पात्रता

आफूलाई समुद्र बनाउन
नदी ओरालै ओरालो हिँडछ
ओरालो हिँडनु नदीको पात्रता हो।

नदी ओरालो हिँडछ भनेर भयो त ?
ओरालो हिँडने नदीको बाटोमा
पर्खालहरु आए
नदीले पर्खालहरुलाई
कि त बाटो बनाउँछ
कि त किनारा बनाउँछ
यही नै नदीको पात्रता हो ।

एक तत्त्व नदीमा
विजातीय तत्त्व
पातपतिङ्गर  आए
फोहोर आए
धमिलो आए
नदीको बहावले 
विजातीय तत्त्वलाई किनाराकृत गर्दै 
 नदीलाई  पवित्रगङ्गा बनाउँछ
यही नै नदीको पात्रता हो।

पात्रतामा बग्ने 
नदीको बहाव नै 
नदीको विचार हो ।


नदीको विचारमा  मिसिन आउने
विजातीय तत्वले
नदीलाई  म तिम्रै हुँ भनोस् कि
म प्रेम हुँ भनोस् कि
म धर्म हुँ भनोस् कि
म इन्क्लाब हुँ भनोस् कि
म प्रजातन्त्र हु   भनोस् कि
म क्रान्ति हुँ भनोस् कि
म मानव अधिकार हुँ भनोस कि
नदीको बहावले  छ्दम विजातीय तत्त्वलाई
किनाराकृत गरेरै छोडछ
यही नै नदीको पात्रता हो।
 
कसैसँग प्रतिस्पर्धा नगरेरै  
नदी समुन्द्र बन्छ 
नदी सुनामी बन्छ।
यही नै नदीको महान पात्रता हो।

नोट -  नदीको सजातीय तत्व भनेको H2O र कन्चनता हो। बिजातीय तत्व भनेको गैर H2O  हो। यहाँ जात व्य्वस्था भन्न खोजिएको होइन।