अचम्मकै ‘ह्याङ्गिङ स्टोन’ !

 

गुरुत्वाकर्षको नियामानुसार पृथ्वीको गुरुत्वबलले हरेक वस्तुलाई आफूतिर तानिरहेको हुन्छ । यसको अर्थ के हो भने अडिने पर्याप्त आधार पाएन भने कुनै पनि वस्तु अनिवार्य रुपमा जमीनमा खस्छ खस्छ । तर गुरुत्वबलको यो आधारभूत मान्यतालाई चुनौती दिने थुप्रै घटना तथा चीजहरु हामीले देख्न सुन्न पाउँछौं । त्यस्तै एउटा चीज हो रुसको साइबेरियामा रहेको अविश्वसनीय ह्याङ्गिङ स्टोन ।

यो चट्टान रुसको क्रास्नोयास्र्क क्रायको पश्चिम सायन पर्वतहरुको बीच एर्गाकी नेचर पार्कमा अवस्थित छ । त्यहाँको रादुज्नोय झील (रेनबो लेक) को किनारमा अवस्थित एउटा चट्टानको छेउमा अडिएको यो विशाल ग्रेनाइट चट्टानलाई ह्याङगिङ स्टोन भनेर चिनिन्छ ।

यस चट्टानको आकार लगभग १००० मिटर छ । यसको तौल ५०० टन हुन सक्ने अनुमान गरिएको छ ।

यो चट्टानको निर्माण कसरी भयो र त्यो कसरी त्यसरी अडिएको छ भन्ने कुरा अझै पनि रहस्य र जिज्ञासाको नै विषय बनेको छ । सामान्यतः के विश्वास गरिन्छ भने लाखौं वर्षको दौरानमा हावा पानी लगायतका प्राकृतिक घटनाहरुले त्यहाँ रहेको चट्टानलाई खियाउँदै वर्तमान अवस्थाको रुप दिएको हो ।

हरेक विचित्र घटनाहरुका पछाडि किम्बदन्तीहरु जोडिएका हुने गर्छन् । यो चट्टानसँग पनि एउटा किम्बदन्ती जोडिएको छ । स्थानीय वासिन्दाहरु के विश्वास गर्छन् भने यो चट्टान त्यसबेला आफ्नो स्थानबाट हट्नेछ, जब एउटा अत्यन्तै विशाल शरीर भएको जीव उठ्नेछ । त्यसबेला विश्वमा उथलपुथलकारी परिवर्तन आउनेछ ।

किम्बदन्तीको रहस्य र रोमाञ्च त छँदैछ, त्यो चट्टान कसरी त्यस्तो अदभूत तरिकाले अडिएको होला भन्ने कुरा हेर्न वर्षेनी त्यहाँ पर्यटकहरुको ओइरो लाग्ने गर्छ । वास्तवमा, त्यो चट्टान भएको स्थान पैदलयात्रीहरु एवं प्रकृतिप्रेमीहरुका लागि एउटा लोकप्रिय पर्यटकीय स्थल बनेको छ ।

तस्विर स्रोत: https://hasanjasim.online