जीवनको अधिकांश समय हावामै बिताउने अनौठो चरा सुटी टर्न

चराहरुको संसार निक्कै रोचक र विचित्रको हुने गर्छ । यस संसारमा विचित्र र अदभूतका चराहरु पाइने गर्छन् । त्यस्तै एउटा चराको नाम हो सुटी टर्न । यो चराको जीवनकाल निक्कै लामो हुने गर्छ । अद्भूत र विचित्रको कुरा ते के हो भने यो चराले आफ्नो जीवनकालको अधिकांश समय हावामा नै बिताउने गर्छ । कतिसम्म भने यसले उड्दाउड्दै नै आफ्नो निद्रा समेत पूरा गर्ने गर्छ । त्यसकारण यो चरालाई उड्दाउड्दै निदाउने चरा पनि भन्ने गरिन्छ ।

सुटी टर्न  (Onychoprion fuscatus) Laridae  परिवारको एक मध्यम आकारको समुद्री चरा हो । यो उष्णकटीबन्धीय महासागरहरुमा विचरण गर्ने चरा हो, जुन चारा भूमध्य क्षेत्रका टापुहरुमा प्रजननक्रिया गर्न तथा बच्चाहरु हुर्काउन मात्रै फर्केने गर्छ ।

यो चराको शरीमा कालो र सेतो रङका आकर्षक पट्टाहरु हुने गर्छ । शरीरको पछिल्लो भाग, पखेटाहरु, चुच्चो, टाउकोको भाग कालो हुन्छ भने यसको चुच्चोको फेद, घाँटी र छात्ती तथा पुच्छरको तल्लो भाग सेतो हुने गर्छ । यसको पुच्छर भने कालो हुने गर्छ । यसको खुट्टा पनि कालै हुने गर्छ ।

सामान्नयतः १६ इन्च लामो तथा पखेटाको फैलावट ३९ इन्चसम्म हुने गर्छ । यसको तौला १८० ग्रामजति हुने गर्छ ।

सुटी टर्न समूहमा बस्ने प्राणी हो । यिनीहरुले् एउटा ठूलो समूहमा रहेर प्रजनन क्रिया गर्छ । तिनीहरुको एउटा समूहमा लाखौं चराहरु हुने गर्छन् । यो चरा एकनिष्ठ हुन्छ अर्थात् एउटै जोडी बाँध्ने गर्छ । यिनीहरुले एक पटकमा एउटा मात्र अण्डा पार्ने गर्छ । अण्डालाई कारेल्ने तथा बच्चालाई स्याहार्ने काम भालेपोथी दुवै मिलेर गर्ने गर्छ ।

माथि नै उल्लेख गरिसकियो, यो चराले आफ्नो जीवनकालको अधिकांश समय समुद्रमाथिको हावामा उडेरै बिताउने गर्छ । यिनीहरु आफ्ना आहारा माछा, स्क्विड, क्रस्टेसियनहरुलाई पक्रन समुद्रमा डुबुल्की लगाउने गर्छन् ।

सुटी टर्न लामो समयसम्म बाँच्ने चराहरुमा पर्दछन् । केही चराहरु त ३० वर्षसम्म बाँच्ने गर्छ । तर वासस्थनको क्षति, अनियन्त्रित शिकार तथा प्रदूषणका कारण यिनीहरु खतरामा परेका छन् । आइयुसिएनले यस चरालाई कम चासोको चराको रुपमा राखेको छ । तर केही क्षेत्रमा यसको घट्दो जनसंख्यालाई ध्यानमा राख्दै सुटी टनलाई पनि संरक्षित प्राणीको सूचीमा राख्नेबारे पहल हुन थालेको छ ।

जमीनमा नआइ लगातार उड्नेबारे

सुटी टर्न चराको मुख्य विशेषता भनेकै यो चरा जमीनमा नआइकनै लगातार उडिरहन सक्छ भन्ने हो । कतिपयले यो कुरालाई स्वीकार्दैनन् । तर विज्ञहरु यस भनाइमा सत्यता रहेको स्वीकार्छन् । किनभने यो चराले आफ्नो जीवनको अधिकांश समय जमीनमा हैन, हावामा उडेरै बिताउने गर्छ । उनीहरु जमीनमा आउने भनेकै प्रजनन क्रियाको लागि वा छोटो समयको लागि आराम गर्न मात्र हो । उनीहरु प्रजननको लागि उष्णकटीबन्धीय टापुहरुमा गुँड बनाएर अण्डा पार्ने, कोरल्ने र बच्चा हुर्काउने गर्छ । बच्चा हुर्काएपछि उनीहरु पुनः आकाशमै फर्कन्छन् ।

image: https://www.carolinabirds.org