले इजरायली कारवाहीको बदला ठूलो रुपमा नलिने र सांकेतिक रुपमा मात्र गर्ने सम्भावना पनि रहेको छ। किनकी यतिबेला इजरायल रणनीतिक हारको संघारमा छ। उसले गाजा पट्टीमा गरेको आक्रमण आफ्नो लक्ष हासिल गर्न पूर्ण रुपमा विफल भएको छ। इजरायलले न त अहिलेसम्म हमासले अपहरण गरेका आफ्ना अधिकांश नागिरकहरुलाई छुटाउन सकेको छैन। न त उसले हमासको सैन्य शक्तिलाई नस्ट पार्न नै सकेको छ। स्वयं कतिपय इजरायली सैन्य कमाण्डरहरुले नै पनि हमास एक विचार भएकोले उसलाई पूर्ण रुपमा समाप्त पार्न नसकिने, त्यसकारण द्वन्द्वको समाधान युद्धबाहेक अरु उपायहरुबा६ पनि खोजिनुपर्ने खालका भनाइहरु बेलाबेलामा व्यक्त गर्दै आइरहेका छन् ।कतिपय विश्लेषकहरु त कतिसम्म बताउँछन् भने अहिलेको यो युद्ध इजरायलका सत्ताधारीहरुले आफ्नो संकटापन्न राजनीतिक शाखलाई जोगाउन चालेको जोखिमको रुपमा पनि व्याख्या गर्ने गर्छन् । त्यसो त इजरायलले युद्धको नाममा गाजा पट्टीमा मच्चाएको बर्बर आतंकका कारण बिश्वजनमानसमा सम्पूर्ण रुपमा नागिएको छ। स्वयं संयुक्त राष्ट्रसंघ तथा अन्तरराष्ट्रिय फौजदारी अदालतले समेत इजरायलको बर्बरताले युद्धअपराधको रुप लिएको बताउँदै आएको छ । यो अवस्थामा इजरायल आफ्नो यो सामरिक हारबाट देशविदेशका जनमतको ध्यान अन्यत्र मोड्न इरानलाई युद्धमा तान्न चाहन्छ ताकि उसको पक्षमा अमेरिका र युरोपका सैन्य शक्तिहरु पनि प्रत्यक्ष रुपमा युद्धमा सामेल भएर उसको प्रतिरक्षा गर्न उत्रियोस् । ध्यानयोग्य कुरा के छ भने अहिलेको विश्व शक्ति सन्तुलनमा अमेरिकाको अवस्था ओरालो लाग्दै गइरहेको छ र उसको एकल ध्रुवीय हैकम कमजोर बन्दै गइरहेको छ । त्यसलाई चुनौती दिँदै यतिखेर भने रुस, इरान, चीन, उत्तर कोरिया, भारत लगायतका देशहरु नयाँ विश्वशक्तिको रुपमा सशक्त रुपमा देखापर्दै आइरहेको छ । कदाचित खाडी क्षेत्रमा युद्धको अवस्था पैदा भयो भने स्वभाविक रुपमा चीन, रुस जस्ता महाशक्तिहरु इरानको पक्षमा उभिने छन् । यो भनेको निक्कै डरलाग्दो अवस्था हुनेछ ।

त्यसो त इरान आफ्नो रणनैतिक धैर्यताको लागि प्रख्यात छ। त्यसैले अहिलेसम्म उसले इजरायलको पटक पटकको उक्साहटलाई बेवास्ता गर्दै उ संग प्रत्यक्ष युद्धमा होमिन बाट बँचिरहेको छ। उसले प्रत्यक्ष युद्धको सट्टामा छद्मयुद्धबाटै इजरायललाई सशक्त जवाफ दिँदै तथा कडा प्रतिकार गर्दै आयरहेको छ । यस पटक स्थितिको गाम्भीर्यता अलि सघन भए पनि इरान प्रत्यक्ष युध्दमा जाला कि नजाला, त्यो चाहिँ गम्भीर वैश्विक चासो र चिन्ताको विषय बनेको छ ।

त्यसो त अहिले हिजबुल्ला र हमासका नेताको हत्यालगत्तै इजरायली प्रधानमन्त्री नेतान्याहुले इजरायलले काइरोमा युद्धविराम वार्ता गर्न वार्ताकार टोली पठाउँदै गरेको बताएका छन् तर विश्लेषकहरुले यसलाई इजरायलको गाजामा आफूले चलाएको अभियानको मिशन पूरा भएको घोषणा गर्ने उपायको रुपमा व्याख्या गरेका छन् ।

उनीहरुका अनुसार पूरै इजरायली राज्यशक्तिको परिचालन र अमेरिका–युरोप धूरीको भरमग्दूर समर्थनका बाबजूद इजरायलको गाजा अभियान खोक्रो साबित भएको छ, हमासलाई धूलोपीठो पार्ने उसको अभियान असफल भएको छ, उसको सैन्यअभियानको विश्वव्यापी रुपमा विरोध भएको छ र त्यसलाई धेरैले युद्धअपराधको रुपमा घोषणा गरेका छन् । यस अवस्थामा आफ्नो इज्जत जोगाउनका लागि इजरायलले वार्ता टोलीलाई छिटो वार्ता टुङ्ग्याउने र सम्भवतड्: सम्झौतामा पुग्ने म्यान्डेटसहित पठाउने देखिएको छ ।  

अहिले गाजा तथा पश्चिम एशियामा इजरायलका सामु युद्धलाई निरन्तर राख्न र टिकाउन कठीन तथा विश्वव्यापी आलोचनाको विषय बन्दै गइरहेको छ । यस्तो अवस्थामा अब इजरायलसामु सीमित विकल्पहरु मात्र बाँकी रहेको छ । उसले अब सबैभन्दा बढी गर्न सक्ने भनेको केही हत्या गर्नु र तनावलाई बढाउनु मात्रै हो । त्यसको विपरीत इरानकेन्द्रीत धूरीसँग भने अब प्रतिशोधको किसिम निर्धारित गर्ने विकल्प कायमै रहेको र पछिल्ला हत्याहरुको परिणामस्वरुप कतिवटा मोर्चाहरु खुल्लान् भन्नेबारे अहिल्यै यसै भन्न सकिने अवस्था नरहेको विश्लेषकहरु बताउँछन् । त्यसो त इरानी सार्वभौमसत्ताको उल्लंघन गर्दै इजरायलले इरानीभूमिभित्र हमास नेताको हत्या गरेपछि इरानले राष्ट्रसंघको वडापत्रको धारा ५१अनुसार आफूलाई सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने अधिकार रहेको जनाउँदै राष्ट्रसंघलाई जानकारी गराएको खबरहरु पनि सार्वजनिक भएको छ ।

Image source: https://eu-images.contentstack.com