प्रधानमन्त्रीको उद्घाटन मोहले दिने सन्देश

मेलम्चीको उद्घाटन । फाइल फोटो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सेनाको हेलिकोप्टर चढेर सल्यानको दार्मा गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न जाँदैछन् – यो आज सञ्चार माध्यमहरुमा आएको एउटा खबर हो । यस खुसियालीमा उक्त गाउँपालिकाले त्यहाँ रहेका सबै सरकारी कार्यालय र विद्यालयहरुमा विदा दिने भएछ ।

एउटा गाउँपालिका भवनको उद्घाटन गर्न प्रधानमन्त्री जानु वास्तवमा राज्यको स्रोत साधनको दोहन हो, दुरुपयोग हो । आर्थिक सुधारका जतिसुकै पुराणहरु सुनाइए पनि धरातलीय यथार्थ के हो भने मुलुक आर्थिक संकटको भूमरीमा छ । यस्तो अवस्थामा राज्य हाँक्ने जिम्मा रहेकाहरुको दायित्व सकेसम्म मितव्ययिता अपनाउने र अरुलाई पनि त्यसैका लागि उत्प्रेरित गर्ने हो । तर गाउँपालिका भवनको उद्घाटन गर्ने काममा प्रधानमन्त्री हाम्फालेर जानुले कदापि सकारात्मक सन्देश दिँदैन ।

गएको एक महिनामा मात्रै प्रधानमन्त्री प्रचण्ड त्यस्ता थुप्रै पन्छाउनु पर्ने र पन्छाउन सकिने औपचारिक कार्यक्रमहरुमा सहभागी भएका थिए । व्यक्तिका रुपमा त्यस्ता कार्यक्रमहरुमा सहभागी हुनु प्रचण्डको निजी स्वतन्त्रता र अधिकारको कुरा रहन सक्छ तर राज्यको सम्पत्ति खर्च हुने शर्तमा यस्ता कार्यक्रमहरुमा चाहिँदोभन्दा बेसी प्रधानमन्त्रीको सक्रियता र सहभागिता फिजुलखर्चभन्दा बढी केही होइन भन्न कुनै आइतबार कुर्नु पर्दैन । त्यसले आमजनतामा जाने नकारात्मक सन्देश स्वयं प्रचण्डकै राजनीतिका लागि प्रत्युत्पादक एवं उनको लागि नैतिक प्रश्न बन्न जाने कुरालाई उनका सचिवालयले हेक्का राख्नु जरुरी छ ।

यो पनि

बितेको एक महिनामा प्रधानमन्त्री प्रचण्डको ‘अतिरिक्त’ व्यस्तता !