नारायणकाजीको ‘भाइरल फण्डा’ !
यतिखेर सामाजिक सञ्जालहरुमा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको एउटा तस्बिर निक्कै भाइरल भइरहेको छ । त्यस तस्बिरमा उनले एकजना बौद्ध धर्मगुरुको खुट्टा ढोगिरहेका छन् ।
व्यक्तिगत आस्थाका आधारमा कसैले कसैलाई मान्नु, सम्मान गर्नु, खुट्टा ढोग्नु कुनै अनौठो र उदेकलाग्दो कुरा होइन । यो संसारका करोडौँ मानिसहरूले आ–आफ्नो आस्था र विश्वासअनुसार आफूले मानिआएका, सम्मान गरेका धर्मगुरुहरूको खुट्टा ढोग्छन्, सम्मान प्रकट गर्छन् । तर, त्यस्ता तस्बिरहरू भाइरल हुँदैनन्, खासै चर्चा–परिचर्चा हुँदैनन् ।
यो प्रकरण माथिको विमर्श यहीँबाट थालौँ - आखिर नारायणकाजीकै तस्बिर चाहिँ किन चर्चामा आयो? नारायणकाजीको तस्बिर यस अर्थमा भाइरल र चर्चित भयो, किनकि उनी धर्मभिरु (आम) व्यक्ति होइनन् । उनी नेपालका स्थापित 'कम्युनिष्ट ' नेता हुन् ।
कुनै बेला उनी तत्कालीन समयका चर्चित माओवादी नेता पुष्पकमल दाहाल प्रचण्डका दाँजोमा थिए । प्रचण्डले माओवादी सशस्त्र युद्ध हॉकिरहेका बेला उनी सैद्धान्तिक रूपमा उनलाई चुनौती दिने एक प्रखर नेताको परिचयमा थिए।
प्रचण्डको कम्युनिष्ट छवि उनले गरेको चर्चित भैँसी पूजासँगै धूलीसात भएको थियो । अहिले काजीको यो तस्बिरले उनलाई त्यही खाडलमा खसालिदिएको छ । यो यस अर्थमा कि धार्मिक कर्मकाण्डहरूलाई विश्वास नगर्ने कम्युनिष्ट नेताको यो व्यवहार उनीहरूले सार्वजनिक रुपमा भन्दै आएको तथा अपनाउँदै आएको वामपन्थी, भौतिकवादी चेत अनुकूल देखिएन । यस मेसोमा कतिपय कम्युनिष्ट भन्नेहरुबाटै पशुपतिमा जलहरी चढाउने, लोकरिझ्याइँकै लागि ठोरीमा राम जन्मभूमि खडा गर्ने जस्ता कामहरु गरेर कम्युनिष्ट–वामपन्थी चेतलाई हाँसोको विषय बनाइएको प्रसंग पनि उल्लेखनीय छ ।
त्यसो त, उनको निकट सम्बन्ध भारतीय जोगी जग्गु वासुदेव उर्फ सद्गुरुसँग रहँदै आएको यसअघि नै सार्वजनिक भइसकेको छ । त्यसलाई नारायणकाजी समर्थकहरुले सद्गुरु पुरापुर धार्मिक जोगी (बाबाजी) नभएर इनर इन्जिनियरिङका ज्ञाता भएकाले उनका कतिपय कुरा विज्ञानसम्मत् छन् भन्दै उनीसँग नारायणकाजीको सङ्गतलाई सहज रुपमा लिइनुपर्ने तर्क पनि दिँदै आएका थिए । तर, अब त्यो स्थिति रहेन ।
गणतान्त्रिक नेपालका औँलामा गन्न मिल्ने नेताहरूमध्येका एक हुन्, नारायणकाजी । जसले गणतन्त्रको स्थापनापछि बारम्बार सत्तामा आसिन हुने मौका पाए । गणतन्त्रपछिका सरकारहरूमा उनी स्वयं वा उनले पत्याएका नजिकका मानिसले बारम्बार मन्त्री बन्ने अवसर पाउँदै आएका छन् । जसले उनको व्यक्तिगत छवि नै त धूलिसात पारेको छैन तर उनले नामको पछाडि झुन्डाउँदै आएको ‘प्रकाश’ को फुर्को भने चुँडाइसकेको अवस्था छ ।
