पेट्रो डलर सम्झौता नवीकरण नगर्ने संकेत

साउदी अरेबियाले अमेरिका संगको ५० वर्ष पुरानो पेट्रो डलर सम्झौता नवीकरण नगर्ने संकेत दिएको छ। यो सम्झौता जुन ९ मा समाप्त भएको थियो। पेट्रो डलर सम्झौता रद्ध भएपछि साउदी अरेबियाले आफ्नो तेल अमेरिकी डलरमा मात्र बिक्री गर्ने छैन। उसले विश्वका अरु देशका मुद्राहरु जस्तै चीनिया युवान, युरो, येन र भारुमा पनि कारोबार गर्नेछ।

१९७३ को अरब-इजरायल युद्धपछि अरब देशहरुले इजरायललाई समर्थन गर्ने देशहरुमाथि तेल नाकाबन्दी लगाएका थिए। जसले गर्दा विश्व बजारमा तेलको भाउ अत्याधिक रुपमा बढेको थियो। यही परिवेशमा  १९७३ मा अमेरिकाका राष्ट्रपति रिचर्ड निक्सनले आफ्ना विदेशमन्त्री हेनरी किसिन्जरलाई साउदी अरेबिया पठाए। अमेरिका र  साउदी अरेबियासंग १९७४ को जुन ९ मा  एउटा सम्झौता भयो। यो सम्झौता अनुसार अमेरिकाले साउदी अरेबियाको सुरक्षाको ग्यारेन्टी गर्ने र उसलाई आवश्यक पर्ने सम्पूर्ण अत्याधुनिक हतियारहरु उपलब्ध गराउने बचनबद्धता प्रकट गर्‍यो । त्यसको बदलामा साउदी अरेबियाले तेल अमेरिकी डलरमा मात्र बिक्री गर्ने भयो। यही सम्झौतालाई पेट्रो डलरको सम्झौता भनिन्छ ।

पेट्रो डलर सम्झौता हुनुभन्दा केही बर्ष अगाडी अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले १५ अगस्त १९७१ मा सुनसंगको डलरको सम्बन्ध अन्त्य गरेका थिए। यसले गर्दा दोश्रो विश्व युद्धपछि बिश्वको रिजर्भ करेंसीको रुपमा मानिँदै आएको अमेरिकी डलरको साखमा प्रश्न उठ्न थालेको थियो। तर पेट्रो डलरको सम्झौताले अमेरिकी डलरलाई बिश्वको रिजर्भ करेंसीको रुपमा थप मजबुत बनायो।

साउदी अरबियाले पेट्रो डलरको सम्झौतालाई नवीकरण गरेन भने यसले विश्व व्यवस्थामा आउन थालेको ठूलो परिवर्तनतर्फ संकेत गर्दछ।