नेपाल प्रहरीमा नयाँ आईजीपी नियुक्ति

दानबहादुर कार्कीको सरुवासँगै मनोज केसी बने नयाँ प्रमुख

दानबहादुर कार्की र मनोज केसी

कात्तिक १८ गते बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई सुरक्षा सल्लाहकारमा सरुवा गर्दै एआईजी मनोज केसीलाई नयाँ प्रहरी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै यो जानकारी दिएका हुन् । नवनियुक्त आईजीपी केसी यसअघि प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत थिए।

गत वर्ष कात्तिक २४ गते सुशीला कार्की नेतृत्वको सरकारले दानबहादुर कार्कीलाई आईजीपीमा नियुक्त गरेको थियो। २४ भदौको जेनजी आन्दोलनका बेला उपत्यकाको कमाण्ड सम्हालेका कार्कीको करिब एक वर्षको कार्यकाल विवादमुक्त हुन सकेन। निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले प्रश्न उठाएपछि सरकार र प्रहरी नेतृत्वबिच विवाद चुलिएको थियो र यसले सङ्गठनभित्रै पनि अन्तर्विरोध देखाएको थियो।

कार्कीमाथि प्रधानमन्त्री र उनको सचिवालयका व्यक्तिहरूको निर्देशनमा मात्र प्रहरी सञ्चालन गर्ने गरेको र कमाण्ड कन्ट्रोलमा समेत कमजोरी देखिएको भन्दै आरोप लाग्दै आएको थियो। उनीमाथि गत साता प्रधानमन्त्रीको सचिवालयको निर्देशनमा मिडिया हाउस र पत्रकारहरूमाथि प्रहरी परिचालन गरी गैरकानुनी रूपमा धरपकड गरिएको आरोप समेत लागेको थियो, जसलाई पछि अदालतले समेत गैरकानुनी ठहर गरेको थियो। सिधै बर्खास्ती गर्दा कानुनी जटिलता आउने देखिएपछि मन्त्रिपरिषद्ले उहाँलाई प्रधानमन्त्री कार्यालयको सरुवा गरेको हो।

यसअघि २०५३ साल चैत २२ गते पनि तत्कालीन गृहमन्त्री वामदेव गौतमले बहालवाला आईजीपी अच्युतकृष्ण खरेललाई राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा सरुवा गरेर ध्रुवबहादुर प्रधानलाई प्रहरी महानिरीक्षक नियुक्त गराएका थिए। नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग फरक कानुनी व्यवस्थाअन्तर्गत सञ्चालित सेवा भए पनि एउटा सेवाबाट अर्को सेवामा गरिएको उक्त सरुवाले त्यतिबेला ठुलो राजनीतिक तथा प्रशासनिक विवाद सिर्जना गरेको थियो।