खतरनाक हुन सक्छ भिटामीन–एको बढी मात्रा !

भिटामीन भन्ने बित्तिकै हामी शरीरको लागि अति आवश्यक पदार्थ हो भन्ने बुझ्छौं र सामान्यतः यो जति खाए पनि हुन्छ भन्ने सोच राख्दछौं। तर यो कुरा गलत हो । हरेक अतिले खति गर्छ । यो कुरा भिटामीन एको सेवनमा पनि लागु हुन्छ । भिटामीन एको निर्धारित मात्रा भन्दा बढी हामीले सेवन गर्न थाल्यौं भने त्यसले फाइदाको सट्टा उल्टै क्षति पनि गर्न सक्छ ।

सामान्यतः एउटा वयस्क पुरुषका लागि दैनिक ९०० माइक्रोग्राम र महिलाका लागि ७०० माइक्रोग्राम भिटामीनएको आवश्यकता पर्दछ। तर एउटा मान्छेले दैनिक रुपमा ३००० माइक्रोग्रामभन्दा बढी भिटामीन एको सेवन गर्न थाल्यो भने त्यसले हामीलाई कलेजोका रोगहरु लाग्ने खतरा बढी हुन्छ भने गर्भावस्थाका महिलाहरुलाई भिटामीनएको मात्रा बढी भयो भने जन्मने बच्चामा शारीरिक कमीहरु (Birth defects) देखा पर्न सक्छ। सामान्यतः के मानिन्छि भने भिटामीन तथा पोषण पदार्थहरु निर्धारित मात्रा (Recommended Dietary allowances) भन्दा तीन गुना मात्रै बढी भयो भने पनि त्यसले शरीरलाई फाइदा गर्नुको साटो उल्टो नोक्सानी पुर्याउने गर्छ ।

भिटामीन ए बढी भयो भने गम्भीर असर पुग्न सक्छ । यो सामान्य असहजताको तहदेखि जीवन नै जोखिममा पर्ने हदसम्म पनि हुन सक्छ । यसको गम्भीरता भिटामीनको मात्रा कुन हदसम्म बढी भयो भन्ने कुरामा निर्भर गर्दछ ।

छोटो समयमा धेरै बढी मात्रामा भिटामीन एको सेवन भएको छ भने त्यसले धेरै गम्भीर असर पुर्याउन सक्दछ । यस्तो अवस्थालाई भिटामीनजन्य विषाक्तता भन्न सकिन्छ। यस्तो अवस्था खास गरेर बच्चाहरुले अज्ञानतावश धेरै भिटामीन खाँदा हुन सक्छ । यस्ता अवस्थामा निम्नलिखित लक्षणहरु देखापर्न सक्दछः

वाकवाकी तथा वान्ता, टाउको दुखाइ, चक्कर लाग्नु, चिडचिडापन बढ्नु, वेहोशी छाउनु, पेट दुख्नु, छाला पहेलो हुनु । भिटामीन एको विषाक्तता बढ्दा मस्तिष्कलाई ढाकेर बसेको टाउकोको भागमा दवाब बढ्न सक्छ । यो अवस्था विशेष गरेर बच्चाहरुमा देखापर्न सक्छ । यसले वान्ता हुने, कोमामा जाने तथा तत्कालै उचित उपचार नपाएको खण्डमा मृत्यु समेतको अवस्था आउन सक्छ ।

दीर्घकालीन विषाक्तताः यो अवस्था लामो समयदेखि भिटामीनको  निश्चित मात्राभन्दा बढी परिणाममा सेवन गर्दा देखापर्छ । यसका लक्षणहरु अघिल्लोभन्दा कम हुने गर्छ । त्यस्ता केही लक्षणहरु निम्नानुसार हुन्छन्ः

सुख्खा र खस्रो छाला, ओठ फुट्नु । कपाल झर्नु (आँखी भौंहरुको समेत) । आँखा सुख्खा हुनु, हड्डी तथा जोर्नीहरु दुख्नु, थकान लाग्नु, खानामा अरुची तथा तौल घट्नु, कलेजो खराब हुनु, हड्डीहरु कमजोर बनेर मक्किने, भाँच्चिने समस्या पैदा हुनु, गर्भवती महिलाबाट अपाङगता भएका बच्चाहरु जन्मनु ।

भिटामीन एको बढी मात्राको सेवनले शरीरमा देखापर्ने विषाक्तताले टाउकोमा चाप बढ्न सक्छ । त्यसको लक्षण धेरै हदसम्म मस्तिष्कको ट्युमरसँग मिल्दोजुल्दो हुने गर्छ । त्यस अवस्थामा अत्यधिक टाउको दुख्ने, दृष्टिमा समस्या हुने तथा लामो समयसम्म उपचार नगरिएको खण्डमा स्नायुतन्त्रमा हानी पुग्न सक्छ ।