त्यसो त नारायणकाजी कुनै न कुनै रुपमा चर्चामा आइरहने पात्र हुन् । कतिपयले त उनलाई भाइरल हुने फण्डा जानेको पात्रको रुपमा पनि चर्चा गर्ने गर्छन् । कुनै बेला जग्गी वासुदेवसँगको निकटताको कारण उनी चर्चामा आए भने गृहमन्त्री हुँदा सबै कर्मचारीहरूलाई कार्यालय समयमा अनिवार्य रुपमा योगा गर्नुपर्ने परिपत्र गराएर ‘हाँस्यास्पद पात्र’ समेत बने ।
सबैभन्दा बढी चर्चा त उनको त्यसबेला भएको थियो, जुन बेला उनी सरकारी सुविधाहरू परित्याग गरेर केही समय सार्वजनिक सवारी साधन माइक्रोबस चढेर आवातजावत गरेका थिए । तर, उनले त्यसलाई लामो समय निरन्तरता भने दिएनन् । किनकि त्यो उनको जीवनशैली थिएन, फगत फण्डा मात्र थियो– चर्चा बटुल्ने ।
तर, यसपटकको तस्बिरलाई उनको अर्को फण्डाका रुपमा मात्र हेरियो भने त्यो दृष्टि सही नहुन सक्छ । किनकि यो तस्बिरमा नारायणकाजीको ‘असली अनुहार’ छ । यो नै उनको सही तस्बिर हो । विगतमा कम्युनिष्ट बनेर गरेका कुरा त फगत ढोँग मात्र रहेछ । माथि चढ्ने सिँढी मात्र बनाएका रहेछन् भन्ने उनका पछिल्ला व्यवहारहरूले प्रमाणित गरिरहेका छन् ।
अब कुनैदिन उनका अनुयायीहरू (हालसम्म उनीहरूलाई कार्यकर्ता भनेर सम्बोधन गरिँदै आएको छ) ले आफ्नो फेसबुकको भित्तोमा ‘श्री १०८ प्रकाशजी महाराज’ बाट जीवन, जगत्, ब्रह्माण्ड र मानव मुक्तिका बारेमा पशुपतिको वनकालीमा दिव्य ज्ञान प्रवचन र महायज्ञको आयोजना गरेको सूचनासहित सहभागिताको लागि निमन्त्रण गरे भने अवश्य पनि अचम्म मानिने छैन ।
चर्चित कार्टुनिष्ट रवि मिश्रले आफ्नो फेसबुकमा व्यंग्य गर्दै लेखेको यो पोष्टलाई नारायणकाजीका भक्तजनले आफ्ना गुरुको रक्षार्थ प्रयोग गरे भने त्यसलाई समेत अन्यथा नमाने हुन्छ : "निधार र खुट्टा दुवै भौतिक जिनिस भएको हुँदा कसैले धर्मगुरुको चरणमा ललाट ठोस्नु भौतिकवादकै अभ्यास हो । चरण-ललाट-ठोसकवाद आधुनिक भौतिकवादकै एक रुप हो । यसक्रममा ठोसकका मनमा ललाट ठोसम् कि नठोसम् भन्ने द्वन्द भएको भए त्यो द्वन्द्वात्मक भौतिकवाद हो । यसमा उल्किबिल्ली गर्नु आवस्यक छैन ।"
तस्विर स्रोत: सामाजिक सञ्जालहरु
औपचारिकताको चक्र तोड्ने र ‘नेपाल कार्ड’ चलाउने कूटनीतिक अग्निपरीक्षा
शेन्झेन सम्मेलन : बहुध्रुवीय विश्व कि महाशक्तिको नयाँ प्रभुत्व?
चर्चा बालेनको भारत भ्रमणको, चिन्ता राष्ट्रिय स्वाधीनताको
बिचौलिया उत्पादन गर्ने राज्यसत्ताको चरित्रमाथि प्रश्न
स्वर्णिम वाग्लेको झुसिलो डकार
ब्राजिलको चुनावमा लुलाका नौ औँलाहरूको कमाल
कांग्रेस महाधिवेशन : सतहमा हलचल, सारमा निरन्तरता
प्रतिक्रिया