सामान्यतः एकैचोटी धेरै परिणाममा भिटामीन एको सेवन गरिएको खण्डमा त्यसले गम्भीर असर गर्न सक्छ । त्यस्तो अवस्थामा तुरुन्तै चिकित्सीय उपचारको खाँचो पर्दछ । अन्यथा, एउटा निश्चित कालखण्डमा देखापर्ने भिटामीन एको बढी मात्रा र त्यसले पैदा गरेको विषाक्तता भिटामीन एको अत्यधिक सेवन रोकेपछि हटेर जान्छ ।  तर कहिलेकाहीँ गम्भीर अवस्थाहरुमा, विशेष गरी इन्ट्राक्रेनियल उच्च रक्तचाप (Intracranial hypertension) को जटीलतामा त्यसले स्थायी क्षति गर्न पनि सक्छ । 

सारांशमा भन्दा, भिटामीन ए शरीरको लागि अत्यावश्यक पोषक तत्व हो तर यसको अत्यधिक मात्रा धेरै हानिकारक हुन सक्छ । त्यसैले दैनिक रुपमा शरीरलाई आवश्यकपर्नेभन्दा बढी भिटामीन एको सेवन गर्नु हुँदैन । कुनै पनि कारणले भिटामीन एको अतिरिक्त सप्लिमेन्ट लामो समयसम्म लिनुपर्ने भयो भने पनि चिकित्सकको सल्लाहमा मात्रै लिनु पर्छ । केही गरेर शरीरमा भिटामीन एको बढी मात्राले असहज अवस्था देखापरेको छ भने तुरुन्तै चिकित्सीय सहयोग लिनुपर्छ ।

कति आवश्यक पर्छ भिटामीन ए ?

मानिसलाई दैनिक कति भिटामीन ए आवश्यकता पर्दछ भन्ने कुरा उमेरमा भर पर्दछ । अर्थात् मानिसको उमेर अनुसार भिटामीन एको मात्रा पनि फरक फरक हुने गर्छ ।

माथि नै पनि उल्लेख गरिसकिएको छ– एउटा वयस्क पुरुषका लागि दैनिक ९०० माइक्रोग्राम र महिलाका लागि ७०० माइक्रोग्राम भिटामीनएको आवश्यकता पर्दछ। त्यसबाहेक, १ देखि ३ वर्षम्मका बच्चाहरुलाई ३०० माइक्रोग्राम, ४ देखि ८ वर्षसम्मका बच्चाहरुलाई ४०० माइक्रोग्राम, ९ देखि १३ वर्षसम्मका बच्चाहरुलाई ६०० माइक्रोग्राम, १४१८ तथा त्योभन्दा माथि उमेर समूहहरुका लागि ९०० माइक्रोग्राम (पुरुष)/७०० माइक्रोग्राम (महिला) भिटामीन एको आवश्यकता पर्दछ । त्यसमाथि थप, गर्भवती महिलालाई ७५० माइक्रोग्राम र दुध खुवाइरहेकी महिलालाई १३०० माइक्रोग्राम भिटामीन एकको आवश्यकता पर्दछ ।

भिटामीन एको मात्रालाई माइक्रोग्राम रेटिनोल एक्टिभिटी इक्युभ्यालेन्ट्स  ( Retinol Activity Equivalents (RAE))मा नाप्ने गरिन्छ ।

सामान्यतः हामीलाई दैनिक रुपमा आवश्यक पर्ने भिटामीन एको आपूर्ति हाम्रो दैनिक भोजनहरुबाटै पर्याप्त मात्रामा हुन सक्छ । खासगरी, कलेजो, माछा, अण्डा, दुग्धजन्य पदार्थहरु, सुन्तला, गाँजर, फर्सी, हरियो सागपात, खरबुजा, आँप, मेवा जस्ता खानेकुराहरुमा पर्याप्त मात्रामा भिटामीन ए हुने गर्छ । हाम्रो दैनिक भोजनमा यी खानेकुराहरुलाई आलोपालो सिजनअनुसार मिलाएर समावेश गर्ने हो भने अतिरिक्त मात्रामा भिटामीन ए खाइबस्नै पदैन ।तर कुनै शारीरिक समस्या वा रोगहरुका कारण शरीरमा भिटामीन एको अभाव छ भने चाहिँ चिकित्सकको सल्लाहमा भिटामीन एका चक्कीहरु खानु पर्ने हुन सक्छ ।